१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार o३:४५:oo
Read Time : > 9 मिनेट
ad
ad
फ्रन्ट पेज

वामपन्थ कि रामपन्थ ? 

Read Time : > 9 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o३:४५:oo

गत बर्खामा घरमा आगो लगाइएका चेपाङको बिचल्ली उस्तै, गरिबको गुहार र अदालतको आदेशबीच पनि न वास मिल्यो न क्षतिपूर्ति ।
घरवासविहीन चेपाङको प्रश्न– ‘निमुखा जनताको घरमा आगो लगाएर मन्दिरमा अगरबत्ती बाल्दा कुन भगवान् खुसी हुन्छन् ?’

......

चितवनको माडी नगरपालिका– ९ कुसुमखोलामा जलाइएका घर 
सोही वडाको कृष्णनगरमा भर्खरै निर्माण गरिएको मन्दिर

गत ३ साउनमा चितवन राष्ट्रिय निकुञ्जले चेपाङका घरटहरामा आगो लगाउँदै बाँकी बस्ती पनि एक साताभित्र खाली गर्न आदेश दिएको थियो, तर १५ साउनमा सर्वोच्च अदालतले आदेश दिँदै घरटहरा नभत्काउन, भत्काइएकोमा क्षतिपूर्ति दिन र चेपाङहरूका लागि बसोवासको व्यवस्था गर्न सरकारको नाममा आदेश दिएको थियो । तर, नौ महिनासम्म विपन्न चेपाङको आवाज र सर्वोच्चको आदेश बेवास्ता गर्दै आएको सरकारले त्यही क्षेत्रमा राममन्दिर बनाउँदा भने नक्सापाससमेत गरेको छैन ।

मध्यबर्खामा निकुञ्जले माडी नगरपालिकाको कुसुमखोलानिवासी चेपाङका घरमा हात्ती लगाउने र आगो सल्काउने काम गरेको थियो । निकुञ्जबाट खटिएका कर्मचारी र सैनिकको टोलीले कुसुमखोलाका काजीमान र जितबहादुर चेपाङको घरमा आगो लगाएको थियो भने अन्य आठ घर हात्ती लगाएर भत्काउँदै चेपाङ बस्ती नै खाली गर्न ओदश जारी गरिएको थियो । 

घटनालगत्तै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले तत्काल बस्ती नहटाउन, क्षतिपूर्ति दिन र स्थायी बसोवासको प्रबन्ध गर्न आदेश दिएको थियो । तर, नौ महिनासम्म चेपाङले न वास पाएका छन्, न कुनै क्षतिपूर्ति । उनीहरूलाई कहाँ स्थानान्तरण गर्ने भन्ने विषयमा पनि सरकारले कुनै गृहकार्य गरेको छैन । उता, घरबारविहीन बनेका परिवार कोही छाप्रो बनाएर बसेका छन् भने कोही आफन्तको शरण परेका छन् ।

कुसुमखोला क्षेत्रमा ०५३ देखि चेपाङ परिवार बस्दै आएका थिए । धादिङ र मकवानपुरबाट उनीहरू यहाँ आएका हुन् । सुरुमा त्यस क्षेत्रमा एक सय ६० चेपाङ परिवार बस्न थालेका थिए । ०७४ मा डुबानमा परेपछि अधिकांश परिवार माडीकै विभिन्न ठाउँमा बसाइँ सरे । ११ घरपरिवार भने अहिले पनि कुसुमखोला क्षेत्रमै बसिरहेका छन् । उनीहरूकै घरमा निकुञ्जले ध्वंस गरेको हो । 

‘सरकारले राममन्दिर बनाएको ठीक छ, बजेट छ भने मन्दिर, मस्जिद, चर्च बनाओस् । तर, गरिब जनताको घरमा आगो लगाएर मन्दिरमा अगरबत्ती बाल्दा कुन भगवान् खुसी हुन्छन् होला ? तर, दुनियाँले विरोध गर्दा र अदालतले आदेश दिँदा पनि हाम्रा घर किन ठडिएनन् ?’ कुसुमखोला बस्ती व्यवस्थापन संघर्ष समिति सचिव कमल चेपाङले नयाँ पत्रिकासँग भने । उनले अन्यायविरुद्ध आफूहरू आन्दोलनमा उत्रन लागेको पनि बताए ।

कुसुमखोलामा बसिरहेका तथा विस्थापित भएका विपन्नका लागि माडी नगरपालिकाले प्रदेश सरकार र र दाताको सहयोगमा पहिलो चरणमा ९० घर निर्माण थालेको थियो । ‘वडा नं. ९ को राईटोल र वडा नं. ७ को परोईखोला किनारामा घर बनाउने योजनामा निकुञ्जले अवरोध ग¥यो । राईटोलमा ४० घर बनाउँदै गर्दा १३ घरमा निकुञ्जले जस्तापाता हाल्न दिएन । अझ परोईखोला किनारमा ५० घर बनाउन खोज्दा पोल नै गाड्न दिएन,’ मेयर ठाकुरप्रसाद ढकाल भन्छन् । 

चेपाङका लागि निर्माणाधीन घर अलपत्र छन्, तर मन्दिरको काम मात्र रातारात भएको छ । मेयर ढकाल भन्छन्, ‘भगवान्का मन्दिर पनि बन्नुपर्छ, जनताका लागि घर पनि बन्नुपर्छ । साथै, मध्यवर्ती क्षेत्रका जनताले आफ्नो बारीमा खेती गर्न पाउनुपर्छ । त्यसका लागि मन्त्रिपरिषद्बाट एकमुष्ठ निर्णय होस् भनेर प्रस्ताव पठाएका छौँ । तर, निर्णय भएको छैन । निर्णयविना मन्दिर मात्र निर्माण भएको छ, यो अनौठो भयो ।’

राममन्दिर बनाउँदै गर्दा चेपाङका झुप्रा पनि बन्नुपर्नेमा तर्कमा आफू अडिग रहेको उनी बताउँछन् । ‘कम्युनिस्ट पार्टीको सरकार भएका वेला गरिबका घर भत्काउने र मन्दिर मात्र बनाउने हो भने चेपाङको आँसुले सराप्छ । त्यस्तो सन्देश नजाओस् भनेर मैले प्रधानमन्त्रीज्यूलाई सन्देश पठाएको छु,’ ढकाल भन्छन् । 

तर, चेपाङका घर यथास्थितिमै राखेर सरकारले माडीस्थित अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति राख्न अस्थायी मन्दिर निर्माण गरेको छ । बुधबार प्रतिस्थापन गर्न मूर्ति मंगलबार काठमाडौंबाट देवघाट लगिएको छ ।

मंगलबार स्वस्तिवाचनसहित धार्मिक विधिबाट प्रधानमन्त्रीले ती मूर्ति हस्तान्तरण गरेपछि बग्गी, रथसहितको कलशयात्रा सुरु भएको थियो । करिब पाँच सय सवारीसाधनसहितको शोभायात्रा मंगलबार देवघाट लगिएको थियो । देवघाटमा शोभायात्रालाई स्वागत गर्दै खानपान र वासको व्यवस्था गरिएको थियो । 

बुधबार बिहान देवघाटका विभिन्न पीठाधीशहरूको उपस्थितिमा पवित्र जलले जलाभिषेक गरी मूर्ति माडीतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको प्रचारप्रसार समितिका संयोजक श्रीप्रसाद दवाडीले बताए । उनका अनुसार माडीमा हालै निर्माण गरिएको मन्दिरमा ती मूर्ति राखिनेछन् । माडीमा नौ सय सवारीसाधन र चार हजार भक्तजनलाई खान–बस्नको व्यवस्था गरिएको छ ।

यसअघि पनि कोरोना संक्रमण फैलिन नदिन सरकारले भिडभाडयुक्त कार्यक्रममा रोक लगाएकै समयमा १८ कात्तिकमा माडी– ९ गणेशगुञ्जमा सुन्दरकाण्ड संगीतमय पारायण गरिएको थियो । कार्यक्रममा प्रधानमन्त्री ओलीले शुभकामना सन्देश पठाएका थिए । 
सरकारले भिडभाड नगर्न भनेर आदेश जारी गरेको वेला चार हजार मान्छे भेला पार्न लागिएको विषयमा चितवनका सिडिओ प्रेमलाल लामिछानेले यसबारे आफूले धेरै नबोल्ने बताए । ‘हामीलाई यो कार्यक्रम भएको जानकारी प्राप्त भएको छ । जोखिम कसरी कम गर्न सकिन्छ भन्नेबारेमा हामी सचेत छौँ । यो हामीसँग नभएर माथिबाटै सम्बन्धित विषय भयो,’ उनले यति मात्र भने । 

मूर्ति र मन्दिरका विषयमा स्थानीय तहसँग समन्वय नै छैन

२९ असारमा आदिकवि भानुभक्त आचार्यको २०७औँ जन्मजयन्ती समारोहमा बालुवाटारमा प्रधानमन्त्री ओलीले रामको जन्मभूमि भारतको अयोध्या नभई चितवन अयोध्यापुरी भएको दाबी गरेपछि राममन्दिर निर्माणको चर्चा सुरु भएको हो । २३ साउनमा माडी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष शिवहरि सुवेदीसँग टेलिफोनमा संवाद गर्दै प्रधानमन्त्रीले तुरुन्तै काठमाडौं आउन भने । प्रधानमन्त्रीको आमन्त्रणपछि मेयर ठाकुरप्रसाद ढकालको नेतृत्वमा एउटा टोली बालुवाटार पुगेका थियो । 

टोलीमा उपमेयर ताराकुमारी काजी महतो, अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समिति माडीका संयोजक नारदमणि पौडेल, तत्कालीन नेकपा माडी नगर कमिटीका अध्यक्ष प्रभुप्रसाद महतो, माडी नगरपालिकाका प्रवक्ता एवं वडाध्यक्ष सुवेदी, अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समितिका सदस्य साध्यबहादुर भण्डारीलगायतका थिए । 

दुई घन्टाको छलफलमा प्रधानमन्त्री ओलीले रामको जन्मस्थान माडीको अयोध्यापुरी नै रहेको दाबी गर्दै मन्दिर बनाउन निर्देशन दिएका थिए । उनले माडी नगरपालिकाको नाम फेरेर अयोध्यापुरी राख्ने तयारी गर्न पनि सुझाब दिएका थिए । अयोध्यापुरीलाई राम जन्मभूमिका रूपमा विकास गर्न बजेटको कुनै कमी हुन नदिने भनेर विश्वास दिएका थिए । 

प्रधानमन्त्रीसँगको भेटपछि उत्साहित बनेको टोली माडी फर्किएपछि २२ भदौमा नगर कार्यपालिकाले प्रधानमन्त्रीलाई धन्यवाद ज्ञापन गर्दै राम जन्मभूमि अयोध्याको अध्ययन तथा अनुसन्धानका लागि स्थानीय नारदमणि पौडेलको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरेको थियो । बैठकले वडा नम्बर ९ स्थित रिउखोला र घाँघरखोलाको दोभान (कृष्णनगर पार्क)मा सय बिघामा फैलिएको जमिन अयोध्याधामलगायतका भौतिक पूर्वाधार विकास गर्न लागि प्रस्ताव गरी डिपिआर बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको थियो । कुनै प्राविधिक कारणले यो जमिन अनुपयुक्त देखिएमा वैकल्पिक रूपमा माडी– ८ दक्षिण अयोध्यापुरी क्षेत्रको करिब ५० बिघा जमिनसमेत राखिएको प्रस्ताव गरिएको थियो । तर, यस विषयमा मन्त्रिपरिषद्बाट हालसम्म कुनै निर्णय नगरी, स्थानीय तहसँग समन्वय नगरी कृष्णनगरमा धमाधम मन्दिर निर्माण गरिएको हो । 

मेयर ठाकुर ढकाल तथा अयोध्या अध्ययन तथा अनुसन्धान समितिका अध्यक्ष नारदमणि पौडेलले समेत मन्दिर निर्माणको विषयमा औपचारिक जानकारी कसैले पनि नदिएको बताए । पौडेलले त पटक–पटक प्रधानमन्त्रीसँग भेट्ने खोजे पनि बेवास्ता गरिएको बताए । ‘प्रमाणका लागि अध्ययन गर्न भनियो, तर के–के अध्ययन भयो भनेर सोधखोज नै भएन । मैले प्रयास गर्दा प्रधानमन्त्रीनिवासबाटै फोन आउँछ भनियो । तर, अहिलेसम्म आएन, मन्दिर भने बनेको देखिन्छ,’ उनले भने । 

यसबीचमा मन्दिर बन्ने जमिन मन्दिरको नाममा राख्न, आर्थिक स्रोत व्यवस्था गर्न र यो समितिलाई बोर्डको बनाउन भन्दै तीनवटा फाइल प्रधानमन्त्री कार्यालयमा पठाइएको छ । तर, यी कुनै पनि विषयमा सुनुवाइ नगरी, नक्सापाससमेत नगरी पूर्वाधार निर्माण भएको छ ।

......

अनुष्ठान गरेर पठाइए राम–सीताका मूर्ति

भरतपुर/ प्रधानमन्त्री केपी ओलीले रामनवमीको दिन पारेर मंगलबार बालुवाटारमा वैदिक अनुष्ठानसहितको पूजा गरी पठाएका राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति देवघाट ल्याइएका छन् । बुधबार बिहान ब्राह्मणहरूबाट स्वस्तिवाचन र मन्त्रोच्चारणसहित कालीगण्डकीको जलले अभिषेक गरेपछि मूर्तिहरू माडी लगिनेछन् ।

फूलले सजाइएका ट्रकमा राखेर शोभा रथयात्रासहित मूर्तिहरू कडा सुरक्षाबीच देवघाट ल्याइएका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्यसको व्यवस्थापन गरेको थियो । मन्त्री भानुभक्त ढकाल आफैँ देवघाट पुगेका छन् । 

दासढुंगाबाट तनहुँ हुँदै शोभायात्रा देवघाट पु¥याइएको थियो । चार मूर्तिलाई छुट्टाछुट्टै ट्रकमा राखिएको थियो । ब्यान्डबाजासहितको टिम ट्रकपछाडिका गाडीमा सवार थिए । शोभायात्राको ब्यानरमा प्रधानमन्त्री ओलीको फोटो राखिएको छ । ¥यालीमा सरकारी नम्बर प्लेटका गाडी पनि प्रयोग गरिएका छन् । 

काठमाडौंबाट गाडीमा आएको शोभायात्रा तनहुँको देवघाट गाउँपालिकाबाट पदयात्रामा बदलिएको थियो । यात्रामा तनहुँ र चितवनका स्थानीयको पनि ठूलो उपस्थिति थियो । गाउँपालिकाको कार्यालयमा मन्त्री ढकालसहितको टोलीले शोभायात्रालाई स्वागत गरेको थियो । त्यसपछि पञ्चेबाजासहितको टोलीको नेतृत्व मन्त्री ढकाल आफैँले गरेका थिए । 

पदयात्रामा सहभागी अधिकांशले मास्क लगाएका थिएनन् । सामाजिक दूरीको पालना पनि थिएन । वृद्धवृद्धा र गुरुकुलमा अध्ययनरत विद्यार्थी भजनकीर्तन गर्दै पदयात्रामा सहभागी थिए । मूर्तिहरू राति गलेश्वर आश्रमअगाडिको सिद्धेश्वर मन्दिरको परिसरमा राखिएको छ । 

काठमाडौंबाट मूर्तिसहित आएको टोलीलाई देवघाट क्षेत्र विकास समितिले स्वागत गरेको थियो । समितिले पाँच सयजनालाई खान र बस्नको व्यवस्था गरेको छ । कोरोनाका कारण सोचेभन्दा कम मानिस र गाडीको उपस्थिति भएको समितिका अध्यक्ष बद्री अधिकारीले बताए । उनका अनुसार शोभायात्रासँगै पाँच सय मानिस र सय सवारीसाधन देवघाट आएका छन् ।

अयोध्यापुरी व्यवस्थापन समितिका संयोजक तीर्थराज भुसालले भने देवघाटमा उपस्थित भएकाभन्दा धेरै मानिस र सवारी काठमाडौंबाट शोभायात्रामा आएको दाबी गरे । ‘केही गाडी र मानिस माडी नै गएर बसेका छन् भने केही मानिस कोरोनाको डरले आफन्तकोमा पुगेका छन् । समग्रमा तीन सय सवारीसाधन र करिब एक हजार मानिसको शोभायात्रामा सहभागिता थियो,’ उनले भने । बुधबारका लागि अयोध्याधाममा नौ सय सवारीसाधन राख्ने र एक हजार पाँच सयजनालाई खान–बस्नको व्यवस्था गरिएको उनले बताए ।

बुधबार बिहान ७ बजे ब्राह्मणहरूबाट स्वस्तिवाचन र मन्त्रोच्चारणसहित कालीगण्डकीको जलले मूर्तिहरू अभिषेक गरेर शोभायात्रा माडीतर्फ लाग्नेछ । देवघाटबाट निस्कने यात्रा पुनः दासढुंगा पुगेर जुगेडी, रामनगर, आँपटारी, नारायणगढ, हाकिमचोक, पटिहानी हुँदै माडी पुग्नेछ । मूर्तिहरू माडी पु¥याउनुअघि स्थानीय रेवा नदी (रिउ खोला)मा पनि परशुराम कुण्डको जलले पनि अभिषेक गर्ने कार्यक्रम छ । अयोध्यापुरीमा मूर्ति राख्नकै लागि अस्थायी मन्दिर निर्माण गरिएको छ । अहिले त्यहाँ अखण्ड कीर्तन भइरहेको छ । 

माडी लैजाने क्रममा नारायणगढ र भरतपुरका मुख्य बजार क्षेत्रमा कलशसहितको शोभायात्रा गरिनेछ । स्थानीयलाई बाटो किनारमा बसेर स्वागत गर्न आह्वान गरिएको छ । माडीमा मूर्ति अनावरणको कार्यक्रममा पर्यटनमन्त्री ढकालसँगै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल पनि सहभागी हुनेछन् । सरकारी निकायहरूले पनि कार्यक्रमको प्रचार गर्दै उपस्थितिका लागि सर्वसाधारणलाई अपिल गरेका छन् । 

......

चेपाङका लागि राई टोलमा ४० घर बनाउँदा निकुञ्जले जस्ता हाल्न दिएन, परोईखोलामा त पोलसमेत हाल्न दिएन : ठाकुरप्रसाद ढकाल, मेयर, माडी नगरपालिका

प्रधानमन्त्री केपी ओलीले प्रतिबद्धता जनाएभन्दा एक वर्षअघि नै रामसीतासहितका मूंिर्त पठाए, यस विषयमा केन्द्रीय सरकार र नगरपालिकाबीच कस्तो समन्वय छ ?

नेपाल सरकार अयोध्यापुरीको विकासका लागि सक्रिय भइदिनुप¥यो भन्ने हाम्रो अनुरोध हो । यद्यपि, माडीमा अयोध्याधाम बन्दै छ, राममन्दिर बन्दै छ भन्ने अहिलेसम्म आधिकारिक जानकारी केही छैन । मन्त्रिपरिषद्ले यसबारे निर्णय गर्दिनुप¥यो भनेर हामीले बारम्बार आग्रह गर्दै आएका हौँ । लिखित अनुरोध नै पठाएका छौँ । प्रधानमन्त्रीले मूर्ति बनाएर पठाइसकेको अवस्थामा यहाँ अयोध्याधाम बन्ने चर्चा बढ्दै गएको छ । केही पनि नहुने अवस्थाभन्दा त्यही मूर्ति भए पनि यहाँ ल्याएर एउटाखाले सुरुवाती गरौँ, जसले प्रचार पनि हुन्छ भनेर यसको सुरुवात भएको हो । 

अयोध्याधाम र राममन्दिर निर्माणको विषयमा प्रधानमन्त्री र उहाँको सचिवालयसँग तपाईंको संवाद भएको छैन ?

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ‘प्रधानमन्त्रीको निर्देशनमा ८ वैशाखमा मूर्ति लिएर आउँदै छु’ भनेर त जानकारी गराउनुभएको छ । तर, त्यसमा कता–कता के–के बिग्रिएजस्तो लाग्छ । माडीमा राममन्दिरसहितको अयोध्याधाम बनाउनु छ भने स्थानीय राजनीतिक दल, जनप्रतिनिधि, धार्मिक र सामाजिक व्यक्ति सबैले अपनत्व लिएर अगाडि बढ्नुपर्छ । केही साथीहरू ‘मैले गरेको हुँ भन्न पाए हुन्थ्यो’ भने सोचका साथ अघि बढ्नुभएको छ । पछिल्लो समय केन्द्रको नेकपा विघटनको असर तल्लो तहमा पनि परेको छ । जसका कारण एउटाले अर्कोलाई निषेध गर्ने हिसाबले लागेको छ । अयोध्याधामको विषयमा पनि केही साथी त्यही ढंगले प्रस्तुत हुनुभएको छ । तर, बुझ्नुपर्ने कुरा के हो भने सबैको एकताबाट मात्र यो काम पूरा हुने हो । 

विपक्षी दलबाट निर्वाचित भएकाले मेयर ठाकुरप्रसाद ढकालले राममन्दिर निर्माण गर्नेतर्फ चासो देखाएन भन्ने आरोप पनि छ नि ?

म दुराशययुक्त बोल्ने पक्षमा छैन । यति धेरै हल्लीखल्ली भइसकेपछि माडीमा अयोध्याधाम बन्नुपर्छ । तर, त्यो माडी नगरपालिकाको मात्रै पहलमा सम्भव हुने विषय होइन । हाम्रो वार्षिक बजेटभन्दा निकै ठूलो लगानी आवश्यक पर्छ । यो ठाउँमा धाम बनाउने पहलकदमी, व्यवस्थापनमा हामी जोडिन्छौँ, जोडिएका छौँ । तर, बजेट अर्बौँ आवश्यक छ । त्यसका लागि सरकार नै जोड्निुपर्छ । रामधाम बन्ने जमिन र यहाँका सुकुम्बासी रहेको ठाउँ मध्यवर्ती क्षेत्रभित्र पर्छ । रामधामसँगै कुसुमखोला, प्याउली, बाँदरझुलालगायतका ठाउँमा वर्षौँदेखि बसेका सुकुम्बासी चितवन राष्ट्रिय निकुञ्जबाट समस्यामा परेका छन् । त्यो समस्याको गाँठो एउटै निर्णयबाट फुकाइयोस् भने हाम्रो कुरा हो । 

नगरपालिकाको पहिलो प्राथमिकता अयोध्याधाम निर्माण हो कि चेपाङ र सुकुम्बासीहरूको उचित व्यवस्थापन ?

केही साथीहरूले यहाँका विपन्न र सुकुम्बासीभन्दा राममन्दिरलाई महत्व दिएको देखिन्छ । तर, नगरपालिका दुईवटै काम सँगसँगै अगाडि बढाउनुपर्छ, जोडेर लैजानुपर्छ भन्ने मान्यता राख्छ । केही साथीहरू प्रधानमन्त्री कार्यालयमा प्रस्तुत गर्नका लागि अयोध्याधामको मात्र सिफारिस दिन भन्दै नगरपालिकामा आउनुभयो । दबाब पनि दिनुभयो । तर, म ‘अयोध्याधामका लागि मात्र सिफारिस माग्ने हो भने निर्णय नै गर्दिनँ, हस्ताक्षर नै गर्दिनँ’ भनेर बसेको छु । अयोध्याधाम माडीमा बन्नुपर्छ । त्यसका लागि निरन्तर लागिरहन्छु, लडिरहन्छु । सँगसँगै यहाँका नागरिकले राष्ट्रिय निकुञ्ज बन्नुभन्दा पहिलादेखि नै भोगचलन गर्दै आएको जमिन निर्वाध उपभोग गर्न पनि पाउनुपर्छ । निकुञ्जले भोगचलन नगर भन्नेबित्तिकै रोक्नुपर्छ भन्ने हुँदैन । हामी सरकारको एउटै निर्णयबाट यी दुवै समस्या हल होस् भन्ने चाहन्छौँ ।

माडीको बाँदरझुलामा किसानले निकुञ्जकै कारण अहिले पनि ट्र्याक्टर लगाएर आफ्नो खेत जोत्न पाएका छैनन् । रामले नजन्मिँदै यहाँको लालपुर्जा पाउने, तर चेपाङहरूले ३० वर्ष भोगचलन गरेको जग्गाको पनि लालपुर्जा नपाउने निर्णय हुनुहुँदैन । भगवान् रामचन्द्रलाई लाजपुर्जासहित राख्ने, तर यहाँका जिउँदा रामबहादुरहरू वर्षौँदेखि लाजपुर्जाविहीन हुनुपर्ने संस्कार हाम्रो होइन । चेपाङको घर बनाउँदा निकुञ्ज ऐन बाधक हुने, तर राममन्दिर बनाउँदा त्यही ऐन साथी बन्ने कुराको म विपक्षमा नै हो । राममन्दिरका लागि जमिनको निर्णय हुँदा चेपाङको घर बनाउने निर्णय पनि हुनुपर्छ भन्ने मेरो मान्यता हो । 

गत वर्षको साउन ३ गते राज्यले नै घरमा आगो लगाइदिएपछि पालमुनि पुगेका चेपाङहरूको घर बनाउन सकिएको छैन । उनीहरूलाई पालमुनि नै राखेर रामको मन्दिर बनाउँ भन्यो भने ती समुदायले हामीलाई के भन्छन् ? हामीले ती निमुखा गरिबका लागि बोल्नुपर्छ । प्रधानमन्त्री गरिब जनताको पक्षमा हुनुहुँदो रहेनछ भन्ने सन्देश जाने काम गर्नुहुँदैन । 

कुसुमखोलामा बसिरहेका तथा विस्थापित भएका विपन्नका लागि माडी नगरपालिकाले प्रदेश सरकार र र दाताको सहयोगमा पहिलो चरणमा ९० घर निर्माण थालेको थियो । तर, वडा नं. ९ को राईटोल र वडा नं. ७ को परोईखोला किनारामा घर बनाउने योजनामा निकुञ्जले अवरोध ग¥यो । राईटोलमा ४० घर बनाउँदै गर्दा १३ घरमा निकुञ्जले जस्तापाता हाल्न दिएन । अझ परोईखोला किनारमा ५० घर बनाउन खोज्दा पोल नै गाड्न दिएन ।

राममन्दिर र अयोध्याधाम बनाउने निर्णय गरौँ, सँगै यहाँका सुकुम्बासी र चेपाङको समस्या समाधानको निर्णय पनि गरौँ । तब मात्र यहाँका जनताले प्रधानमन्त्रीलाई हाइहाइ गर्छन् । बाँदरझुला क्षेत्रमा सडक, खानेपानी, बिजुली, भवन निर्माण, कृषि कार्यलगायतमा आधुनिक औजार–उपकरणको प्रयोगमा लगाइएको बन्देज हटाएर त्यहाँका जनताको हितका लागि खाद्य, आवास, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि तथा पूर्वाधार विकास कार्यक्रम निर्वाध सञ्चालन गर्ने व्यवस्था हुन्छ भन्नेमा विश्वस्त छु । जनताको मनोभावना बुझ्ने प्रधानमन्त्री हुनुहुन्छ, यी सबै कुराहरू उहाँले प्याकेजमा निर्णय गर्नुहुनेछ । 

केही मान्छेले मन्दिर निर्माण र मूर्ति स्थापना प्रधानमन्त्रीको राजनीतिक अस्त्र मात्रै भएको आशंका गरेका छन् । मूर्ति राखिसकेपछि अन्य काम अगाडि बढ्दैनन् भन्ने उनीहरूको दाबी छ नि ?

प्रधानमन्त्रीले माडीमा अयोध्याधाम बनाउनकै लागि पहल गर्नुभएको हो । धार्मिक, सांस्कृतिक र राष्ट्रिय हिसाबले यहाँको विकास होस् भनेर नै उहाँ लाग्नुभएको हो भन्ने मैले बुझेको छु । त्यहीअनुसार अयोध्याधाम र चेपाङबस्ती व्यवस्थापनको निर्णय गराएर उहाँले प्रधानमन्त्री जनताप्रति कति उत्तरदायी रहेछन् भन्ने सन्देश दिनुहुनेछ भन्ने मैले सोचेको छु । यो विषयमा केही पनि निर्णय नगरी प्रधानमन्त्री अगाडि बढ्नुभयो भने त्यही वेला भनौँला । यद्यपि, यसअघि पनि धेरैपटक चेपाङको आवासको विषयमा आश्वासन प्राप्त भएका हुन् । 
 

ad
ad