१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
जोन एन्ड्रयु
२o८१ बैशाख ३१ सोमबार १o:२३:oo
Read Time : > 3 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

जोर्डन दरबारभित्रको विवादपछाडि के कारण छ ?

Read Time : > 3 मिनेट
जोन एन्ड्रयु
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:२३:oo

जोर्डनी जातिको राजपरिवारप्रतिको निष्ठामा प्रश्न उठाउने ठाउँ छैन, तर सो समुदायमा हम्जाह बढी लोकप्रिय छन् । पछिल्लो समय ‘कु’को भय बढाउने कारण यो पनि थियो ।

‘हाम्रो सरकारी संयन्त्रमा विगत १५–२० वर्षदेखि शासकीय अक्षमता, भ्रष्टाचार र विफलताका लागि म जिम्मेवार छैन । यी समस्या सुल्झँदै जानुको साटो दिनप्रतिदिन बिग्रँदै गएको छ,’ नजरबन्दमा रहेका जोर्डनका राजकुमार हम्जाह बिन हुसेनले भिडियो म्यासेजमा भनेका कुरा हुन्, यी । ४ अप्रिलमा बिबिसीले यो भिडियो सन्देश प्रसारण गर्‍यो । 

के ४१ वर्षीय हम्जाह बिन हुसेन आफ्ना सौतेनी दाइ ५९ वर्षीय राजा अब्दुल्लाहविरुद्ध कु गर्ने योजनामा थिए ? जोर्डनको राजपरिवारभित्रको सम्भावित आन्तरिक द्वन्द्वले बाह्य शक्तिको ध्यान तानेको छ । जोर्डनलाई लामो समयदेखि अस्थिर मध्य–पूर्व क्षेत्रको एक अपवादका रूपमा हेरिन्थ्यो । यस बुझाइमा केही यथार्थ पनि छ । जोर्डन एक दशकअघिको अरब वसन्तबाट कमै प्रभावित भयो ।

जोर्डनको स्थिरताको विश्वास भ्रमपूर्ण साबित भयो भने जोर्डनले पनि सिरिया र इराकको मार्ग लिन सक्छ । त्यस उथलपुथलमा इजरायल र साउदी अरबसमेत तानिन सक्छन् । द्वन्द्वमाझ यो मुलुक आइएस र अलकायदाजस्ता अतिवादी समूहका लागि नयाँ उर्वर भूमि साबित हुन सक्छ । त्यस परिस्थितिमा अमेरिका र जोर्डनका अन्य पश्चिमी मित्रशक्ति मध्यपूर्वको अर्को द्वन्द्वमा फस्नेछन् । 

यो परिदृश्य अवश्यम्भावी नभएको होइन । अप्रिल ५ मा एक वक्तव्य जारी गर्दै राजकुमार हम्जाहले सत्ताविरुद्धको षड्यन्त्रमा कुनै प्रकारको संलग्नताको खण्डन गरेका छन् । ‘विगत दुई दिनका विकासक्रमको स्थितिमा म आफूलाई मौसुफ सरकारको शरणमा पेस गर्दछु,’ वक्तव्यमा राजकुमार हम्जाहले भनेका छन् । राजा अब्दुल्लाहले सन् २००४ मा हम्जाहलाई युवराजबाट हटाएर आफ्नै छोरालाई सो पदमा विराजमान गराएका थिए । हम्जाहले राजासमक्ष गरेको निष्ठाको घोषणा (भलै त्यो अनिच्छापूर्वक आएको किन नहोस्) लाई महत्वका साथ हेरिएको छ । 

यो प्रकरणमा राजदरबारभित्रको शक्तिसंघर्ष मात्र जोडिएको छैन । जोर्डनका उप–प्रधानमन्त्री तथा विदेशमन्त्री एइमान सफादीले जोर्डनको सुरक्षा निकायले ‘देशको सुरक्षा र स्थिरतालाई निसाना बनाइरहेका राजकुमार हम्जाह बिन अल हुसेन, सरिफ हसन बिन जाइद, बसेम इब्राहिम अवादल्लाह र अन्यको गतिविधिलाई पछ्याइरहेको’ बताए । पूर्वअर्थमन्त्री अवादल्लाह र एक कनिष्ठ शाही सदस्य विन जाइद पनि पक्राउ परेका छन् । विन जाइदले विगतमा राजा अब्दुल्लाहको साउदी दूतका रूपमा काम गरेको इतिहास छ । 

जोर्डनको राजपरिवारभित्रको आन्तरिक विवाद सार्वजनिक रूपमा छताछुल्ल भयो । यस समस्यापछाडिका कारणहरू जटिल र पूर्णतः स्पष्ट छैनन्, तर यो घटनापछि जोर्डनको स्थिरतामाथिको चुनौती बढेकोमा भने कुनै शंका रहेन । 

सफादीले बताएअनुसार अनुसन्धानका क्रममा विदेशी निकायसँग गरिएको सञ्चार कुराकानी पहिचान भएको छ । यो निकायले जोर्डनको सुरक्षालाई उपयुक्त समयमा अस्थिर गराउन चाहेको सफादीले बताए । ‘विदेशी निकाय’ को औपचारिक पहिचान भएको छैन, तर शंकाको औँला विगतमा स्वतः इजरायलतर्फ सोझिन्थ्यो । हुन त राजा अब्दुल्लाह र इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहुबीचको सम्बन्ध तिक्त छ, तर पनि शंकाको घेरामा साउदी युवराज मोहम्मद बिन सलमान पनि पर्छन् । 

साउदी अरबका वास्तविक शासक मानिने युवराज सलमानले अन्य अरब सरकारले जस्तै राजा अब्दुल्लाहलाई समर्थन जनाएका छन् । तर, जेरुसेलमस्थित इस्लामको तेस्रो पवित्रस्थल अल–अक्सा मस्जिदको संरक्षक भएकाले जोर्डनको राजपरिवार मोहम्मद बिन सलमानको बृहत्तर महत्वाकांक्षा अघि उभिएको छ । आखिर सलमानका हजुरबुबाले सन् १९२४–२५ मा हासिम वंश (जोर्डनको राजवंश)सँग मक्का र मदिनाको नियन्त्रणका लागि लडेका थिए । यो सिद्धान्तको सत्यता असम्भव छैन । अघिल्लो वर्ष नोभेम्बरमा मोहम्मद बिन सलमान र नेतान्याहुबीचको गोप्य बैठकपछि जोर्डनले अल–अक्सा मस्जिदमाथिको संरक्षकको पुनः दाबी घोषणा गरेको थियो, ‘जोर्डन अधिराज्यले अल–अक्सा मस्जिदको संरक्षण र सुरक्षात्मक कार्य जारी राख्नेछ । जेरुसेलमको मुसलमान तथा इसाई पवित्र स्थलमाथिको हासिम वंशको संरक्षकत्वलाई पालना गर्दै सबै मुसलमानको यसमाथि अधिकार रहन्छ ।’

यो सिद्धान्त सम्भवतः कहिल्यै सही वा गलत ठहराउन सकिनेछैन । तर, मोहम्मद बिन सलमानको महत्वाकांक्षा लुकेको कुरा होइन । साउदी राजघरानाका लागि राजा अब्दुल्लाहका विशेष दूत तोकिएका अवादल्लाह पछि सलमानका सल्लाहकार बनेको र हाल उनीसँग साउदी पासपोर्ट रहेको प्रसंग यहाँ ध्यान दिनुपर्छ । अरब राजाहरूबीचको ऐक्यबद्धताका बाबजुद मोहम्मद बिन सलमानले इजरायलसँगको सम्बन्ध सुधारलाई अल–अक्सामाथिको नियन्त्रण हासिल गर्ने एक मार्गका रूपमा हेरेका हुन सक्छन् । इजरायल र संयुक्त अरब इमिरेट्स, बहराइन, सुडान र मोरक्कोबीचको ‘अब्राहम सम्झौता’को पृष्ठभूमिमा साउदी र इजरायलको सम्बन्ध सामान्यीकरण हुन सक्छ । 

साउदी युवराज सलमानलाई जोर्डनको राजपरिवार अनुदानमा अत्यधिक निर्भर छ भन्ने राम्ररी थाहा छ । जोर्डनले पाउने सहयोगको ठूलो हिस्सा पेट्रोलियम पदार्थ सम्पन्न अन्य अरब मुलुक, अमेरिका र आइएमएफजस्ता संस्थाबाट आउँछ । यस्तोमा जोर्डनका राजाको राजनीतिक अस्तित्व तिनको राजनीतिक कौशल, प्रभावकारी सुरक्षा संयन्त्र र सौभाग्यमा निर्भर रहन्छ । सन् १९९९ मा पिता हुसेनको मृत्युपछि राजमुकुट पहिरिएका राजा अब्दुल्लाहसँग तीनवटै कुराको योग थियो । उनका काका राजकुमार हसन बिन तलालको युवराज पद राजा हुसेनको मृत्युको केही अघि खोसिएको थियो । त्यसलाई तलालले विनाप्रतिरोध स्विकारे । हम्जाहले अहिले फरक व्यवहार गरेका छन् र हम्जाहको व्यवहारमा उनकी आमा रानी नुरको हात रहेको चर्चा छ । हुसेनकी अन्तिम रानी नुर आफ्नो छोराको युवराज पद खोसिएकोमा खुसी छैनन् । 

पैगम्बर मोहम्मदको समयदेखि अस्तित्वमा रहेको हासिम वंशको पक्षमा चन्द्रमा सधैँ दाहिना नहुन सक्छन् । जोर्डनका एक करोड जनसंख्याको झन्डै आधा प्यालेस्टाइनी छन्, जसमध्ये धेरैले अझै सन् १९७० को ‘ब्ल्याक सेप्टेम्बर’लाई बिर्सेका छैनन् । त्यस समय यासेर अराफातका छापामार फौजलाई अधिराज्यबाट धपाइएको थियो । जोर्डनी जातिको राजपरिवारप्रतिको निष्ठामा प्रश्न उठाउने ठाउँ छैन, तर सो समुदायमा हम्जाह बढी लोकप्रिय छन् । पछिल्लो समय कुको भय बढाउने कारण यो पनि थियो । राजा अब्दुल्लाहको सबैभन्दा ठूलो चिन्ता हम्जाहले आरोपमा भनेको भ्रष्टाचार र अक्षमतासँग जोडिएको छ । कोभिड–१९ ले जोर्डनको अर्थव्यवस्थामा अत्यन्त महत्वपूर्ण भूमिका निभाउने पर्यटन क्षेत्रलाई ध्वस्त नै गर्‍यो । विगतमा सिरियाको गृहयुद्धबाट भागेका कम्तीमा ६ लाख ६० हजार शरणार्थी र इराक युद्धबाट उम्किन सफल अर्को ७० हजार शरणार्थीलाई शरण दिएको जोर्डनको सार्वजनिक सेवामाथि महामारीले थप दबाब सिर्जना गरेको छ । 

के हासिम वंशकै अन्त्यको दबाब होला ? पहिलो विश्वयुद्धमा ब्रिटेनले अटोमनविरुद्धको अरब विद्रोहमा भूमिका निभाएकाले हासिम वंशका मानिसलाई जोर्डन र इराकको राजा नियुक्त गरेको थियो । सन् १९५८ को सैन्य कुबाट अपदस्थ हुनुअघिसम्मको हासिम शासन इराकको सबैभन्दा स्थिर अवधि थियो । जोर्डनमा भने हासिमाइट वंशले इजरायलसँगको युद्ध, अरब राष्ट्रवादको लहर र प्यालेस्टाइनी लिबरेसन अर्गनाइजेसनसँगको द्वन्द्व, अतिवादको उभार सबै सहेर अस्तित्वमै रहेको छ । आगामी दिनमा थप चुनौती आउने नै छन् । तर, राजा अब्दुल्लाहलाई पनि थाहा छ, ती सबैमा अस्तित्व रहला भन्ने सुनिश्चित छैन । 


जोन एन्ड्रयु द इकोनोमिस्टका पूर्वसम्पादक हुन् । 
© Project Syndicate 2021
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य

ad
ad