१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १६:२६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश १ सभामा प्रतिपक्षी दलहरूको अवरोध कायमै, बैठक एक हप्ता स्थगित 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १६:२६:oo

मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै सबै प्रतिपक्षी दलहरूले निरन्तर अवरोध जारी राखेपछि संसद्को बैठक फेरि एक हप्ताका लागि स्थगित भएको छ । 

सोमबार दिउँसो बसेको प्रदेश सभाको हिउँदे अधिवेशनको सातौँ बैठक सञ्चालनमा पनि पनि सबै प्रतिपक्षी दलहरूले अवरोध गरेपछि संसद्को बैठक ५ वैशाखसम्मका लागि स्थगित भएको हो । प्रतिपक्षी दलहरूले कुर्सीबाट उठेर अवरोध गरेपछि उपसभामुख सरस्वती पोखरेलले बैठक ५ वैशाखसम्म स्थगित भएको घोषणा गरिन् । 

निर्धारित समयभन्दा एक घन्टा ढिलो सुरु भएको प्रदेश १ सभाको सोमबारको बैठकको विशेष समयमा प्रतिपक्षी दल जसपा संसदीय दलका नेता जयराम यादवले सबैको सहयोग पाएर पनि मुख्यमन्त्री शेरधन राई नेतृत्पको सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाए । बजेट निर्माण गर्ने समय आइसक्दा पनि चालू वर्ष विनियोजन भएका कार्यक्रमहरूका लागि रकम निकासा हुन नसकेको, प्रदेश गौरवका आयोजनाहरू पनि रकम अभावमा अलपत्र परेको र विपक्षी दलहरूले सहयोग गरिरहँदा पनि मुख्यमन्त्रीले संसदमा फेस गर्न नचाहेकोले अवरोध निरन्तर जारी राख्ने बताए । 

उनले भने, ‘सरकारले जिम्मेवार भएर संसद्लाई जवाफ नदिएसम्म हाम्रो अवरोध जारी रहन्छ, अटेर गरिरहेमा भीरबाट झर्ने गोरुलाई राम राम मात्र भन्न सकिने, तर काँध थाप्न नसकिने भनेजस्तै सधैँ सरकारलाई साथ दिइरहन बाध्य हुने छैनौँ ।’ 

सरकारले योजना र कार्यक्रमको वितरण, कर्मचारी सरुवा, बजेट निर्माण र खर्चलगायतका काममा सुशासनमुखी भएर काम गर्न नसकेको, विकासको योजनाहरू अलपत्र बनाएको, बजेटमा उल्लेख भएका योजनाहरूको निकास अझै गराउन नसकेको आरोप प्रतिपक्षी सांसदहरूको छ । प्रदेश सभामा मुख्य प्रतिपक्षी दल कांग्रेस, प्रतिपक्षी दल माओवादी केन्द्र, जसपा, राप्रपा र संघीय लोकतान्त्रिक मञ्च एक भएर मुख्यमन्त्री आफैँले संसद्लाई चित्तबुझदो जवाफ दिनुपर्ने माग गर्दै आएका छन् । 

मुख्यमन्त्री राईविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता भएसँगै सुरु हुन थालेको प्रदेश १ सभाको बैठक प्रतिपक्षी दलहरूले सरकारले पारदर्शी काम नगरेको भन्दै अवरोध गर्न थालेपछि निरन्तर स्थगित हुँदै आएको छ ।