१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार o७:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
सम्पादकीय प्रिन्ट संस्करण

विद्युतीय  सवारीमा जोड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:२४:oo

लामो समयको अलमल र अनिर्णयपछि फेरि एकपटक उपत्यकामा विद्युतीय बस सञ्चालनको तयारी थालिएको छ । ललितपुर महानगरपालिका र साझा यातायातको पहलमा केही महिनाभित्रै थोरै संख्यामा विद्युतीय बस सञ्चालनमा आउन थालेको बताइन्छ । पहिलेझैँ विवाद भएन र समयमा ल्याएर चलाइयो भने यो नेपालका लागि एउटा गेमचेन्जर प्रयोग हुन सक्छ । यद्यपि अहिले ललितपुर महानगरले जम्मा चारवटा बसबाट सेवा आरम्भ गर्ने बताएकाले यसले व्यावसायिक रूपमा ठूलो प्रभाव पार्ने होइन । साझाले पनि थोरै बसबाटै सेवा आरम्भ गर्न लागेको हो । तर, पहिलो प्रयोग सफल भयो भने त्यसले अरू निजी क्षेत्रका व्यवसायीलाई आकर्षित गर्ने र बिस्तारै काठमाडौंलाई डिजेलका सार्वजनिक सवारीबाट मुक्त गर्ने बाटो खोल्न सक्छ । धेरै हदसम्म सरकारको प्राथमिकता र नीतिगत व्यवस्थामा भर पर्ने यो प्रयोग अब बिस्तारै हाम्रो बाध्यतामा बदलिने निश्चित छ । हाम्रा लागि यो आर्थिक र वातावरणीय दुवै दृष्टिले उत्तम विकल्प पनि हो । 

विद्युतीय सवारीले एकैपटक डिजेल–पेट्रोलको आयात घटाउन र वातावरणीय प्रदूषण घटाउन सहयोग गर्नेछ । यसका लागि सरकारले केही नीतिगत सहयोग गरे पुग्छ ।

बितेका दुई साताको काठमाडौंको वायुमण्डलमा भरिएको तुवाँलोको पत्रलाई हेर्ने हो भने हामी वातावरणीय प्रदूषणको उच्च जोखिममा पुगेका छौँ । केही दिनयता लगातार काठमाडौं विश्वकै उच्च प्रदूषित सहरको सूचीमा एक नम्बरमा रह्यो । यसका दुईवटा मुख्य कारण छन्– हामीले पछ्याइरहेको विकास मोडल र राज्यसत्तामा पकड जमाएको आसेपासे पुँजीवाद । हामीले अपनाएको विकास मोडलले सहर, बंगला, निजी गाडी, चिल्ला सडकको माग गर्छ । यो प्रकृतिमाथिको असीमित दोहन नगरी प्राप्त गर्न या उपभोग गर्न सकिँदैन । हरेक मान्छे यसैका पछि कुदिरहेको र ती आवश्यकता पूरा गर्न तीव्र ढंगले प्रकृतिको दोहन भइरहेकाले वातावरणीय सन्तुलन खलबलिएको छ । नेपाल आफूले उत्सर्जन गर्ने धुलोधुवाँ वा औद्योगिक क्षेत्रबाट निस्किने प्रदूषित वायुबाट मात्र होइन, भारतले उत्पादन गरिरहेको प्रदूषणबाट पनि प्रभावित भइरहेको छ । यस्तो अवस्थाबाट थोरै भए पनि राहत महसुस गर्नका लागि अपनाउनैपर्ने एउटा उपाय विद्युतीय सवारीको प्रयोग हो । 

आर्थिक कारणले पनि हामी आयातित खनिज तेलमा निर्भर हुँदा अत्यधिक वैदेशिक मुद्रा खर्च गर्नैपर्ने दबाबमा छौँ । यता नेपाल अबका केही वर्षमै विद्युत् उत्पादनमा आत्मनिर्भर हुने मात्र होइन, अहिलेको मागभन्दा निकै बढी विद्युत् उत्पादन गर्न सक्षम हुँदै छ । राष्ट्रिय प्रसारणमा जोडिन आउने यो विद्युत् निर्यात गरेर भन्दा आन्तरिक खपत गर्नमा जोड दिएर नै हामीले अधिक लाभ हासिल गर्न सक्छौँ । विद्युतीय सवारीले एकैपटक डिजेल–पेट्रोलको आयात घटाउन र वातावरणीय प्रदूषण घटाउन सहयोग गर्नेछ । यसका लागि सरकारले केही नीतिगत सहयोग गरे पुग्छ । विद्युतीय सवारीको आयातमा करको दर कम गर्ने र विद्युत् चार्ज गर्दा लाग्ने शुल्क केही प्रतिशत घटाउने । यति गरे बिस्तारै पेट्रोल डिजेलका हलुका सवारी साधनको आयात अहिले नै घटाउन सम्भव छ । यसैगरी सरकारी क्षेत्रबाट खरिद गरिने साना सवारीमा पनि विद्युतीय गाडीलाई प्राथमिकतामा राख्न सकिन्छ । विद्युत् प्राधिकरण र निजी क्षेत्र मिलेर छोटो दूरीमा चार्जिङ स्टेसन बनाउन सक्छन् । घरघरमा सवारीमा चार्ज गर्दा हुने विद्युत् खपतमा उपभोक्ता मूल्यमा छुट दिन पनि सम्भव छ । जे–जसरी हुन्छ, अहिले विद्युतीय सवारी प्रयोगमा जोड दिने वेला हो । 

ad
ad