मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी काठमाडाैं
२०७७ चैत २२ आइतबार ०९:०७:००
Read Time : > 2 मिनेट
फिचर प्रिन्ट संस्करण

‘हग’ फेरि सम्भव होला ?

Read Time : > 2 मिनेट
एजेन्सी काठमाडाैं
२०७७ चैत २२ आइतबार ०९:०७:००

मान्छेहरूले हगिङलाई किन धेरै मिस गर्छन् त ? युनिभर्सिटी कलेज लन्डनका प्रोफेसर सोफी स्कट ‘हग’ गर्दा मानव शरीरलाई आवश्यक विशेष खालको गुण प्राप्त हुने तर्क गर्छन् ।

रोज लान्नोन आफूलाई ‘बिग हगर’ त मान्दैनन्, तर २७ वर्षीय यी युवा साथीभाइ र परिवारका सदस्यहरूलाई अंकमाल गरी सामीप्यता कायम गर्ने यो शैलीलाई आजभोलि खुबै ‘मिस’ गरिरहेका छन् ।  एक–अर्काबीच माया दर्साउने वा सम्बन्ध थप प्रगाढ बनाउने यो शैली पश्चिमी समाजमा त सामान्य नै हो । यो कसैप्रति माया दर्साउने तरिका पनि हो । तर, कोरोना भाइरस (कोभिड–१९) महामारीले अहिले सबैसँग ‘हग’ गर्नु असम्भव बनाइदिएको छ ।

बेलायतको ट्रयुरो कोर्नवालका रोसले गत वर्ष मार्चको अन्तिम सातामा कोरोना भाइरस महामारी सुरु भएपछिको वर्षदिनमा बिरलै हग गरेका छन् । उनी यो अवधिमा आफूले साथीभाइ र परिवारका कुनै पनि सदस्यसँग हग गरेको आफ्नो एउटै हातको औँलामा गन्न सक्छन् । महामारी सुरु भएदेखि उनी एक्लै बस्दै आइरहेका छन् । शारीरिक रूपमा अशक्त उनी कोरोना भाइरस संक्रमण सम्भावनाको दृष्टिकोणले बेलायती सरकारले जारी गरेको सूचीमा अति नै जोखिम समूहमा पर्छन् । त्यसैले पनि उनलाई अन्य सर्वसाधारणजस्तै खुला रूपमा बाहिर हिँडडुल गर्न असम्भव छ । ‘यो राम्रो भइरहेको छैन,’ रोस भन्छन्, ‘मैले मेरो जीवनबाट अहिले केही गुमाएको महसुस गरिरहेको छु । साथीभाइ र आफन्तलाई हग गर्न पहिले कहिल्यै यसरी मिस गरेको थिइनँ । म आफूलाई साँच्चिकै बिग हगर त मान्दिनँ । तर, अहिले आफ्ना आफन्तसँगको त्यो खालको व्यवहार कतै गुमाइरहेको महसुस गरेको छु ।’

‘हगिङ’ अझै किन असम्भव ?
पछिल्लो समय बेलायतको धेरै ठाउँमा लकडाउन केही खुकुलो भएको छ । त्यससँगै घरबाहिर धेरै काम गर्न सम्भव पनि भएको छ । तर, यसको मतलब फेरि पहिलेकै जस्तो कसैसँग हग गर्नु सम्भव भएको हो भन्नेचाहिँ होइन ।

किनभने, यदि कसैसँग कोरोना भाइरस संक्रमण छ र उसलाई त्यस्तो कुनै लक्षण देखिएको छैन भने थाहै नपाई अर्काे व्यक्तिमा सर्न पनि सक्छ । हग गर्दा दुई व्यक्ति एक–अर्काको निकै नजिक हुन्छन् । त्यो समय संक्रमित व्यक्तिले खोकेको अवस्थामा त्यसबाट बाहिर निस्कने हावा र थुकका छिटामा भाइरस पनि हुन्छन् । त्यही भाइरस अर्काे व्यक्तिको नाक, मुख र आँखा हुँदै संक्रमण फैलन सक्छ । त्यसैले अझैसम्म पनि सर्वसाधारणलाई एक–अर्कासँग दूरी कायम गर्न प्रेरित गर्ने गरिएको छ । सोही उद्देश्यले हग गर्नु पनि प्रतिबन्धजस्तै छ । 

मान्छेहरूले हगिङलाई किन धेरै मिस गर्छन् त ? युनिभर्सिटी कलेज लन्डनका प्रोफेसर सोफी स्कट हग गर्दा मानव शरीरलाई आवश्यक विशेष खालको गुण प्राप्त हुने तर्क गर्छन् । ‘शारीरिक रूपमा एक–अर्काको नजिक पुग्नु मानव शरीरका लागि निकै महत्वपूर्ण हुन्छ । यसले एकखालको आनन्द दिन्छ,’ उनी भन्छन्, ‘वास्तवमा कसैसँग हग गर्दा तपार्इंले आफ्नो तनाव कम भएको महसुस गर्नुहुनेछ ।’ 

‘सधैँ आनन्ददायी’
हग गर्दाको सामीप्यता मानव शरीरमा हुने ‘हर्माेन अक्सिटोसिन’सँग सम्बन्धित छ । प्राध्यापक सोफी आमा र नानीबीचको सम्बन्ध वा उनीहरूबीचको छुवाईको उदाहरण दिन्छन् । ‘आमा र उसको नानीबीचको सम्बन्ध साँच्चिकै आनन्ददायी हुने गर्छ,’ उनी भन्छन्, ‘उमेरले बुढाबुढी भइसक्दा पनि त्यो सम्बन्धमा त्यही आनन्द रहने गर्छ ।’ 

रोस प्राध्यापक सोफीको कुरासँग सहमत छन् । तर, उनका लागि हग गर्न अहिले सम्भव छैन । उनीसँग अहिले साथीको रूपमा तीन वर्षका कक्कापू (हाइब्रिड गरिएको एउटा जातको कुकुर) राल्फ मात्रै छ । राल्फ समय–समयमा उनीसँग कुनै नानीले जस्तो लडीबुडी गर्छ । तर, रोस आफ्ना साथीभाइ र परिवारका सदस्यहरूबाट हुने हगले दिनेजस्तो आनन्दको अभाव महसुस गर्छन् । 

प्राध्यापक सोफी हगिङको विकल्पमा अरू धेरै तरिका अपनाउन सकिने तर्क गर्छन् । जस्तो, कसैसँग अनलाइनमै भए पनि कफी सेयर गर्नु । यो उपाय राम्रो हुनेछ । कसैसँग कुरै नहुनुभन्दा अनलाइनमै भए पनि सँगै कफी पिउनुले केही हदसम्म नजिकपनको महसुस गराउनेछ । त्यसले बिस्तारै हगिङको तलतल मेटाउनेछ । ‘अझ अरू उपाय पनि गर्न सकिन्छ । शारीरिक रूपमै भेट्ने, यद्यपि दुई मिटरको दूरी कायम राखेर सँगै कफी पिउने,’ सोफी भन्छन्, ‘आवश्यक सावधानीसहितको भेटले हामीलाई धेरै हदसम्म सहयोग गर्नेछ ।’ 

बेलायतमा कोरोना भाइरसविरुद्धको भ्याक्सिनेसन तीव्र रूपमा अघि बढिरहेको छ । त्यसका बाबजुद सोफी हग गर्नु अझै सुरक्षित नरहेको तर्क गर्छन् । ‘अझै पनि जोखिम छ । हामी सबैले भ्याक्सिन नलगाएसम्म हग गर्नु सुरक्षित हुनेछैन,’ सोफी भन्छन्, ‘त्यसको मतलब हामीले अझै कुर्नुपर्नेछ ।’ रोस आफैँले पनि भ्याक्सिनको पहिलो डोज लगाइसकेका छन् । तर, उनी साथीभाइ र आफन्तसँग हग गर्नका लागि अझै सुरक्षित भने छैनन् ।