१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
भवानीश्वर गौतम काठमाडाैं
अर्जुन अधिकारी काठमाडाैं
२o८१ जेठ ५ शनिबार o६:४४:oo
Read Time : > 6 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

कोरोनाको ‘हट स्पट’ बन्दै शैक्षिक संस्था

Read Time : > 6 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:४४:oo

- ६ चैतयता देखिएका एक हजार पाँच सय ८४ संक्रमितमध्ये एक सय ४२ बालबालिका र चार शिक्षक 
- ८० विद्यार्थीमा संक्रमण देखिएपछि पोखराको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसको पठनपाठन अवरुद्ध

- गत साता पोखरास्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीमा ठूलो संख्यामा कोरोना संक्रमण देखिएपछि क्याम्पस अनिश्चितकालका लागि बन्द गरिएको छ । सहायक क्याम्पसप्रमुख गोपालप्रसाद घिमिरेका अनुसार संक्रमण देखिएका करिब ८० विद्यार्थी अहिले क्वारेन्टिनमा छन् । बिई चौथो वर्षको परीक्षा सञ्चालन भइरहेको छ । संक्रमित विद्यार्थीलाई छुट्टै कोठामा स्वास्थ्य मापदण्ड अपनाएर सहभागी गराइएको छ । 

- काठमाडौंस्थित हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजका चार शिक्षक, चार विद्यार्थी र दुई कर्मचारीमा संक्रमण देखिएपछि १३ चैतदेखि पाँच दिन कलेज बन्द गरिएको थियो । यहीबीचमा वातावरण प्रदूषणका कारण सरकारले मंगलबारदेखि चार दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरेपछि कलेज बिदाको समय थपिएको छ । आइतबारदेखि अनलाइन र भौतिक दुवै विधिबाट कक्षा सञ्चालन गर्ने कलेज प्रशासनको तयारी छ । 

- भक्तपुरस्थित सैनिक आवासीय महाविद्यालयले कक्षा १०, ११ र १२ को भौतिक रूपमै कक्षा सञ्चालन गरिरहेको थियो । तर, दुई कर्मचारीमा कोरोना संक्रमण देखिएपछि केही दिनदेखि पढाइ प्रभावित भएको छ । सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार कर्मचारीमा संक्रमण देखिएपछि अहिले अनलाइनबाट कक्षा सञ्चालन भइरहेको छ । 

....                     .....

यी प्रतिनिधि घटना मात्र हुन् । पछिल्लो समय शैक्षिक संस्थाहरू कोरोना संक्रमणको केन्द्र बन्ने जोखिम बढ्दै गएको छ । ६ चैतयताका १३ दिनमा १९ वर्षमुनिका एक सय ४२ बालबालिकामा संक्रमण देखिएको छ । उनीहरू सबै विद्यार्थी भएको स्वास्थ्य मन्त्रालयको अनुमान छ । यही अवधिमा चार शिक्षकमा पनि संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार दुईदेखि नौ वर्षका १९ बालबालिका, १० देखि १४ वर्ष उमेरका १९ र १५ देखि १८ वर्ष उमेर समूहका एक सय ६ बालबालिकामा संक्रमण देखिएको छ । संक्रमित शिक्षक ४७, ३८, ३६ र ४८ वर्षका छन् । कतिपय संक्रमितले पेसा नखुलाएका कारण संक्रमित हुने शिक्षकको संख्या अझ धेरै हुन सक्ने स्वास्थ्य मन्त्रालयको अनुमान छ । पछिल्ला १३ दिनमा देशभर एक हजार पाँच सय ८४ संक्रमित देखिएका छन् ।

धेरै शैक्षिक संस्थाले स्वास्थ्य मापदण्ड पालना गरेका छैनन् । स्यानिटाइजर नराख्ने, हात धुने व्यवस्था नगर्ने, मास्क नलगाउने र भौतिक दूरीसमेत कायम नगर्दा शिक्षण संस्थामा संक्रमणको जोखिम उच्च बनेको सरोकारवालाहरूको भनाइ छ । केही शैक्षिक संस्थाहरूले विद्यार्थी र शिक्षकलगायतका कर्मचारीमा लक्षण देखिँदा पनि लुकाउने गरेको उनीहरूको गुनासो छ । 

कोरोनाको दोस्रो लहरको जोखिम शैक्षिक संस्थाबाट धेरै हुने स्वास्थ्य मन्त्रालयको विश्लेषण छ । ‘पछिल्ला दिनमा शैक्षिक संस्थाहरू संक्रमणको केन्द्र बन्न थालेका छन् । धेरै शैक्षिक संस्थामा मास्क लगाउने, हात धुने चलन भए पनि तिनको कार्यान्वयन पक्ष ज्यादै फितलो हुँदा समस्या बढी देखिन थालेको छ,’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘कोरोना संक्रमित बिस्तारै उकालो लाग्दा स्वास्थ्य मन्त्रालय चिन्तित बनेको छ ।’

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग उपचार केन्द्रमा अहिले उपचार गराइरहेका सातमध्ये दुईजना शिक्षक छन् । ‘सात संक्रमितमध्ये दुईजना शिक्षक हुनु भनेको पनि डरलाग्दो हो,’ प्रवक्ता डा. गौतमले भने, ‘शिक्षक र बालबालिका संक्रमित हुन थाल्नुले स्वास्थ्य सुरक्षामा हेलचेक्र्याइँ गरेको देखिन्छ ।’ एक शिक्षकले धेरै कलेजमा पढाउने भएकाले पनि शैक्षिक संस्थामा संक्रमण चाँडो बढ्ने मन्त्रालयको अनुमान छ । अस्पताल भर्ना हुने संक्रमितमा शिक्षक, होटेलमा काम गर्ने कर्मचारी र तराईबाट रिफर भएर आएका बिरामी बढी रहेको प्रवक्ता गौतमले बताए । स्कुल–कलेजमा स्वास्थ्य मापदण्ड गम्भीरताका साथ पालना गर्नुपर्ने मन्त्रालयले जनाएको छ । 

कोरोना महामारीका कारण गत वर्षको ६ चैतदेखि बन्द रहेका केही विद्यालय मंसिरदेखि खुलेका थिए । काठमाडौं उपत्यकालगायतका सहरी क्षेत्रका विद्यालयमा भने माघ–फागुनबाट मात्रै भौतिक रूपमा पठनपाठन सुरु गरिएको छ । केही विद्यालयले तल्लो कक्षाका विद्यार्थीलाई अहिले पनि अनलाइनमै अध्यापन गराइरहेका छन् । सरकारको तथ्यांकअनुसार पूर्वप्राथमिकदेखि विश्वविद्यालयसम्म ८० लाख विद्यार्थी अध्ययनरत छन् ।

पोखरास्थित इन्जिनियरिङ क्याम्पसमा फैलिएको संक्रमणले सरोकारवाला सबैलाई झस्काएको छ । क्याम्पसमा कसरी संक्रमण फैलियो भन्ने यकिन नभएको सहायक क्याम्पस प्रमुख घिमिरेले बताए । केही दिनअघि विद्यार्थी विभिन्न ठाउँको भ्रमणमा गएका थिए । समूहमा गरिएका कार्यक्रममा पनि उनीहरू सहभागी भएका थिए । एकजना विद्यार्थीमा कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा पोजेटिभ पाइएको थियो । त्यसपछि अरू विद्यार्थीले परीक्षण गरेका थिए । 

सहायक प्रमुख घिमिरेका अनुसार संक्रमण पुष्टि भएको चार दिनसम्म क्याम्पस पूर्ण रूपमा बन्द गरिएको थियो । अहिले प्रशासन खुले पनि पठनपाठन अनिश्चित छ । ‘कोभिड छैन जस्तो गरी बेवास्ता भएको देखिन्छ, यो वेलामा थप सचेत हुनुपर्छ,’ उनले भने । 

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले शैक्षिक संस्थाहरूमा स्वास्थ्य मापदण्ड पालना नभएको बताए । ‘मास्क, स्यानिटाइजरको प्रयोग तथा भौतिक दूरी कायम गर्नुपर्नेलगायतका स्वास्थ्य मापदण्ड शैक्षिक संस्थाहरूमा अपेक्षाकृत अनुसरण गरेको पाइँदैन । यसलाई प्रभावकारी बनाउनुपर्छ,’ उनले भने ।

हिसानका वरिष्ठ उपाध्यक्ष तथा ह्वाइटहाउस इन्टरनेसनल कलेजका सञ्चालक युवराज शर्माले शैक्षिक संस्थाहरूमा लापरबाही बढेको बताए । ‘होसियार ढंगले शैक्षिक संस्था चलाउनुपर्ने वेला आएको छ । भौतिक कक्षा मात्र होइन, विकल्पमा समेत काम गर्नुपर्छ । स्थिति काबुबाहिर गएमा अप्ठ्यारो हुन्छ, अहिल्यै होसियार हुनुपर्छ,’ उनले भने । कहिले भौतिक रूपमा र कहिले भर्चुअल कक्षा सञ्चालन गर्नुपर्ने अवस्था आएको उनले बताए । 

नेसनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले जनजीवन सामान्य भएपछि कोरोनाका विषयमा सबैतिर बेवास्ता बढेको बताए । आफ्ना सबै सदस्य विद्यालयलाई स्वास्थ्य मापदण्ड अपनाएर मात्रै सञ्चालन गर्न आग्रह गरिएको उनले बताए । ‘अहिले संक्रमणको जोखिम बढेपछि केही सतर्क भएको पाइएको छ । अब झन्झट नमानी थर्मल गन प्रयोग गरी दिनहुँ ज्वरो नाप्ने, लक्षण देखिएमा टेस्ट गराउनुपर्छ । स्वास्थ्य मापदण्ड सबैले पालना गर्नैपर्छ,’ उनले भने । 

शिक्षण संस्था कोरोनाको केन्द्र बन्न थालेका छन् : जागेश्वर गौतम प्रवक्ता, स्वास्थ्य मन्त्रालय

कोरोना संक्रमित बिस्तारै उकालो लाग्दा स्वास्थ्य मन्त्रालय चिन्तित छ । पछिल्ला दिनमा शैक्षिक संस्थाहरू कोरोना संक्रमणको केन्द्र बन्न थालेका छन् । धेरै शैक्षिक संस्थाहरूमा मास्क लगाउने, हात धुने चलन भए पनि तिनको कार्यान्वयन पक्ष ज्यादै फितलो हुँदा समस्या बढी देखिन थालेको हो । टेकु अस्पतालमा भर्ना भएका सातजना संक्रमितमध्ये दुईजना शिक्षक छन् । यो संख्या पनि धेरै हो । शिक्षक–विद्यार्थी संक्रमित हुन थाल्नुले स्वास्थ्य सुरक्षामा हेलचेक्र्याइँ गरेको देखिन्छ । स्कुल–कलेजमा स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने देखिन्छ ।

शैक्षिक संस्थामा स्वास्थ्य मापदण्ड पालना भएन : दीपक शर्मा  प्रवक्ता, शिक्षा मन्त्रालय

सार्वजनिक ठाउँमा काम गर्नेमा संक्रमण बढेको जानकारी आइरहेका छन् । शैक्षिक संस्थामा अझ धेरै जोखिम बढेको छ । यसको अर्थ आत्तिएर विद्यालय बन्द गर्ने होइन, सतर्कता अपनाउने हो । मन्त्रालयले पनि संक्रमणबाट जोगिन स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । शैक्षिक संस्थामा मास्क, स्यानिटाइजरको प्रयोग तथा भौतिक दूरी कायम गर्नुपर्ने स्वास्थ्य मापदण्ड अपेक्षाअनुसार पालना गरेको पाइँदैन । यसलाई प्रभावकारी बनाउनुपर्छ । शिक्षा मन्त्रालयले तयार गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा’को अनुसरण गर्नुपर्छ । यसको अनुसरण गरे सुरक्षित हुन सकिन्छ । कार्यढाँचामा कस्तो अवस्थामा के गर्नेलगायतका विषय विस्तृत रूपमा समेटिएका छन् । सतर्कता अपनाउनमा विद्यालय र स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ । 

कोरोनाको दोस्रो लहर बढ्दै : आइसियूमा पुग्ने संक्रमितको संख्या पनि उकालो लाग्यो 

 

छिमेकी भारतमा कोरोनाको दोस्रो लहर बढेसँगै नेपालमा पनि संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्ला १३ दिनमा देशभर एक हजार पाँच सय ८४ संक्रमित देखिएका छन् । चिकित्सकहरूले नेपालमा पनि संक्रमणको दोस्रो लहर बिस्तारै सुरु भएको विश्लेषण गरेका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार १० चैतयता संक्रमण उकालो लागेको छ । अस्पतालहरूमा आइसियूमा पुग्ने बिरामी बढ्न थालेका छन् । ‘भारतमा दोस्रो लहरको संक्रमण सुरु भएपछि नेपालमा पनि संक्रमित धेरै देखिन थालेका छन्,’ टेकु अस्पतालका सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोलाले भने । सरकारले गत सातादेखि नेपाल–भारत सीमाक्षेत्रका १४ नाकामा हेल्थ डेस्क सञ्चालन गरी कोरोना जाँच सुरु गरेको छ । त्यसक्रममा ७० जनाभन्दा बढीमा कोरोना पुष्टि भइसकेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ६ देखि १८ चैतसम्म १५ संक्रमितको मृत्यु भएको छ । बुधबार देशभर ३८ संक्रमितको आइसियूमा र ५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । आइसियूमा पुग्ने संक्रमितको दर बढेसँगै मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारीका अनुसार संक्रमणबाट अहिलेसम्म तीन हजार ३० जनाको मृत्यु भएको छ । बुधबार देशभर एक हजार चार सय ९३ जना सक्रिय संक्रमित उपचाररत छन् । 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. रवि शाक्यले कोरोनाको दोस्रो लहर बिस्तारै सुरु भएको बताए । ‘एक हप्ताअघि पाटन अस्पतालमा एकजना संक्रमित मात्रै आइसियूमा थिए । अहिले पाँचजना भर्ना भएका छन्,’ उनले भने, ‘एक हप्तायता संक्रमण बिस्तारै बढ्ने क्रममा छ । सरकारले अहिले कन्ट्याक्ट ट्रेसिङ पनि फेरि सुरु गरेको छ ।’ अस्पतालमा दैनिक ३० देखि ४० जनाको नमुना परीक्षण हुने गरेकोमा अहिले ८० देखि ९० को हाराहारीमा परीक्षण भइरहेको डा. शाक्यले बताए । 

सशस्त्र प्रहरी अस्पतालमा उपचार गर्ने कोरोना संक्रमितको संख्या दैनिक दुईजनामा झरेको थियो । तर, पछिल्लो हप्तादेखि दैनिक १६ देखि २० जनासम्म भर्ना हुन थालेका छन् । ‘अहिले देखिएको भाइरस नयाँ प्रजातिको हुन सक्छ । हिजो सघन उपचार कक्ष आइसियूमा बस्नेहरू शून्य अवस्थामा थिए । तर, एक हप्तामा यो संख्या बढेर दैनिक तीनजना पुगेको छ,’ अस्पतालका एक कोभिड चिकित्सकले भने । 

टेकु अस्पतालमा पनि सघन उपचार कक्षमा पुग्नेहरू बिस्तारै बढ्न थालेका छन् । अस्पतालका कोभिड चिकित्सक डा. बास्तोलाका अनुसार एक हप्ताअघि एकजना मात्रै बिरामी आइसियूमा थिए । अहिले यो संख्या बढेर ६ पुगेको छ । नाकाका हेल्थ डेस्कमा स्वास्थ्य जाँच, सामाजिक दूरी, मास्कको प्रयोग, १४ दिन अनिवार्य क्वारेन्टिनलगायतका स्वास्थ्य मापदण्ड पालना नहुँदा दोस्रो लहरसँगै संक्रमित बढ्न थालेको उनको भनाइ छ । 

शिक्षण अस्पताल महाराजगन्जमा पनि आइसियूमा पुग्ने संक्रमित बढेका छन् । अस्पतालका कोभिड चिकित्सक डा. सन्तकुमार दासका अनुसार शून्य अवस्थामा पुगेको केस अहिले दैनिक पाँचजनासम्म हुने गरेका छन् । आइतबार आइसियूमा भर्ना भएका दुईजनालाई भेन्टिलेटरको सहायतामा राखिएको छ । स्वास्थ्य मापदण्ड पालनामा खेलाची गर्दा संक्रमणको दोस्रो लहर सुरु भएको डा. दासले बताए । 

नाकामा एन्टिजेन परीक्षण तीव्र बनाइँदै

सरकारले कोरोना संक्रमण रोक्न नाकामा एन्टिजेन परीक्षणलाई तीव्र बनाउने भएको छ । भारतमा कोरोनाको दोस्रो वेभ सुरु भएसँगै नेपाल प्रवेश गर्ने शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण थालिएको छ । 

स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाका अनुसार अहिले ४८ हजार एन्टिजेन किट मौज्दात छ । किट अभाव हुन नदिन युनिसेफमार्फत ल्याउन समन्वय गरिएको छ । ‘थप किट खरिदका लागि प्रक्रिया लामो हुने भएकाले युनिसेफमार्फत समन्वय गरेर ल्याउन लागेका छौँ, अभाव हुन दिँदैनौँ,’ महाशाखाका प्रमुख डा. भीमसिंह तिंकरीले भने । उनका अनुसार युनिसेफमार्फत करिब दुई लाख एन्टिजेन किट आउनेछ । युनिसेफले दुई हप्तामा किट दिने वचन दिएको छ । 
स्वास्थ्य मन्त्रालयले बढीभन्दा बढी परीक्षण गरेर कोरोना नियन्त्रणको पहल गर्ने बताएको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले विगतको पाठ सिकेर काम गर्नुपर्ने बताए । क्वारेन्टिन, आइसोलेसनमा बसे–नबसेको निगरानी स्थानीय तहले गर्नुपर्ने उनले बताए । 

‘कतिपय देशमा कोरोना बढेसँगै लकडाउनमा जाने भन्ने कुरा उठेको छ,’ मन्त्री त्रिपाठीले भने, ‘नेपालले विगतको त्यो गल्ती गर्नेछैन । हिजो लकडाउन गर्दा गरिबीको खाडल फराकिलो भयो, कैयौँ मान्छे बेरोजगार भए । त्यसैले हामी लकडाउनको मोडालिटीमा जानुहुँदैन ।’ उनले स्वास्थ्यका सबै मापदण्ड पालना गर्न पनि अनुरोध गरेका छन् । 

सरकारले चीनको सहयोगमा प्राप्त गरेको चार लाख डोज सार्स कोभ–२ भ्याक्सिन (भेरोसेल) कहिलेदेखि लगाउने निर्णय गर्न सकेको छैन । चार लाख नागरिकलाई लगाउनुपर्ने खोप कुन समुदायमा दिने निर्णय हुन बाँकी रहेको परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले बताए । उनले खोप थोरै भएकाले समूह तोकेर नै प्रयोग गर्ने सम्भावना रहेको बताए । 

ad
ad