मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ चैत १३ शुक्रबार ०६:४५:००
Read Time : > 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

गण्डकी प्रदेशमा ११ सय क्षयरोगका बिरामी

Read Time : > 1 मिनेट
२०७७ चैत १३ शुक्रबार ०६:४५:००

गण्डकी प्रदेशमा यस वर्ष एक हजार एक सय २७ क्षयरोगका बिरामी फेला परेका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको हालसम्म सात हजार सात सय ८४ शंकास्पद बिरामीमध्ये एक हजार एक सय २७ मा क्षयरोग पत्ता लागेको हो । 

गत वर्षको तुलनामा यस वर्ष क्षयरोगीको संख्या घटे पनि आगामी चार महिनामा अझै थपिने अनुमान गरिएको छ । हालसम्म गण्डकी प्रदेशको सबैभन्दा बढी क्षयरोगीको संख्या कास्कीमा छ । कास्कीमा तीन सय ४७ जना क्षयरोगी छन् ।

त्यसैगरी, नवलपरासीमा दुई सय ५४, स्याङ्जामा एक सय एक, गोर्खामा एक सय ११, तनहुँमा एक सय ३२, लमजुङमा ४९ क्षयरोगी छन् । यस्तै, बाग्लुङमा ७७ जना, म्याग्दीमा २४ जना, पर्वतमा ३१ जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका क्षयकुष्ठ निरीक्षक लक्ष्मण बसौलाले जानकारी दिए ।

बसौलाका अनुसार हिमालपारिको जिल्ला मनाङमा यस वर्ष एकजना रहेका छन् भने मुस्ताङमा क्षयरोगका बिरामी शून्य रहेका छन् । गण्डकीमा अघिल्लो आर्थिक वर्षमा एक हजार नौ सय ४८ जना क्षयरोगका बिरामी थिए । गत वर्षभन्दा यो वर्षको अन्त्यसम्म यही दरमा रहने हो भने क्षयरोगका बिरामी झनै बढ्ने आकलन गरिएको छ । 

गण्डकी प्रदेशमा यस वर्ष क्षयरोग निको हुने दर ९० प्रतिशत रहेको छ । यहाँ हालसम्म ४६ जनाको मृत्यु भएको छ । अघिल्लो वर्ष कोरोना महामारीका कारण रोग पत्ता लाग्ने र उपचार सफल हुने दर घटे पनि यस वर्ष बढ्ने विश्वास लिइएको छ । प्रदेश निर्देशनालयले क्षयरोगको उपचारमा र बिरामीहरूको निगरानीका लागि सहज होस् भन्ने उद्देश्यले प्रदेशभरिका ११ जिल्लाका ८५ वटै स्थानीय तहका स्वास्थ्यकर्मीलाई लक्षित गरी इटिबी मास्टर रजिस्टर र डिएचआइएस टुसम्बन्धी तालिम सञ्चालन गरेको छ ।

बाग्लुङमा पनि जिल्लाका १० वटै स्थानीय तहका स्वास्थ्यकर्मीलाई इटिबी रजिस्टरसम्बन्धी तालिम सञ्चालन गरिएको छ । क्षयरोगसम्बन्धी थप जनचेतना फैलाउने र बिरामी पत्ता लगाउने दर बढाउनका निम्ति पनि यो तालिमले सार्थकता पाउने स्वास्थ्य कार्यालय बाग्लुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बताउँछन् । 

अबदेखि क्षयरोगीका बिरामीको स्वास्थ्य अवस्थाबारे मोबाइल फोनबाटै निगरानी गर्न सकिने भएको छ । स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरेसँगै हरेक स्थानीय तहका स्वास्थ्य संस्थामा मोबाइल प्रविधिमार्फत निगरानी राख्न सकिने प्रणाली व्यवस्था गरिएको हो ।

प्रविधिको प्रयोग गरी क्षयरोगका बिरामीको सत्यतथ्य तथ्यांक राख्ने र सहज तरिकाले सेवा दिने उद्देश्यले नेपाल सरकारले यो प्रणालीको थालनी गरेको स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत दिवाकर शर्माले जानकारी दिए । हालसम्म मुस्ताङ र म्याग्दीबाहेक सबै जिल्लामा यो प्रणालीको तालिम सञ्चालन भइसकेको शर्माले बताए । घिमिरेका अनुसार जिल्लामा क्षयरोग पत्ता लगाउने दर विगतका वर्षभन्दा बढ्दो क्रममा रहेको छ । ‘हाम्रो समाज अझै पनि पुरानै प्रवृत्तिमा छ ।

पछिल्लो समयमा केही सुधार हुँदै गएको छ,’ गुरौले भने, ‘क्षयरोग लागेपछि समाजमा खुल्न डराउने कारणले भित्रभित्रै फैलिने डर पनि बढ्दै गएको हो । अहिले केही सहज भएको छ । यसले निवारणका निम्ति सहयोग पुग्ने विश्वास छ ।’