१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
जेसिका भ्यालेन्टी
२o८१ बैशाख ३१ सोमबार o९:५९:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

यौनहिंसा रोक्न उदार यौनशिक्षा 

Read Time : > 2 मिनेट
जेसिका भ्यालेन्टी
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:५९:oo

मार्च १६ मा जर्जियास्थित एक स्पामा भएको आक्रमणमा आठजनाको ज्यान गयो । २१ वर्षिया हत्यारा रोबर्ट आरोन लङले ‘यौनचाहना जागृत गराउने’ महिलाको सफाया गरेर आफ्नो वासनालाई नियन्त्रण गर्ने प्रयास गरेको बयान दिएको छ । रोबर्टका एकजना पूर्वरुममेटले प्रहरीलाई दिएको बयानमा ‘रोबर्ट यौनकर्मीकहाँ नियमित धाउँथे र त्यस कुलतलाई लिएर लज्जित रहन्थे’ भन्ने जानकारी दिए । सार्वजनिक तथ्य हेर्दा रोबर्टले अन्य नारीद्वेषी हत्याराले जस्तै आफ्नो समस्याको दोष महिलामाथि खन्याएको देखिन्छ । 

अस्वीकृति, वासना र लज्जाले उत्पन्न गर्ने समस्यालाई सही सम्बोधन गर्न नसक्ने पुरुषको अक्षमताका लागि लामो समयदेखि महिलाहरू दण्डित हुने गरेका छन् । धेरै मारिएका छन् । अल्पसंख्यक महिलाले थप जोखिम बेहोर्नुपर्छ । लामो समयदेखि महिलाले भोग्ने हिंसाका लागि उनीहरूलाई नै दोषी ठहराउने परम्परा छ । अघिल्लो साताको एट्लान्टा हत्याकाण्डमा मर्नेमध्ये ६ जना एसियाली महिला थिए । 

पुरुषले महिलामाथि किन आक्रमण गर्छन् भन्ने विषयमा दशकौँको प्राज्ञिक तथा अभियान कर्मले धेरै जानकारी बाहिर ल्याएको छ । हिंसालाई नियन्त्रण गर्ने तरिकाबारे पनि सार्वजनिक ज्ञान उल्लेख्य बढेको छ । यसका बाबजुद महिलालक्षित हत्याकाण्डमा विराम लाग्ने कुनै संकेत देखिँदैन । जर्जियाको हत्याकाण्डमा पछिल्लो समय बढिरहेको एसियाली–विरोधी नश्लवादी धारणा र अमेरिकाको बन्दुक संस्कृति पनि जोडिएको छ । तर, यसमा अन्य नारीद्वेषी आतंकवादी आक्रमणमा पछ्याइने घिनलाग्दो शैली पछ्याइएको छ । नारीवादीहरूले यो शैलीको आक्रमणबारे पहिलेदेखि सतर्क गराउँदै आएका थिए । 

हत्याको शैली भयानक रूपमा समान छन् : एकजना युवा आफ्नो यौन अनुभवको अभाव वा सम्बन्धको अभाव वा अन्य रिस फेर्न महिलाको हत्यामा निस्कन्छ । (महिलाको उल्लेख्य उपस्थिति भएको स्थानमा हुने आक्रमणमा पुरुषको पनि ज्यान गएको देखिन्छ ।) हत्यारा आफ्नो कुकृत्य सम्बन्धमा अनलाइन भिडियो वा घोषणापत्र पोस्ट गर्छ । यसका उदाहरण प्रशस्त छन् । सन् २०१४ मा इला भिस्टा क्यालिफोर्नियामा एलियट रोजरले ६ को हत्या गरेर १३ जनालाई घाइते बनाए । सन् २०१५ को ओरेगन हत्याकाण्डमा क्रिस आर्पर–मर्सरले नौजनाको हत्या र थप नौजनालाई घाइते बनाए । त्यस्तै, सन् २०१८ को टोरोन्टामा घटेको घटनामा एलेक मिनासियनले १० जनाको हत्या गर्दा १६ जना घाइते भएका थिए । सन् २०१९ मा डेनभर क्षेत्रमा ‘आफूले सक्नेजति केटी’ मार्ने योजनामा हिँडेका क्रिस्टोफर वायिन क्लेरी पहिले पक्राउ परेका थिए । आंशिक रूपमा यी आक्रमण अनलाइन माध्यमको चर्को नारीद्वेषको उपज हो । विभिन्न अनलाइन फोरममा युवा, विशेष श्वेत पुरुष अफ्ना हिंसाको सहानुभूति र समर्थन लिने गर्छन् । तिनै फोरममा केही पुरुषको यौनसम्बन्धी सम्पूर्ण समस्याको जड महिला हुन् भन्ने विश्वास थप बलियो हुन्छ । 

पुरुषको यौन समस्याका लागि महिला जिम्मेवार हुन्छन् भन्ने विचार नयाँ होइन । न त यो इन्टरनेटमा सीमित विचारधारा हो । धेरै अमेरिकीमाझ यही विश्वासले जरा गाडेको छ । उदाहरणका लागि जर्जियाको आक्रमणकारीको यौनिकतासम्बन्धी धारणा ऊ हुर्कंदाको धार्मिक विश्वासबाट निर्देशित देखिन्छ । समाचारमा आएअनुसार हत्यारा रोबर्ट स्मार्टफोन बोक्दैनथे । फोन बोके अनलाइन पोर्नोग्राफीको लत लाग्ला भन्ने डरले उसलाई समातेको थियो । प्रहरीलाई दिएको बयानमा रोबर्टले हस्तमैथुनबाट आफूप्रतिको घृणाभाव बढ्ने र यौनकर्मीकहाँ जाने बानीलाई ‘पाप’सँग जोडेका छन् । बयानमा उसले हत्या आफ्नो वासना रोक्न मात्र होइन, अन्य पुरुषलाई पनि उनको ‘वासना’ (यहाँ उनको अर्थ महिला हो) हटाउन सहयोगी होस् भन्ने सोचले कार्यान्वयनमा ल्याएको बताएको छ । 

रोबर्टको माथिका सोचमा यौनबारे पुरातनपन्थी एभान्जेलिकल क्रिस्चियन सोच प्रतिबिम्बित हुन्छ । यसअन्तर्गत पुरुषलाई यौन परिस्थितिबाट जोगाउने जिम्मेवारी महिलाको हुन्छ । यौनसम्बन्धी शुद्धतावादी संस्कृति धार्मिक परम्परामा मात्र सीमित छैन । अमेरिकाभरका आधा राज्यमा पढाइ हुने यौनशिक्षा यौन क्रियाकलापबाट टाढा रहनुपर्छ भन्नेमा केन्द्रित छ । यी कक्षामा सहभागी किशोरकिशोरीलाई ‘पुरुषको वासना जगाउन महिला जिम्मेवार हुने भएकाले तिनले संयममा बस्नुपर्ने’ शिक्षा दिइन्छ । यस्तो शिक्षाले यौन क्रियाकलाप त घटाउँदैन, तर नारीद्वेषी आवेगलाई स्वाभाविक करार गर्छ । जर्नल अफ एडोलिसेन्ट हेल्थमा सन् २०१७ मा प्रकाशित एक अध्ययनका अनुसार यौनबाट टाढा रहने यौनशिक्षाले ‘महिला निष्क्रिय हुन्छन् र पुरुष आक्रामक हुन्छन् भन्ने पुरानो लैंगिक विचारलाई बलियो बनाउँछ ।’ यो विचार यति व्यापक छ कि तिनले विद्यालयको ड्रेसकोडमा पनि ठाउँ पाएका छन् । ड्रेसकोड कायम गर्ने धेरै विद्यालय महिलाको कपडामा केन्द्रित हुन्छन् । महिला विद्यार्थीको पहिरनले पुरुष सहपाठी तथा शिक्षकको ध्यान भंग गर्ने स्पष्ट भनिएको हुन्छ । महिलाका हरेक पक्षलाई यौनसँग जोडेर तिनलाई कसरी दण्डित गरिन्छ भन्ने यो अर्को उदाहरण हो । 

मिडियाको हेडलाइनले पनि महिलालाई चोट पुर्‍याउने पुरुषलाई वासनाको सिकार भएका ‘विचरा’ जसरी प्रस्तुत गर्छ । रोबर्टको आक्रमणलाई पनि ‘यौनको लत’ भएको व्यक्तिको कुकर्मका रूपमा व्याख्या गरिँदै छ । लैंगिक हिंसाबारे हाम्रो संस्कृति तथा संस्थानको सन्देश एउटै हुन्छ – ‘पुरुषको यौनहिंसालाई हामीले स्वाभाविक मान्नुपर्छ ।’ लैंगिक अपराधलाई निर्देशित गर्ने मूल्यलाई अत्यधिक सामान्यीकरण गरेपछि अपराधलाई घृणित मान्न कठिन हुँदै जान्छ । 

भ्यालेन्टी नारीवादी लेखक हुन् । 
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

ad
ad