१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत ११ बुधबार ०८:३९:००
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत ११ बुधबार ०८:३९:००

यो मौसम हावाहुरी, हल्का वर्षा र चट्याङ पर्ने वेला हो । चट्याङ लागेर प्रत्येक वर्ष धेरै मानिसले ज्यान गुमाउने गरेका छन् । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार ०६८ देखि ०७६ सम्म चट्याङका कारण नेपालमा नौ सय २९ जनाको मृत्यु भएको छ । चट्याङ तथा वायुमण्डलीय अनुसन्धान केन्द्रका अनुसार ०७५ मा मात्रै चट्याङ लागेर ६८ जनाको मृत्यु भएको थियो । यसबाहेक चट्याङबाट पशुधनमा पनि क्षति हुने गरेको छ । 

यसकारण पर्छ चट्याङ
विपरीत दिशाबाट आएका बादल आपसमा ठोक्किँदा तिनका अणुबीच हुने घर्षणबाट चट्याङ उत्पन्न हुन्छ । यो विद्युतीय तरंग हो । यसबाट विद्युतीय विस्फोटन हुन्छ । बादलबीचमा बग्ने करेन्ट निकै शक्तिशाली हुन्छ । यस्तो करेन्ट तीन हजारदेखि तीन लाख एमपिएससम्मको हुन्छ ।

नेपालमा मानवीय क्षतिको दोस्रो मुख्य कारक चट्याङबाट भए पनि यसबाट जोगिनेबारे प्रचुर सावधानी अपनाएको पाइँदैन । यसमा जनचेतनाको कमी देखिन्छ । चट्याङका कारण प्रवाह हुने करेन्टबाट जोगिन सके मानवीय क्षति कम गर्न सकिन्छ ।
पहिलो त चट्याङ प्रतिरोधी घर निर्माण गर्नुपर्छ । घर बनाउँदा छत या छानामा तामाको त्रिशूल वा रड राखेर त्यसलाई जिआई या अल्मुनियमको पाता जोडी जमिनमा पुर्‍याएर गाड्नुपर्छ । जमिनमा पनि तामाको रड वा पाता आवश्यक हुन्छ ।

यस्तो गर्दा चट्याङबाट प्रवाह हुने करेन्ट तारमार्फत जमिनमा पुग्छ र घरमा क्षति हुन पाउँदैन । सहरका घरमा विभिन्न धातु प्रयोग गरिने भएकाले चट्याङको जोखिम कम हुन्छ । गाउँका घरलाई सुरक्षित बनाउन माथिको विधि उपयुक्त छ ।
बादल र जमिनबीच कम दूरी रहेको स्थानमा चट्याङको जोखिम बढी हुन्छ । त्यसैले त्यस्ता स्थानबाट टाढा रहनुपर्छ । चट्याङ परेको समयमा अग्ला स्थान, टावर र ठूला रूखनजिक बस्नुहुँदैन । समथर वा खुला भूभाग वा धातुको तारबार भएका स्थानबाट पनि टाढा रहनुपर्छ ।

विद्युतीय तारजडित सामानमा चट्याङ प्रवाह हुने जोखिम बढी रहन्छ । त्यसैले चट्याङ पर्ने मौसममा त्यस्ता वस्तुलाई टाढा राख्नुपर्छ । वर्षात् भइरहेको समयमा टिभी र तारजडित फोन प्रयोग गर्नुहुँदैन । तारसहितको फोनको तुलनामा मोबाइलमा जोखिम कम हुन्छ । त्यसैले आकस्मिक अवस्थामा ल्यान्डलाइन फोन प्रयोग गर्दै नगरौँ । त्यस्तो अवस्थामा मोबाइल फोन उपयुक्त हुन्छ । छत नभएका सवारीसाधनमा हुनुहुन्छ भने तुरुन्त सुरक्षित स्थानमा जानुपर्छ । चट्याङ परिरहेको समयमा धारा खोलेर बस्नु जोखिमयुक्त हुन्छ । यस्तो समयमा हात धुन वा नुहाउन बाल्टिनमा राखेको पानी प्रयोग गर्नुपर्छ ।