१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
शान्ति तामाङ काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o९:३o:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कनिष्ठ कर्मचारीलाई निमित्त प्रशासकीय अधिकृतको जिम्मा दिन रोक

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:३o:oo

वीरगन्ज र भरतपुर महानगरपालिकासहित एक सय ६० स्थानीय तह निमित्त प्रशासकीय अधिकृतको भरमा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सय ६० स्थानीय तहमा प्रशासकीय अधिकृत रिक्त रहेको जनाएको छ । ती स्थानीय तह निमित्त प्रशासकीय अधिकृतको भरमा चलेका छन् । 

मन्त्रालयको अनुसार ६ वटा महानगरमध्ये वीरगन्ज र भरतपुर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त छ । ती दुई महानगर निमित्तको भरमा चलिरहेको छ । ११ वटा उपमहानगरमध्ये नेपालगन्ज र इटहरी उपमहानर पनि निमित्त प्रशासकीय अधिकृतले चलाइरहेका छन् । दुई सय ७६ नगरपालिकामध्ये ६० वटा नगरपालिका निमित्तको भरमा चलेका छन् । चार सय ६० गाउँपालिकामध्ये ९६ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त छन् । 

गाउँपालिकामा शाखा अधिकृत, नगरपालिकामा उपसचिव, उपमहानगरपालिका र महानगरपालिकामा सहसचिवलाई सरकारले प्रमुख प्रशासकीय अधिकृत खटाउने गरेको छ । संघीय मन्त्रालयका प्रवक्ता वसन्त अधिकारी भने सरुवा, बढुवा, अवकाशलगायत कारण कर्मचारी रिक्त हुने क्रम चरिरहने बताउँछन् । ‘सरुवा, बढुवा, अवकाश, पदपूर्ति हुने क्रम चरिरहन्छ । जसकारण खाली हुनु नौलो होइन, स्थानीय तहमा कर्मचारी जान नमानेका कारण पनि केही ठाउँमा प्रमुख प्रशासकीय अधिकृत रिक्त भएका हुन्,’ उनले भने ।

वसन्त अधिकारी प्रवक्ता, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

पालिकाहरूले जुनियर र आफूअनुकूल व्यक्तिलाई निमित्त देऊ भन्न थाले । कानुनमै सिनियरलाई निमित्त दिने भन्ने व्यवस्था छ । सिनियर छाडेर पालिकाअनुकूलको जुनियरलाई निमित्त दिँदा सिनियर कर्मचारीले डोमिनेट महसुस गर्छन् । कानुनी रूपमै वैध होस् भनेर हामीले यो निर्देशन दिएका हौँ ।

प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका स्थानीय तहहरूले आफूअनुकूलको कर्मचारीलाई निमित्तको जिम्मा दिन थालेको भन्दै संघीय मन्त्रालयले ज्येष्ठ कर्मचारीलाई मात्र निमित्त दिन निर्देशन दिएको छ । कुनै पनि स्थानीय तहले कनिष्ठ कर्मचारीलाई निमित्तको जिम्मेवारी दिएको मन्त्रालयमा निवेदन परेमा छानबिन गरी कनिष्ठ कर्मचारीबाट भएका सम्पूर्ण कार्यहरू रद्द गरिदिने जनाएको छ ।

‘स्थानीय तहले कनिष्ठ कर्मचारीलाई जिम्मेवारी दिएको भनी मन्त्रालयमा निवेदन पर्न आएमा सोबमोजिम छानबिन गरी कनिष्ठ कर्मचारीबाट भएका सम्पूर्ण कार्य रद्द गरी मन्त्रालयले ज्येष्ठ कर्मचारीलाई जिम्मेवारी दिन सक्नेछ,’ मन्त्रालयले स्थानीय तहलाई पठाएको परिपत्रमा भनिएको छ । मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर नहुँदासम्मका लागि दैनिक प्रशासनिक तथा आर्थिक कारोबार सञ्चालन गर्ने गर्ने आधार भन्दै ६ बुँदे निर्देशन पठाएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले गत २८ फागुनमा सात सय ५३ वटै स्थानीय तहलाई परिपत्र गरेको हो ।

मापदण्डअनुसार काम गराएको नपाइए कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत स्थानीय तहको आर्थिक कारोबारसमेत रोक्का गरिदिने भएको छ  । ‘पालिकाहरूले जुनियर र आफूअनुकूल व्यक्तिलाई निमित्त देऊ भन्न थाले,’ मन्त्रालयका प्रवक्ता अधिकारीले भने, ‘कानुनमै सिनियरलाई निमित्त दिने भन्ने व्यवस्था छ । सिनियर छाडेर पालिकाअनुकूलको जुनियरलाई निमित्त दिँदा सिनियर कर्मचारीले डोमिनेट महसुस गर्छन् ।’ 

अधिकारीका अनुसार निमित्तले चेक चलाउनेदेखि सिफारिस गर्नेसम्मको जिम्मेवारी पाउँछन् । ‘कानुनी रूपमै वैध होस् भनेर हामीले यो निर्देशन दिएका हौँ,’ उनले भने । निमित्तको जिम्मेवारी दिन कार्यपालिका बैठकले गरेको निर्णय प्रतिलिपिसहित प्रमुख वा अध्यक्षले सिफारिस गरेको पत्र मन्त्रालयमा पठाउनुपर्नेछ । त्यसकै आधारमा मन्त्रालयले आर्थिक तथा प्रशासनिक कारोबारको जिम्मेवारी दिने गरेको छ । 


मन्त्रालयले पालिकालाई पठाएको परिपत्रको ६ बुँदा

- सम्बन्धित स्थानीय तहमा कार्यरत कर्मचारीमध्ये ज्येष्ठ कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत (आर्थिक तथा प्रशासनिक जिम्मेवारीसहित)को जिम्मेवारी दिन कार्यपालिका बैठकबाट निर्णयको प्रतिलिपि र स्थानीय तहको प्रमुख वा अध्यक्षको सिफारिससहितको अनुरोधपत्र, रिक्त भएको कारण र पुस्ट्याइँ गर्ने कागजात, जस्तै– सरुवापत्र, रमानापत्रसहित संघीय मन्त्रालयले निर्णय गरी आर्थिक तथा प्रशासनिक जिम्मेवारी दिने 

- पालिकामा कार्यरत कर्मचारीमध्ये ज्येष्ठ कर्मचारी हो भनी प्रशासन महाशाखा, शाखा प्रमुखले प्रमाणित गरेपछि मात्र कार्यपालिकाको बैठकबाट आर्थिक तथा प्रशासनिक जिम्मेवारी दिने निर्णय गरी मन्त्रालयमा सिफारिस गर्नुपर्ने

- एकै तहका एकभन्दा बढी कर्मचारी कार्यरत भएमा सम्बन्धित स्थानीय तहको कार्यपालिकाको निर्णयसहित स्थानीय तहको प्रमुखको सिफारिसबमोजिम मन्त्रालयले जिम्मेवारी प्रदान गर्ने

- स्थानीय तहबाट कनिष्ठ कर्मचारीलाई प्रशासनिक तथा आर्थिक जिम्मेवारी दिन सिफारिस भई आएमा मन्त्रालयले सम्बन्धित स्थानीय तहमा समायोजन, पदस्थापन तथा कार्यरत कर्मचारीहरूको सूची हेरी तीमध्ये प्रशासन सेवातर्फ नभए अन्य सेवाका ज्येष्ठ कर्मचारीलाई जिम्मेवारी प्रदान गर्ने

- यीबाहेक फरक पर्ने गरी सम्बन्धित पालिकाहरूले कनिष्ठ कर्मचारीलाई जिम्मेवारी दिएको भनी मन्त्रालयमा निवेदन पर्न आएमा सोबमोजिम छानबिन गरी कनिष्ठ कर्मचारीबाट भएका सम्पूर्ण कार्यहरू रद्द गरी मन्त्रालयले ज्येष्ठ कर्मचारीलाई जिम्मेवारी दिन सक्ने

- प्रशासनिक तथा आर्थिक जिम्मेवारी प्राप्त भई निमित्त प्रमुख प्रशासकीय अधिकृतबाट कार्य सञ्चालन भएका स्थानीय तहहरूमा मन्त्रालयबाट कामकाजमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतहरूलाई हाजिर नगराएमा सो अधिकार रद्द गरी सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयलाई जानकारी गराउने । साथै, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ (४) को प्रावधानविपरीत सम्बन्धित पालिका प्रमुखले पालिकामा कार्यरत कुनै कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएमा उक्त कार्य कानुनअनुसार गैरकानुनी हुने
 

ad
ad