१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार १५:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मुडे–चरिकोट सडक अलपत्र पार्ने ठेकेदारलाई स्थानीयको १ रुपैयाँ सहयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १५:५o:oo

दोलखा प्रवेश गर्ने मुख्य मार्ग मुडे–चरिकोट सडक निर्माणको जिम्मा लिएर पाँच वर्षदेखि अलपत्र छोड्ने ठेकेदारलाई नागरिकले १ रुपैयाँ संकलन गरेर बुझाएका छन् । सडक संघर्ष समितिले बुधबार आयोजना गरेको विरोध कार्यक्रममा सदरमुकाम चरिकोटका स्थानीयले एक एक रुपैयाँ संकलन गरी सडक आयोजनाका प्रमुखलाई बुझाएका हुन् । 

सातदोबाटो चोकदेखि पशुपति मन्दिरसम्म माइकिङ गर्दै संघर्ष समितिले सहयोग संकलन गरेको थियो । संकलन गरिएको सात सय ४ रुपैयाँ लामोसाँघु–जिरी सडक विस्तार आयोजनाका प्रमुख दीप बाराहीलाई उनकै कार्यालयमा पुगेर बुझाइएको सडक संघर्ष समितिका संयोजक चिरञ्जीवी मास्केले जानकारी दिए ।

पाँच वर्षदेखि अलपत्र यो सडकको ठेकेदार कम्पनी शंकर माली निर्माण सेवाका सञ्चालक दीपक सापकोटा फेरि बेपत्ता भएपछि बुधबार सडक ढिलाइविरुद्धको संघर्ष समितिले एक रुपैयाँका दरले आर्थिक संकलन गरेको हो । ०७२ भदौमा एक अर्बको ठेक्का लिएर अहिलेसम्म सडक निर्माणको काम नगर्ने शंकर माली निर्माण सेवालाई दबाबस्वरूप नागरिकबाट एक रुपैयाँका दरले रकम उठाएर पठाइएको मास्केले बताए ।

चेक बाउन्सको मुद्दामा परेका सापकोटा केही समयदेखि सम्पर्कविहीन रहेको आयोजना प्रमुख बाराहीले बताएका छन् । प्रहरीको खोजी सूचीमा रहेका उनलाई समात्न महानगरीय प्रहरी कार्यालयले टोली परिचालन गरेको छ । उनी बेपत्ता भएपछि सोही निर्माण सेवाका अन्य सञ्चालकलाई झिकाएको सडक सुधार आयोजनाले अन्य सञ्चालकमार्फत पनि काम गराउने वातावरण नरहेको जनाएको छ ।

आयोजना प्रमुख दीप बाराहीका अनुसार यो कम्पनीले जिम्मा लिएको साइटमा सम्पूर्ण काम रोकिएको छ । ठेकेदार फरार बनेपछि उक्त कम्पनीलाई कारबाही गरेर नयाँ ठेकेदार नियुक्त गर्न दबाब बढेको छ । बाराहीले यो हप्ताको अन्तिमसम्म पनि काम सुरु नगरे ठेक्का तोड्ने प्रक्रिया सुरु हुने बताएका छन् ।

संघर्ष समितिले तत्काल ठेकेदारलाई कारबाही प्रक्रिया अगाडि बढाउन आइतबारसम्मको अल्टिमेटम दिएको छ ।

सोमबारबाट कडा ढंगका कार्यक्रम सञ्चालन गरिने संघर्ष समितिले जनाएको छ । एक्जिम बैंक अफ इन्डियाको सहयोगमा विस्तार हुन लागेको उक्त सडक निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी सकिल हैदर र नेपाली कम्पनीहरू शंकरमाली र सुनौला खिम्तीले लिएका थिए । तर, काम भने शंकरमाली निर्माण सेवाले सुरु गरेर बीचमा अलपत्र छोडेको थियो ।

ad
ad