Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ चैत ४ बुधबार ०८:५१:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

Read Time : > 1 मिनेट
२०७७ चैत ४ बुधबार ०८:५१:००

बर्दियामा चालू आर्थिक वर्षमा बाघको आक्रमणबाट १० जनाको ज्यान गयाे

बर्दियामा बाघको आक्रमणबाट पुनः एकजनाको ज्यान गएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज मुख्य क्षेत्रभित्रै पर्ने ठाकुरबाबा नगरपालिका– ७ मोहनपुर बस्ने ६२ वर्षीया डल्ली रावतको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

निकुञ्जको बघौरा फाँटामा उनलाई बाघले आक्रमण गरेको थियो । निकुञ्जभित्र घाँस–दाउरा काट्न गएका वेला उनलाई बाघले आक्रमण गरेर बेपत्ता पारेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । उनीसँगै घाँस–दाउरा काट्न गएका महिलाले गाउँमा फर्किएर आई बाघले आक्रमण गरी लगेको खबर गरेपछि निकुञ्जका कर्मचारी, नेपाली सेना र प्रहरीको टोलीले रावतको खोजी थालेका थिए । 

खोज्दै जाँदा रावतको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए । उनको शव पोस्टमार्टमका लागि बर्दिया अस्पतालमा राखिएको छ । निकुञ्ज प्रशासनले निकुञ्ज क्षेत्रमा अनुमतिविना प्रवेश निषेध गरेको छ । तर, गोप्य बाटो प्रयोग गरी अवैध रूपमा प्रवेश भइरहेकाले जोखिम बढेको निकुञ्जका अधिकारीहरूको भनाइ छ ।

बाघको आक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले २७ फागुनमा सूचना जारी गरी वनक्षेत्र प्रवेशमा रोक लगाएको थियो । नरभक्षी बाघको पहिचान गरी नियन्त्रणमा लिने प्रयास भएको जनाउँदै प्रशासनले १० दिनका लागि त्यस्तो सूचना जारी गरेको थियो । प्रशासनले वनक्षेत्रमा रातिको समयमा पैदल, साइकल र मोटरसाइकलमा यात्रा नगर्नु तथा गर्नै परे सुरक्षाका उपाय अपनाउन आग्रह गरेको थियो । 

बाघको आक्रमण र मानवीय क्षति बढ्दो
पछिल्लो समय बर्दियामा पाटेबाघको आक्रमणमा ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । बर्दियामा गत २६ फागुनमा पनि बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो । मधुवन नगरपालिका– ३ कि २९ वर्षीया रेनुका सुनारलाई सामुदायिक वनमा घाँस काट्न जाँदै गर्दा बाघले आक्रमण गरेको थियो । 

बर्दियामा चालू आर्थिक वर्षमा बाघको आक्रमणबाट १० जनाको मृत्यु भइसकेको छ । अघिल्लो आर्थिक वर्षमा पाँचजनाको मृत्यु भएको थियो । गत कात्तिकमै मधुवन नगरपालिका– ३ मा तीनजनाको ज्यान गएको थियो । दुई वर्षयताको तथ्यांक हेर्दा बाघको आक्रमण र मानवीय क्षति बढ्दै गएको देखिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । 

बर्दियामा बाघको संख्या बढ्दै गएको र आहारा प्रजातिको कमी भएका कारण बाघको आक्रमण बढेको अनुमान गर्ने गरिएको थियो । तर, यसपटक बाघले पर्याप्त आहारा प्रजाति भएकै स्थानमा मानिसमाथि लगातार आक्रमण गरिरहेको छ ।

बस्तीनजिकै देखिन्छ बाघ
बर्दिया राष्ट्रिय निकुञ्ज, खाताजैविक मार्ग र त्यसआसपासका क्षेत्रमा बाघको चलपहल बढेको छ । निकुञ्जको मध्यवर्ती क्षेत्र र खाता जैविकमार्गको वरिपरिको बस्तीमा बाघले घरपालुवा जनावर र मानिसमाथि आक्रमण गर्ने क्रम बढ्दै गएको छ । गाउँको बीच भागसम्म पुगेर घरपालुवा जनावरलाई आक्रमण गर्ने गरेको छ । निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वनमा समेत बाघले आक्रमण गर्न थालेपछि स्थानीय आतंकित बनेका छन् । केही महिनायता निकुञ्ज र वन क्षेत्रको वरिपरिको बस्तीमा दिनहुँ बाघको उपस्थिति देखिँदै आएको छ । 

मधुवन नगरपालिका र गेरुवा गाउँपालिकामा पटक–पटक बाघको आक्रमणबाट मानिसहरूको मृत्यु हुन थालेपछि नरभक्षी बाघलाई नियन्त्रणमा लिएर स्थानान्तरण गर्नुपर्ने स्थानीयले माग गरिरहेका छन् । मधुवन नगरपालिकामा स्थानीय र जनप्रतिनिधि बाघ नियन्त्रणमा ढिलाइ भएको भन्दै विरोधमा उत्रिएका छन् । मधुवन नगरपालिकाका प्रमुख गणेशबहादुर क्षेत्रीले बाघको संख्या वृद्धि भएको र आहाराको कमी भएका कारण मानिसमाथि आक्रमण बढेको बताए ।