Skip This
Skip This
निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १२ बुधबार
  • Wednesday, 28 September, 2022
१२ वैशाख २०७२ को भूकम्पले क्षतिग्रत केशर पुस्तकालय प्रबलीकरण गरिँदै । तस्बिर : नयाँ पत्रिका
भवानीश्वर गौतम काठमाडाैं
२०७७ चैत १ आइतबार ०९:०२:००
Read Time : > 3 मिनेट
मुख्य समाचार

केशर पुस्तकालयको सम्पत्तिमा  व्यापारिक केन्द्र बनाउन चलखेल

Read Time : > 3 मिनेट
२०७७ चैत १ आइतबार ०९:०२:००

राजधानीको केन्द्रमा रहेको केशर पुस्तकालयको सम्पत्ति व्यापारिक रूपमा प्रयोग गर्न चलखेल सुरु भएको छ । केशर पुस्तकालयलाई स्वप्न बगैँचा विकास समितिमातहत ल्याएर पुस्तकालयको सम्पत्ति व्यापारिक प्रयोगमा ल्याउने चलखेल सुरु भएको हो । यसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका केही उच्च तहका पदाधिकारी तथा व्यवसायीहरूको संलग्नता रहेको मन्त्रालयकै कर्मचारीको दाबी छ । 

केशर पुस्तकालयलाई स्वप्न बगैँचा विकास समितिअन्तर्गत ल्याउने र बगैँचाको विस्तार, सांस्कृतिक केन्द्र, होटेल तथा रेस्टुरेन्ट सञ्चालन गरी मुनाफा आर्जन गर्ने उद्देश्यसहित शिक्षा मन्त्रालयमा प्रतिवेदन पेस हुँदै छ । समितिको अध्यक्षमा शिक्षासचिव रहने व्यवस्था छ भने समितिमा केशरशमशेरका सन्ततिका साथै होटेल तथा पर्यटन व्यवसायीसमेत छन् । 

केशरमहल परिसरमा स्वप्न बगैँचाका साथै केशर पुस्तकालय, विद्यार्थीको शैक्षिक सेवासँग जोडिएका निकायहरू वैदेशिक अध्ययन अनुमति शाखा, छात्रवृत्ति शाखा र शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा छन् । त्यसबाहेक राष्ट्रिय वाणिज्य बैंकको शाखा र नेपाल शिक्षक महासंघको केन्द्रीय कार्यालय पनि छ । ती कार्यालयलाई हटाउने र विशाल पुस्तकालयलाई समितिभित्र ल्याएर ‘व्यापार’ गर्ने योजनाका साथ समितिका सदस्यहरू लागेको शिक्षा मन्त्रालयका एक उच्च पदाधिकारीले बताए । यो चलखेलमा शिक्षा मन्त्रालयका पूर्वकर्मचारी सक्रिय भएर लागेका छन् । समितिको विधान परिवर्तन गरी प्रमुख कार्यकारी अधिकृत बनेर आउने र केशर पुस्तकालयलाई खुम्च्याउने लक्ष्यका साथ केही कर्मचारी लागेको मन्त्रालयका पदाधिकारीको भनाइ छ । 

केशर पुस्तकालयलाई स्वप्न बगैँचा विकास समितिअन्तर्गत ल्याउने र बगैँचाको विस्तार, सांस्कृतिक केन्द्र, होटेल तथा रेस्टुरेन्ट सञ्चालन गर्ने गरी शिक्षा मन्त्रालयमा प्रतिवेदन पेस हुँदै छ । स्रोत भन्छ– यो चलखेलमा मन्त्रालयका पूर्व तथा बहालवाला केही उच्च पदाधिकारी र व्यवसायी संलग्न छन् ।

तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरका छोरा केशरशमशेरका परिवारजनले केशर पुस्तकालयसहित ३४ रोपनी जमिन सरकारलाई दान दिएपछि शिक्षा मन्त्रालयअन्तर्गत सञ्चालन हुँदै आएको छ । पुस्तकालयमा ६० हजारभन्दा बढी पुस्तक, महत्वपूर्ण सामग्री, पाण्डुलिपि, पेन्टिङ, तस्बिर, जनावरको ओखटोपहारसमेत छन् । 

केशर पुस्तकालयको भवन ०७२ को भूकम्पका कारण क्षतिग्रस्त भएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत प्रबलीकरण (रेट्रोफिटिङ) भइरहेको छ । शिक्षा मन्त्रालयअन्तर्गतको पुस्तकालयले व्यापारिक गतिविधि गर्दैन । तर, समितिमातहत राख्दा व्यापारिक गतिविधि गरी मुनाफा आर्जन गर्न पाइने भएकाले केही व्यक्ति नियोजित रूपमा नै सक्रिय भएर लागेका छन् । स्रोत भन्छ, ‘उनीहरूले आफूअनुकूल हुने गरी समितिको विधानसमेत परिवर्तन गरी अध्ययन–प्रतिवेदन तयार गरेका छन् ।’ सम्भवतः आगामी साता शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसमक्ष प्रतिवेदन बुझाउने तयारी छ ।

शिक्षा मन्त्रालयका पूर्वउपसचिव तथा स्वप्न बगैँचाका सदस्यसचिव र प्रतिवेदन तयारी समितिका संयोजक ध्रुवराज रेग्मीले पुस्तकालयलाई विकास समितिभित्र ल्याउने र केशरमहललाई सांस्कृतिक सम्पदाका रूपमा विकास गर्ने लक्ष्यका साथ छलफल अघि बढेको बताए । केशरमहल परिसरलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, पुस्तकालय राम्रो बनाउने र राणाकालीन शैक्षिक संग्रहालयका रूपमा विकास गर्ने अवधारणामा छलफल भई प्रतिवेदन तयार भइरहेको उनले बताए । ‘यसो गर्दा विकास समिति बाँच्न सक्छ । विकास समितिले पैसा उठाउन सक्छ,’ उनले भने, ‘अरू धेरै विकास समिति सफल छैनन्, तर स्वप्न बगैँचा सफल समिति हो । भूकम्पले क्षति पु¥याए पनि आफ्नै स्रोतमा पुनर्निर्माण गरिसक्यौँ ।’ 

तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरका छोरा केशरशमशेरको परिवारले केशर पुस्तकालयसहित ३४ रोपनी जमिन सरकारलाई दान दिएपछि शिक्षा मन्त्रालयअन्तर्गत सञ्चालन हुँदै आएको छ । पुस्तकालयमा ६० हजारभन्दा बढी पुस्तक, महत्वपूर्ण सामग्री, पाण्डुलिपि, पेन्टिङ, तस्बिर, जनावरको ओखटोपहारलगायत छन् । 
 

समितिका अध्यक्षसमेत रहेका शिक्षासचिव रामप्रसाद थपलियाले विकास समितिको ‘ब्रिफिङ’ लिन बाँकी रहेको बताए । केही समयअघि मात्र शिक्षा मन्त्रालयमा सरुवा भएका थपलियाले यस विषयमा बुझेपछि मात्र स्पष्ट पार्ने बताए ।

छात्रवृत्ति र एनओसी शाखा हटाइँदै
शिक्षा मन्त्रालय सिंहदरबारभित्र भए पनि विद्यार्थीसँग प्रत्यक्ष जोडिएका केही शाखालाई सानोठिमीमा सार्ने तयारी गरिएको छ । यसो भएमा विद्यार्थीले छात्रवृत्ति, नो अब्जेक्सन लेटरलगायत सेवा प्राप्तिका लागि दुःख पाउने अवस्था सिर्जना हुने देखिएको छ । अहिले केशरमहलबाटै छात्रवृत्ति, नो अब्जेक्सन लेटर, शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले सेवा दिइरहेका छन् । सिंहदरबारभित्र विद्यार्थीको काममा पहुँच नहुने भएकाले शिक्षा मन्त्रालयले केशरमहलबाटै सेवा दिइरहेको छ । दैनिक सयौँ विद्यार्थीलाई सेवा दिइरहेका यी शाखा भक्तपुर सारिएमा सेवा लिने धेरै विद्यार्थीले दुःख पाउने अवस्था आउने केही कर्मचारीले चिन्ता व्यक्त गरेका छन् ।

यस्तो सेवा लिन दैनिक कम्तीमा दुई सय विद्यार्थी केशरमहलमा जाने गरेका छन् । वैदेशिक अध्ययनका लागि ती शाखाबाट आवश्यक कागजपत्र लिएपछि राहदानी विभागबाट सेवा लिन विद्यार्थीलाई केशरमहलको बाटो वारपार गरे पुग्नेमा सानोठिमीसम्म धाउनुपर्ने हुन्छ । पुनर्निर्माणको कामलाई सहज बनाउन भन्दै हटाउन लागिएका ती निकायलाई प्रबलीकरणपछि पुनः केशरमहलको मूल भवनमा ल्याउने प्रत्याभूति गरिएको छैन र तयार गरिएको प्रतिवेदनमा पनि तिनलाई कहीँ–कतै स्थान दिइएको छैन । 

समितिमा गाभिएपछि पुस्तकालय झन् साँघुरिने चिन्ता
विकास समितिमा गाभे केशर पुस्तकालय साँघुरिनेछ । तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरका छोरा केशरशमशेरका परिवारजनले दानमा दिएको जग्गा र सम्पत्ति व्यापारिक तथा व्यक्तिगत लाभका लागि प्रयोग हुने चिन्तामा मन्त्रालयका कर्मचारी छन् । अरूले दानमा दिएको सम्पत्तिलाई सेवाको सट्टा कमाउ उद्देश्य राखेर प्रयोग गर्न नमिल्ने तर्क उनीहरूको छ । यसअघि विकास समितिमार्फत चलेका पुस्तकालयको अवस्था चिन्ताजनक रहेको उनीहरूको भनाइ छ । समितिमा गइसकेपछि व्यापारिक प्रयोजनमा जाने भएकाले पुस्तकालयले आममानिसको ज्ञान विकासमा सहयोग पुर्‍याउन नसक्ने उनीहरूले दाबी गरेका छन् । अध्ययन समितिले एउटा कुनाबाट पुस्तकालयमा प्रवेश गर्न दिने र केशर महलको पछाडिको बाटो भएर पाठकहरूलाई बाहिरिने व्यवस्थाको प्रस्ताव प्रतिवेदनमार्फत गरेको छ । हाल पुस्तकालयमा प्रवेश गर्ने मुख्य प्रवेशद्वारलाई बन्द गरिने र शुल्क तिर्नेले मात्र पुस्तकालयको बगैँचामा प्रवेश पाउनेछन् ।