मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ फाल्गुण २६ बुधबार ०६:५०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रधानमन्त्री सबै राजनीतिक दलसँग सम्पर्कमा हुनुहुन्छ : सुवास नेम्वाङ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ फाल्गुण २६ बुधबार ०६:५०:००

जसपासँग वार्ताका लागि एमालेले तीन सदस्यीय कार्यदल बनाएको भनेर चर्चामा आएको छ, कार्यदलले के काम गरिरहेको छ ?

कार्यदल नै बनेको भन्ने चर्चा सही होइन ।

तर, तपाईंहरूको भेट भयो भनेर जसपाकै नेताहरूले बताएका छन् नि ।

उहाँहरू (सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णजी) बालुवाटार आउनुभएको थियो । हामी (म, विष्णु पौडेल र राजन भट्टराई)सँग भेट भयो । भेटवार्ता भएको सही हो ।

मधेसका चासो सम्बोधन भएनन् भनेर तत्कालीन राजपाले समर्थन फिर्ता लिएको हो र तत्कालीन संघीय समाजवादी त सरकारबाटै फिर्ता भएको हो । करिब दुइतिहाई थियो, संविधान संशोधन हुन सक्थ्यो, तर त्यो वातावरण बनेन । अहिले त्यस्तो नयाँ के आधार बनेको छ, जसका कारण उहाँहरूको माग सम्बोधन हुन सक्छ ?

उहाँहरूले हामीले पहिलेदेखि नै बारम्बार रेशम चौधरीको मुद्दा उठाउँदै आएका छौँ भन्नुभयो । त्यो मुद्दामा सरकारले पहल गरेर चौधरीलाई रिहाइ गर्नुपर्छ भन्ने उहाँहरूको माग छ ।

तपाईंहरूले के जवाफ दिनुभयो ?

हामीले तपाईंहरूको यो विषय प्रधानमन्त्रीसमक्ष पुर्‍याउँछौँ । यसबारेमा प्रधानमन्त्रीसँग कुरा गरिसकेपछि जवाफ दिन्छौँ भन्यौँ र उठ्यौँ । 

रेशम चौधरीको रिहाइको माग त उहाँहरूको एक प्रमुख माग हो । निर्वाचित भएको तीन वर्षसम्म चौधरी जेलमै छन्। उनी अन्यायमा परेका हुन् भने अहिलेसम्म किन छाडिएन ? यदि उनले राज्यविरुद्ध अपराध गरेका हुन् भने प्रधानमन्त्री कसरी तयार हुनुहोला ?

यो कानुनी विषय हो ।

नयाँ समीकरणको दौड सुरु हुँदा जसपासँग वार्ता भएको छ । यसमा सिंगो जसपा आएन भने बहुमतको अंक पुग्ने गरी पार्टी विभाजन गराएर उहाँहरू आउने सम्भावना छ ?

यसमा मेरो कुनै टिप्पणी छैन । प्रधानमन्त्रीज्यू सबै राजनीतिक दलसँग सम्पर्कमा हुनुहुन्छ ।

कांग्रेसले अर्ली इलेक्सनको कुरा गरेको छ, तपाईंहरूको मत के छ ?

सम्मानित सर्वोच्च अदालतले फैसला गरेपछि प्रधानमन्त्री र हामी सबैको चिन्ता यही हो । सम्मानित सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गर्‍यो । तर, हामीबीच जे–जे समस्या थिए, ती समस्या सुल्झाएन । त्यसैले समस्या र जटिलता अझ थप बल्झिन्छन् कि भन्नेमा हामी चिन्तित छौँ । संसद्को पहिलो बैठक अवरुद्ध भयो, सत्ता पक्षकै साथीले बहिष्कार गर्नुभयो । यसले हाम्रो बीचको समस्या झन् जटिल बन्दै गएको देखिन्छ । यस्तो अवस्थामा प्रमुख प्रतिपक्षका साथीले देश ‘अर्ली इलेक्सन’तिर गइरहेको छ भन्ने मूल्यांकन गर्नुभयो भने अचम्म मान्नुपर्दैन ।