१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख ३१ सोमबार o९:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

 मोरङ क्याम्पसमा प्रश्नपत्र गायब भएको घटना छानबिन गर्न विद्यार्थीको माग   

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:४७:oo

विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा प्रश्नपत्र गायब भएको विषय गुपचुप बनाएको भन्दै विद्यार्थी संगठनहरूले छानबिन गर्न माग गरेका छन् । २३ फागुनमा सञ्चालन भएको विज्ञान संकायअन्तर्गत स्नातक तह तेस्रो वर्षको माइक्रो बायोलोजी विषयको परीक्षाको प्रश्नपत्रको एउटा बन्डल नै गायब भएको विषय क्याम्पस प्रशासनले गुपचुप बनाएको भन्दै त्रिविको केन्द्रीय परीक्षा कार्यालयसँग  विद्यार्थी संगठनहरूले माग गरेका छन् ।  

आइतबार सम्पन्न परीक्षाका लागि आएको माइक्रो बायोलोजी ३०३ विषयको  २८ बन्डल  प्रश्नपत्र ध्ये एक बन्डल गायब भएको थियो । प्रश्नपत्रको बन्डल नै गायब भएपछि आइतबार फोटोकपी गरेर विद्यार्थीलाई प्रश्नपत्र दिएर परीक्षा सञ्चालन गरिएको थियो । 

विद्यार्थीले परीक्षा शाखाका कर्मचारी र  केन्द्राध्यक्षको मिलेमतोमा बन्डल नै गायब गरेर प्रश्नपत्र  लिक गराएको आरोप लगाएका छन् । आइतबार विराटनगरको विराट मल्टिपल कलेज र महेन्द्र मोरङका विद्यार्थीको माइक्रो बायोलोजी ३०३ को परीक्षा सञ्चालन भएको थियो ।  

अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, नयाँ शक्ति विद्यार्थी युनियनलगायत सातवटा विद्यार्थी संगठनले प्रश्नपत्र आउट गरेर त्रिविको परीक्षाको मर्यादामै आँच पुर्‍याएकोले केन्द्रीय कार्यालयबाटै निष्पक्ष छानबिन गरेर संलग्न सबैलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् । 

विद्यार्थी संगठनहरूले परीक्षा शाखा प्रमुख र कर्मचारीहरूलाई  तुरुन्त बर्खास्त गरिनुपर्ने र घटनाको अनुसन्धान गरेर मितेमतोमा संलग्नहरू सबैलाई कानुनी कारबाही चलाउनुपर्ने माग गर्दै  क्याम्पस प्रशासनलाई २४ फागुनमा ४८ घन्टे चेतावनी दिएका छन् । 

घटनाको निष्पक्ष छानबिन नभए संयुक्त रूपमा संघर्षमा उत्रने विद्यार्थी संगठनहरूले घोषणा गरेका छन् । घटनालाई गम्भीर रूपमा लिएर निष्पक्ष  छानबिन गर्न विद्यार्थीले त्रिवि केन्द्रीय कार्यालयसँगै जिल्ला प्रशासन कार्यालय मोरङलाई आग्रह पनि गरेका छन् । 

विद्यार्थीका अनुसार माघ ०७७ मा सञ्चालन भएको हात्तीसार क्याम्पस धरानको फुड एन्ड एग्रिकल्चर विषयको परीक्षामा पनि प्रश्नपत्र गायब भएपछि प्रिन्ट आउट गरेर वितरण गरिएको थियो । धरान, विराटनगरलगायत महँगा  निजी कलेजको समेत सेन्टर पर्ने भएकाले महेन्द्र मोरङ क्याम्पसमा मिलेमतोमा प्रश्नपत्र आउट हुने गरेको आरोप विद्यार्थी संगठनहरूको छ ।  

मोरङ क्याम्पसका सूचना अधिकारी तथा परीक्षा शाखाका प्रमुख अधिकृत हरि तिम्सिनाले प्रश्नपत्र हराएको नभएर माइक्रो बायोलोजी ३०३ को ठाउँमा ३०२ विषयको प्रश्नपत्र आएकोले परीक्षा केन्द्रमा फिर्ता पठाएर तुरुन्तै थप प्रश्न प्रिन्ट गरेर वितरण गरी परीक्षा सञ्चालन गराएको बताए ।

परीक्षा शाखाका प्रमुख तिम्सिनाले भने, ‘विद्यार्थीहरूले नबुझेर हल्ला गरेका हुन्, प्रश्नपत्र गायब भएको वा लिक भएको हाेइन, अकै विषयको आएकोले फिर्ता गरेर परीक्षा केन्द्रकै रोहवरमा थप प्रिन्ट गरेर वितरण गरिएको मात्र हो  ।’

ad
ad