
प्रधानमन्त्री केपी ओलीले तराईमा आफूलाई मधेसविरोधी भनेर अफवाह फैलाएको दाबी गरेका छन् । मधेसी दलले आफूविरुद्ध अफवाह फैलाए पनि मधेसका जनता स्वागत गेट निर्माण गर्ने अवस्थामा रहेको ओलीको दाबी छ ।
सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बिहीबार शिलान्यास गर्दै ओलीले भने, ‘मलाई तराई छिर्न हतारो छैन । सुनकोसी–कमला डाइभर्सनबाट अर्को एक लाख ७० हजार बिघा थप सिँचाइ भएपछि मेरो स्वागत गर्न राजनीतिक पार्टी चाहिँदैन, जनताले आफैँ गेट बनाउँछन् ।’
उनले मधेसको विकासमा आफू गम्भीर रहेको बताए । उनले तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धुनषाका एक लाख ८३ हजार बिघा जमिनमा सिँचाइ पु¥याउने तथा ३१ मेगावटको विद्युत् उत्पादन गर्ने मुख्य लक्ष्यका साथ निर्माण सुरु भएको आयोजनाबाट प्रदेश २ का पाँचवटा जिल्लामा बाह्रै महिना सिँचाइ पुग्ने बताए । सिँचाइ सुविधा पुगेपछि पाँच जिल्लामा उत्पादन भएको अन्नबालीले नेपाललाई नै खाद्यान्न पुग्ने ओलीको भनाइ छ ।
देश विकास निर्माणमा लम्किसकेकाले अब कसैले चाहँदैमा विकासक्रम नरोकिने ओलीले बताए । ‘मलाई तराई–मधेसमा पस्न नदिए हुन्छ, तर पानी नरोक्नुहोला,’ उनले भने ।
ओलीले देश विकासको बाटोमा अघि बढेको बताए । उनले अब जनताको सुरक्षा गर्ने योजना सरकारले ल्याएको र विकास आयोजनाको काम अघि बढाएको बताए ।