मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार ९ बुधबार
  • Wednesday, 23 June, 2021
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नवीन प्यासी काठमाडाैं
२०७७ फाल्गुण २० बिहीबार ०८:२१:००
Read Time : > 3 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

सहरमा नाटक : सनकी र मूर्ख शासकलाई जब झेल्नुपर्छ

Read Time : > 3 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७७ फाल्गुण २० बिहीबार ०८:२१:००

दश टुक्रामा विभाजित नाटकले दशैवटा कथा भन्छ । दशैवटा कथा हामीले महसुस गरिरहेका, देखिरहेका, भोगिरहेका विषय हुन् ।  तर, अलगअलग दश कथा भनिरहेको नाटक दशै अलगअलग बाटोमा निस्केका छन् । 

रोमका शासक निरो, जो रोम जलिरहँदा दरबारको बाल्कोनीमा बसेर बाँसुरी बजाइरहेका थिए । मिथकअनुसार ६ दिनसम्म लगातार रोम सहर जलिरह्यो । निरो भने मुख्य सहरबाट केही टाढा रहेको भव्य दरबारमा भारदारको प्रशंसाले मोहित र पुलकित अवस्थामा थिए । यसपछि निर्माण भएको एक प्रचलित कथन छ – रोम जलिरह्यो, निरोले बाँसुरी बजाइरहे । 

कोरोना महामारीपछि जारी लकडाउनको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजित एक कार्यक्रममा बजाएको बाँसुरीको तस्बिर भाइरल भइदियो । आलोचनाको ओइरो लाग्यो, शासक निरोसँग तुलना गरियो । बाँसुरी बजाएर जीविकोपार्जन गर्ने स्रष्टाहरूको बाँसुरीप्रतिको प्रेम र लगावलाई एकैछिन पर राखिदिने हो भने जनता कोरोना भाइरसको चपेटामा परिरहेका वेला ओलीले सुरविना बाँसुरी बजाइरहेको तस्बिरको अर्थ निरोको कथनभन्दा बाहिर जाँदैनथ्यो ।

लकडाउनमा जति दृश्य बाहिर आए, भयावह थिए । कोही सयौँ किलोमिटर हिँडेर घर गइरहेका थिए । कोही खाना खान सडकमा आइपुगेका थिए । यही दृश्य सम्झाइरहेछ, नाट्यकर्मी सुनील पोखरेलले निर्देशन गरेको नाटक ‘अर्को अर्थ नलागेमा’ले ।

मण्डला थिएटरमा मञ्चन भइरहेको नाटकमा एक दृश्य यस्तो छ– एकजना लहडी र मूर्ख शासकको हातमा बाँसुरी छ । ऊ सुरविना बाँसुरी बजाउँछ । ऊ अनुचरहरूले घेरिएको छ । र उसको सुरविनाको बाँसुरी वादनमाथि ताली बज्छ । उसलाई पिछलग्गुहरूको घेरोबाट बाहिर निस्कन दिइन्न । तर, अचानक उसको आँखा गरिब जनतामाथि पसारिन्छ ।

ऊ गरिबी निवारण गर्नतिर ध्यान दिन अनुचरहरूलाई आदेश दिन्छ । आदेशानुसार गरिबीको नामावली तयार गर्न टोली खटिन्छ । गरिब पहिचान गर्न नसक्ने टोलीले त्यही आसेपासेको नाम गरिबको लिस्टमा थमाइदिन्छ । यसरी निमुखाहरूको दुःखको शृंखला निरन्तर जारी रहन्छ ।

एउटा सनकी र मूर्ख शासकको निर्णयले मुलुक अँध्यारो सुरुङमा पसिरहन्छ । यति मात्रै नभएर उसले आफ्नो सुरुवाल गुमाउँछ । इज्जत र स्वाभिमान गुमाउँछ । तर, उसलाई पत्तो हुँदैन । ऊ सिर्फ ‘पपेट’ हो । यसै भन्छ भाषाविद् शरच्चन्द्र वस्तीको दर्जन लेखलाई नाट्यकरण गरिएको नाटक ‘अर्को अर्थ नलागेमा’ले । 

भर्खरै झापा जिल्लाको काँकडभिट्टामा ११ तले भ्यु टावरको शिलान्यास भयो । साढे चार करोड लागतमा निर्माण हुने भ्यु टावरबाट टाढाटाढा, सुदूर–सुदूरसम्म दृश्यावलोकन गर्न सकिन्छ । नदी, खोला, पहाड र फाँटहरू देख्न सकिन्छ । दशगजा, जंगल र धानबारी देख्न सकिन्छ । तर, त्यो भ्यु टावरबाट स्वास्थ्योपचार गर्न नसकेका आममानिस देख्न सकिन्छ कि नाइँ ? सत्ता र सुविधाबाट बाहिर परेकाहरूको झुपडी देख्न सकिन्छ कि सकिँदैन ? विद्यालय जान नपाएका श्रमिक बालबालिका देख्न सकिन्छ कि नाइँ ? यस्तै प्रश्न खोतल्दै अगाडि बढ्छ नाटक । 

कथित बुद्धिजीवीको अगणित विद्वतामा पुग्छ र प्रश्न तेस्र्याउँछ नाटकले । कुनै कार्यक्रमका नाममा महिला, जनजाति, दलित, मधेसी, यौनिक अल्पसंख्यक किन छुट्छन् ? ती बौद्धिकहरूको विद्वता मात्रै यत्रतत्र सर्वत्र किन छरिन्छन् र त्यसैको भारले मानिस किन थिचिन्छन् ?

भोजन, सुविधायुक्त होटेलका लागि बुद्धिजीवी कहाँ–कहाँ पुग्छन् र कस्ता–कस्ता बहस गर्छन् ? महिलामा झुन्डिएको बुद्धिजीवीको आँखा र खाउँलाझैँ गरेर गाला टाँसेको दृश्य किन कसैले देख्दैन ? प्रश्नहरू यस्तै छन् नाटकमा । चाहे शिक्षामा रजगज गरिरहेको माफिया होस् या व्यापारको नाममा सम्पदा, पुस्तकालय मासिरहेको राज्य । अथवा घुसखोरी प्रशासन होस् या आमनागरिकले पाएको सास्ती । 

एउटा दृश्य छ, रामलाल नाम गरेको मानिसले दुःखले जग्गा जोडेको हुन्छ । तर, उसको भाइले दाजु मरिसकेको, नामसारी गरी पाउँ भनेर प्रशासनमा निवेदन दिन्छ । मुग्लानमा मेसिनले रामलालको दाहिने बुढीऔँला छिनाइदिएको हुन्छ । ऊ मरिसकेको प्रमाणपत्र डाक्टरले थमाइदिएको हुन्छ । त्यसैका आधारमा उसको भाइले जग्गा दाबी गर्छ । तर, आफू जीवितै रहेको र मरेको विषय असत्य दाबी गर्दै रामलाल कहाँ–कहाँ पुग्दैन ! जीवित रहेको प्रमाणपत्र बनाउन भारतसम्म पुग्छ । एउटा जिउँदो मानिसले जीवित रहेको प्रमाण जुटाउन गरेको सकसले दर्शकलाई उकुसमुकुसमा राखिदिन्छ । जिउँदै ठिंग उभिएको रामलाललाई प्रशासनका कर्मचारी भन्छ, ‘जिउँदो रहेको कागज चाहियो । मान्छे बोलेर हुँदैन, कागज बोल्नुपर्छ ।’ 

दश टुक्रा दश कथा
यस्तैयस्तै दृश्यहरूमा घुमेर फन्को मार्छ नाटक । यस्तैयस्तै कथा हालेर अहिलेको समयलाई प्रतिबिम्बित गर्छ । समग्रमा आमनागरिकको दुःख र सास्तीको फेहरिस्त बताएर सकिन्छ नाटक । दश टुक्रामा विभाजित नाटकले दशैवटा कथा भन्छ । दशैवटा कथा हामीले महसुस गरिरहेको, देखिरहेको, भोगिरहेको विषय हुन् ।

तर, अलगअलग दश कथा भनिरहेको नाटक दशै अलग अलग बाटोमा निस्केका छन् । एकअर्काबीच अन्तरसम्बन्ध रहेको महसुस हुँदैन । ती नाटक हाम्रै दुःखका अनुहार हुन् । त्यसको कारक राज्यसत्ता हो, तर यो पाटो अलि स्पष्ट छैन । सबै टुक्राहरूमा त्यसको छनक छ, तर ‘पन्च’ छैन । सबैको एकै गन्तव्यलाई अझै स्पष्ट बनाउन सकिने सम्भावनालाई छाड्दै आ–आफ्नै यात्रामा निस्किएका छन् नाटकका टुक्राहरू । 

सन् २००७ मा प्रदर्शित बलिउड चलचित्र छ, ‘लाइफ इन अ मेट्रो’ । अनुराग बसुले निर्देशन गरेको चलचित्रमा धर्मेन्द्रदेखि शिल्पा सेट्टी, केके मेनन, कंगना रनौत, इरफान खानसम्मका कलाकार छन् । पंक्तिकार यस चलचित्रको प्रसंग किन ल्याउन चाहन्छ भने यहाँ पनि धेरै फरक–फरक कथाहरू छन् ।

टुक्राटुक्रा कथा छन् । तर, अन्त्यमा सबै टुक्राको स्पष्ट कनेक्सन छ । भलै नाटक र चलचित्र फरक हो, तर कथा त कथा नै होे । केही पर्दामार्फत भनिन्छ, केही स्टेजमार्फत । यस नाटकका टुक्रामा कनेक्सन त छ, तर स्पष्ट छैन । सायद, विभिन्न समयमा फरक मुडमा रहेर लेखिएका अखबारी लेखहरूलाई जोड्नुपर्ने भएकाले पनि यस्तो भएको हुन सक्छ । 

नाटकमा लगभग सबै कलाकार एकै ‘ड्रेस’मा छन् । पुरुष कलाकार त दौरासुरुवाल, ढाकाटोपीमा छन् । कोही नेवारी लवजमा बोल्छन्, कोही मधेसी लवजमा । तर, सबै एकै खालका लुगा लगाउँछन् । पहिचान र विविधताको बहस चलिरहेका वेला एकै किसिमको लुगाले पक्कै केही न केही अर्थ त राख्छ नै । तर, कुनै समुदायको लवज निस्कन्छ भने उसको पहिचान खोइ ? यसमा पोखरेलले एकल नश्लीय जातीवादी राज्यसत्तालाई इंगित गरेका पनि हुन सक्छन्, जसले वर्षौंदेखि भाषा, पहिचान, आस्थालाई मासिदियो । र एकल आधिपत्य जमायो ।

नाटकमा मसला छन्, दुःखका आयाम छन्, राज्यसत्ताको मूर्खता छ । तर, नाटक अलि बढी तन्काइएको हो कि लाग्छ । दशजना नाटयकर्मीले निर्देशन गरेको दश नाटकलाई संयोजन गरेका पोखरेलको मिहिनेत स्वादिलो छँदै छ । दश टुक्राहरू दश कहानियाँजस्तो लाग्छ । अखिर, सात खोला बगे नि नदीमै मिसिने हो, सात नदी बगे पनि समुद्रमै मिसिने हो ।

लामो समयको लकडाउनको ‘ह्याङ’ मेटाउन र त्यसवेला पनि लुटमा मनमगन राज्यसत्ताको अनुहार हेर्न यस नाटकले सहयोग गर्छ । कलाकारको मिहिनेतले मुग्ध बनाउँछ । कथावाचनले स्पष्ट बनाउँछ । नाटक हेरेको समय खेर जाँदैन । तर, रामलालहरूको जीवनले सोध्ने प्रश्न त गायक बब डिलनको गीतले भनेझैँ नै हो– केही मानिस स्वतन्त्र हुनुअघि कति वर्षसम्म अस्तित्वमा रहनुपर्छ ?