निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ १२ बिहीबार
  • Thursday, 26 May, 2022
नयाँ पत्रिका काठमाडाैं
२०७७ फाल्गुण १९ बुधबार १०:५४:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मस्तिष्कघातबाट कसरी बच्ने ? 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ फाल्गुण १९ बुधबार १०:५४:००

मेडिकल साइन्सले मस्तिष्कघातलाई विभिन्न अवस्थामा बाँडेको छ । जसमध्ये स्केमिक, ह्यामरोइज, क्रिप्टोजेनिक, टिआइए र ब्रेन स्टिम मुख्य हुन् ।

डा. दिपेश शाक्य
न्युरोफिजिसियन
सिद्धि पोलिक्लिनिक

मस्तिष्कमा रहेका धमनीहरू फुटेर रक्तस्राव हुनु वा रक्तनलीभित्रै रगत जमेर नली थुनिई स्नायु तन्तुहरूमा पोषक तत्व र अक्सिजन आपूर्ति रोकिएर तन्तुहरू मर्नुलाई मस्तिष्कघात भनिन्छ । यसले मस्तिष्कको कार्यक्षमतामा अचानक ह्रास आउनुका साथै अधिकांशमा पक्षघात गराउँछ । पक्षघातलाई मस्तिष्कघातको एक लक्षण पनि मानिन्छ । पक्षघात र मस्तिष्कघात ब्रेन ट्युमर, ट्युमरको उपचारपश्चात् पनि हुन सक्छ । 

मेडिकल साइन्सले मस्तिष्कघातलाई विभिन्न अवस्थामा बाँडेको छ । जसमध्ये स्केमिक, ह्यामरोइज, क्रिप्टोजेनिक, टिआइए र ब्रेन स्टिम मुख्य हुन् । टिआइए मस्तिष्कघात भएमा तत्कालै आफैँ रगत सञ्चालन हुन सक्छ । अर्थात् मस्तिष्कघात भइसकेपछि आफैँ निको हुन्छ । तर, यस्तो सम्भावना निकै न्यून हुन्छ । यसबाहेकका मस्तिष्कघात हुँदा ज्यानै जाने, पक्षघात हुने, परनिर्भर हुने, निरन्तर चिकित्सा सेवा लिनुपर्ने खालको विकलांग हुने समस्या देखा पर्छ ।

मस्तिष्कमा पारेको असरका आधारमा शारीरिक तथा मानसिक समस्या देखा पर्छन् । जसमध्ये पक्षघात प्रमुख हो । पक्षघात अकस्मात् हुने भएकाले जतिसक्दो चाँडो अस्पताल पुर्‍याउनुपर्छ । जसबाट विकलांग हुनबाट बचाउन सकिन्छ । अचानक टाउको दुख्नु, रिंगटा लाग्नु, उभिन नसक्नु वा ढल्नु, बोली हराउनु, शरीर झमझम हुनु, होस हराउनु, बान्ता हुनु आदि मस्तिष्क घातका प्रारम्भिक लक्षण हुन् ।  

कारण

मस्तिष्कघातको प्रमुख कारण मुटुरोगलाई मानिन्छ । मुटुबाट जमेका रगतका टुक्राहरू ब्रेनमा गएर बस्न सक्छ, जसबाट स्ट्रोक (मस्तिष्कघात) हुन्छ ।

- मोटोपन भएका व्यक्तिहरूमा नसामा बोसो जम्दा रक्तनली साँघुरिँदै जान्छ यसबाट पनि स्ट्रोक हुन सक्छ । यसबाहेक सामान्यतया ५० वर्षमाथिका व्यक्तिमा, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल, अव्यवस्थित खानपान वा जीवनशैली, तनाव आदि पनि मस्तिष्कघातका कारण हुन् ।

- रक्तस्रावसम्बन्धी समस्या भएकाहरूमा पनि मस्तिष्कघातको जोखिम उच्च हुन्छ । जस्तै गर्भनिरोधक औषधि सेवन गरिरहेका महिला, रगत बगिरहने घाउ चोट वा संक्रमण, मस्तिष्कमा संक्रमण, रगत जम्ने रोग भएका व्यक्तिमा मस्तिकघात हुन सक्छ ।

उपचार

मस्तिष्कघात भइसकेको साढे चार घन्टाभित्र उपचार गर्न सकेमा विकलांग हुनबाट बचाउन सकिने चिकित्सकीय मान्यता छ । अर्थात् जतिसक्दो चाँडो अस्पताल पुर्‍याउन सक्यो त्यति नै बिरामीलाई अन्य असरबाट बचाउन सकिन्छ । तत्काल जमेको रगतलाई तोडेर रक्तनली खुलाउन ‘थ्रम्बोलाइसिस’ उपचार विधि अपनाइन्छ । यो सेवा नेपालका ठूला अस्पतालहरूमा उपलब्ध छ । मस्तिष्कघात भइसकेपछि अन्य समस्या आउन नदिन नियमित औषधि सेवन गर्नुपर्छ । 

- पक्षघात भइसकेका व्यक्तिलाई पनि पुनस्र्थापना केन्द्रमा राखेर विभिन्न थेरापीबाट उपचार गर्न सकिन्छ । यसबाट बिरामीलाई परनिर्भर हुनबाट बचाउन सकिन्छ । विकलांग व्यक्तिलाई एक्सरसाइज, अकुपन्चर, थेरापी आदि गरेर निको पार्न सकिन्छ । 

कसरी बच्ने

- मुटुरोग भएका व्यक्तिहरूमा मस्तिष्कघात हुने सम्भावना बढी हुने भएकाले मुटुरोगीले नियमित औषधि खाने वा उपचार गर्नुपर्छ । ५० वर्षमाथि उमेरका मानिसले नियमित मधुमेह, कोलेस्ट्रोल, रक्तचाप जाँच गराउनुपर्छ । यस्ता रोगको जोखिम भएमा औषधि सेवन गर्नुपर्छ । 

- खानपानमा निकै ध्यान दिन जरुरी हुन्छ । सन्तुलित आहार, व्यायाम, स्वस्थ जीवनशैली अपनाउन जरुरी हुन्छ । यस्तै अति व्यस्त जीवनशैली र अत्यधिक तनाव लिनु हुँदैन । 

- मोटोपन भएका व्यक्तिले समयमै तौल घटाउनुपर्छ । यसबाहेक धुमपान, मध्यपान आदि पनि मस्तिकघातका कारक भएकाले यस्ता कुलतबाट टाढा रहनुपर्छ । यदि मस्तिकघात भइहालेमा तुरुन्तै अस्पताल पुर्‍याउनुपर्छ ।