मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
करुणा कुँवर विष्ट
२०७७ फाल्गुण ११ मंगलबार ०९:१०:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अपराधको सर्जक अर्थात् सामाजिक सञ्जाल

Read Time : > 4 मिनेट
करुणा कुँवर विष्ट
२०७७ फाल्गुण ११ मंगलबार ०९:१०:००

अपराधको सुरुवात सामाजिक सञ्जालबाट हुनेछ भन्ने ज्ञान फुरेको भए मार्क जुकरबर्गले १७ वर्षअघि नै फेसबुक आविष्कारलाई सधैँका लागि ‘प्याकअप’ गर्ने थिए होलान् । हुन पनि अहिले जसरी सामाजिक सञ्जालसँग नजोडिएका मान्छे भेटाउन मुस्किल छ, त्यसैगरी विरलै भेटिएका छन्, त्यस्ता अपराध, जसको जरो सामाजिक सञ्जालसँग नजोडिएको होस् । नेपाल प्रहरीको तथ्यांकले समेत यसलाई पुष्टि गरेको छ । तथ्यांक भन्छ, ‘संगठित अपराध मात्र होइन, पछिल्ला दिनका भवितव्य ज्यानसम्बन्धी अपराधमा समेत कहीँ न कतै सामाजिक सञ्जाल जोडिएका छन् ।’

सामाजिक सञ्जालको पासोमा जसरी युवा फसेका छन्, त्योभन्दा कैयौँ गुणा खतरनाक ढंगले १८ वर्षभन्दा कम उमेरका बालबालिका फसेका छन् । एउटा डरलाग्दो उदाहरण यहाँ राख्न उचित होला । कक्षा सातमा अध्ययनरत थिइन्, काठमाडौंकी ११ वर्षीया बालिका । फेसबुकमा भर्खर अकाउन्ट खोलेकी उनको एक अपरिचितसँग कुराकानी चल्छ । मीठा गफको धुनमा नजान्दा–नजान्दै अपरिचितसँग प्रेम बस्छ ।

दुईबीच अन्तरंग कुराकानी हुन थाल्छ । अपरिचितले ती बालिकासँग नग्न फोटोको अफर गर्छन् । बालिका अर्धनग्न फोटो अपरिचितलाई पठाउन संकोच मान्दिनन् । आफूले ‘प्रेम’ गरेका अपरिचितलाई पठाएको अर्धनग्न फोटो सामाजिक सञ्जालमै भाइरल भएपछि बालिका बल्ल झल्याँस्स हुन्छिन्, झांगिँदै गएको प्रेममा पनि तुषारापात हुन्छ । यसपछि अपरिचितसँग टाढै रहेकी बालिका कक्षा १० पुग्दा फेरि अर्को अपरिचितसँग मोहित हुन्छिन् ।

अन्तरंग कुराकानीसँगै बालिकाले यसचोटि भने नग्न भिडियो इन्स्टाग्राममार्फत पठाउँछिन् । अपरिचितको अकाउन्ट अचानक बन्द हुन्छ । सोधीखोजी गर्दै थिइन्, उनको भिडियो पोर्न साइटमा अपलोड भइसकेको हुन्छ । प्रहरीसँग सहकार्य र सहयोगबाट उनको भिडियो पोर्न साइटबाट त हटाइएको छ, तर उनको कलिलो दिमागमा गढेर बसेको त्रास हटाउन अझै सकिएको छैन । 

कथाझैँ लाग्ने तीन वर्षअघिको यो घटना अहिले प्रत्येक दिनजसो दोहोरिइरहेका छन् । र, यसबाट सबैभन्दा बेसी बालबालिका पीडित छन् । नेपाल प्रहरीको साइबर ब्युरोमा दर्ता भएका तथ्यांक विश्लेषण गर्दा ६ महिनाको अवधिमै मुलुकभर १८ वर्षभन्दा मुनिका ७१ बालबालिका यस्ता अपराधका सिकार बनेका छन् । यसमा बालिकाको संख्या ५२ छ भने बालक १९ जना छन् ।

हामीले निर्बाध मोबाइल प्लस इन्टरनेटको प्रयोग गर्न दिएका कारण हाम्रा बालबालिकालाई अपराधीको चंगुलमा त पुर्‍याएको छ नै, स्वाभाविक तवरले विकास हुने उनीहरूको मानसिक, तार्किक एवं बौद्धिक विकासमा समेत गम्भीर क्षति पुर्‍याइरहेका छौँ । यसतर्फ अभिभावकको ध्यान रत्तिभर पुगेको छैन ।

मीठा गफ गरेर फकाउने र फोटोको दुरुपयोग गर्ने मात्र होइन, विदेशमा लगेर बेचबिखन नै गर्नेसम्मको अपराध पनि सामाजिक सञ्जालबाटै सम्भव भएका छन् । एउटा डरलाग्दो उदाहरण यहाँ राख्दा ठीकै होला । बन्दाबन्दीको कारण विद्यालय बन्द थियो, १३ वर्षकी बालिका अनलाइन क्लासमा रमाउँदै थिइन् । उनको ध्यान फेसबुकतर्फ मोडियो ।

फेसबुकमा फोटो अपलोड गर्न थालिन् । लाइक, सेयर तथा भ्युज बढ्न थालेपछि उनमा उत्साह बढ्दै गयो । लगातार एक अपरिचितले फलो गरिरहेको भेउ उनले त्यतिवेला पाइन्, जब अपरिचितले उनलाई कमेन्टका साथै सन्देश पठाउन थाले । अब अपरिचितस“ग कुराकानी हुन थाल्यो । फोटो मन परेको प्रतिक्रियाबाट बालिका दंग थिइन् । 

दुईबीच कुराकानी चल्दै थियो । यही क्रममा अपरिचितले बालिकाको आमाबुबाको फोटो उनलाई सेयर गरी ‘भनेको नमाने तिम्रा आमाबुबालाई मारिदिने’ धम्की दिन थाल्यो । बालिकाको होसहवास उड्यो । केही दिन चुपचाप रहिन् । तर, अपरिचितले बालिकालाई तारन्तार सन्देश पठाइ नै रहे ।

अन्ततः अपरिचितले भनेको मान्न बालिकाले सहमति जनाइन् । अपरिचितले बालिकालाई नेपाल–भारतको सीमामा बोलायो, फोन स्विच अफ गर्न लगायो । अपरिचितले भनेकै ठाउँमा उनी पुगिन् पनि । बुबाआमास“ग अन्तिम बिदा माग्न बालिकाले फोन खोलेपछि पछ्याउँदै गएको प्रहरीले अपरिचितलाई पक्राउ गर्‍यो । 

प्रहरीले अनुसन्धान गर्दा अपरिचितले बालिकालाई भारतमा बेच्न लगेको रहस्य खुल्यो । आङै सिरिंङ हुने अपराधका यी शृंखला व्यस्त सहरको सम्भ्रान्त परिवारभित्रको मात्रै एउटा कोठाबाट सुरु भएका छन्, जहाँ मोबाइलको पहुँच छ र इन्टरनेट पनि छ ।

हामीले निर्बाध मोबाइल प्लस इन्टरनेटको प्रयोग गर्न दिएका कारण हाम्रा बालबालिकालाई अपराधीको चंगुलमा त पुर्‍याएको छ नै, स्वाभाविक तवरले विकास हुने उनीहरूको मानसिक, तार्किक एवं बौद्धिक विकासमा समेत गम्भीर क्षति पुर्‍याइरहेका छौँ । यसतर्फ अभिभावकको ध्यान रत्तिभर पुगेको छैन, न उनीहरूलाई हात समातेर गाइड गर्ने शिक्षकको ध्यान जान सकेको छ । यसले भावी दिनमा मुलुकले कुन स्तरको क्षति बेहोर्नुपर्ने हो, लेखाजोखा नै गर्न सक्ने अवस्था छैन । 
भक्तपुरको ठिमीमा यस्तै एउटा डरलाग्दो अपराध भयो । भोजपुरकी १५ वर्षीया किशोरीको फेसबुकमार्फत नै २१ वर्षीय युवास“ग प्रेम बस्यो । उनीहरू च्याटमा घन्टौँ गफिन थाले । पछि दुईबीच भिडियो च्याट हुन थाल्यो । च्याटमा तस्बिर र भिडियो आदानप्रदान भए । विद्यालय पढ्ने किशोरीलाई युवकले विवाह गर्ने प्रस्ताव गरे ।

प्रेममा फसेकी किशोरी युवकको प्रस्ताव मान्न सजिलै राजी भइन् । विद्यालय छाडेर किशोरी युवकसँग भागिन् । रंगीन सपना देखाएर युवकले किशोरीलाई भक्तपुरस्थित ठिमी ल्यायो । एउटा गेस्टहाउसको कोठा बुक गर्‍यो । किशोरीलाई कोठामा बन्धक बनायो, त्यो पनि दुई–पाँच दिनका लागि होइन, पूरा १० महिना ।

युवकले किशोरीको यौन शोषण मात्रै गरेन, यातना पनि दिइरह्यो । बाहिर निस्किए ज्यान मार्ने धम्की दिएर कोठामै कैद गरिराख्यो । सबै पीडा सहेकी किशोरीले १० महिनापछि युवक नभएको वेला पारेर गुहार मागिन् । घटनास्थलमा प्रहरी पुगेपछि किशोरीको उद्धार सम्भव भयो । नत्र, आफू जीवितै रहने कुरामा उनैलाई विश्वास छैन । 

सामाजिक सञ्जालबाटै सुरु भएका जघन्य अपराधका यी फेहरिस्त कारुणिक मात्र होइन, दर्दनाक छन् । यसमा संलग्न अभियुक्त–अपराधी त दोषी छन् नै, अभिभावक, शिक्षक पनि दोषमुक्त छैनन् । बालबालिकालाई बुझ्नु न सुझ्नु स्मार्ट मोबाइल र इन्टरनेटको सुविधा दिने अभिभावकले यस्ता अपराधलाई निम्त्याउन सघाएका हुन्, चुपचाप स्वीकार गर्ने शिक्षक मतियार भएका छन् । बालबालिकाको सिकाइको पहिलो पाठशाला घर/परिवार नै हो, त्यसपछि विद्यालय ।

परिवारमा बालबालिकालाई नैतिकताका साथै व्यावहारिक ज्ञान सिक्न उत्प्रेरित गर्ने हामी चोटाकोठामा भित्रिएको मोबाइल र इन्टरनेट प्रयोगको उचित तरिका, यसको फाइदा–बेफाइदाबारे सिकाउँदैनौँ । बरु टिकटकमा भिडियो बनाएर भाइरल बन्नेतर्फ अग्रसर हुन्छन् ।

भाइरल बन्ने ‘दर्जन उपाय’ बालबालिकालाई पनि सिकाउँछौँ । फेसबुकमा फोटो राखेर लाइक, कमेन्ट, भ्युज बढाउने अझ भाइरल हुने तरिका सिकाउन उद्यत छौँ । यसले अबोध दिमागमा पार्ने दीर्घकालीन क्षतिको मूल्यांकन पनि गरेका छौँ त ? उत्तर सहज छ, केही पनि विचार गरिएको छैन । 

कानुनतः अभिभावकले नै आफ्ना बालबालिकामाथि अपराध गरिरहेका छन् । अबोधपनको फाइदा उठाएर क्षणभरको खुसी बटुल्न उद्धत छन् । यो कानुनी र नैतिक दुवै पक्षबाट जायज छैन । हाम्रा कानुनका दफाहरूमा प्रस्ट उल्लेख छ, तस्बिर वा भिडियो खिच्नुअघि सम्बन्धित व्यक्तिको स्वीकृति लिनुपर्छ ।

भाइरल बन्ने ‘दर्जन उपाय’ बालबालिकालाई पनि सिकाउँछौँ । फेसबुकमा फोटो राखेर लाइक, कमेन्ट, भ्युज बढाउने, अझ भाइरल हुने तरिका सिकाउन उद्यत छौँ । यसले अबोध दिमागमा पार्ने दीर्घकालीन क्षतिको मूल्यांकन गरेका छौँ त ? उत्तर सहज छ, केही पनि विचार गरिएको छैन । 

भिडियो भाइरल बनाइरहँदा ती ‘भाइरलसिकर’ अभिभावकले आफ्ना अबोध बालबालिकाको स्वीकृति कसरी लिए होलान् ? यसको पनि उत्तर सहज छ, लिइएकै छैन । त्यसो हो भने अभिभावक कानुनको नजरमा दोषी हुन् । स्वीकृतिबेगर आफ्ना अबोध बालबालिकाको फोटो खिचे वा भिडियो बनाएर सामाजिक सञ्जालमा भाइरल बनाएबापत ती दण्डित हुनुपर्छ । 

आधुनिकता भित्र्याउने नाममा कतिपय विद्यालयले विद्यार्थीलाई अत्याधुनिक ग्याजेट चलाउने अनुमति दिन्छन् । ग्याजेटबाटै ‘प्रोजेक्ट वर्क’ पेस गर्न सिकाउँछन् । तर, प्रविधिको अन्धाधुन्द प्रयोगले विद्यार्थीको सिकाइमा पर्ने असरबारे कहिल्यै मूल्यांकन गरिँदैन । विद्यालयमा पुतलीको जीवनचक्रको उदाहरण दिन फिल्ड लगिन्न, न चित्र कोरेर यसका सचित्र ज्ञान नै विद्यार्थीमा बाँडिन्छ ।

सहज विधि छ– गुगल गर्ने र पुतलीको जीवनचक्र त्यसैमा हेर्ने, देखाउने । यस्तो ज्ञानले विद्यार्थीको सिकाइ क्षमतामा कस्तो असर गर्ला ? ‘दूध केबाट आउँछ ?’ भन्ने प्रश्न गर्दा ‘डेरीबाट आउँछ’ भनेर जवाफ दिने विद्यार्थी उत्पादन गर्न उद्यत छन्, हाम्रा अधिकांश विद्यालय । यस्ता उत्पादनले हामी कहाँ पुग्छौँ ? बालबालिकाको मनोविज्ञान र मनोविकासमा यसले कस्तो असर गर्ला ? सम्झिँदा पनि दिमाग चक्कराउँछ । 

आधुनिकतासँगै आएको इन्टरनेट । त्यसैका उपज हुन्, त्यसभित्रका सामाजिक सञ्जाल । यी उत्पादनलाई प्रयोग गर्नै बन्देज लगाइनुपर्छ भन्ने कदापि होइन । प्रयोग गर्नुपर्छ । तर, यसका लागि अपनाउने र प्रयोग गर्ने तरिका जान्नु आवश्यक छ । त्यसो हो भने कक्षा १० होइन, १२ कक्षासम्मकै विद्यार्थीका लागि सेल्फ मोबाइल प्रयोगमा प्रतिबन्ध लगाउँदा कसो होला ? फेसबुकलगायतका सामाजिक सञ्जालमा अकाउन्ट खोल्ने उमेरसमूह निर्धारण गरिँदा कसो होला ?

इन्टरनेटमा प्राप्त सामग्री बालबालिकाको पहुँचभन्दा बाहिर गरिँदा ठीक होला ? यति गर्दा के बाल स्वतन्त्रता हनन होला त ? यति गर्न नसके पनि आफ्ना छोराछोरीले सामाजिक सञ्जालमा के गतिविधि गरिरहेका छन् भन्ने अवलोकन गर्ने जिम्मा त अभिभावकले पूरा गर्नुपर्‍यो नि ।

विद्यालय तहमै चलाउन हुने र नहुने सामाजिक सञ्जालको बारेमा विद्यार्थीलाई सचेत गराउनु शिक्षकको अभिभारा हुन्छ । सामाजिक सञ्जालबाट हुन सक्ने अपराध र त्यसबाट हुन सक्ने क्षतिबारे जानकारी गराउनु समाजको दायित्व हो । यति गर्न कुनै अभिभावकले कसैको स्वीकृति लिनुपर्दैन । 
(कुँवर मनोविद् हुन्)