मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख २३ बिहीबार
  • Thursday, 06 May, 2021
नवराज मैनाली काठमाडौं
२०७७ फाल्गुण १० सोमबार १८:००:००
Read Time : > 4 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कलिलो उमेरमै गम्भीर अपराध

बलात्कार, हत्या, लागुऔषध, चोरीजस्ता मुद्दामा बर्सेनि करिब पाँच सय बालबालिका पक्राउ पर्ने गरेको प्रहरी तथ्यांक, गम्भीर अपराधमा संलग्न सात सयभन्दा धेरै बालबालिका सुधारगृहमा

Read Time : > 4 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७७ फाल्गुण १० सोमबार १८:००:००

देशमा भएका पछिल्ला ठूला अपराधका घटनामा नाबालकहरूको संलग्नता देखिएको छ । बैतडीकी भागरथी भट्टको करिब १७ वर्षीय किशोरबाट बलात्कारपछि हत्या भएको घटनाले गम्भीर प्रकृतिका अपराधमा नाबालकहरूको संलग्नता (बालबिज्याई मुद्दा) मा प्रहरीको चिन्ता बढेको छ ।

गत असोजमा बझाङको मस्टा गाउँपालिकाकी बालिका सम्झना विकको पनि नाबालकबाटै बलात्कारपछि हत्या भएको थियो । पश्चिम रुकुममा गत जेठमा ६ जनाको हत्या घटनामा समेत केही नाबालक संलग्न थिए । 

प्रहरी तथ्यांकले पनि गम्भीर किसिमका अपराधमा १८ वर्षभन्दा कम उमेरका बालबालिकाको संलग्नता बढेको देखाउँछ । बलात्कार, हत्या, लागुऔषध, चोरीजस्ता मुद्दामा हरेक वर्ष करिब पाँच सय बालबालिका पक्राउ पर्दै आएका छन् । 

आर्थिक वर्ष २०७६-७७ मा विभिन्न अपराधमा ६ सय ३७ जना बालबालिका पक्राउ परेका थिए । त्यसमध्ये धेरैजसो गम्भीर प्रकृतिका अपराधमा पक्राउ परेको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिए । गत वर्ष तीन सय ६५ जना बलात्कार, ५७ जना चोरी, ५१ जना लागुऔषध, २७ जना बालविवाह, ३३ जना अभद्र व्यवहार तथा २३ जना कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका थिए । 

आव २०७५-७६ मा मात्र नौ सय ८७ नाबालक पक्राउ परेका थिए । त्यो वर्ष पनि सबैभन्दा धेरै बलात्कार मुद्दामा पक्राउ परेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । तीन सय ९० जना बलात्कारमा, एक सय २९ घरेलु हिंसा, केही सार्वजनिक अपराधमा ८७, चोरीमा ७६, लागुऔषधमा ४४, बहुविवाहमा २८, बालविवाहमा २४ जना पक्राउ परेका थिए । कर्तव्य ज्यान मुद्दामा २४, बाल यौन दुराचारमा २२ जना छन् । १८ वर्ष पुगेपछि मात्र सवारी चलाउन पाइन्छ । १६ जनाले लाइसेन्स नै नलिई सवारी चलाएर अन्यको मृत्यु गराएकोमा मुद्दा खेपेका छन् । 

१८ वर्षभन्दा कम उमेरका अपराधमा संलग्न भएमा अदालतले उनीहरूलाई जेलको सट्टा बाल सुधारगृहमा पठाउँछ । देशभरि यस्ता आठवटा सुधारगृह छन्, जहाँ सात सयभन्दा धेरै बालबालिका छन् । सुधारगृहभित्रै पढाउने उद्देश्य भए पनि स्रोतसाधनको अभावमा सुधारगृहको अवस्था जेलको भन्दा नराम्रो छ । जसकारण सुधारगृहमा पुग्ने कतिपय झन् बिग्रने गरेको प्रहरी अधिकारीको भनाइ छ । यसरी गम्भीर किसिमका अपराधमा समेत बालबालिकाको संलग्नता बढ्नुमा सामाजिक सञ्जालको दुरुपयोग, नैतिक शिक्षाको अभाव र अभिभावकको गैरजिम्मेवारीपन प्रमुख कारण रहेको डिआइजी उत्तमराज सुवेदीको भनाइ छ । 

साइबर अपराधदेखि हत्यासम्म 
सामान्यझैँ–झगडा मात्र होइन, योजनाबद्ध रूपमा हुने अपराधमा समेत बालबालिकाको संलग्नता बढेको प्रहरी अधिकारीहरू बताउँछन् । पछिल्लो समय देशमा अत्यधिक बढेको साइबर अपराधमा आधाभन्दा धेरै १८ वर्षभन्दा कम उमेरका किशोरकिशोरी छन् । फेसबुकमा ‘रेपिस्ट ग्रुप’ बनाउनेदेखि ह्याकिङका घटनामा संलग्नताको आरोपमा पक्राउ परेकाहरू किशोर नै भएको प्रहरीको साइबर ब्युरोका एसपी पशुपति रायले जानकारी दिए । इन्टरनेटको सुरक्षित प्रयोगबारे ज्ञानको अभाव र दुरुपयोगको परिणामबारे ज्ञान नहुँदा यस्ता अपराधमा किशोरहरूको संलग्नता बढेको उनको भनाइ छ । 

गत साउनमा गोंगबुमा एक १५ वर्षीया किशोरीले आमासँग मिलेर एक व्यक्तिको हत्या गरी शव टुक्रा पारेर फाल्न सघाएकी थिइन् । उनी हाल भक्तपुरस्थित बाल सुधारगृहमा छिन् । पाँचथरको हिलिहाङ गाउँपालिका–६ मा ३ असारमा भएको एनएमबी माइक्रो फाइनान्स गोपेटार शाखामा कार्यरत सुजाता तामाङको एक नाबालकबाटै हत्या भएको थियो । लुटपाटका लागि उनले घाँटी रेटेर बीभत्स तरिकाले हत्या गरेका थिए । काठमाडौंमा हुने चोरी तथा लुटपाटका घटनामा पटकपटक १८ वर्षभन्दा कम उमेरका किशोर पक्राउ पर्ने गरेको काठमाडौं प्रहरीको तथ्यांक छ । 

गत साउनमै चितवनमा १६ वर्षका किशोरले ६ वर्षकी बालिकामाथि जर्बजस्तीकरणी गरेका थिए । ती बालक पनि हाल सुधारगृहमा छन् । प्रहरीका एक अनुसन्धान अधिकृतको अनुभवमा प्रायः बाबुआमाको माया पाउन नसकेका तथा पारिवारिक बिखण्डनमा परेका बालबालिका गलत संगतले कलिलो उमेरमै अपराधमा लाग्ने गरेका छन् । 

लागुऔषधको दुव्र्यसन र कारोबारमा पनि नाबालकहरूको ठूलो संख्या छ । गृह मन्त्रालयले गत वर्ष गरेको सर्वेक्षणमा १८ वर्षभन्दा कम उमेरका झन्डै करिब आठ हजार किशोरहरू रहेको देखिएको थियो । दुव्र्यसनमा लागेकाहरू कतिपय लागुऔषध किन्नकै लागि पनि अन्य अपराधमा लाग्ने गरेका छन् । गृहको सर्वेक्षणअनुसार हाल देशमा एक लाख ३० हजार चार सय ३४ दुव्र्यसनी छन्, जसमध्ये ०.२ प्रतिशत १५ वर्षमुनिका तथा ७.२ प्रतिशत १५ देखि १९ वर्ष उमेरका छन् । 

नाबालकको उमेर : १६ वर्षबाट यसरी भयो १८ वर्ष 
दुई वर्षअघिसम्म नेपालमा १६ वर्षमुनिकालाई बालबालिका तथा नाबालकको कानुनी हैसियत थियो । दुई वर्षअघि लागू भएको मुलुकी अपराध संहिता तथा बालबालिकासम्बन्धी ऐनले अन्तर्राष्ट्रिय अभ्यास भन्दै १८ वर्षमुनिकालाई नाबालकमा राखेको हो । १८ वर्षसम्म पूर्णरूपमा शारीरिक र मानसिक विकास भइनसक्ने भएकाले उनीहरूले जानीजानी अपराध नगर्ने आधारमा उमेरलाई १८ वर्ष बनाइएको हो । 

नेपाल बालबालिबासम्बन्धी महासन्धिको पक्ष राष्ट्र भएकाले पनि यसरी नाबालकको उमेर १६ बाट १८ वर्ष बनाएको हो । सो महासन्धिमा १८ वर्षभन्दा कम उमेरका बालबालिका हुने उल्लेख छ । तर, नेपालको परिवेशमा यो गलत भएको प्रहरी अधिकारीहरू बताउँछन् । भागरथी भट्ट बलात्कारपछि हत्या घटनाको अनुसन्धान गरेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उत्तमराज सुवेदी भन्छन्, ‘नाबालकको उमेर १६ बाट १८ वर्ष बनाउनु नेपालको सन्दर्भमा घातक छ ।’ 

फौजदारी अपराध संहिताको दफा ४५ अनुसार १० वर्षमुनिका बालबालिकाले अपराध गरेमा कुनै सजाय हुँदैन । १० देखि १४ वर्षकाले गरेमा ६ महिनासम्म कैद हुन सक्छ । त्यस्तै, १६ देखि १६ वर्ष उमेर भएको हकमा उमेर पुगेकाले पाउनेको आधा तथा १६ देखि १८ वर्षभन्दा कम व्यक्ति अभियुक्त रहेकामा दुईतिहाइ सजाय हुन्छ । 

वरिष्ठ मनोचिकित्सक डा.कपिलदेव उपाध्याय भन्छन्–कस्तो वातावरणमा हुर्कियो भन्ने कुराले आपराधिक मानसिकता तय हुन्छ 
कुनै पनि बच्चा कस्तो वातावरणमा हुर्कियो भन्ने कुराले उनको व्यवहार तय हुन्छ । उसले बच्चामा के सिक्यो, के जान्यो, इन्टरनेटमा के हे¥यो जस्ता कुराले पनि व्यक्ति विकासमा ठूलो भूमिका खेलेको हुन्छ । कसैले अपराध हेरेको भए उसको दिमागमा पनि त्यसको प्रभाव परेको हुन सक्छ । बच्चादेखि नै आपराधिक मानसिकता नहोस् भनेर हेर्नुपर्छ । हिजोआज गोली हान्ने, मार्ने खालका इन्टरनेटका खेल बालबालिकाले धेरै खेल्छन् । यसबाट पनि उनीहरूको दिमाग हिंस्रक बनेको हुन सक्छ । 

मानसिक स्वास्थ्य समस्या पनि एउटा कारण हुन सक्छ, केही जन्मजातका कारण र केही घरको वातावरणका कारण समस्या देखिन्छ र यस्ता किशोर भनेको नमान्ने, सानैदेखि चोर्ने, झगडा गर्ने, लागूपदार्थ लिने, यिनै कारणले घरमा वा बाहिर कुटाइ खाने गर्छन् । ठूलो भएपछि त यी समस्या झन् बढ्छन् । आफ्नो कारणले अरूलाई केकस्तो असर पर्छ भन्ने 
अनुभव गर्न सक्दैनन् र अरूलाई दुःख, पीडा हुँदा पनि मतलब राख्नैनन् । पश्चात्ताप लाग्दैन र सजाय भोग्नुपरे पनि चेत्दैनन् । युट्युबमा भएका अश्लील यौनसम्बन्धी भिडियो हेर्ने र यस्तोमा धेरै समय बिताउने व्यक्तिले, आफूले पनि यस्तै क्रियाकलाप गर्ने कल्पना गर्छन्, योजना बनाउँछन् र अवसरको खोजीमा हुन्छन् । यौनजन्य अपराध बढेको एउटा कारण यो पनि हुन सक्छ । 

अभिभावकको निगरानी आवश्यक- एसएसपी वसन्त कुँवर, प्रहरी प्रवक्ता
नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर गम्भीर किमिसका अपराधमा बालबालिकाको संलग्नता बढ्नु चिन्ताको विषय भएको बताउँछन् । यसमा मुख्य रूपमा अभिभावकको निगरानी बढाउनुपर्ने उनको भनाइ छ । ‘आफ्ना छोराछोरीलाई गलत बाटोमा जानबाट रोक्न अभिभावकको भूमिका देखिन्छ,’ उनले भने ।