१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नवीन प्यासी काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o५:२९:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

नागरिकलाई टुँडिखेलभित्र प्रवेशमा अवरोध गर्न बाहिर प्रहरी र भित्र सेना तैनाथ

Read Time : > 3 मिनेट
नवीन प्यासी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o५:२९:oo

७ फागुनको सन्दर्भमा टुँडिखेलभित्र सैनिकहरूको सलामी खाएर प्रधानमन्त्री केपी ओली हिँडेलगत्तै नागरिकहरू पनि प्रजातन्त्रकै सम्झनामा टुँडिखेल मार्चमा निस्किएका थिए । नेपालमा पहिलोपटक प्रजातन्त्रको घोषणा भएको टुँडिखेलभित्र छिर्ने नागरिक योजना थियो । किनकि नागरिक स्वतन्त्रताको साक्षी टुँडिखेल अहिले सेनाको बारबन्देजमा छ । गेट नै ठुल्ठूला साङ्लोले बाँधिएको छ । त्यसमाथि नागरिकलाई रोक्न प्रहरी लाठी र बन्दुक बोकेर तैनाथ थिए । 

नागरिकहरूले टुँडिखेलभित्र छिर्ने जिद्दी मात्रै गरेमा समातेर हुल्नका लागि प्रहरीको खाली गाडी पनि पछिपछि थियो । प्रहरीको घेराभित्र नागरिक नारा लगाउँदै टुँडिखेल परिक्रमा गर्दै थिए । शंखधर शाखः (रत्न)पार्कबाट सुरु भएको मार्च भद्रकाली, सहिदगेट हुँदै पश्चिमगेटबाट टुँडिखेल छिर्ने योजनामा थियो । तर, काठमाडौं मल र नेपाल एयरलाइन्सअगाडिका दुवै गेटमा लाठी र बन्दुकसहित ठूलो संख्यामा उपस्थित प्रहरीले अवरोध गर्‍यो ।

अझ गेटभित्र बन्दुकधारी सेनासमेत तन्किएर तैनाथ थिए । आफ्नै निहत्था नागरिकलाई तर्साउन सरकारले प्रहरी मात्र होइन, सेनालाई यसरी तैनाथ गरेको दृश्य लोकतान्त्रिक समाजका लागि दुःखद देखिन्थ्यो । अवरोधपछि अभियन्ता खगेन्द्र संग्रौलाले भने, ‘टुँडिखेल नागरिकको हो, तर पस्न दिइएन । टुँडिखेलभित्र कुकुरहरू ढुक्कले खेलिरहेका छन् । हामीलाई कुकुरजति पनि ठानिएन । बालुवाटारको आदेशमा ढोका बन्द गरिएको छ । यदि सधैँ बन्द भयो भने नागरिकले एक दिन यो ढोका अवश्य फोर्नेछन् ।’

७५ वर्षीय संग्रौला उनै हुन्, जो ०६२/६३ को दोस्रो जनआन्दोलनमा लोकतन्त्रका खातिर सडकमा थिए । तर, बिहानै प्रजातन्त्र दिवसका अवसरमा ओलीले टुँडिखेलभित्रबाट सम्बोधन गर्न पाए, संग्रौला र नागरिक अभियन्तालाई भने गेटबाहिर रोकियो । यी नागरिक हिजो पनि संघीयता, धर्मनिरपेक्षता, समावेशिता र गणतन्त्रका लागि सडकमा थिए । आज पनि उनीहरूलाई टुँडिखेल बाहिरै राखियो । 

अभियन्ता विजयकान्त कर्ण टुँडिखेल नेवार समुदायको सम्पत्ति रहेको, तर पञ्चायतकालभरि खण्डीकरण भएको बताउँछन् । ‘राजा–महाराजा, सेनाको केन्द्र बनाएर यसलाई कब्जा गरियो । तर, शासकले ख्याल गर्नुपर्छ, जनता जागेका वेला यी सब भत्कन सक्छन्,’ उनले नयाँ पत्रिकासँग भने, ‘आज म सडकमा निस्कनु र ००७ सालमा मेरो बुबा निस्कनु फरक कुरा थियो । चेतनाको स्तर अर्कै थियो । अहिलेको चेतनामाथि अंकुश लगाउन सम्भव छैन ।’

गत १ साउनमा घुँगी टिप्न हिँडेका चितवन, राप्ती नगरपालिका–२ का राजकुमार चेपाङको मृत्यु भयो, कारण थियो– सैनिकको कुटपिट । खोल्सामा घुँगी टिप्न निस्केका राजकुमारलाई सेनाले नियन्त्रणमा लिएर निर्मम कुटपिट ग¥यो । त्यसको सात दिनपछि उनी बिते । टुँडिखेलमा मार्चमा निस्केका नेपाल चेपाङ संघका अध्यक्ष जितेन्द्र चेपाङ कवितात्मक लयमा प्रस्तुत भए, ‘म चाहन्छु खुला आकाशमा उड्न, तर बन्दीपनाले छाड्दैन । नयाँ संविधानले गरिबको झुपडीमा घाम लाग्छ भनेर सोचेका थियौँ, तर किन लागेन ? बरु, बिहानबेलुका घामपानी छेक्न बनाएको चेपाङको झुपडीमा राज्यले आगो लगाइदियो ।’

गत साउनमा चितवन राष्ट्रिय निकुञ्ज र सेनाको टोलीले चितवनको माडी नगरपालिका– ९ स्थित चेपाङ बस्तीमा आगो लगाएको थियो । उनीहरूले आगो लगाउनुका साथै आठ घर हात्ती लगाएर भत्काइदिएका थिए । टुँडिखेलको संकटा मन्दिरको साइडमा माइक समातेर जितेन्द्र चेपाङ भनिरहेका थिए, ‘बिहान के खाउँ, बेलुका के खाउँ भनेर जंगली कन्दमूल खोज्न जाँदा आर्मीद्वारा कुटीकुटी हत्या भएको ताजै छ । यहाँका आदिवासी जनजातिले राष्ट्रपति, प्रधानमन्त्री पद होइन, स्वतन्त्र रूपमा बाँच्न चाहेको हो ।’ तर, त्यही आधारभूत विषय पनि राज्यले दिन नसकेको, स्वतन्त्र रूपमा बाँच्ने ग्यारेन्टी गर्न नसकेकोमा उनले आक्रोश पोखे । 

‘सहरको बाक्लो बस्तीबीचमा जंगी अड्डा हुनु राम्रो सन्देश होइन,’ संग्रौला बोलिरहेका थिए, ‘जहाँ बारुदको थुप्रो, ट्यांक, जिलेटिन, बम हुन्छ र जसले विनाश गर्छ । त्यो त एकान्तमा हुनुपर्ने हो । तर, जब तानाशाह डराउँछ, तिनले दरबारको बलेँसीमा सेना प्रहरी राख्छ ।’

टुँडिखेलको माटो नेवार समुदायको सभ्यता, संस्कृतिसँग जोडिएको छ । त्यहाँ उनीहरू पूजाआजा गर्थे । त्यहाँ उनीहरूका सयौँ किंवदन्ती र लोककथाहरू थिए । मिथकहरू थिए । तर, अचेल टुँडिखेलमा सेनाको बुट बजारिन्छ । त्यही माटोलाई छुन निस्केका नेवार संस्कृतिका अभियन्ताहरू पनि काँडेतारबाहिरै परे ।

खोकना बचाउ अभियानका अभियन्ता नेपाल डंगोलले टुँडिखेलबाट नेवारको जग्गा हडपिएको प्रसंग उप्काए, फास्ट ट्र्याकका नाममा अधिग्रहण गरिएको जग्गा सम्झिए । हाइटेन्सन लाइन, स्मार्ट सिटीको नाममा पुरिँदै गएको नेवारी सभ्यता सम्झिए । ‘नेपाली सेनालाई प्रश्न छ,, हामीले पढेको गौरवशाली इतिहास भएको सेनाको गौरव अहिले कहाँ छ ? खोकनामा ठेक्का लिँदै गर्दा कानुन पढ्नुपर्दैन ? हामीले स्वीकृति नदिएको जग्गामा सैनिक इलाका घोषणा गरेर बसेको छ । त्यो ब्यारेक भत्काउने कि नभत्काउने ? अब हामी यो राज्यलाई अनुरोध होइन, प्रश्न गर्छौँ । उत्तर दिनुपर्छ,’ उनको भनाइ थियो । 

अभियन्ता अर्चना थापाले हजुरआमा सम्झिइन् । ‘मलाई हजुरआमाले भनेको सम्झना छ– हामी टुँडिखेलमा खेल्न जान्थ्यौँ । त्यहाँ बन्देज थिएन । तर, हजुरआमाका पाला खुला चौर अहिले हाम्रा पाला सेनाको कवाच र सत्ताको शक्ति प्रदर्शनको थलो भएको छ,’ उनले भनिन्, ‘यो काँडेतारबाहिर प्रजातन्त्र केहीलाई मात्रै आयो । त्यसको प्रतिवाद गर्न यहाँ उपस्थित भएका हौँ ।’

अभियन्ता नारायण वाग्लेले नागरिकलाई अवरोध गर्न जुन शैलीले हतियारधारी सुरक्षाकर्मी उतारियो, त्यसले आजको नेपाली लोकतन्त्रको अनुहार उदांगो परिदिएको टिप्पणी गरे । ‘खरिबोटलाई साक्षी राखेर नेपालमा पहिलोपटक प्रजातन्त्र घोषणा भएको थियो । खरिबोट मासियो, प्रजातन्त्र मासियो । ७० वर्षपछि हामी यहाँ उभिएर आज भन्छौँ–  अब नो सलामी, नो गुलामी,’ उनले भने ।

नागरिक घोषणापत्र
बृहत् नागरिक आन्दोलनले टुँडिखेलबाटै घोषणापत्र पनि जारी गरेको छ । भनिएको छ, नेपाली समाजले जनताको सर्वोच्चता, स्वतन्त्रता र समतालाई सर्वोपरी मान्दै मुलुकको उन्नति, स्थायी शान्ति र नागरिकको लोकतान्त्रिक आकांक्षालाई संस्थागत गर्नेछ ।

ऐतिहासिक रूपले नै जातजन्य, जातीय, लैंगिक, वर्गीय, क्षेत्रीय, भाषिक र धार्मिक आधारमा परित्यक्त समुदायले राष्ट्र–निर्माणको अभियानमा समान व्यवहार र सहभागिताको अवसर प्राप्त गर्नेछन् । नेपाली राज्यलाई शताब्दीयौँदेखि आफ्नो मौजा बनाउँदै आएका राजनीतिक–सामाजिक शक्तिलाई पन्छाउँदै समावेशी चरित्रको राज्यव्यवस्था र संघीय शासनको जग बसाल्नेछ ।
 

ad
ad