१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
स्टिभ मिलर
२o८१ बैशाख ३१ सोमबार o८:३१:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

नयाँ प्रकारको भाइरसमा दक्षिण अफ्रिकाको नाम नजोडौँ

Read Time : > 2 मिनेट
स्टिभ मिलर
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:३१:oo

एक वर्षअघि कोभिड–१९ को संकट सुरु हुन लाग्दा ‘चाइना भाइरस’को नाम प्रयोगप्रति धेरैले असन्तुष्टि जनाए । यस्तो विभाजनकारी र केहीका अनुसार नश्लीय भाषाको आलोचना गर्नु आवश्यक थियो । तर, एक वर्षपछि भाइरसको कारण २३ लाख मानिसको ज्यान गइसक्दा, अर्थतन्त्र तहसनहस हुँदा र एउटा सम्पूर्ण पुस्ताको शिक्षा अवरुद्ध हुँदा पनि हामीले पाठ सिकेका रहेनछौँ । 

डिसेम्बरमा कोरोना भाइरसको ‘५०१ भी२ स्ट्रेन ’ दक्षिण अफ्रिकामा भेटियो । भाइरसको यस प्रकारलाई धेरैले ‘दक्षिण अफ्रिका भेरियन्ट’ वा ‘दक्षिण अफ्रिका स्ट्रेन’ नाम दिइरहेका छन् । तर, यस्तो नाम आफैँमा आरोप हो । दक्षिण अफ्रिका ‘जिनोम सिक्वेन्सिङ’मा अग्रणी रहेकाले भाइरसको नयाँ प्रकार छिटो पहिचान हुन सक्यो । तर, विश्व समुदायले यस प्रकारपछाडि हाम्रो देशको नाम जोडेर उल्टो हामीलाई सजाय पो दिए । भाइरसको नयाँ प्रकारमा दक्षिण अफ्रिकाको नाम जोड्दा स्पष्ट रूपमा भनिएको हुन्छ, दक्षिण अफ्रिका खतराको जन्मभूमि हो ।

यस्तो नामकरणले दक्षिण अफ्रिकाले गुमाएका ५० हजार जीवनबारे बेवास्ता गर्छ । अफ्रिकामा कुल पहिचान भएका संक्रमितमध्ये ४० प्रतिशत दक्षिण अफ्रिकामा मात्रै पहिचान भएका छन् । अफ्रिकाको झन्डै २० प्रतिशत जनसंख्यामा एचआइभी एड्स छ, उनीहरू कोरोना भाइरसको उच्च जोखिममा छन् । कोभिड–१९ ले दक्षिण अफ्रिकामा रंगभेदको अन्त्य भएपछिकै ठूलो संकटको रूप लिने जोखिम अझै छ । 

निश्चित रूपमा भाइरसको विस्तार रोक्न विभिन्न नियन्त्रण प्रयासलाई निरन्तरता दिनुपर्छ । सेप्टेम्बरमा नै अर्थतन्त्र नराम्ररी प्रभावित भएर दक्षिण अफ्रिकाको कुल गार्हस्थ उत्पादन १३ वर्षयताकै न्यून झरेको थियो । यसबाट गरिबमाथि सबैभन्दा बढी असर परेको छ ।

जसका कारण सामाजिक असमानताको खाडल बढेको छ । नोभेम्बरमा देशका शिक्षामन्त्रीले बताएअनुसार प्राथमिक कक्षामा पढ्ने उमेरका तीन लाख विद्यार्थीले विद्यालय छाडिसके । विद्यालयबाट जति लामो समय बाहिर रह्यो, उनीहरूलाई फर्काउन त्यति नै गाह्रो हुन्छ । दक्षिण अफ्रिकामा संकट छ । तर, आजकल तपाईंले इन्टरनेटमा यो देशको नाम खोज्नुभयो भने समाचारमा यसलाई पीडितभन्दा पनि खतराका रूपमा देखिन्छ । 

खोप राष्ट्रवादलाई विश्व स्वास्थ्य संगठनले ‘आपत्तिजनक नैतिक असफलता’ भनेको छ । यसले धेरैलाई कठिनाइ उत्पन्न गराएको छ । एकातर्फ दक्षिण अफ्रिकालाई भाइरसको नयाँ प्रजाति विश्वभर फैलाएको आरोप लगाइँदै छ, अर्कोतर्फ यसको सामना गर्ने विषयमा दक्षिण अफ्रिका र समग्र महादेश भने अझै बेवास्तामा परिरहेको छ । द्विपक्षीय सम्झौतामार्फत दक्षिण अफ्रिकाले भर्खर मात्र खोपको पहिलो अर्डर पाएको छ । 

कोभिड–१९ को नयाँ प्रकारलाई ‘दक्षिण अफ्रिका भेरियन्ट’ भन्दा दक्षिण अफ्रिका नै विश्वव्यापी स्वास्थ्यका लागि जोखिमपूर्ण छ भन्ने सन्देश प्रवाहित हुन्छ । आफैँ खोपको पर्खाइमा छट्पटाइरहेको देशलाई खतराका रूपमा प्रस्तुत गर्नु अन्याय हो ।

भाइरसको नयाँ प्रकारले अफ्रिकी मुलुकमा कस्तो असर गर्छ भन्नेमा विश्व समुदायको पर्याप्त ध्यान गएको छैन । प्रकोपको पहिलो लहरमा विश्वका अन्य भागमा कोरोनाले आतंक मच्चाउँदा अफ्रिकी मुलुकले तुलनात्मक रूपमा कम क्षति व्यहोरेका थिए । तर, अहिले दोस्रो लहरमा महादेशको मृत्युदर उच्च मापन भएको छ ।

अफ्रिकाका धेरै देशमा कोभिड–१९ को सामना गर्ने स्रोत–साधन अभाव देखिन्छ । दक्षिणपूर्वी अफ्रिकी मुलुक मलावी अक्सिजनको मागसमेत पुर्‍याउन नसक्ने स्थितिमा छ । कोरोनाका कारण बढेको न्युमोनियाले स्वास्थ्य प्रणालीमा अतिरिक्त बोझ थप्ने स्थितिमा उनीहरूले ठूलो समस्या भोग्नुपर्नेछ । 

खोपका सामतामुखी पहुँचको सुनिश्चितताका लागि गठन भएको कोभ्याक्स परियोजना स्वागतयोग्य अग्रसरता हो । तर, पैसाको कमी र सम्पन्न मुलुकले आवश्यकभन्दा बढी खोपका डोजमाथि कब्जा गर्दा विश्वका सबैभन्दा गरिब मुलुकलाई खोप दिने कोभ्याक्सको लक्ष्यमा अवरोध पुगिरहेको छ ।

उत्तरी गोलाद्र्धका मानिसले अफ्रिका महादेशलाई समस्याको स्रोतका रूपमा हेर्ने बानी परित्याग गर्नुपर्छ । त्यसैले मानिसले कोरोना भाइरसको नयाँ भेरियन्टलाई ‘दक्षिण अफ्रिकी प्रकार’का रूपमा सम्बोधन गर्नुअघि एकपटक सोर्चून् । अफ्रिका आफैँ खोपको निरन्तर पर्खाइमा छ र यस्तोमा हामीलाई विश्व स्वास्थ्यको खतराको स्रोतको रूपमा प्रस्तुत गर्नु हामीमाथि अन्याय हुन्छ । खासमा हामी पनि भाइरसको नयाँ प्रकार चाहँदैनौँ । 
(लेखक ‘सेभ द चिल्ड्रेन, दक्षिण अफ्रिका’का सिइओ हुन्) अलजजिराबाट

ad
ad