नेकपा स्थायी कमिटी सदस्य वर्षमान पुनले केपी ओली नेतृत्वको सरकारलाई नेकपाले तीन वर्षसम्म कुनै असहयोग नगरेको दाबी गरेका छन् । पुन ओली सरकारमा झन्डै तीन वर्ष ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री थिए ।
संसद् विघटनपछि राजीनामा दिएका पुनले पार्टीका अध्यक्ष, संसदीय दलका नेता र प्रधानमन्त्री मानेका व्यक्तिले संविधानमाथि घात गरेपछि बाध्य भएर आफूहरूले विरोध गर्नुपरेको बताए । तीन वर्षसम्म सरकारले संसद्मा पेस गरेका नीति तथा कार्यक्रम र बजेट तथा सरकारका तर्फबाट पेस भएका धेरै विधेयक संसद्ले पारित गरेको उनले स्मरण गरे ।
‘तीन वर्षसम्म सबै नीति कार्यक्रम र बजेट पार्टीको समर्थनमा संसद्मा उत्साहजनक रूपमा पास भए । त्यहाँ कुनै अवरोध भएन’ धनकुटामा भएको कार्यक्रममा उनले भने, ‘पहिलो वर्ष झन्डै एक सय १६ वटा विधेयकहरू संसद्मा पेस भए । संविधानसँग सम्बन्धित अति आवश्यक विधेयक थिए, ती सबै फटाफट पास भए । म एउटा मन्त्रीका हैसियतले झन्डै तीन वर्ष काम गर्दा देखेको छु, पार्टीले पूरै सहयोग गरेको छ ।’
प्रधानमन्त्री ओली स्वयंले कैयौँपटक सार्वजनिक अभिव्यक्तिका क्रममा संसारमै छोटो समयमा धेरै कानुन बनाउने मुलुक नेपाल भएको र आफ्नो कार्यकालमा जति छिटो विकास विश्वमै नभएको दाबी गर्दै हिँडेको चर्चा गर्दै पुनले तर, अहिले संसद् र पार्टीले काम गर्न दिएन भन्नुको तुक नरहेको बताए । ‘केपी ओलीजीले सार्वजनिक रूपमा इतिहासमै धेरै सडक कालोपत्रे भयो । मेरो सरकार विश्वमै छोटो समयमा धेरै कानुन बनाउने सरकारका रूपमा उभियो भनेर सरकारको प्रगति देखाउनुहुन्थ्यो’, पुनले भने, ‘तर, हामीले विश्वास गरेको त्यही प्रधानमन्त्री आज पार्टीले मलाई काम गर्न दिएन । संसद्ले काम गर्न दिएन र मैले विघटन गरेँ भनेर सार्वजनिक रूपले भन्दै हुनुहुन्छ, के यो उचित हो ?’