बलात्कार आरोपमा पक्राउ परेको अभियुक्त अदालत परिसरबाट फरार

२०७५ माघ २९ मंगलबार १९:१२:०० | धनगढी

बलात्कार आरोपमा पक्राउ गरि प्रहरीले म्याद थपका लागि जिल्ला अदालत कैलाली लगेका दिल्प दमाइ मंगलबार फरार भएका छन् । जबरजस्ती करणीको अभियोगमा सोमबार पक्राउ परेका २३ बर्षीय दमाइलाई इलाका प्रहरी कार्यालय लम्कीले थुनामा राखी अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगेको थियो ।

अदालतमा म्याद थपको मिसिल बुझाउने क्रममा उनी फरार भएको जिल्ला प्रहरी कार्यालयका एसपी आभुषण तिम्सिनाले बताए । प्रहरीका अनुसार लम्कीमा एक महिला बलात्कारको अभियोगमा प्रहरीले दमाइलाई पक्राउ गरेको तिम्सिनाले जानकारी दिए । फरार भएका दमाइको खोजीमा प्रहरी टोली परिचालन गरिएको उनले बताए ।

अभियुक्त भाग्नुमा प्रहरीको कमजोरीबारे पनि छानविन गरिने उनले बताएका छन् । ‘अहिले अभियुक्तको खोजीमा खटिएका छौं,’ तिम्सिनाले भने, ‘भाग्नुमा सुरक्षा कमजोरी हुनसक्ने बारेपनि छानविन हुन्छ ।’

प्रतिकृया दिनुहोस