मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नवीन प्यासी काठमाडौं
२०७७ माघ २७ मंगलबार ०६:४८:००
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

भागरथी हत्याविरुद्ध प्रदर्शन : विद्यार्थीहरू न्याय माग्दै  माइतीघर मण्डलामा 

Read Time : > 2 मिनेट
नवीन प्यासी, काठमाडौं
२०७७ माघ २७ मंगलबार ०६:४८:००

बैतडीकी किशोरी भागरथी भट्ट हत्याविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन भएको छ । कञ्चनपुरकी निर्मला पन्त तथा बझाङकी सम्झना विककै शैलीमा भागरथीको निर्मम हत्या भएको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् । ‘संविधानमा टाँसी दे, बलात्कारीलाई फाँसी दे’ लगायतका नारा लगाउँदै सोमबार विद्यार्थीहरू माइतीघर मण्डलामा उत्रिए । सडकको बीचमा मैनबत्ती बालेर न्यायका लागि प्रार्थना गरे । नेपालको नक्साभित्र ‘स्वर्गीय भागरथी श्रेष्ठ’ लेखेर उनीहरूले न्यायको माग गरेका हुन् । 

रेनु शर्मा दाङबाट भर्खरै काठमाडौं आइपुगेकी हुन् । काठमाडौं आइपुग्नासाथ पश्चिमतिरैबाट भागरथीको बीभत्स मृत्युको समाचार आयो । ‘कालो’ कपडा लगाएर आइपुगेकी रेनु भागरथीको समाचार सुनेपछि स्तब्ध भएको बताउँछिन् । ‘जब मैले यो समाचार सुनेँ, म कस्तो खालको समाजमा बाँचिरहेकी छु भन्ने प्रश्नले निसास्सिएँ,’ रेनुले नयाँ पत्रिकालाई सुनाइन् । 

नेसनल ओपन कलेज, सानेपामा स्नातक अध्ययनरत रेनु आफूजस्तै दर्जन साथीहरूसँग माइतीघर आइपुगेकी थिइन् । रेनुलगायतका किशोरीहरूको एउटा समूह छ दाङमा, फ्लास मोब । लकडाउनको समयमा दाङका सडक रेनुहरूले नै तताए । दाङमै न्यायको पक्षमा सडक आन्दोलन गरेकी रेनुको काठमाडौंमा भने पहिलो अनुभव हो सडक आन्दोलनको । काठमाडौंमा पहिलोपटक सडकमा आइपुगे पनि भावनात्मक रूपमा सडकसँगको सम्बन्ध निकै पहिला नै स्थापित भइसकेको उनी बताउँछिन् । ‘भागरथी, निर्मलाका घटनाहरू सम्झँदा दिमाग तातिएर आउँछ । म सडकमा यसकारणले आउँछु कि भोलिका दिनमा यस्तो बीभत्स समाचार सुन्न नपरोस् । भागरथी, निर्मलाले न्याय पाओस्,’ उनले भनिन् ।

भागरथी, निर्मलाका घटनाहरू सम्झँदा दिमाग तातिएर आउँछ । म सडकमा यसकारणले आउँछु कि भोलिका दिनमा यस्तो बीभत्स समाचार सुन्न नपरोस् । भागरथी, निर्मलाले न्याय पाउन् । - रेनु शर्मा, विद्यार्थी
 

सुदीप्ति शर्मा पनि नोबेल कलेज सिनामंगलमा स्नातक नै पढ्छिन् । रेनुकै साथी रीतिका फ्लास मोबमै छिन् । सामाजिक न्यायका लागि निरन्तर सडकमा छिन् । माइतीघर मण्डलामा दियो जलाउँदै रीतिका भन्छिन्, ‘यो सबै घटना हामीले ल्याएको व्यवस्थाले होइन, व्यवस्था चलाउन पुगेका पात्रहरूको असंवेदनशीलताका कारण जन्मिएको हो ।’ निर्मला, भागरथीलगायतको बीभत्स हत्याले मनोवैज्ञानिक रूपमा आफूहरूमाथि पनि त्रास र आतंक सिर्जना गरेको उनको भनाइ छ । भन्छिन्, ‘म एउटी किशोरी । मेरै उमेरका दौँतारीहरूले त्यस्तो मृत्युवरण गर्नुपर्दा ममाथि कति डर पैदा भएको होला ? यो डरलाग्दो अनुभूति शब्दमा भन्न सकिने कुरा होइन ।’ 

गाउँघरमै किशोरी असुरक्षित

सोमबार साँझको समयमा विद्यार्थीहरूको नाराले माइतीघर गुञ्जिएको थियो । उनीहरू चिच्याएर न्याय मागिरहेका थिए । त्रिभुवन विश्वविद्यालयको होस्टेलमा बसेर अध्ययनरत बाराका रामनरेश यादव पनि मइतीघर आइपुगेका थिए भागरथीको न्यायका लागि । होस्टेलमा बस्ने आफूजस्तै विद्यार्थी साथीहरूसँग सार्वजनिक बस चढेर आएका रामनरेश राज्यको असंवेदनशीलतामाथि प्रश्न उठाइरहेका थिए ।

उनले भने, ‘यो राज्यको विभेदकारी नीतिले हामी अनागरिक भएर बस्नुपरेको छ । एउटी किशोरी आफ्नै गाउँटोलमा असुरक्षित छिन् । हाम्रो मत पाएर सत्तामा पुगेकाहरू किन यति असंवेदनशील भइदिन्छन् ? उनीहरूले जवाफ दिनुपर्छ ।’ रामनरेशले भोलिका दिनमा सत्तामा पुगेकाहरूको हिसाबकिताब सडकबाटै हुने र भागरथीहरूलाई न्याय दिलाएरै छाड्ने बताए । 

सर्लाहीका कुमार बर्तौला माइतीघर मण्डलामा मैनबत्ती बालिरहेका थिए । बत्ती बालिसकेपछि भने, ‘यो बत्ती भागरथीका लागि मात्रै होइन, सिंगो किशोरीका नाममा बालिएको हो, जो हामीले अपनाएको यो व्यवस्थाभित्रै असुरक्षित छन् । यो समाजभित्र असुरक्षित छन् । उनीहरूका नाममा पनि बालिएको हो ।’ बर्तौलाले संविधान र सुरक्षा निकायमाथि पनि प्रश्न उठाए ।

आक्रोश पोख्दै उनले भने, ‘संविधानले दिएकोे बाँच्न पाउने हकअधिकारमाथि नै प्रश्न उठेको छ । निर्मला, सम्झना, भागरथीहरूले कहिलेसम्म न्याय नपाउने ? प्रश्न सुरक्षा निकायमाथि मात्र होइन, यो व्यवस्थाको बागडोर सम्हालेर बसेका ठेकेदारहरूमाथि पनि हो ।’

माइतीघरमै दीप प्रज्ज्वलन गर्न आइपुगेकी कवि बिमला तुम्खेवा ठूलो संघर्षपछि प्राप्त लोकतन्त्रमा आजको दिन पनि यसरी बाँच्नु भयावह भएको बताइन् । ‘कानुनको कार्यान्वयन भएको छैैन । सत्ताको छत्रछायामा रहेकाहरू सजायको भागीदार भएका छैनन् । उनीहरू छुटेका छन्,’ बिमलाले भनिन्, ‘यसकारण सडकमा आएका हौँ । तर, यस्तो घटना समाप्त भएर जाओस्, सडकमा आउन नपरोस् भन्ने आग्रह हो । तर, यस्तो बेथितिपूर्ण समाज कुनै पनि लोकतन्त्रमा हुनु दुर्भाग्यपूर्ण हो ।’