१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o८:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

१० महिनापछि सिरुबारी होमस्टे खुला हुँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:३o:oo

नेपालकै पहिलो ग्रामीण पर्यटनको मान्यता पाएको सिरुबारी होमस्टे २७ माघदेखि खुला हुने भएको छ । कोभिडका कारण बन्द रहेको होमस्टे करिब १० महिनापछि खुला गर्न लागिएको आन्तरिक पर्यटन पुनरुत्थान समिति स्याङ्जाले जानकारी दिएको छ । सिरुबारी सामुदायिक होमस्टेका संयोजक जुम गुरुङले सिरुबारीमा २३ घरमा होमस्टे सञ्चालन गरिएको बताए । खानपानका लागि स्थानीय उत्पादन मात्रै प्रयोग हुने सिरुबारीमा एक रातमा ६० जना पाहुनालाई सेवा दिन सक्ने उनको भनाइ छ ।   

०५४ सालबाट आफ्नै घरमा पाहुना राख्ने काम सुरु गरेको सिरुबारी पर्यटनसँगै गुरुङ संस्कृतिको अध्ययन केन्द्रका रूपमा विकास हुँदै गएको छ । यसलाई दक्षिण एसियाकै पहिलो होमस्टेका रूपमा समेत लिने गरिन्छ । ढुंगाले बनाएका नेपाली पाराका गुजुमुज्जुु परेका लाम्चा घर । घरको भित्तादेखि, छाना, आँगन र बाटोसमेत ढुंगाले छापेको सफा एवं चिटिक्क बस्ती, शान्त वातावरण एवं बस्तीको केहीमुनि सुसाउँदै बगेको आँधी खोलासँगै सुन्दर मनोरम पर्यटकीय गाउँ हो, सिरुबारी ।

स्याङ्जाको सदरमुकाम पुतली बजारबाट २८ किलोमिटर पश्चिममा रहेको सिरुबारी करिब १६ सय १० मिटर उचाइमा छ । 
सिरुबारीबाट धौलागिरि, माछापुच्छ्रे , अन्नपूर्ण प्रथम–दोस्रो–तेस्रो तथा चौथो, अन्नपूर्ण साउथ, हिमचुलीलगायत अन्य हिमशृंखलाहरू लस्करै हेर्न सकिन्छ ।

सिरुबारीसँगै ४९ वटा होमस्टेसमेत २७ माघदेखि खुला गरिने आन्तरिक पर्यटन पुनरुत्थान समिति स्याङ्जाका सहसंयोजक अनन्तकुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रममा पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले हालको पर्यटन सहरबाट गाउँ लागेको आफूले अनुभूत गरेको बताए । गाउँमा बढ्दै गएको पर्यटनले आर्थिक क्रियाकलापलाई चलायमान बनाउने भएकाले यसको सदुपयोग गर्न होमस्टे सञ्चालकहरूलाई आग्रह गरेका थिए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले सहरमा बसेर दिक्क भएकाहरू एक–दुई दिन शान्त वातावरणमा रमाउन गाउँ–गाउँमा रहेका होमस्टेमा जाने गरेको बताए । उनीहरू होमस्टेमा स्थानीय संस्कृति हेर्नसँगै स्थानीय खाना पाइन्छ भन्ने आशाले जाने गरे पनि धेरै स्थानमा सञ्चालित होमस्टेहरूमा बजारको खाना खुवाउने, सांस्कृतिक कार्यक्रमको नाममा क्यासेट बजाउने गरिएको भन्दै यस्ता कामको अन्त्य गर्दै मौलिक परम्परा अँगाल्न सुझाब दिएका थिए ।

ad
ad