मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ माघ २६ सोमबार ०२:४९:००
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

किशोरीमाथि फेरि उस्तै अपराध, प्रहरीको उस्तै अलमल

Read Time : > 6 मिनेट
२०७७ माघ २६ सोमबार ०२:४९:००

सनातन धर्म माविमा पढ्ने किशोरी भागरथी भट्टमाथि भएको ‘अधर्म’ले गाउँ आक्रोशित छ, बैतडीको दोगडाकेदार गाउँपालिकाका सबै विद्यालय बन्द गरेर विद्यार्थी आन्दोलनमा छन् । तर, प्रहरीले चार दिनसम्म सुइँकोसमेत लगाउन सकेको छैन ।

......

बिहीबार साँझ करिब ७ बज्दै थियो, जिल्लाको दोगडाकेदार गाउँपालिकानिवासी परिचित शिवराज भट्टले फोन गरे । ‘मेरी भतिजी भागरथी भट्ट, १७ वर्षकी, हिजोदेखि हराइरहेकी, आज त चडेपानी गाउँ तलको लवलेक जंगलमा शव फेला प¥यो, बलात्कार भएको छ । बीभत्स छ शव,’ यस्तै पूर्ण हतासामा रहेका उनले यस्तै अपूर्ण वाक्यमा आफ्नो भनाइ टुंग्याए । 

चिसो मात्र थियो, अँध्यारो भइसकेको थियो, बाहिर पानी पनि पर्न सुरु भइसकेको थियो । आफ्नै जिल्लामा यति ठूलो अपराध भएको खबरले ज्यानमा झन् चिसो पानी खन्याएजस्तो भयो । 

मैले तुरुन्तै स्थानीय खोचलेक प्रहरी चौकीमा सम्पर्क गर्न प्रयास गरेँ । जिल्ला सदरमुकामा गोठालापानीबाट करिब ३३ किलोमिटर पूर्वउत्तरमा रहेको प्रहरी चौकीमा फोन नै लागेन । खासमा प्रहरी चौकीमा रहेको टिनको छाप्रो पनि नेपाल प्रहरीको आफ्नै होइन । मासिक भाडा तिरेर प्रहरी बसिरहेको छ । त्यसले नै बताउँछ, जिल्लाको विकास । तर, त्यही क्षेत्रमा भारतीय सिमको नेटवर्क भने चल्छ । जब कि त्यहाँबाट भारतीय सिमाना करिब ६० किलोमिटर तल छ । 

प्रहरी कार्यालयमा कसैको पनि फोन लागेन । त्यसैले यो विषयमा थप स्पष्ट हुन स्थानीयलाई फोन लगाउने प्रयास गरेँ । संयोगले एक स्थानीयको भने फोन लाग्यो । उनले भने, ‘हो, भागरथी अघिल्ला दिनदेखि नै हराइरहेकी हुन् । उनका आफन्तले तत्कालै प्रहरीमा उजुरी पनि गरेका हुन् । तर, प्रहरीले भोलि खोजौँला भनेर पठाइदिए । तर, आज लास मिल्यो भनेर गाउँलेले खबर गरेपछि प्रहरी घटनास्थलमा आएको छ ।’

जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायण अधिकारीलाई फोन गरेँ । उनले भने, ‘शव भेटियो भन्ने खबर आएको छ । म आफैँ नै अहिले घटनास्थलमा जाँदै छु ।’ जिल्ला प्रहरी प्रमुखले नै कोट दिएपछि मैले सो दिन आफ्नो सञ्चारगृहका लागि समाचार तयार पारेँ । 

भागरथी भट्टको शव भेटिएको स्थानमा सहपाठी विद्यार्थीहरूको प्रदर्शन

दोस्रो दिन बिहानै एउटा गाडी बुक गरेर हामी दोगडाकेदारतर्फ लाग्यौँ । सदरमुकामबाट १५ किलोमिटर दशरथचन्द राजमार्ग र सतबाँझदेखि १५ किलोमिटर उत्तर–पश्चिम दार्चुला सडक पार गरेपछि खोचलेक बजार पुगिन्छ । त्यही बजारको पाँच किलोमिटर पश्चिमतर्फको डाँडोमा चडेपानी गाउँ छ । गाउँकी १७ वर्षीया भागरथी भट्ट स्थानीय सनातन धर्म माविमा १२ कक्षामा पढ्थिन् । सनातन धर्म माविमा पढ्ने किशोरीमाथि भएको ‘अधर्म’ले गाउँ आक्रोशित थियो, हामी त्यहाँ पुग्दा स्थानीय जनता र विद्यार्थीले हत्यारालाई कारबाही गर भन्दै जुलुस निकालेका थिए । जुलुससहित घटनास्थलमै पुगेका विद्यार्थीले प्रहरीलाई सत्यतथ्य पत्ता लगाउन र दोषीलाई शीघ्र कानुनको दायरामा ल्याउन माग गरे । 

खासमा भागरथी पढाइमा अब्बल थिइन्, त्यसैले आफ्नो गाउँबाट कमर्स विषय पढ्ने उनी एक्ली थिइन् । विद्यालय जाँदा उनका साथमा गाउँका दर्जनौँ विद्यार्थी हुन्थे । विषय फरक भएका कारण उनको कक्षा एक घन्टा अगाडि नै सकिन्थ्यो । २ बजे फर्कँदा भने उनी प्रायः एक्लै हुन्थिन् । उनी हिँडेकोे ४५ मिनेटपछि मात्र अरू विद्यार्थीको छुट्टी हुन्थ्यो । तब विद्यार्थीको हुल चडेपानी गाउँतर्फ उक्लिन्थ्यो । 

गत बुधबार पनि सधैँझैँ भागरथी २ बजेतिर विद्यालयबाट बाहिरिइन्् । प्रत्यक्षदर्शीका अनुसार खोचलेक बजारबाट उकालो लाग्दै गर्दा उनको साथमा गाउँकै दुईजना विद्यार्थी थिए । उनीहरूले कपाल काट्ने भनेर बजारमै अलमलिनुपर्ने बताएपछि भागरथी एक्लै घरतर्फ लागेको बताएका छन् । ढिलो हिँडेका सबै विद्यार्थी घर पुगे, छिट्टै हिँडेकी भागरथी घर पुगिनन् । 

आफन्तहरूले साँझैदेखि गाउँमा सोधखोज गरे । छरछिमेक र उनका साथीहरूको घरमा खोजे । राजमार्गका गाडी ‘चेक’ गर्न लगाए । अत्तोपत्तो चलेन । भोलिपल्ट भागरथी हराएको खबर सबैतिर फैलिसकेको थियो, विद्यालयमा पनि । शिक्षकहरूले चडेपानी गाउँका सबै विद्यार्थीलाई भनेका थिए– बाटो छेउछाउ हेर्दै घर फर्किनु है ।

सिल्ल गाउँनजिकै बाटोछेउमा कसैले भन्यो– ऊ त्यहाँ त कोही मानिसजस्तो छ । मानिसजस्तो कोही भेटिएको छ भन्ने खबर आएपछि आफन्तहरू हस्याङफस्याङ गर्दै त्यहाँ पुगे । उनीहरूले भागरथीलाई देखे, तर त्यतिन्जेलम्म उनी निष्प्राण भइसकेकी थिइन् । 

भागरथी सम्पर्कविहीन भएको २५ घन्टापछि बिहीबार बेलुका ५ बजे उनको शव फेला प¥यो । लवलेक जंगलको कच्ची सडकभन्दा करिब ५० मिटर तल शव थियो । टाउकोमा घाउ थियो । शरीरको तल्लो भागको लुगा फुकालिएको थियो, उनको निजी अंगबाट रगत बगेको थियो । कापी–किताबसहितको झोला भने पिठ्युँमै थियो । बनमारा झाडीका बुट्यान भाँचिएका थिए । 

प्रहरीले दिनभर घटनास्थलमा अनुसन्धान गर्दा गाउँका सयौँ आमाहरू, भागरथीका समकक्षी साथीहरू र पूरै गाउँलेले दिनभरि घटनास्थल छोडेनन् । सबैका आँखा आँसुले भरिएका थिए । बनमाराको झाडीमा पातलो लुगाले छोपेर राखिएको भागरथीको शवतर्फ हेर्दै उनीहरू आँसु पुछ्दै थिए । 

घटनास्थललाई प्रहरीले सिल गरेको थियो । डिएसपी नारायण अधिकारीसहितको प्रहरी टोली मात्र होइन, प्रमुख जिल्ला अधिकारी मोहन जोशी, जिल्ला अस्पतालका डा. वसन्त जोशी, सरकारी अधिवक्ता धर्मराज जोशीलगायत पनि घटनास्थलमा थिए । तालिमप्राप्त कुकुरसहित प्रदेश प्रहरी कार्यालय धनगढीको टोली पनि अनुसन्धानमा खटिएको थियो ।

आइतबार सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख उत्तम सुवेदी घटनास्थल पुगेका छन् । उनले आइतबार साँझ ५ बजे स्थानीय दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीसहित स्थानीयसँग छलफल गर्दै अनुसन्धानमा सहयोग गर्न अनुरोध गरेका छन् । ‘बैतडीमा दुःखद घटना भयो । अनुसन्धानमा प्रहरी टोली खटिएको छ । मृतकको शव पोस्टमार्टम गरिएको छ, तर रिपोर्ट आएको छैन । अस्पतालबाट रिपोर्ट आएपछि मात्रै यस विषयमा यकिनसाथ भन्न सकिन्छ,’ उनले भने । तर, पोस्टमार्टम रिपोर्ट कहिले आउँछ ? बिहीबार शव फेला परेको हो । आज (आइतबार)सम्म त ढिलो भएन र भन्ने नयाँ पत्रिकाको जिज्ञासामा उनको भनाइ थियो, ‘हामीले यस विषयमा डाक्टरसाबलाई सोधेका छौँ । भोलिसम्ममा रिपोर्ट आउँछ भनेका छन् ।’

तर, ‘क्राइम सिन’का आधारमा भागरथीको घाँटी दबाइएको, टाउकोमा पनि चोट लागेको, हातको छाला पनि तछारिएको तथा निजी अंगहरूबाट रगत बगेकाले बलात्कार भएको भन्न सकिने उनले बताए । तर, यो विषयमा पोस्टमार्टम रिपोर्ट आएपछि मात्र स्पष्ट बोल्ने उनको भनाइ छ । 

अनुसन्धानको मूल पाटो नै खुला नभएकाले बलात्कारको औपचारिक पुष्टि पनि भएको छैन । तर, अनौपचारिक रूपमा भने प्रहरी भन्छ, ‘उनको शरीर र कपडा जे–जस्तो अवस्थामा भेटिएका छन्, यो बलात्कार मात्र होइन, सामूहिक बलात्कार हुन सक्ने सम्भावना छ । किनकि उनीमाथि जुन स्तरको हिंसा र अपराध भएको छ, त्यो काम एकजनाले मात्र गर्न सक्ने सम्भावना कम छ ।’

सडकको खोल्सोबाट उनलाई करिब ५० मिटर तल लगेजस्तो देखिन्छ । बीचमा उनको चप्पल खसेको छ । प्रदेश प्रहरी कार्यालय धनगढीबाट ल्याइएको तालिमप्राप्त कुकुरले शव भएको ठाउँभन्दा करिब १० मिटर पूर्वतर्फ बनमाराको झाडीमा उनको मोबाइल पत्ता लगायो । छुट्टिएको ब्याट्रीसँगै प्रहरीले सिम कार्ड पनि फेला पारेको छ । अपराधीसम्म पुग्न यो एउटा गतिलो प्रमाण बन्न सक्ने प्रहरीको अनुमान थियो । मोबाइल फालिएको ठाउँबाट केही मिटर उत्तर–पूर्वसम्म पनि प्रहरीको तालिमप्राप्त कुकुरले पछ्याएको थियो । तर, राति पानी परेका कारण कुकुरबाट थप अनुसन्धान गराउन बाधा सिर्जना भएको प्रहरी स्रोतले जनायो ।

शव जहाँ भेटियो, मूल घटनास्थल त्यो हो कि होइन भन्नेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । ‘किनकि दिउँसो २ बजे विद्यालयबाट निस्किएकी उनलाई घटनास्थल आउन करिब आधा घन्टा लाग्छ । तर, त्यसको ४५ मिनेटपछि विद्यालयबाट हुलका हुल विद्यार्थी आउँछन् । त्यसभन्दा अघिपछि पनि त्यो मूलबाटोमा दर्जनौँ मान्छे हिँड्छन् । सडकभन्दा ५० मिटर तल जीवन र मृत्युको संघर्ष हुँदा बाटोमा कसैले किन सुनेन ?’ प्रहरीका एक अधिकारीले भने, ‘अर्को विषय घटनास्थलभन्दा जम्मा डेढ सय मिटरमाथि गाउँपालिकाले खेलमैदान बनाइरहेको छ । त्यहाँ कामदार हुन्छन् । उनीहरूले पनि बलात्कारदेखि हत्यासम्म प्रतिरोध हुँदा पनि कसरी सुनेनन् ? कि अन्त घटना गराएर शव यहाँ फालिएको हुन सक्छ । हामी सबै कोणबाट अनुसन्धान गरिरहेका छौँ ।’

भागरथीको घर पुग्दा

भागरथी भट्टको घर

आइतबार फेरि हिलाम्मे बाटोमा मोटरसाइकल लिएर हामी भागरथीको घर जाँदै गर्दा सेतो लुगा लगाएर एउटी महिला एक्लै घटनास्थलतर्फ आउँदै थिइन् । उनी भागरथीकी आमा रहिछिन् । उनलाई हामीले एक्लै घटनास्थल नजान भन्यौँ, गाउँलेले पनि उनलाई सम्झाए । उनको घर भने सुनसान थियो । निभ्नै लागेको चुलोमा केही उम्लिँदै थियो । त्योभन्दा भित्र अर्को कोठामा भागरथी र उनकी आमा सुत्ने खाट थिए । कोठाको बायाँतर्फ सानो खटियामा भागरथीका ओढ्ने, ओछ्याउने कपडा असरल्ल थिए । दायाँपट्टि आमाले सुत्ने बिस्तरा थियो । 

कोठाको एकछेउमा पुरानो धुलो लागेको रेडियो थियो । सबैभन्दा माथिल्लो भागमा एकातिर लक्ष्मी र सरस्वतीको फोटो थियो । अर्कातिर भागरथीका बुबाको धमिलो तस्बिर । बाउलाई ‘सुगर’को समस्या भएको हो । उपचारमा एक लाख खर्च भएको थियो, परिवारले थप खर्च गर्न सकेन, उनको ज्यान बचेन । उपचारमा लागेको ऋण तिर्न भागरथीका दाइ भारत पसेका छन् । 

भागरथीले विद्यालयबाट फर्किएर घरको पूरै काम गर्दै आएकी थिइन् । ‘एक–दुई बाख्रा पालेर बेच्ने, त्यही खर्चले पढ्दै आएकी थिई,’ आमा द्रोपतीले भनिन् । 

जिल्लावासी आन्दोलनमा

‘छोरीहरू असुरक्षित हुन थाले, हत्यारालाई सार्वजनिक गर’ भन्ने नाराका साथ बैतडी जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन गर्दै अभिभावकहरू

भागरथीमाथि भएको जघन्य अपराधको विरोधमा तथा दोषीलाई पत्ता लगाएर कारबाही गर भन्न्ने माग गर्दै सनातन धर्म मावि र भूमिराज मावि चडेपानीका सयौँ विद्यार्थी विरोध प्रदर्शनमा उत्रिएका छन् । विद्यार्थीले लगातार तेस्रो दिन पनि प्रदर्शन गरेका छन् । 

दोगडाकेदार गाउँपालिकाका सबै विद्यालय बन्द गरेर विद्यार्थी प्रदर्शनमा छन् । आइतबार सदरमुकाम बैतडीको जगन्नाथ बहुमुखी क्याम्पस र स्थानीय विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकसमेत आन्दोलनमा उत्रिए । भागरथीको फोटोसहितको प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका विद्यार्थीले दोषीलाई यथाशीघ्र कानुनी कठघरमा उभ्याउन माग गरेका छन् । आइतबार प्रशासनअगाडि कोणसभा गर्दै स्थानीयले छोरीहरू असुरक्षित हुन थालेको भन्दै चिन्ता र आक्रोश व्यक्त गरे । 

......

हामी अनुसन्धानलाई साँघुरो बनाइरहेका छौँ : डिआइजी उत्तम सुवेदी, सुदूरपश्चिम प्रहरी प्रमुख

बैतडीमा किशोरी भागरथी भट्टमाथि जघन्य अपराध भएको छ, तर प्रहरी अनुसन्धानले के देखाउँछ ?  

बैतडीमा दुःखद घटना भयो । अनुसन्धानमा प्रहरी टोली खटिरहेको छ । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाएका छौँ । डाक्टरबाट रिपोर्ट आएपछि मात्रै म यस विषयमा बताउन सक्छु । 

पोस्टमार्टमको रिपोर्ट कहिले आउँछ ? शव भेटिएको पनि चार दिन भयो नि, होइन र ? 

हामीले यस विषयमा डाक्टरलाई सोधेका छौँ । भोलि (सोमबार)सम्म रिपोर्ट आउँछ भनेका छन् । 

पोस्टमार्टमको रिपोर्ट त भोलि आउला, तर क्राइम सिन हेर्दा मृतकको घाँटी दबाएको, टाउकोमा चोट लागेको मात्र होइन, शरीरको तल्लो भागतर्फ पनि रगत बगेको देखिन्छ । यो हिसाबले त उनीमाथि बलात्कार भएको हो भन्ने स्थानीयको भनाइ छ, प्रहरी अनुसन्धान के छ ? 

निश्चय पनि प्रहरीले घटनाको अनुसन्धान गरेको छ । क्राइम सिनको मिहिन अध्ययन गरेको छ र विश्लेषण पनि गरेको छ । यसको आधारमा भन्नुपर्दा भागरथीको बलात्कारपछि हत्या गरिएको हो कि जस्तो देखिन्छ । यद्यपि पोस्टमार्टम रिपोर्टपछि मात्र स्पष्ट भन्न सकिन्छ ।

स्थानीयले आवाज उठाइरहेका छन्, विद्यार्थीहरू विद्यालय बन्द गरेर प्रदर्शनमा छन् । तर, प्रहरीले अहिलेसम्म कुनै पनि ‘क्लु’ नेभेटाएजस्तो देखिन्छ । खासमा किन ढिलाइ भइरहेको छ ? 

प्रहरीले सम्पूर्ण जोड लगाएको छ, यसमा कुनै कमी–कमजोरी हुनेछैन । हामी अनुसन्धानलाई साँघुरो बनाइरहेका छौँ ।