१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
झापाको सुरुंगामा ५ विघा क्षेत्रफलमा फैलिएको फनपार्क
नवीन अर्याल काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o७:oo:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कृषि र पर्यटनमा अर्ब लगानी गर्दै साख: ग्रुप

Read Time : > 3 मिनेट
नवीन अर्याल, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:oo:oo

- झापा, कपिलवस्तु र भक्तपुरमा अत्याधुनिक फनपार्क र रिसोर्टसहित कृषि पर्यटनको विकास गर्ने लक्ष्य

- माछा, हाँस, कुखुरा, कालिज, गाई, बाख्रा, हर्बल, तरकारी, फलफूल, च्याउखेतीमा लगानी विस्तार

कपिलवस्तुको गोरुसिंगेबाट तौलिहवातर्फ ६ किलोमिटरको यात्रा गरेपछि पूर्वतिर हेर्दा जंगलको बीचमा सुन्दर फाँट देखिन्छ । घनाजंगलको बीचमा रहेको खाली जग्गामा ठूला पोखरी र खोरहरूमा व्यावसायिक घराना साखः ग्रुपका उपाध्यक्ष किरण साखःले माछा, बाख्रा र हाँस पालिरहेका छन् । तीन वर्षअघि २० बिघा जमिन र फार्म खरिद गरेर उनी व्यावसायिक कृषिमा प्रवेश गरेका हुन् ।

कोभिड महामारीकै बीचमा साखःले झापाको सुरुंगामा सञ्चालित हेप्पिल्यान्ड फनपार्कमा साझेदार बनेर पर्यटन व्यवसायमा पनि हात हालेका छन् । उनको प्रवेशसँगै फनपार्कमा जिपलाइन पनि सञ्चालनमा आइसकेको छ । अहिले जिप लाइनको ट्रायल चलिरहेको छ । छिट्टै लक्जरी रिसोर्ट र सामुद्रिक छालमा बसेको अनुभूति दिलाउने वेभ पुलको तयारी भइरहेको साखः बताउँछन् । गोरुसिंगेमा पनि कृषिसँगै आधुनिक फनपार्क र एडभेन्चर रिसोर्ट बनाएर कृषि पर्यटनको ‘हट डेस्टिनेसन’ बनाउने उनको टिमको योजना छ । 

पेन्ट्स, स्टिल, गार्मेन्ट, ननफिरियस मेटल्सलगायत उद्योगमा जमिरहेको साखः ग्रुप अहिले कृषि र पर्यटनमा भविष्य खोज्दै झापा र कपिलवस्तुको प्रोजेक्टतिर बढी व्यस्त देखिन्छ । फनपार्कलाई मुलुककै अत्याधुनिक मनोरञ्जन पार्क बनाउने उद्देश्य बोकेको साखःको टिममा आरबी लामा, दिनेश सिलवाल, दिनेश सिवाकोटी र मनोज सिवाकोटी छन् । साखः, लामा र सिलवाल गोरुसिंगेको फार्मका साझेदार हुन् । यो ग्रुप सिवाकोटी दाजुभाइले सञ्चालन गरिरहेको झापाको फनपार्कमा साझेदार भएर भित्रिएको हो । गोरुसिंगेमा पनि सिवाकोटी दाजुभाइ साझेदार बनेका छन् । यसमा पनि आधुनिक फनपार्कको राम्रो सम्भावना देखेपछि सिवाकोटीद्वयले साझेदारीको प्रस्ताव गरेका हुन् ।

हेप्पिल्यान्ड फनपार्क, झापा 
झापाको सुरुंगा (बिर्तामोडबाट ७ किमि पश्चिम)मा ५ बिघा क्षेत्रफलमा फैलिएको फनपार्कमा जिपलाइनको टेस्ट भइरहेको छ । ४० फिटको टावरबाट २० फिटमा ल्यान्ड हुने जिपलाइन २ सय मिटर लामो छ । यस्तै, फनपार्कभित्र ‘वेभ पुल’ बनाइँदै छ, जसले सामुद्रिक छालको अनुभूति दिलाउँछ । साखःका अनुसार एक पटकमा ५ सयजना बस्न मिल्ने वेभ पुल बनाउन लागिएको हो ।

अहिले फनपार्कको मुख्य आकर्षण भनेकै पार्क हो । माछापोखरी, फोटो खिच्ने इंग्ल्यान्डको टावर, मान्छे नाचगान गर्ने ठाउँ, झरना, कोलम्बस, पिङलगायत बच्चाहरू खेल्ने ठाउँ फनपार्कमा पर्याप्त छ । अब नयाँ आकर्षणका रूपमा जिपलाइनका साथै तारे स्तरको रिसोर्ट सञ्चालनको तयारी भइरहेको छ । साखःका अनुसार पहिलो चरणमा २० कोठाको रिसोर्ट बनाइनेछ । ‘अहिलेसम्म यस परियोजनामा ३४ करोड लगानी पुगिसक्यो,’ उनी भन्छन्, ‘जिपलाइन, वेभ पुल र रिसोर्ट सञ्चालनमा ल्याउँदा १०–१२ करोड लगानी थपिनेवाला छ ।’

गोरुसिंगेमा कृषि फार्म
साखःको टिमले तीन वर्षअघि सञ्चालन गर्न नसकेको कृषि फार्म जग्गासहित खरिद गरेका हुन् । वरिपरि सरकारी घनाजंगल र बीचमा रहेको २० बिघा मात्र निजी जमिन त्यस क्षेत्रकै आकर्षक प्रोपर्टी हो । उनले किन्नुअघि त्यहाँ गाई, कुखुरा, बाख्रा, सुँगुरका खोर र माछा पाल्ने ८–९ वटा पोखरी थिए । ‘हामीले १० लाख खर्च गरेर बिजुलीको लाइन लग्यौँ, माछापोखरी, कुखुरा, गाई, बाख्राका खोरहरू रेनोभेटमा करिब २ करोड हाराहारी खर्च भइसकेको छ,’ उनी भन्छन्, ‘अझै जग्गामा बाउन्ड्री लगाउने काम बाँकी छ ।’ 

उनीहरूले फार्ममा माछा पालेका थिए । तर, बर्सातमा आएको बाढीले करोडौँ लगानी भएका सबै माछाहरू बगाएको साखःले बताए । अहिले बाख्रा, कुखुरा, हाँस र माछापालन भइरहेको छ । छिट्टै कालिजपालन सुरु हुँदै छ । कृषि फार्ममा गाई, कालिज, बंगुर पाल्ने, तरकारी, फलफूल र हर्बल खेती गर्ने तयारी छ । ‘हामीले सुरुमा कृषि फार्म चलाउने भनेर जग्गा लिएका थियौँ,’ उनी भन्छन्, ‘अब हामीले आधुनिक फनपार्क र रिसोर्ट पनि सञ्चालन गरेर कृषि पर्यटनको मुलुककै नमुना प्रडक्ट बनाउने अठोट गरेका छौँ ।’ झापाको फनपार्क प्रोजेक्टले पूर्णता पाउनासाथ गोरुसिंगेको प्रोजेक्टमा केन्द्रित हुने उनको भनाइ छ ।

जंगलभित्र एड्भेन्चर फिल गराउने रिसोर्ट बनाइने भएको छ । जहाँ २० वटा कटेज र ८–१० लक्जरी टेन्ट हुनेछन् । जंगल र कृषि पर्यटनमा रुचि राख्ने पर्यटकलाई लक्षित गर्न खोजेको साखःको भनाइ छ । जंगलभित्रै मेडिटेसन हल र कन्फ्रेन्स हल पनि हुनेछ । ‘हामी रिसोर्टलाई चाहिने तरकारी, फलफूल, माछामासु आफ्नै फार्मबाट उत्पादन गर्छौँ,’ उनले भने, ‘सकेसम्म अर्गानिक उत्पादनहरू पर्यटकलाई खुवाउने सोच छ ।’     

साखःको टिम एकैचोटि ठूलो लगानी गर्ने सोचमा छैन । त्यहीँबाट कमाउँदै लगानी विस्तार गर्दै जाने योजना उनीहरूको छ । बुटवल, भैरहवा, लुम्बिनी, कपिलवस्तु र भालुबाङबाट बढीमा एक घन्टाको दूरीमा रहेको उनीहरूको फार्म हाउसमा आन्तरिक तथा बाह्य पर्यटक आउने विश्वास छ । खासगरी लुम्बिनी घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई गोरुसिंगे एकपटक पुग्नैपर्ने गन्तव्यका रूपमा विकास गर्ने योजना छ । रुपन्देही र कपिलवस्तु औद्योगिक तथा व्यावसायिक हबका रूपका विकास भइरहेको हुनाले कर्पोरेट ग्राहक पनि हुनेछन् । त्यस क्षेत्रका बासिन्दाहरू आफँैमा पनि खर्च गर्न सक्ने खालका छन्, बरु घुमफिर गर्न जाने ठाउँको अभाव भइरहेको छ । अहिले पनि उनीहरूको प्रोजेक्ट भएको ठाउँमा धेरै पिकनिक जान्छन् । उनीहरूलाई पनि ‘क्याचअप’ गर्ने उनीहरूले योजना बुनेका छन् । अहिलेसम्म यस प्रोजेक्टमा जग्गासहित २६–२७ करोड खर्च भइसकेको उनले बताए ।

झापामा नर्सरी
साखःले झापामै छुट्टै पाँच बिघा क्षेत्रफलमा नर्सरी (ग्रिन हाउस) सुरु गर्दै छन् । नर्सरीमा इजरायललगायत मुलुकबाट बिउ ल्याएर बिरुवा उत्पादन गरी बिक्री गर्ने योजना उनको छ । अहिले त्यहाँ तरबुजा रोप्ने तयारी भइरहेको छ । नर्सरी सुरु गर्न जग्गासहित ६–७ करोड लगानी हुने अनुमान छ ।

भक्तपुरमा आधुनिक च्याउखेती
भक्तपुरको ५ रोपनी जग्गामा आधुनिक प्रविधि प्रयोग गरेर च्याउखेती सुरु गर्दै छन् । तापक्रम अटोमेटिक मेन्टेन गर्ने प्रविधि भिœयाएर सीताके च्याउखेती सुरु गर्न लागेको साखःले बताए । च्याउखेतीका लागि अहिले सेड बनाउने काम जारी छ । उनले अटोमेटिक च्याउ प्लान्टका लागि सेड र मेसिन बाहिरबाट मगाइसकेका छन्, तर अझै आइपुगेको छैन । ‘मेसिन आइपुगेको दुई–तीन महिनामा च्याउखेती सुरु भइसक्छ,’ उनी भन्छन्, ‘हामी सीताके च्याउ उत्पादन गर्दै छौँ ।’ यो प्रोजेक्टमा जग्गाबाहेक ६–७ करोड रुपैयाँ खर्च हुने उनी बताउँछन् । 

उद्योगमा अस्वस्थ प्रतिस्पर्धा बढेपछि कृषि र पर्यटनमा प्रवेश

मुलुकभित्र उत्पादनमूलक उद्योगमा अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएपछि कृषि र पर्यटन उद्योगमा प्रवेश गरेको साखः बताउँछन् । ‘नेपालमा पर्यटनको प्रशस्त सम्भावना छ, हामीले अलिकति नयाँपन दिन सकेमा पर्यटक तान्न सक्छौँ,’ उनी भन्छन्, ‘हामी कृषि र पर्यटनलाई जोडेर नौलो प्रोडक्ट तयार पारिरहेका छौँ ।’ उनको परिवारले साखः स्टिल उद्योग सञ्चालन गर्दै आइरहेको छ । अहिले फलामे डन्डीको मागभन्दा उद्योगहरूको जडित क्षमता दोब्बरभन्दा बढी छ, जसले गर्दा अस्वस्थ प्रतिस्पर्धा बढिरहेको छ । कृषि र पर्यटनमा केही गर्न सकिन्छ कि भनेर होमिएका उनले कृषिमा झन् ठूलो समस्या भोगिसकेका छन् । उनी भन्छन्, ‘कृषि बाहिरबाट हेर्दा राम्रो देखिए पनि वास्तविकता झन् बढी कहालीलाग्दो रहेछ ।’ नेपालमा कृषिमा प्रशस्त सम्भावना भए पनि व्यावसायीकरणका लागि राज्यले सहयोग गर्नुपर्ने उनी बताउँछन् ।

 

ad
ad