मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ फाल्गुण १६ आइतबार
  • Sunday, 28 February, 2021
२०७७ माघ ३ शनिबार ०३:०३:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रवासी दुई मजदुरको हर्ष र बिस्मातको कथा : अन्त्येष्टि गरिएका युवा घर फर्किए, आखिर मृतक को थिए ?

दुर्घटनाले जन्माएका दुई पात्र

Read Time : > 5 मिनेट
२०७७ माघ ३ शनिबार ०३:०३:००

सुनौलो सपना बोकेर हाँस्दै, रमाउँदै वैदेशिक रोजगारीमा जाने कति नेपाली बन्द बाकसमा फर्किन्छन्, यी कथा धेरैपटक लेखिए । तर, यो एउटा यस्तो युवाको कथा हो जसको शव नेपाल आयो र अन्त्येष्टि पनि गरियो । तर, केही महिनापछि उनी जीवितै फर्किए । उनको घरमा आश्चर्यजनक खुसी फर्कियो । तर, अर्को युवा को थिए ? जसको अन्त्येष्टि भयो । दुई विपन्न परिवारको हर्ष र बिस्मातको एउटा भयानक कथा । 

नेपाली पात्रोअनुसार २४ असार ०७२ । साउदी अरबको हुन्डाई कम्पनीका मजदुर सुवास तामाङ जेद्दा सहरको एउटा एटिएमतर्फ जाँदै थिए । मोरङको बेलबारीस्थित लक्ष्मीमार्ग  घरमा छुट्टी मनाएर फेरि काममा फर्किएका उनी तलब लिन जाँदा ट्याक्सीमा थिए, साथमा थिए कम्पनीकै चारजना साथी । 

तर, उनीहरू एटिएम बुथसम्म पुग्न पाएनन् । उनीहरू चढेको ट्याक्सीलाई एउटा ट्रकले ठक्कर दियो । यो भयानक दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भयो । गम्भीर चोटग्रस्त र अचेत अवस्थामा दुईजनालाई हेलिकोप्टरमार्फत अब्दुलअजिज अस्पताल पुर्याइयो । 

अस्पताल पुगेको भोलिपल्ट एकजनाको मृत्यु भयो । अस्पतालले खबर गरेपछि हुन्डाईका प्रतिनिधि अस्पताल पुगे । उनीहरूले भने, यो शव त सुवासको हो । 

अस्पतालले सुवास तामाङको मृत्यु भएको प्रमाणपत्र बनाइदियो । २८ दिनपछि शव नेपाल पठाइयो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुवासकी श्रीमतीको करुण क्रन्दन गुञ्जियो । आफन्तले शव र सुवासकी श्रीमतीलाई घर पुर्याए । आफन्तले बेलबारी पुगेर सुवासको अन्त्येष्टि पनि गरे । 

भोजपुरबाट मोरङ बसाइँ सरेको यो परिवारले ऋणधन गरेर एकतले पक्की घर बनाएको थियो । श्रीमान्को अन्त्येष्टि गरेकी सन्तोषी तामाङको भवसागर दुःख भर्खर सुरु भएको थियो । 

दुर्घटनामा परेका तीनजनाको अन्त्येष्टि भयो । एकजना कोमामा थिए । चौथो व्यक्ति अर्थात् बाग्लुङको ढोरपाटन नगरपालिका– ६ अधिकारीचोकका तेजेन्द्र भण्डारी कोमाबाट फर्किएलान्, साथीहरू जेद्दाको अब्दुलअजिज अस्पतालमा कुरिरहेका थिए । गम्भीर घाइतेको अनुहारमा पूरै पट्टि बाँधिएको थियो । तीन महिनासम्म उनी बेहोस नै थिए, तर साथीहरूले माया मारेका थिएनन् । 

उता, तेजेन्द्रको परिवार छोरालाई सञ्चो होस् भनेर प्रार्थना गरेर बसेको थियो । कमाउन बिदेसिएको २५ वर्षको छोरा गम्भीर घाइते भएको सुनेर आमालाई दिनको भोक न रातमा निद्रा भएको थियो । तर, डाक्टरले निको हुन सक्छन् भनेका छन् भनेर वृद्ध आमाले वेलावेला राहतको सास पनि फेर्थिन् । 

तीन महिनापछि जब अब्दुलअजिज अस्पतालमा रहेका बिरामीको अनुहारको पट्टी खोलियो । साथीहरू चकित भए । मोरङका सुवास त जीवित नै रहेछन् । हर्ष मान्ने कि विस्मात्, बाग्लुङका तेजेन्द्रको पनि मृत्यु भएको रहेछ । दुवैलाई गम्भीर चोट लागेकाले साथीहरूकोे पहिचानमा ठूलो भूल भयो । 

साथीहरूका लागि यो भूल मात्र थियो, परिवारका लागि त विपत्ति नै । यता मोरङमा अन्त्येष्टि गरिएका सुवास जीवित थिए । जीवित छन् भनेका बाग्लुङका तेजेन्द्रको अन्त्येष्टि भइसकेको थियो । त्यो पनि अर्कै परिवारबाट । 

एकल महिलाको रूपमा आफ्नो संघर्ष सुरु गरिसकेकी सन्तोषीले एक दिन आफ्ना जीवित श्रीमान्सँग भिडियो कलमा कुरा गर्न पाइन् । ‘म त खुसीले यति रोएँ, मन थाम्नै सकिएन । सपना हो कि विपना भनेर धेरैपटक आफन्तलाई पनि सोधेँ,’ उनी सम्झिन्छिन् । 

यता सन्तोषीको पीडा तेजेन्द्रकी आमातर्फ सरेको थियो । अस्पतालमा उपचाररत छ भनिएको आफ्नो छोराको मृत्यु मात्रै भएको होइन, अर्कै परिवारले अन्त्येष्टि पनि गरिसकेको खबर सुन्दा तेजेन्द्रकी आमा सुर्विता बेहोस भइन् । 

पछि उनी छोराको अन्तिम संस्कार गरिएको ठाउँ खोज्दै मोरङ पनि पुगिन् । ठाउँ हेरिन्, रोइन् । अरू उपाय उनीसँग केही पनि थिएन । 

घर फर्किएपछि उनी छोराको वियोगमा धित मारेर रुन पनि पाइनन् । किनकि तेजेन्द्रलाई विदेश पठाउँदा लिएको ऋणले उनलाई पछ्याउन थाल्यो । कसैले भनिदियो, ‘वैदेशिक रोजगारीमा गएका व्यक्तिको मृत्यु भएमा बोर्डबाट क्षतिपूर्ति रकम आउँछ ।’ उनले यसका लागि प्रयास पनि सुरु गरिन् । तर, थाहा भयो, यो रकम त सुवासको परिवारले बुझिसकेको रहेछ । सुवासको मृत्यु भएको प्रमाणपत्र आएकाले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले उनको परिवारको नाममा साढे नौ लाख रुपैयाँ हस्तान्तरण गरिसकेको रहेछ । सुवास कोमाबाट फर्कँदा उनको परिवारले राहत रकमबाट ऋण पनि तिरिसकेको थियो । 

कागजी प्रक्रियामा सुवासको मृत्यु भइसक्यो । उनी जन्मिएको तत्कालीन कुदाकाउले गाविसमा ०७२ साउन ६ गते मृत्यु दर्ता भयो । उनको मृत्युको निक्र्योल नै भइसकेपछि परिवारले बिमा दाबी गर्यो । 

बिमाबापत साढे नौ लाख पाएको श्रीमती सन्तोषी बताउँछिन् । तर, त्यो रकम ऋण तिर्दै सकिएको उनी बताउँछिन् । घर बनाएर विदेश गएको एक महिना नबित्दै उनको दुर्घटना भयो । ‘ऋण गरेर घर बनाएका थियौँ । उहाँको दुर्घटना भएपछि कमाउने कोही थिएन । आएको पैसाले ऋण तिर्यौँ,’ सन्तोषी भन्छिन्, ‘अन्तिम संस्कार गर्दा लामा पढाउनुपर्छ । अन्तिम संस्कार गर्दै तीन लाखजति सकियो । आएको नौ लाख यसरी नै सकियो ।’

तर, सुवासको परिवारमा पनि पूर्ण खुसी कहाँ छ र ? उनी दुर्घटनाले थिलोथिलो भएको ज्यान लिएर आइपुगेका छन् । उनको ज्यान जीवित छ, तर शारीरिक रूपमा उनी धेरै कमजोर छन् । 

नयाँ पत्रिका टिम बेलबारी लक्ष्मीनगरस्थित घरमा पुग्दा सुवास कुरा गरौँ कि नगरौँ भन्ने अन्योलमा थिए । पछि उनले भने, ‘खासमा तेजेन्द्रले नै ट्याक्सी चलाएको थियो, दुर्घटनामा अरू दुईजना र तेजेन्द्रको मृत्यु भयो । तर, कम्पनीले गम्भीर लापरबाही ग¥यो । दूतावासले पनि चासो दिएन ।’

शव राम्ररी नहेरेको भनेर उनी परिवारसँग पनि दुःखेसो गर्छन् । तर, श्रीमान्को मृत्यु भएको सुनेदेखि नै श्रीमती बेहोसजस्तै थिइन् । त्यसैले उनले राम्ररी शव हेर्न पनि सकिनन् । उता शव चोटग्रस्त भएकाले आफन्तले पनि चिन्न सकेनन् । 

अस्पतालले सुवासको मृत्युको प्रमाणपत्र बनाइदिएकाले शवसँगै उनको मोबाइल, झोला र अन्य व्यक्तिगत सामान पनि आएको थियो । ‘एक त म होसमा थिइनँ । अर्को कुरा, बाकसमा सुवास तामाङ नाम थियो । उहाँकै मोबाइल, झोला र लुगाफाटा थिए । अब अरू कोही होला भनेर कसरी सोच्ने ?’ श्रीमती सन्तोषी भन्छिन्, ‘फेरि लास क्षतविक्षत थियो । त्यसैले कसैले पनि ओल्टाइपल्टाइ गरेन ।’ 

होसमा आएपछि पनि सुवास ६ महिनासम्म अस्पतालमै बसे । तर, कम्पनीले खास सहयोग नगरेको उनी बताउँछन् । ‘जम्मा खान दिनेबाहेक केही पनि गरेन । घर जान्छु भन्दा पनि कागजमा मरिसकेको छस् भन्यो । मरेको मान्छे कसरी जाने भनेर दुःख दिए, हरेक ठाउँमा हारगुहार गरेपछि मात्र घर आउन पाएँ,’ उनी भन्छन् । 

टाउकोमा गम्भीर चोट लागेकाले सुवास धेरै पुराना कुरा बिर्सन्छन् । ‘मलाई त फिल्मजस्तो लाग्छ । फिल्ममा पनि दुर्घटना भएर बेहोस भएपछि होसमा आउँदा पुराना कुरा बिर्सिएको हुन्छ नि ! मलाई पनि कहिलेकाहीँ त्यस्तै हुन्छ,’ उनी भन्छन्, ‘घरिघरि सम्झन्छु– म यत्रो दुर्घटनाबाट कसरी बाँचेँ ? अनि म बाँचे पनि तीनजना नेपाली मरे भनेर दुःख पनि लाग्छ ।’

बाग्लुङका तेजेन्द्रलाई भने उनले चिन्न सकेनन् । ‘खासमा ऊ को थियो ?’ उनी घोरिन्छन्, ‘मैले त्यसभन्दा अघि भेटेको थिइनँ, एटिएममा जान ट्याक्सी बोलाएका थियौँ । उसको ट्याक्सी रहेछ । तर, ती मान्छेको बारेमा मलाई केही थाहा थिएन ।’

‘मृत्यु’पछि पुनर्जन्म

मोरङ बेलबारीनिवासी सुवास तामाङ आफ्नो मृत्यु दर्ता प्रमाणपत्रको साथमा 

सुवास नै भनेर विदेशबाट आएको शवलाई परिवारले अन्तिम संस्कार गर्यो । तर, लामो प्रतीक्षापछि उनी घर पनि आउने भए । तर, उनलाई आफ्नै घरमा भित्र्याउन भने सजिलो थिएन । ‘उहाँ जीवित हुनुहुन्छ भन्ने खबरले सोच्नै नसक्ने खुसी ल्यायो । काजकिरिया भइसकेको मान्छेलाई घर ल्याउनुहुँदैन भनेर समाजले भन्यो । हामी त अलमलमा पर्यौँ,’ श्रीमती भन्छिन् । 

समाजको सल्लाहअनुसार सुवास नेपाल आएपछि उनलाई पहिले पुख्र्यौली गाउँ भोजपुर लगियो । त्यहाँ उनको जन्मसंस्कार भयो । ‘अन्तिम संस्कार पनि सकिएकाले फेरि जन्मनुपर्ने रहेछ । कोहीसँग नबोली पालीमा गएँ । डुकुरोमा पसेँ । नौ मिनेटपछि आमाले धकेलेर निकाल्नुभयो,’ उनी भन्छन्, ‘त्यसपछि म जन्मिएँ । न्वारानसहित संस्कार गरियो । विवाह पनि फेरि गरियो । यो मेरो पुनर्जन्म हो ।’

घरखर्च चलाउन उनीहरूले अहिले व्यवसाय पनि सुरु गरेका छन् । पहिलो अटोरिक्सा चलाउने उनले अहिले लक्ष्मीमार्ग बजारमा खाजाघर चलाएका छन् । त्यसले पनि कमाइ हुन सकेन । ‘घर धितोमा राखेर दुई वर्षअघि ऋण लिएँ । सिटीरिक्सा पनि चलाएँ । आफैँ पनि अरू जस्तो अवस्थामा थिइनँ । कतिपटक बिग्रियो । बनाउँदा–बनाउँदै किनेकोभन्दा धेरै खर्च भयो । अहिले त ब्याट्री कामै नलाग्ने भयो र बेचिदिएँ,’ उनी भन्छन्, ‘एउटा सानो होटेल चलाएको छु । बैंकमा घर धितो राखेर लिएको ऋणको किस्तै तिर्न पुग्दैन । छोराछोरीलाई कसरी पढाउने ? चिन्तित छु ।’ 

छोराको वियोगमा रुदाँरुँदै आँखा गुम्यो, न सास आयो न लास

बाग्लुङ ढोरपाटन अधिकारीचौरकी सुर्विता भण्डारी जसले छोरा तेजेन्द्रको न सास देख्न पाइन्, न लास

टिनको दुईपाखे छानो, काठले बारेको सानो झुपडीमा कुखुरालाई चारो खुवाउँदै बसेकी ७४ वर्षीया सुर्विता भण्डारी आँगनमा कोही छोरामान्छे आएमा आफ्नै छोरालाई सम्झेर आँसु झार्छिन् । पाँच वर्षयता कुनै पनि दिन उनको आँखा ओभानो छैन । रुदाँरुँदै एउटा आँखामा पिप भरिएको छ, ज्योति गुमेको छ, एक्ली आमाले उपचार पाएकी छैनन् । 

दुर्घटनाको खबर सुनेपछि सुर्विताले गाउँमा मोबाइल बोक्ने जो–कोहीलाई छोरालाई फोन लगाइदेऊ भन्थिन् । ‘अस्पतालमा छोरा अचेत अवस्थामा छ, बोल्न सक्दैन भन्ने आमालाई थाहा थिएन । त्यसैले बोल्नै पाइनँ । कस्तो छ बाबु भनेर सोध्ने धोको पनि अधुरै रह्यो भनेर दुःखी हुनुहुन्छ,’ छोरी हिमकुमारी भन्छिन् । 

तेजेन्द्रको अन्तिम सास परिवारले देख्न पाएन । तर, अन्तिम संस्कार गर्न उनीहरूसँग लास पनि थिएन । घरनजिकैको गार्दीखोलामा उनीहरू आफैँले पुत्ला बनाएर दाहसंस्कार गरे । ‘धन कमाउँछु, आमा तिमीलाई सुखले पाल्छु, म विदेश हिँडेँ है भनेर गएको थियो,’ सुर्विताले रुँदै भनिन्, ‘तर, छोराको लास पनि देख्न पाइनँ । लास पनि आएन ।’ 

काजकिरिया सकेपछि पनि सुर्वितालाई आफ्नो छोरा मर्यो भन्ने विश्वास नै लागेको थिएन । उनी तेजेन्द्रको दाहसंस्कार गरेको ठाउँ खोज्दै मोरङ पनि पुगिन् । सुवासको परिवारले तेजेन्द्रको दाहसंस्कार गरेको ठाउँ देखाइदिए । त्यहाँको माटो लिएर उनी बाग्लुङ फर्किइन् । उनीसँग अरू उपाय केही थिएन । 

तेजेन्द्रले विदेश जाँदा लागेको ऋण तिर्न नसकेको सुर्विता बताउँछिन् । ‘चार लाख ऋण लागेको थियो, त्यही वेला पाँच रोपनी खेत खोलाले बगाएर लग्यो । भएको केही बारी पनि मोटरबाटोले खाइदियो । बाँकी भनेकै यही झुप्रो हो । म मरिहाले पनि साहुको ऋणले शान्ति पाउँदिनँजस्तो लाग्छ,’ सुर्वितालाई ऋणको भारले पोलिरहेको छ ।