ब्राजिलमा सिनोभाक भ्याक्सिन ५०.४ प्रतिशत मात्रै प्रभावकारी
कोरोना भाइरस (कोभिड– १९) महामारीविरुद्ध चीनको सिनोभाक कम्पनीले निर्माण गरेको भ्याक्सिन ब्राजिलमा ५०.४ प्रतिशत मात्रै प्रभावकारी देखिएको छ । सिनोभाक भ्याक्सिनको ब्राजिलमा गरिएको क्लिनिकल परीक्षणको नतिजाअनुसार जम्मा ५०.४ प्रतिशत मात्रै प्रभावकारी रहेको अनुसन्धानकर्ताले बताएका हुन् ।
यो नतिजाले कम्पनीलाई केही निराश बनाएको छ । यो नतिजाले भ्याक्सिन पहिले भनिएको भन्दा कम प्रभावकारी देखिएको छ । भ्याक्सिन ब्राजिलमा परीक्षण भइरहेको दुई चिनियाँ भ्याक्सिनमध्येको एक हो । ब्राजिल विश्वमै कोरोना भाइरसले सबैभन्दा बढी प्रभावितमध्येको देश हो ।
चीनको राजधानी बेइजिङको कम्पनी सिनोभाकले भाइरसकै प्रयोग गरिने प्रविधिमार्फत बनाएको भ्याक्सिन हो । यसमा कमजोर बनाइएका भाइरसको केही भागलाई प्रयोग गरिन्छ । जसले मानव शरीरमा प्रवेश गरेपछि रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्नेछ ।
सिनोभाक भ्याक्सिन किन्नका लागि इन्डोनेसिया, टर्की, सिंगापुरलगायत देशले अर्डर गरेका छन् । ती देशमा यसको परीक्षण पनि भइरहेका छन् । गत साता मात्रै ब्राजिलमा क्लिनिकल परीक्षण गरिरहेको बुटान्टन इन्स्टिच्युडका अनुसन्धानकर्ताहरूले सामान्यदेखि गम्भीर खालको लक्षण देखिएका संक्रमितमा सिनोभाक भ्याक्सिन ७८ प्रतिशत प्रभावकारी देखिएको जनाएका थिए । मंगलबार भने उनीहरूले अघिल्लो घोषणामा सबै डाटा नसमेटिएको जनाएका छन् । उनीहरूले निकै सामान्य खालको लक्षण देखिएकाहरूमा गरिएको परीक्षणको नतिजा यसमा नसमेटिएको जनाएका छन् ।
सबैको परीक्षण नतिजा मिलाउँदा भ्याक्सिन ५०.४ प्रतिशत मात्रै प्रभावकारी देखिएको अनुसन्धानकर्ताहरूको भनाइ छ । यद्यपि, बुटान्टनले भने भ्याक्सिन सामान्य (माइल्ड) खालको लक्षण वा असर देखिएकामा ७८ प्रतिशतसम्म प्रभावकारी रहेको दाबी गरेको छ । उसले मध्यम र गम्भीर खालको संक्रमणलाई रोक्न भ्याक्सिन शतप्रतिशत प्रभावकारी रहेको दाबी पनि गरेको छ ।
टर्कीमा ९१ प्रतिशत प्रभावकारी
सिनोभाक भ्याक्सिनको परीक्षण नतिजा धेरै देशमा फरकफरक देखिएको छ । टर्कीमा गत महिना अनुसन्धानकर्ताहरूले ९१.२५ प्रतिशत प्रभावकारी देखिएको जनाएका थिए । इन्डोनेसियाले ६५.३ प्रतिशत प्रभावकारी देखिएको जनाएको थियो । इन्डोनेसियाले त बुधबारबाटै सर्वसाधारणका लागि भ्याक्सिन लगाउन (मास भ्याक्सिनेसन) सुरु गरेको छ ।
चिनियाँ कम्पनीहरूले निर्माण गरिरहेको भ्याक्सिनको परीक्षण पश्चिमा देशहरूले बनाइरहेको भ्याक्सिनको स्तर र त्यो पारदर्शिताका साथ नभएको भन्दै आलोचना हुन थालेको छ । त्यसका बाबजुद सिनोभाकले प्रयोगको अनुमतिका लागि प्रक्रिया अघि बढाएको छ ।