१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १९:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ओलीलाई प्रचण्ड-नेपाल समूहको चेतावनी- संवैधानिक व्यवस्थाबारे बोल्नेलाई धम्क्याउन छोड्नुस् [भिडियाेसहित]

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १९:१३:oo

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको सचिवालय बैठकले प्रधानमन्त्री केपी ओलीले अधिनायकवादी र निरंकुश चरित्र देखाएको भन्दै यस्तो कार्य तत्काल रोक्न चेतावनी दिएको छ । 

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकले पछिल्लो समय केपी ओलीले अधिनायकवादी र निरंकुश चरित्रको प्रदर्शन गरेको भन्दै त्यसलाई तत्काल रोक्न चेतवानी दिने निर्णय गरेको हो । 

चारजना पूर्वप्रधानन्यायाधीशले प्रतिनिधिसभा विघटनबारे संवैधानिक व्यवस्था के छ भन्ने सम्बन्धमा आफ्नो दृष्टिकोण सार्वजनिक गर्दा प्रधानमन्त्री ओलीले अपमानित र धम्क्याएको भन्दै बैठकले प्रतिवाद गर्दै भर्त्सना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।  

‘मुख्यत चारजना पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले देश, जनता, लोकतन्त्र, संविधान, राजनीतिक स्थिरता र सुशासनप्रतिको निष्ठाका कारण एउटा जिम्मेवार नागरिकको हैसियतमा प्रतिनिधिसभा विघटनबारे संवैधानिक व्यवस्था के छ भन्ने सम्बन्धमा आफ्नो दृष्टिकोण सार्वजनिक गर्दै सार्वजनिक वक्तव्य दिनुभएकोमा उहाँहरूलाई प्रधानमन्त्री केपी ओलीले अपमानित गर्ने र धम्क्याउने काम गर्नुभएको छ,’ उनले भने, ‘यो कार्य आपत्तिजनक छ र बैठकले यसको प्रतिवाद गर्दै कडा शब्दमा भर्त्सना गरेको छ । उहाँहरू र देशभरिका नागरिक समाजका अगुवा, बुद्धिजीवी, प्राध्यापक, इन्जिनियर, चिकित्सक, पत्रकार, लेखक, कलाकार, संस्कृतिकर्मी र विभिन्न पक्ष, तह र तप्काका नागरिकलाई असंवैधानिक अलोकतान्त्रिक र प्रतिगामी कदमका विरुद्ध आफ्नो विचार प्रकट गरिराखेका छन्, सबै नागरिकको स्वतन्त्रता र संवैधानिक अधिकारको सम्मान गरिनुपर्छ, रक्षा गरिनुपर्छ र हामी संवैधानिक अधिकार र स्वतन्त्रताको रक्षा गर्न प्रतिबद्ध छौँ । सबै नागरिक समाज प्रबुद्ध व्यक्तिलाई एकजुट हुन  र संवैधानिक अधिकार र अभिव्यक्ति स्वतन्त्रको रक्षा गर्न आह्वान गर्ने निर्णय गरेको छ ।’

बैठकले सरकारी सञ्चार माध्यमहरु कुनै गुटको प्रचारक जस्तो काम गरेको भन्दै राज्यको स्रोत साधन दुरुपयोग गर्दै गुटलाई सेवा गर्ने काम बन्द गर्न माग समेत गरेको छ । 

बैठकले पार्टीको सम्पूर्ण निकायलाई पार्टीको सुदृढीकरणमा लाग्न र संघर्षका कार्यक्रमलाई प्रभावकारी रूपमा सफल पार्न निर्देशन दिएको प्रवक्ता श्रेष्ठले बताए । सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरिएकोमा आफूहरूको विरोध रहेको बताए ।

प्रतिनिधिसभा विघटनपछिको प्रधानमन्त्री ओलीको पहिलो सम्बोधनलाई अस्वीकार गर्दै राष्ट्रिय सभाको आइतबारको बैठकमा सहभागी नभएको पनि उनको भनाइ छ । 

सञ्चारकर्मीको जिज्ञासाको उत्तर दिँदै प्रवक्ता श्रेष्ठले अध्यक्ष प्रचण्डको भारत भ्रमण परिवारलाई स्वास्थ्याेपचार गराउने सिलसिलामा भएको र उनको कुनै राजनीतिक भेटघाट तथा राजनीतिक वार्ता नभएको पनि स्पष्ट पारे । 

ad
ad