१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
केदार दाहाल काठमाडौं
२o८१ बैशाख २३ आइतबार o२:२६:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

चार अर्ब २७ करोडमा पिच गरिएको अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ६ महिनामै चर्कियो

करिब ५० वर्ष पुरानो धावनमार्ग पटकपटक भत्कने गरेकोले आकाशमा जहाज होल्ड गरेर हतारहतार पिच गर्नुपर्ने अवस्था थियो । पटकपटक समस्या आएपछि गरिएको नयाँ पिच पनि एक वर्ष नपुग्दै भत्कन थालेको छ ।

Read Time : > 3 मिनेट
केदार दाहाल, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o२:२६:oo

चार अर्ब २७ करोड खर्च गरेर गतवर्ष मात्र परिवर्तन गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ठाउँठाउँमा चर्किएको छ । करिब एक वर्ष लगाएर काम सम्पन्न भएको ६ महिना नहुँदैदेखि धावनमार्गमा चिरा देखिन थालेका छन् । 

५० वर्ष पुरानो तीन किलोमिटर लामो धावनमार्गको कालोपत्रे परिवर्तनको ठेक्का चिनियाँ सरकारी कम्पनी चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले पाएको थियो । यसका लागि सरकारको बजेट होइन, यात्रुबाट उठाइएको विमानस्थल विकास पूर्वाधार करको चार अर्ब २७ करोड रुपैयाँ खर्च भएको थियो । सो शीर्षकमा नेपाल आउने र जाने प्रत्येक यात्रुसँग एक हजार रुपैयाँ हवाई टिकटमै जोड्ने गरिन्छ । 

१८ चैत ०७५ बाट धावनमार्गको कालोपत्रे परिवर्तन सुरु गरेको कम्पनीले पुस ०७६ मा काम सकेर सरकारलाई हस्तान्तरण गरेको थियो । तर, धावनमार्गको दक्षिणतिरको साइटमा दर्जनभन्दा बढी ठाउँ फुटेको छ, कति ठाउँमा पानी पनि रसाउन थालेको छ ।

धावनमार्गको पिच भत्कनु गम्भीर विषय भएको नागरिक उड्डयन प्राधिकरणका एक पूर्वमहानिर्देशकको भनाइ छ । ‘विगतमा धावनमार्ग भत्किँदा ठूला जहाज उडान–अवतरणमै रोक लगाउनु परेको थियो,’ उनले भने, ‘पुरानो धावनमार्गमा पटकपटक यो समस्या आएपछि नयाँ पिच गरिएको हो । नयाँ पिचमा पनि एक वर्ष नबित्दै पुनः यस्तो समस्या आउनु गम्भीर विषय हो । यो समस्या बढ्दै गए विगतमा जस्तै आकाशमा जहाज घन्टौँसम्म होल्ड गरेर धावन मार्ग टालेर बस्नुपर्ने आवस्था आउनसक्छ ।’

‘धावनमार्गमा पानी रसाउने समस्या हुन सक्छ, त्यसका लागि भूमिगत पाइप राखेर पास गर्ने व्यवस्था हुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा पनि पाइप राख्ने सर्त थियो, तर पाइप नराखी पिच गरेको पाइएको छ,’ नयाँ पत्रिकालाई तस्बिर उपलब्ध गराउँदै नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले भने । 

भौगर्भिक अध्ययन गर्दा नै विमानस्थलको धावनमार्गको तल्लो सतहमा पानी बढी रहेको ठहर गर्दै डिएलपी (निर्माण सकिएपछि पनि निश्चित अवधिसम्म लिइने मर्मत–सम्भारको जिम्मेवारी) आवश्यक रहेको भन्दै सम्झौता भएको थियो । त्यसैले दुई बर्खासम्म धावनमार्गमा देखिएको समस्या ठेकेदारले समाधान गर्ने सर्त थियो । तर, मर्मत गर्ने मेसिन (मिलिङ)समेत ठेकेदारले चीन पठाइसकेको छ । जसका कारण धावनमार्ग चर्किए पनि मर्मत हुन सकेको छैन । ठेकेदार कम्पनीले दुई वर्ष बिग्रेको स्थानमा मर्मत गर्नुपर्ने भए पनि मर्मत गर्ने मेसिन एक वर्षअगाडि नै चीन पठाइसकेको छ । 

तर, आयोजना प्रमुख मुरारी भण्डारीले धावनमार्ग चर्किएको स्वीकार गरे पनि ठेकेदारले बदमासी गरेको भन्न नसकिने बताए । ‘ठेकेदारले बदमासी गरेको होइन, प्राविधिकभन्दा पनि भौगोलिक कारणले धावनमार्ग चर्किएको हो,’ उनले भने, ‘दुई बर्खासम्म मर्मत गर्ने जिम्मा ठेकेदारकै हो, उसले आफ्नो जिम्मेवारी पूरा गरिरहेको छ ।’

सन् १९७५ को दशकमा निर्माण भएको धावनमार्गको पिचमा खराबी देखिएपछि प्राधिकरणले सन् २०१५ मा धावनमार्गको पिच परिवर्तन (रिह्याबिलिटेसन) परियोजनामा काम थालनी गरेको थियो । स्पेनिस कम्पनी ‘आइसा’ले विमानस्थलको धावनमार्ग सुधारका लागि सन् २०१४ मै डिजाइन तय गरेको थियो । तर, सन् २०१५ को भूकम्पपछि ‘डिजाइन रिभ्यु’का लागि कोरियन योसिन इन्जिनियरिङ कम्पनीले काम गरेको थियो । 

परामर्शदाताकै रिपोर्टका आधारमा कार्यालयले धावनमार्ग सुधारका लागि ग्लोबल टेन्डर गरेको थियो । टेन्डरमा ११ वटा कम्पनीले काम गर्ने इच्छा देखाए पनि परामर्शदाता र टेन्डर मूल्यांकन कमिटीले चार चिनियाँ कम्पनीलाई प्राविधिक रूपमा सक्षम भनेर छनोट गरेको थियो । 

चाइना रेल्वे नम्बर फाइभ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिडेड, चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसन, चाइना हार्बर इन्जिनियरिङ कम्पनी लिमिडेड र बेइजिङ चाङ्दो म्युनिसिपल इन्जिनियरिङ ग्रुप कम्पनी थिए । चार कम्पनीबाट चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसन छनोट भएको थियो । 

अर्को सात अर्बको ठेक्का पनि सोही कम्पनीलाई 

उता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम पनि ५० प्रतिशत लागत बढाएर चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले नै गरिरहेको छ । गत वर्ष पुसमा नै ठेक्का लागेको थियो, तर कोभिड– १९ का कारण चिनियाँ कम्पनीले भर्खरै काम सुरु गर्ने तयारी गरेको छ । 

विगतमा स्पेनी कम्पनीले सन् २०१६ मै सक्ने गरी विमानस्थल विस्तारको काम लिएको थियो । तर, सम्पन्न गरिसक्नुपर्ने वेलामा स्पेनी कम्पनीले १७ प्रतिशत मात्रै काम गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले चार वर्षअघि ठेक्का तोडेको थियो । 

अहिले सोही काम विगतको भन्दा ५० प्रतिशत लागत बढाएर चार ठेकेदार कम्पनीलाई जिम्मा दिइएको छ । विगतमा स्पेनी कम्पनीले ६ अर्ब १० करोड रुपैयाँमा काम सम्पन्न गर्ने गरी पार्किङ वे, ट्याक्सी वे, टर्मिनल भवन, तीन सय मिटर धावनमार्ग विस्तारको जिम्मा लिएको थियो । अहिले ‘पार्किङ वे’ आयोजना मात्रै ६ अर्ब ९२ करोडमा चिनियाँ कम्पनीलाई ठेक्का दिइएको हो ।

२० जहाज अट्ने ‘पार्किङ वे’ निर्माणको मुख्य ठेक्का चिनियाँ कम्पनी चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पाेरेसनले पाएको छ । अन्य तीन कम्पनी भने नेपाली हुन् । अन्तर्राष्ट्रिय टर्मिनल भवनतर्फको कामको जिम्मा शर्मा, प्रेररा र आशिष कम्पनी (जेभी)ले पाएका छन् । एनसिबी–२ अन्तर्गतको उक्त ठेक्का ८० करोड रुपैयाँको हो । त्यस्तै, एनसिबी–३ अन्तर्गत ढल, निर्माण, खानेपानीलगायत सुविधा विस्तारका लागि आशिष र प्रेररा कम्पनी (जेभी)ले १८ करोड रुपैयाँमा पाएका छन् । एनसिबी–१ अन्तर्गत ९२ करोडमा तीन सय मिटर धावन निर्माण कालिका र तुँदी कन्स्ट्रक्सनले पाएका थिए । यो काम भने सम्पन्न भइसकेको छ । 

२० लाख घनमिटर माटो पशुपतिको ल्याउने तयारी 

विगतमा पशुपतिको माटो ल्याउने विषयमा विवाद हुँदा स्पेनिस कम्पनीले आयोजना नै छाडेको थियो । तर, यसपटक चिनियाँ कम्पनीले भने पशुपतिको बालुवा ल्याउने तयारी गरेको छ । जसका लागि पशुपति विकास परिषद्ले ठेक्का लगाउने तयारी गरेको छ । चिनियाँ ठेकेदार कम्पनीले तीन वर्षभित्र २० लाख घनमिटर माटोले पुरेर जहाज ‘पार्किङ वे’ निर्माण गर्नेछ । विस्तारपछि उक्त पार्किङ वेमा अन्तर्राष्ट्रिय उडानका २० जहाज पार्किङ गर्न मिल्नेछ ।

ad
ad