चिसोबाट जोगिन बालिएको घुरबाट भएको आगलागीमा परी सिराहामा एक महिनाभित्र दुईको मृत्यु

बिहिबार, २३ पुष, २०७७
डिजिटल संस्करण

चिसोबाट जोगिन बालेको आगोले आगलागी हुँदा एक महिनाको अवधिमा सिराहामा दुईजनाको मृत्यु भएको छ ।

मिर्चैया नगरपालिका ७ मौरहा टोलका बुधबार एक घरमा आगलागी हुँदा आठ वर्षीय बालकको मृत्यु भएको छ । 

चिसोबाट जोगिन घरमा घुर बालेर मो.रफिक राइन परिवारसहित काममा गएका थिए । सोही वेला घरमा आगलागी भएपछि घरमै सुतिरहेका राइनका आठ वर्षीय छोरा जाबिर राइनको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको  छ ।

चार छोराछोरीमध्ये जेठो छोरा जाबिरको मृत्यु भएको हो । खरको छानो भएको घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।

जसबाट घरमा रहेका खाद्यान्न, लत्ताकपडा सबै जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवालले बताए ।

यसअघि २८ मंसिरमा कर्जन्हा नगरपालिका ३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो चिसोबाट जोगिन बालेको घुरबाट भएको आगलागीमा परी गम्भीर घाइते भएका थिए । 

थप उपचारको काठमाडौं कीर्तिपुरस्थिति मोडल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । 

यता मंसिर अन्तिम सातामा चिसोबाट जोगिन बालेको घुरले आगलागी हुँदा भगवानपुर गाउँपालिका १ का उदयकुमार यादव, कविताकुमारी यादव, सिर्जनाकुमारी यादव, अनुष्का यादव र सुखीपुर नगरपालिका ५ का पिंकी मण्डल घाइते भएका थिए । 

घाइतेहरू उपचारमै रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी शालिग्राम शर्माले बताए ।

सुझावित समाचार