मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७७ पौष १३ सोमबार ०८:१८:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

भ्यु टावर : विकासको भ्रष्टीकरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७७ पौष १३ सोमबार ०८:१८:००

नेपाली जनतालाई समृद्धि र सुख दिने आश्वासन दिएर सत्तारुढ भएका प्रधानमन्त्री केपी ओलीको राजनीतिक विचारको जे–जति आलोचना भएको छ त्योभन्दा महत्वको, तर सार्वजनिक बहसमा कमै ठाउँ पाएको पाटो हो उनको विकाससम्बन्धी अवधारणा ।

विकास शब्द नेपाली जनताले विगत ७० वर्षदेखि कण्ठस्थ पारेको अवधारणा हो । जसको यति दोहोलो काढिएको छ कि त्यसले वास्तविक अर्थ गुमाएजस्तो देखिन्छ । सामान्यतया, मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सहयोग गर्ने भौतिक तथा मानवीय परिवर्तनको चक्रलाई विकास भनिन्छ ।

यसका लागि आर्थिक रूपले मानिसलाई जीविकाका स्रोतमाथि सहज पहुँच, स्वास्थ्य सेवा र शिक्षामा सहज पहुँच, वातावरणीय दृष्टिले उन्नत जीवन र आफ्ना मत सार्वजनिक थलोमा राख्न, आफ्ना प्रतिनिधि छनोट गर्न र आफ्नो शासकीय मामिलामा आफैँले निर्णय गर्ने प्रक्रियामा सामेल हुन पाउने अधिकारसमेत पाइने अनुकूलता आवश्यक पर्छ । 

सहभागितामूलक र समतामूलक राजनीतिक प्रणाली यसको अनिवार्य सर्त हो । यातायात, सञ्चार, विद्युतीकरण, औद्योगीकरणसमेत समृद्धिका लागि पूर्वाधार हुन् । हाम्रोजस्तो देशमा जुनस्तरका पूर्वाधार र गरिबीको अवस्था छ, त्यसले निरन्तर गरिबी र अविकासलाई पुनरुत्पादन गरिरहेको छ ।

एकातिर आलिसान टावर र अर्कोतिर जनताको दरिद्रताको प्रदर्शन । यो अन्तर्विरोध नै ओली सरकारको समृद्धिका नाराको खोक्रोपनाको ज्वलन्त उदाहरण हो । यो शासकको सनक प्रदर्शन गर्ने इतिहासको कुरूप दृश्य हो ।

केन्द्र र मोफसलका बीचको खाडल, सहर र गाउँका बीचको खाडल, दुर्गम र सुगम क्षेत्रबीचको खाडल, सत्तानिकट समूह र किनारीकृत समूहका बीचको खाडल, दलित र गैरदलितबीचको खाडल, महिला र पुरुषबीचको खाडल हाम्रो अविकासका चरित्र निरूपण गर्ने सूचक हुन् । यो चक्रलाई तोड्न नसकेसम्म हामी समृद्धि र उन्नतिको बाटोमा जान सक्दैनौँ । यसलाई तोड्न राजनीतिक प्रतिबद्धता आवश्यक छ । राज्य संरचनामा गरिएका परिवर्तनका लक्ष्य यही खाडल पुर्नेतिर लक्षित थिए । 

तर, संविधान जारी भएको पाँच वर्षको आर्थिक प्रगति, त्यसका लागि सरकारले लिएको नीति र कार्यान्वयनको अवस्थालाई हेर्‍यो भने उत्साह हात लाग्दैन । यसका पछि मूलतः राजनीतिक नेतृत्वको विकाससम्बन्धी बुझाइमा रहेको संकट जिम्मेवार छ । त्यसको एउटा उदाहरण हो देशका विभिन्न भागमा बन्दै गरेका भ्यु टावरको संख्या ।

यसले विकास शब्द र त्यसका भावको अश्लील ढंगले भ्रष्टीकरण गरेको छ । जनताका सामान्य चाहना र भ्यु टावरहरू निर्माणका लागि गरिँदै गरेको लगानीका बीच रहेको भिन्नताले हाम्रो चिन्तन दरिद्रतातर्फ नै संकेत गरेको छ । भ्यु टावरहरू सामान्यतया पर्यटक आकर्षित गर्ने र त्यसका आधारमा सानो–तिनो रोजगारीका अवसरको विस्तार गर्ने उद्देश्य राखेर निर्माण गर्ने गरिएको छ । अधिकांश यस्ता भ्यु टावर कुनै डाँडाको टुप्पोमा बनाइएका छन्, जुन डाँडाहरू आफैँ दृश्यावलोकन गर्न मिल्ने बिन्दु हुन्छन् । 

काँहुँडाँडा या सराङ्कोट, पुनहिल या चन्द्रागिरीमा केही फिटका भ्यु टावर बनाउनु स्वयं ती पहाडबाट गरिने सौन्दर्यबोधको अपमान हो । यता प्रधानमन्त्री केपी ओलीले आफ्नो कीर्र्र्ति राख्न या नाम राख्ने एउटा लालसाले वशीभूत भएर आफ्नो निर्वाचन क्षेत्रमा १८ तले टावर बनाउन लगाएका छन् । यसका लागि उनले राज्य स्रोतको डेढ अर्बभन्दा बढी खर्च गरेका छन् ।

टावरबाट देखिने दृश्यमा भने सुकुम्बासीको बस्ती छ, जहाँ सामान्य पिउनेपानीको समेत बन्दोबस्त छैन । अर्थात्, एकातिर आलिसान टावर र अर्कोतिर जनताको दरिद्रताको प्रदर्शन । यो अन्तर्विरोध नै ओली सरकारको समृद्धिका नाराको खोक्रोपनाको ज्वलन्त उदाहरण हो । न यो समृद्धितिरको बाटो हो न यो सुखतिरको बरु यो शासकको सनक प्रदर्शन गर्ने इतिहासको कुरूप दृश्य हो ।