१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार २१:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

आयल निगमको नाफा १३ अर्ब, सरकारलाई ६६ अर्ब राजस्व

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार २१:५७:oo

नेपाल आयल निगमले गत आर्थिक वर्ष ०७६/७७ मा करिब १३ अर्ब रुपैयाँ नाफा कमाएको छ । कोराना भाइरस (कोभिड–१९)को प्रभावले इन्धन खपत कम हुँदा पनि निगमले १२ अर्ब ८७ करोड नाफा कमाउन सफल भएको हो । निगमले आइतबार सार्वजनिक गरेको अन्तिम लेखा परीक्षण प्रतिवेदनअनुसार, मोतिहारी–अमलेखगन्ज पेट्रोलयम पाइपलाइनबाट इन्धन आयात गरी ढुवानी रकम बचत हुनुका  साथै अघिल्ला वर्षको नाफा रकमको ब्याज आम्दानी बढेपछि निगमको नाफा बढेको हो । 

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार ब्याज आम्दानी, ढुवानी खर्चमा भएको बचत तथा एलपी ग्यासमा दिँदै आएको अनुदान घटेकोले आर्थिक वर्ष ०७६/७७ मा निगमको नाफा बढेको हो  । ‘झट्ट हेर्दा यो नाफा रकम बढी जस्तो देखिन्छ, तर हामीले गरेको कुल कारोबारको तुलनामा करिब पाँच प्रतिशत मात्र हो,’ कार्यकारी निर्देशक पौडेलले भने ।

अघिल्लो आवको तुलनामा निगमले गत आवमा करिब पाँच अर्ब रुपैयाँ बढी नाफा कमाएको छ । निगमले आर्थिक वर्ष ०७५/७६मा  आठ अर्ब ७५ करोड नाफा कमाएको थियो । त्यसअघि आर्थिक वर्ष ०७४/७५ तीन अर्ब ५८ करोड नाफा आर्जन गरेको थियो । 

गत आवमा निगमले दुई खर्ब ५ अर्ब रुपैयाँको कारोबार गरेको थियो । यसबाट सरकारलाई विभिन्न शीर्षकमा ६६ अर्ब ८८ करोड राजस्व भुक्तानी गरेको पौडेलले बताए । निगमले गत आवमा २५ लाख किलोलिटर इन्धन आयात गरेको थियो जुन अघिल्लो आवको तुलनामा ११ प्रतिशतले कम हो । 

विश्वभर फैलिएको कारोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले विभिन्न समयमा जारी गरेको लकडाउन, जोर बिजोर प्रणालीलगायतले सवारी साधन सञ्चालनमा कमी आउँदा इन्धन खपत घटेको हो । मुलुक भित्रने इन्धन मध्ये ८० प्रतिशत सवारीसाधनमा खपत हुँदै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पछिल्ला वर्ष इन्धनको मूल्य घट्दै गए पनि सोअनुसार समायोजन नगर्दा निगमले नाफा बढाउँदै लगेको हो । अन्तर्राष्ट्रिय बजारमा घटेको मूल्यको लाभ नेपाली उपभोक्तालाई नदिई निगमले चर्को नाफा राख्दै आएको छ । यद्यपि, निगमले नाफा–नोक्सान प्रतिवेदनमा भने इन्धनको ढुवानी रकम बचत हुनुका साथै अघिल्लो वर्षको नाफा रकमको ब्याजका कारण मुनाफा बढी आर्जन गर्न सफल भएको दाबी गरेको छ ।

निगमले कुल खपतको ७० प्रतिशतसम्म डिजेल मोतिहारी–अमलेखगन्ज पाइपलाइनबाट ल्याउने गरेको छ । पाइपलाइनबाट डिजेल ल्याउँदा वार्षिक करिब दुई अर्ब रुपैयाँसम्म ढुवानी खर्च बचत भएकाले नाफाको ग्राफ बढेको निगमको दाबी छ । गत आवको १० महिनाको अवधिमा पाइपलाइनबाट डिजेल ढुवानी गर्दा एक अर्ब ४७ करोड बचत भएको प्रतिवेदनमा उल्लेख छ । साथै गत वर्षको नाफा रकमको बैंक ब्याजबाट मात्र  एक अर्ब ७७ करोड रुपैयाँ आम्दानी भएको निगमको भनाइ छ ।

निगमले पहिलोपटक नेपाल फाइनान्सियल रिपोर्ट स्ट्यान्डर (एनएफआरएस) अनुसार ब्यालेन्ससिट तयार गरेको जनाएको छ । 

आर्थिक वर्ष ०७५/७५मा  २९ करोड रहेको चुक्ता पुँजीलाई निगमले १० अर्ब पुँजी वृद्धि गरेर ११ अर्ब पुऱ्याएको थियो । आर्थिक वर्ष ०७५/७६ मा निगमले नाफा रकमबाट २० प्रतिशत लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष ०७६/७७ मा नाफा रकमबाट सेयर होल्डरलाई २० प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिबाट निर्णय भइसकेको छ भने २८ पुसमा साधारणसभा डाकिएको छ । सोही साधारणसभाबाट लाभांश वितरणको निर्णय कार्यान्वयन हुने कार्यकारी निर्देशक पौडेलले बताए ।

आर्थिक वर्ष     नाफा रकम 
०७६/७७  –  १२ अर्ब ८७ करोड
०७५/७६   – ८ अर्ब ७५ करोड
०७४/७५  – ३ अर्ब ५८ करोड
०७३/७४ –  ९ अर्ब ४५ करोड
०७२/७३ –  १९ अर्ब ३६ करोड
स्रोत : नेपाल आयल निगम
 

ad
ad