१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o७:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

चिनियाँ वैज्ञानिक डब्लुएचओको टोलीलाई वुहानमा स्वागत गर्न तयार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:२o:oo

संसारलाई आक्रान्त बनाएको कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनको वुहान सहरलाई मानिँदै आएको छ । यद्यपि चीनले अझैसम्म वुहानबाट नभई कोरोना अन्य मुलुकबाटै फैलिएको दाबी गरिरहेको छ । अमेरिका तथा युरोपले वुहानलाई नै कोरोनाको केन्द्रबिन्दु मानेका छन् । अहिलेसम्म विश्वभर कोरोनाबाट सात करोड ९१ लाख ७८ हजार २३१ जना संक्रमित भएका छन् । मृत्यु हुनेको संख्या १७ लाख ४० हजार २५५ पुगेको छ । 

वुहानको एक ल्याबबाट कोरोना भाइरस लिक भएर संसारभरि फैलिएको भन्दै अमेरिका र युरोपले चीनमाथि आरोप लगाउँदै आएका छन् । भाइरस फैलिएको एक वर्षपछि वुहानको सोही ल्याबका एक वरिष्ठ चिनियाँ वैज्ञानिकले आफूहरू अधिकारप्राप्त संस्थालाई कोरोना परीक्षण गर्न अनुमति दिन तयार रहेको बताएकी छिन् ।

प्रोफेसर सी जेंग्लीले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अनुसन्धान टोलीलाई ल्याबमा स्वागत गर्न आतुर रहेको जनाएकी छिन् । डब्लुएचओको टोलीले जनवरीमा वुहानको भ्रमण गर्नेछ । वुहानको ल्याबबाट कोभिड फैलिएको हो वा होइन भन्ने डब्लुएचओको टोलीले अनुसन्धान गर्नेछ । ‘हामी डब्लुएचओको टोलीलाई ल्याबमा स्वागत र सबै किसिमको सहयोग गर्न तयार छौँ,’ प्रोफेसर जिंग्लीले बिबिसीलाई भनेकी छिन् ।

डब्लुएचओसँग दुईपटक वार्ता
डब्लुएचओको निरन्तरको दबाबपछि चीनले वुहानमा अनुसन्धान गर्न अनुमति दिन लागेको हो । यस सम्बन्धमा डब्लुएचओ र प्रोफेसर जिंग्लीबीच दुईपटक वार्ता भएको छ । ल्याबका प्रोफेसर जिंग्लीले डब्लुएचओसँगको सकारात्मक वार्तापछि अनुसन्धान टोली वुहान आउन लागेको बताइन् । उनी भन्छिन्, ‘मैले उहाँहरूलाई भनेकी थिएँ, यदि वुहानमा अनुसन्धान गर्न आउन चाहनुहुन्छ भने हामी स्वागत गर्न तयार छौँ, अनुसन्धान कार्यमा केही पनि समस्या आउने छैन ।’

ल्याबका अन्य अधिकारीले पनि डब्लुएचओका विशेषज्ञहरूलाई विश्वासिलो तरिकाले सहयोग गर्ने उनले बताइन् । टोलीसँग हरेक क्षण आफू पनि सँगै रहने उनको भनाइ छ । जिंग्ली भन्छिन्, ‘व्यक्तिगत रूपमै म पनि डब्लुएचओको टोलीसँगै रहनेछु, सबै पारदर्शी रूपमै काम हुनेछ, सौहार्द वार्ता र छलफलमै सबै काम हुने विश्वास छ ।’ वुहान इन्स्टिच्युट अफ बायोलोजीमा ‘ल्याब लिग प्रणाली’अनुसार अनुसन्धान हुने उनको भनाइ छ । 

जनावरदेखि परीक्षण
चीनले सुरुमा कोरोना भाइरस जनावरबाट आएको बताएको थियो । पछि केही वैज्ञानिकहरूले कोभिडलाई सार्स कोभ–२ भाइरस नाम दिए । तर, प्रोफेसर जिंग्ली विश्वभरि भाइरस फैलिनु रहस्यमय बन्दै गएको बताउँछिन् । डब्लुएचओको टोली वुहान पुग्दा तरकारी बजार, मासु पसल तथा जंगली जनावरको समेत परीक्षण तथा अनुसन्धान गर्ने बिबिसीले जनाएको छ ।

‘टोली वुहानमा पुगेपछि उहाँहरूको ध्यान पहिलो बजारमै हुनेछ, जहाँ सयौँ किसिमका जनावरका मासु बेचबिखन हुने गर्छ, यहाँबाट कोरोना भाइरस फैलिएको भन्ने गरिन्छ,’ प्रोफेसर जिंग्लीले बताइन्, ‘बजारमा भाइरस कसरी आयो, यसले कहाँसम्म फैलायो भन्ने पनि परीक्षण हुनेछ ।’ डब्लुएचओले आफ्नो टोलीमा ब्रिटिस बायोलोजिस्ट डा. पिटर डास्काकको नेतृत्वमा १० जना पठाउने तयारी गरेको छ । डा. पिटर सरुवारोग विशेषज्ञ हुन् । जिंग्लीले चर्चित बायोलोजिस्ट पिटरसँग सहकार्य गर्न पाउँदा आफू पनि हर्षित भएको बताइन् ।
 एजेन्सीहरूको सहयोगमा

ad
ad