१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ पौष ९ बिहीबार ०१:५४:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

विभाजनपछि नेकपाका दुई समूहका रणनीति 

जनमत निर्माण र संघर्ष प्रचण्ड–नेपाल समूहको प्राथमिकता, संगठन विस्तार र निर्वाचन तयारीतिर ओली समूह

Read Time : > 5 मिनेट
२०७७ पौष ९ बिहीबार ०१:५४:००

 राजनीतिक रूपमा पार्टी विभाजनपछि नेकपाका दुवै समूह अबको रणनीति निर्माणमा जुटेका छन् । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह तथा प्रधानमन्त्री केपी ओली समूहले बिहीबारको केन्द्रीय कमिटी बैठकबाट आगामी कार्यक्रमको रूपरेखा बनाउने तयारी गरेका छन् । तर, उनीहरूको वैधानिकताको विषय भने निर्वाचन आयोगमा प्रवेश गरेको छ । 

ओली समूहले प्रधानमन्त्रीनिवास बालुवाटार र प्रचण्ड–नेपाल समूहले कार्की बैंक्वेट बबरमहलमा पार्टी विभाजनपछि पहिलोपटक बिहीबार बैठक डाकेका छन् । गत मंगलबार दुवै समूहको अलग–अलग केन्द्रीय कमिटी बैठकपछि नेकपा विभाजित भएको थियो । 

दुवै समूह मूल पार्टी दाबी गर्दै निर्वाचन आयोग पुगिसकेका छन् । ओली समूहले मंगलबार र प्रचण्ड–नेपाल समूहले बुधबार हस्ताक्षरसहित मूल पार्टी र चुनाव चिह्न सूर्य दाबी गर्दै निर्वाचन आयोगमा पुगेर आवश्यक कागजात बुझाइसकेका छन् । 

दुवै समूहले पार्टी विभाजनपछिको विकसित परिस्थितिमा अलग–अलग एजेन्डा तय गरेर बिहीबारको बैठकमा छलफल गर्दै छन् । नेकपाको साबिक केन्द्रीय कमिटीको चार सय ४१ सदस्यमध्ये दुई सय ९० जना केन्द्रीय सदस्य प्रचण्ड–नेपाल समूह र बाँकी सदस्य प्रधानमन्त्री ओली समूहको नेकपामा छन् । यसमा उपाध्यक्ष वामदेव गौतमलगायतका केही केन्द्रीय सदस्य अझै कतै लागेका छैनन् । 

दुवै समूह एकले अर्को समूहका शीर्ष नेतादेखि केन्द्रीय सदस्य तानातान गर्नेदेखि आफ्नो समूहका नेता–कार्यकर्ता संरक्षणमा सक्रिय भएका छन् । प्रदेश र जिल्ला कमिटीदेखि तल्ला कमिटीसम्म, स्थानीय सरकारका जनप्रतिनिधिदेखि जनसंगठनको नेतृत्व पनि क्रमशः दुवै समूहको नेकपामा विभाजित भएका छन् । यद्यपि यसको अन्तिम तस्बिर आउन अझै बाँकी छ । 

ओलीले प्रस्तुत गरेको ३८ पेजको राजनीतिक प्रतिवेदनको जवाफमा पुनः ४० पेजको बेग्लै दस्ताबेज पेस गर्ने प्रचण्डको तयारी

प्रचण्ड–नेपाल समूहले बिहीबार साढे एघार बजे बोलाएको केन्द्रीय कमिटी बैठकमा विभाजनपूर्व तय भएको पार्टीको संकट र समाधान तथा संगठनात्मक कार्ययोजनालाई मूल एजेन्डा बनाएर छलफल गर्ने तयारी गरिरहेको छ । बैठकमा यसअघि अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको ३८ पेजको राजनीतिक प्रतिवेदनको जवाफमा पुनः ४० पेजको बेग्लै दस्ताबेज पेस गरेर प्रचण्डले प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट हटाउनुको औचित्य पुष्टि गर्ने तयारी गरिरहेको नेताहरूको भनाइ छ । प्रचण्डले यसअघिको बैठकमै त्यसबारे केन्द्रीय सदस्यहरूलाई जानकारी गराएका छन् ।

त्यस्तै, प्रचण्ड–नेपाल नेकपाले प्रधानमन्त्री ओलीले विघटन गरेको प्रतिनिधिसभा पुनस्र्थापनाको मागलाई महत्वको एजेन्डा बनाएर छलफल गर्दै छ । संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको राजनीतिक, कानुनी र संवैधानिक रूपमा प्रतिवाद गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय छ ।

संसद पुनस्र्थापनाका लागि कानुनी लडाइँका लागि मंगलबार प्रचण्ड–नेपाल समूहका सांसदहरूले ९० जनाको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिटसमेत दायर गरेका थिए । बैठकमा पुनस्र्थापनाको मागका लागि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग मिलेर चलाइने आन्दोलनका कार्यक्रमदेखि पार्टीका तर्फबाट गरिने कार्यक्रमका स्वरूपबारे समेत छलफल गर्ने तयारी छ ।

स्थायी कमिटी सदस्य बेदुराम भुसालले बैठकले प्रतिनिधिसभा पुनस्र्थापनाको आन्दोलनको स्वरूप र खाकाबारे निर्णय गर्ने जानकारी दिए । ‘प्रतिनिधिसभा पुनस्र्थापनाका सन्दर्भमा गरिने आन्दोलनको खाकाबारे बैठकले निर्णय गर्ने सम्भावना छ,’ भुसालले भने । सोमबारसम्म राजधानीमा ठूलो प्रदर्शन गर्ने प्रचण्ड–नेपाल समूहकोे तयारी छ । 

मंगलबार बसेको बैठकले प्रधानमन्त्री ओलीले पार्टी हित र एकताविरुद्ध काम गरेको अभियोग लगाउँदै पार्टी अध्यक्ष पदबाट हटाउने कारबाही गरेको थियो । बैठकले ओलीको रिक्त पदमा पूर्वएमाले समूहको तर्फबाट वरिष्ठ नेता नेपाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको थियो । 

संगठनको क्षेत्रमा के गर्दै छ प्रचण्ड–नेपाल समूह ? 

प्रचण्ड–नेपाल नेकपाको बैठकमा संगठनात्मक कार्ययोजनासम्बन्धी एजेन्डामा पनि छलफल गर्ने तयारी छ । महासचिव विष्णु पौडेलले प्रधानमन्त्री ओलीलाई समर्थन गरेकाले प्रचण्ड–नेपाल समूह पार्टी कार्यालय, बैठक सञ्चालनदेखि दैनिक कार्यसम्पादनका लागि तत्काल महासचिव चयन गर्नुपर्ने दबाबमा परेको छ । तर, तत्काल पदाधिकारी थप्ने सम्भावना कम छ । 

प्रचण्ड–नेपाल समूहले सचिवालयदेखि केन्द्रीय कमिटीसम्म, विघटित संसदीय दलमा पनि बहुमत भएकाले संस्थापन समूहको दाबी गरेको छ । यो तर्कका आधारमा अध्यक्षद्वय प्रचण्ड र नेपालले पौडेलको स्थानमा महासचिव पूर्वएमाले समूहबाटै बनाउने प्रारम्भिक समझदारी गरेका छन् । पौडेलले पूर्वएमाले समूहकै प्रतिनिधित्व गर्थे । तर, केन्द्रीय कमिटीबाट चयन गर्ने कि स्थायी कमिटीबाट भन्ने टुंगो नलागिसकेको एक स्थायी कमिटी सदस्यले बताए । ‘यो बैठकले रिक्त स्थानमा पदपूर्ति गर्दैन,’ स्थायी कमिटीका एक सदस्यले भने ।

यद्यपि, पूर्वएमाले समूहबाट सुरेन्द्र पाण्डे र पूर्वमाओवादी समूहबाट जनार्दन शर्माले महासचिवमा दाबी पेस गरेका छन् । ‘सम्भवतः महासचिवसहित केन्द्रीय सचिवालय, रिक्त स्थायी कमिटी सदस्यको पदपूर्तिलगायतका विषयमा केन्द्रीय कमिटीले स्थायी कमिटीले नै टुंगो लगाउने गरी जिम्मा लगाउन सक्नेछ,’ ती नेताले भने । 

रामबहादुर थापाले ओली समूहलाई सहयोग गर्ने भएपछि प्रचण्ड–नेपाल दोस्रो पुस्ताका नेतालाई महासचिव बनाउने छलफलमा छन् । 

प्रचण्ड–नेपाल समूहले सातवटै प्रदेश र जिल्लामा भेला तथा प्रतिनिधिसभा पुनस्र्थापनासम्बन्धी आन्दोलन सुरु गरिहाल्नुपर्ने बाध्यताका कारण ओली समूहमा लागेका केन्द्रीय सदस्यहरू रिक्त रहेका प्रदेश र जिल्लाहरूमा केन्द्रीय कमिटी बैठकबाटै इन्चार्ज र सहइन्चार्ज तोक्ने गरी गृहकार्य पनि भएको छ । ‘बैठकमा त्यससम्बन्धी ठोस प्रस्ताव नै गर्ने गरी अध्यक्ष नेपाल र प्रचण्डबीच समझदारी भएको छ,’ स्थायी कमिटीका एक सदस्यले भने, ‘विवाद जन्मिने अवस्था नभए केही जिम्मेवारी तोकिनेछन् ।’ 

ओली समूह संगठन विस्तार र निर्वाचन तयारीतिर

मंगलबार सम्पन्न केन्द्रीय कमिटी बैठकलगत्तै नेकपाको ओली समूह संगठन विस्तार र निर्वाचनको तयारीमा जुटेको छ । बिहीबार बस्ने बैठकमा त्यसबारे केन्द्रीय सदस्यलाई बालुवाटारमा डाकिएको बैठकमा प्रशिक्षण दिने गरी ओली समूहले गृहकार्य गरेको छ । प्रचण्ड–नेपाल समूहले जस्तै ओली नेकपाले पनि रिक्त रहेका प्रदेश र जिल्लाहरूमा तत्काल इन्चार्ज र सहइन्चार्ज तोकेर बैठक, भेला र प्रशिक्षणमूलक तयारीलाई तीव्रता दिने गरी आन्तरिक गृहकार्य गरेको छ ।

सातवटै प्रदेशमा प्रशिक्षण चलाउनका लागि यो समूहले प्रशिक्षकहरूको जिम्मेवारीसमेत तोकिसकेको छ । जसअनुसार सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डेलाई प्रशिक्षकको जिम्मेवारी दिइएको छ । त्यस्तै, कर्णाली प्रदेशमा शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य, गण्डककी प्रदेशमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङ र सीता पौडेल, बागमती प्रदेशमा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल प्रशिक्षक तोकिएका छन् ।

त्यस्तै, प्रदेश २ मा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल, जुलीकुमारी महतो र प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्बाहाङ्फेलाई प्रशिक्षकको जिम्मेवारी दिइएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । 

बिहीबार डाकिएको बैठकमा भने संगठन विस्तार र निर्वाचन तयारीमै केन्द्रित रहेर प्रशिक्षण दिइने ज्ञवालीले बताए । ‘मंगलबार समय नपुगेकाले मूलतः प्रशिक्षणकै तहमा बैठक गरिनेछ, अब गरिने कामका चरणहरूबारे पनि छलफल हुन्छ,’ प्रवक्ता ज्ञवालीले भने, ‘हामी एकसूत्रीय हिसाबले संगठन विस्तार र निर्वाचनको तयारीमै केन्द्रित हुन्छौँ । तर, त्यसका लागि कसरी जाने भन्नेबारेमै केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिइनेछ ।’ 

लगत्तै जिल्ला र क्षेत्रहरूमा प्रतिनिधिसभा विघटनको परिस्थिति निम्तिनुका पछाडिका कारण र ताजा जनादेशमा जानुपर्ने बाध्यताबारे जनताकै तहमा प्रस्ट्याउने गरी अघि बढ्ने नेकपा ओली समूहको तयारी छ । यद्यपि, संगठन विस्तारबारे बिहीबारकै बैठकमा ठोस कार्ययोजनामाथि नै केन्द्रित रहेर भने छलफल नहुने ज्ञवालीले बताए । उनका अनुसार अहिलेको अन्योल बिस्तारै चिरिने परिस्थिति बनेपछि ठोस कार्ययोजना बनाउन बेग्लै केन्द्रीय कमिटी बैठक राखिनेछ । 

बालुवाटारमा मंगलबार सम्पन्न ओली समूहको केन्द्रीय कमिटी बैठकले पार्टीको महाधिवेशन अर्को २ देखि ७ मंसिरमा काठमाडौंमा गर्ने निर्णय गरेको थियो । त्यस्तै, बैठकले ११ सय ९९ केन्द्रीय कमिटी चयन गरेको थियो । बैठकले परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीलाई प्रवक्ता तोकेको थियो । 

प्रचण्ड–नेपाल समूहले अध्यक्ष ओलीलाई कारबाही गरे पनि यो समूहले भने प्रचण्ड–नेपालसहित कुनै पनि नेतालाई कारबाही गरेको छैन । ओली समूहले आफ्नै समूहले आधिकारिकता पाउने भन्दै अर्को समूहका नेता–कार्यकर्ता कसैलाई पनि व्यक्तिगत लाञ्छना नलगाउने गरी गालीगलौज नगर्न आन्तरिक सर्कुलर नै गरेको छ ।

‘हामीले काम गर्ने हो, विचारका कुरा गर्ने हो, अर्को समूहका कुनै पनि नेता–कार्यकर्ता बिझाउने गरी लाञ्छित गर्ने, गालीगलौज गर्ने काम नगर्नुस्, आफ्ना मान्यता मात्र स्थापित गर्ने कोसिस गर्नुस्, परिस्थितिले फेरि एकीकरण हुन सक्छ भन्ने समूहलाई ध्यान दिएर स्पेस राख्ने काममा कुनै कमजोरी नगर्नुस् भनेर माथिबाटै सर्कुलेट गरेका छौँ,’ ओली समूहका स्थायी कमिटीका एक सदस्यले भने ।

खुल्दै बादल, वामदेव तत्काल नखुल्ने 

गृहमन्त्री रामबहादुर थापा बादल अन्ततः ओली नेकपामै खुल्ने भएका छन् । प्रधानमन्त्री ओलीसँग बुधबार भएको लामो छलफलपछि बादल उनकै समूहमा खुल्न सहमत भएका हुन् । 

स्रोतका अनुसार बादल बिहीबार बस्ने ओली समूहको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने र उनलाई ओलीपछिको दोस्रो वरीयताको नेता बनाउने समझदारी जुटेको छ । बादलनिकट स्रोतले पनि उनी अन्ततः ओली समूहको नेकपामै खुल्ने गरी प्रधानमन्त्री ओलीसँग समझदारी भएको जनाएको छ । 

उपाध्यक्ष वामदेव गौतम भने कम्तीमा निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता टुंगो नलागेसम्म कतै नखुल्ने र त्यसवेलासम्म पार्टी एकताकै लागि भूमिका खेल्ने अडानमा देखिएका छन् । 

प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका स्थायी कमिटी सदस्य रघुवीर महासेठ फेरि ओली समूहमा फर्किएका छन् । मंगलबार साँझ प्रधानमन्त्री ओलीसँगको छलफलपछि उनी पुरानै समूहमा फर्किएका हुन् । उनलाई ओली समूहले प्रदेश २ मा प्रशिक्षणका लागि प्रशिक्षकको जिम्मेवारीसमेत दिएको छ ।