१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o८:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रेमविवाह गरेको भन्दै दाजुले गरे बहिनीको हत्या

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:२३:oo

आफैँले रोजेको केटासँग प्रेमविवाह गर्दा साकेला गाउँपालिका– १ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ । पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको हत्या गरेको खुलासा भएको हो । 

करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेकी सकुन्तलाले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ९ निर्मलीडाँडाका २६ वर्षीय दिनेश कटवालसँग प्रेमविवाह गरेकी थिइन् । विवाह गरेको तीन दिनपछि सोमबार दाजु सञ्जीवले बहिनी सकुन्तलाको घरैबाट उनलाई जंगलमा लगेर हत्या गरेको खुल्न आएको हो । 

हत्या हुनुभन्दा अघिल्लो राति दाजु सञ्जीवको फोनबाट पटकपटक धम्की आइरहेको र बिहान आफैँ हाम्रो घरमा आएर सकुन्तलालाई लगेर हत्या गरेको उनका श्रीमान् दिनेशले बताए । ‘हाम्रो घरायसी व्यवहार छ भन्दै दाजु सञ्जीवले सकुन्तलालाई साथैमा लगेर जानुभयो,’ उनले भने, ‘घरबाट हिँडेको केही समयपछि नै सकुन्तलासँग फोन सम्पर्क नभएपछि खोजतलास गर्दा सेखुवा र निर्मलीडाँडाको सिमानामा पर्ने साप्सुखोलानजिकैको जंगलमा हत्या भएको अवस्थामा फेला पर्‍यो ।’

भिनाजुको घरबाट हिँडेको करिब एक घन्टामै दिदीको हत्या भएको हुन सक्ने सकुन्तलाका भाइ समीर राईले बताए । ‘दाजु सञ्जीवले दिदीलाई जंगलमा लगेर कुट्दै गरेको भेडा गोठालाले देखेका रहेछन्,’ उनले भने, ‘आफूले रोजेको केटासँग विवाह नगरी अर्कै केटासँग विवाह गरेको झोँकमा हत्या गरिएको छ । हत्यामा संलग्न दाजु सञ्जीवलाई कडाभन्दा कडा कारबाही गरियोस् ।’

विद्यालय तहको अध्ययन गर्दादेखि नै प्रेम सम्बन्धमा रहेका दिनेश वैदेशिक रोजगारीको सिलसिलामा तीन वर्ष मलेसिया बसेर हालै घर आएका थिए । भाइ समीरका अनुसार सकुन्तला प्रेमी दिनेश वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया रहेको समयमा काठमाडौंमा सिलाइ/कटाइ पेसा गर्दै आएकी थिइन् ।  

केही समयअगाडि मात्रै माइतीघर सेखुवा आएकी सकुन्तलाले आफूसँग पनि दाजु सञ्जीवले ‘मैले रोजेको केटासँग विवाह गर्नुपर्छ’ भन्दै दबाब दिने गरेको जानकारी दिएको भाइ समीरले बताए ।  सकुन्तलासँग तीन दिनअघि मात्र विवाह गरेका दिनेशले पनि श्रीमतीको हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग गरेका छन् ।  रासस

    

ad
ad