
धादिङ अस्पतालमा पहिलोपटक भेन्टिलेटर सेवा जडान गरिएको छ । सोमबार बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले एक कार्यक्रमबीच भेन्टिलेटरसहितको आइसियू कक्ष उद्घाटन गरे ।
सघन उपचार कक्ष उद्घाटन गर्दै उनले धादिङ अस्पताललाई अझ सुविधासम्पन्न अस्पताल बनाउने प्रतिबद्धता व्यक्त गरे । ५० श्यया क्षमता भएको अस्पताल भएर पनि भौतिक संरचना, उपकरण तथा जनशक्ति अभावका कारण समस्या झेल्दै आएको भन्दै उनले अब डायलासिस, मुटु रोगसम्बन्धी सेवा विस्तार गर्न सघाउने बताए ।
धादिङ अस्पतालले लामो समयदेखि भौतिक संरचना अभाव झेल्दै आएको छ । हाल सञ्चालन भइरहेको स्थानमा भवन निर्माण गर्न पर्याप्त जमिन छैन । तर, मन्त्री दुलालले अन्यत्र जग्गा व्यवस्थापन गरेर भए पनि भवन निर्माण गर्ने जनाए । साथै, उपकरण तथा जनशक्ति व्यवस्थापनमा पनि प्रदेश सरकारले सहयोग गर्ने उनले बताए ।
रेफरलको दाग मेट्छौँ– अध्यक्ष धमला
सामान्य बिरामीबाहेक प्रायः बिरामीहरूको उपचार गर्न काठमाडौंलगायत अन्यत्र ठाउँमा रेफर गर्ने धादिङ अस्पतालको सेवामा सुधार आउन थालेको छ । केही महिनायता सेवालाई चुस्त–दुरुस्त तथा गुणस्तरीय सेवा प्रवाह भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले बताए ।
‘धादिङ अस्पताललाई रेफर अस्पतालको दाग लागेको छ । तर, सेवा तथा सुविधा प्रवाहमा कमी गरेका छैनौँ,’ उनले भने, ‘विशेषज्ञसहितको सेवा, शल्यक्रियाबाट प्रसूति सेवा तथा अन्य उपकरण र प्रविधिसहित सेवालाई नयाँ ढंगले सञ्चालन गरिरहेका छौँ ।’ उनले बागमती प्रदेशअन्तर्गत सामाजिक विकास मन्त्रालयमार्फत अस्पताललाई चारवटा भेन्टिलेटर र १० बेडको आइसियू प्राप्त भएको जानकारी दिए । दुईवटा भेन्टिलेटर आउन बाँकी रहेको पनि उनले बताए ।