
कांग्रेस नेता गगन थापाले अहिलेको अवस्था सिर्जना हुनुमा नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको दोष रहेको बताएका छन् । सरकारले प्रतिनिधिसभा विघटन गरी चुनावको घोषणा गरेको विरोधमा बानेश्वरस्थित एभरेष्ट होटेलअगाडि आयोजित विरोध सभामा थापाले भने, ‘आज यो अवस्था आउनुमा केपी ओलीको मात्रै हाेइन, प्रचण्ड र माधव नेपालको हुतिहारापनकाे पनि दोष छ ।’
उनले संविधान र संसद् प्रधानमन्त्रीको अहंकारी प्रवृत्तिको सिकार भएको बताए । ‘मैले प्रचण्डलाई तपाईंको प्रधानमन्त्री बिरामी हुनुहुन्छ, विश्राम दिनुस् भनेको थिएँ, सुन्नुभएन । तपाईंको प्रधानमन्त्री भ्रष्ट हुनुहुन्छ भन्दा मान्नुभएन, त्यसैगरी दुई–अढाई वर्ष बित्यो, उहाँहरूले वेलैमा संसदीय दलमा गएर अविश्वासको प्रस्ताव लगेको भए आज प्रतिनिधिसभा विघटन गर्ने हिम्मत केपी ओलीसँग हुन्थ्यो ?,’ थापाले प्रश्न गरे ।
नेता थापाले राष्ट्रपति विद्यादेवी भण्डारी अब देशको राष्ट्रपति नभई केपी ओली गुटको सदस्य भएको टिप्पणी गरे । ‘जुन संसद्ले प्रधानमन्त्री र राष्ट्रपति बनायो, त्यही संसदमाथि अपराध भएको छ, राष्ट्रपतिबाट आशा थियो, तर त्यस्तो भएन,’ उनले भने, ‘राष्ट्रपति प्रधानमन्त्रीको अपराधको साक्षी मात्रै हाेइन, साझेदार बन्नुभएको छ, त्यसैले बाध्य भएर सडकमा आउनुपरेको छ ।’
नेता थापाले संसदमा सम्बोधनका लागि प्रधानमन्त्रीले ‘म पाँच वर्ष देश चलाउँछु, तपाईं सुत्नुस्’ भन्ने अभिव्यक्ति दिएको सम्झिँदै भने, ‘तपाईं प्रधानमन्त्री भएको दिनदेखि म मात्रै हाेइन, कसैले पनि सुत्न पाएको छैन ।’