१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नवीन अर्याल काठमाडौं
२o८१ बैशाख ३० आइतबार o६:२७:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

समिट होटेलको ठाउँमा लक्जरी अपार्टमेन्ट

नयाँ भवनसहित बन्ने समिट होटेलमा १ सय १० कोठाहरू हुनेछन्, विदेशी बहुराष्ट्रिय चेन ब्रान्डलाई होटेल व्यवस्थापनको जिम्मेवारी सुम्पिने तयारी

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o६:२७:oo

ललितपुरको कुपण्डोलस्थित बहुचर्चित समिट होटेलको ठाउँमा सुविधासम्पन्न अपार्टमेन्ट ठडिने भएको छ । कोभिड–१९ का कारण समिटका सञ्चालकहरू लक्जरी होटेलसहित ‘एलिट क्लास’ अपार्टमेन्ट निर्माणको तयारीमा जुटिसकेका छन् । विश्वव्यापी रूपमा महामारीको प्रभाव पर्यटन क्षेत्रमा लामो समयसम्म देखिने पक्कापक्की भएपछि समिटका सञ्चालकहरू होटेलसहितको अपार्टमेन्ट बनाउन लागेका हुन् ।

करिब १८ रोपनी क्षेत्रफलमा लक्जरी होटेलसहित ‘प्रिमियम क्लास’को सर्भिस अपार्टमेन्ट र रेसिडेन्सियल अपार्टमेन्ट निर्माण गर्न लागेको समिटका सञ्चालक एवं एनई समूहका अध्यक्ष रविभक्त श्रेष्ठले बताए । अहिले भइरहेको होटेलको भवन भत्काएर नयाँ भवनमा होटेल र अपार्टमेन्ट सञ्चालन हुनेछन् । उनले भने, ‘इन्टरनेसनल चेनसँग सहकार्य गरी लक्जरी होटेल र सर्भिस अपार्टमेन्ट सञ्चालनमा ल्याउँछौँ । धनाढ्य वर्गलाई लक्षित गरेर रेसिडेन्सियल अपार्टमेन्ट बनाउनेछौँ ।’ अहिले भइरहेको समिट होटेलको अगाडिको भाग सकभर जोगाउने योजना रहेको उनले जानकारी दिए ।

काठमाडौं उपत्यकाको प्रिमियम स्थानमा रहेको समिट होटेलमा व्यावसायिक घरानाहरू चौधरी समूह, एनई समूह र समिट समूहको लगानी छ । सिजी र एनई समूहले आरएनआर हेरिटेज कम्पनीमार्फत समिटको ६० प्रतिशत सेयर हिस्सा खरिद गरेका हुन् । नेपालको हस्पिटालिटी उद्योगमा लामो विरासत बोकेको समिट होटेल ११ चैतमा गरेको लकडाउनयता बन्द अवस्थामै छ ।

अझै लामो समय विदेशी पर्यटक आउने सम्भावना न्यून देखिएकाले अपार्टमेन्ट बनाउने निष्कर्षमा पुगेको श्रेष्ठले बताए । ‘कोभिडपछि बन्द भएको होटेल कसरी चलाउने भनेर हामी सञ्चालकबीच छलफल हुँदा अपार्टमेन्ट बनाउने निष्कर्षमा पुग्यौँ,’ उनले भने, ‘हामीले अपार्टमेन्ट निर्माण गर्दा इतिहास बोकेको समिट होटेललाई बिर्सन हुँदैन, लक्जरी होटेल पनि सञ्चालनमा आउँछ ।’ नयाँ निर्माण गर्न लागिएको सर्भिस अपार्टमेन्ट पनि एक किसिमको हस्पिटालिटी नै भएको उनको भनाइ छ ।

समिट ब्रान्डबाटै होटेल सञ्चालनमा आए पनि बुटिक होटेलको ताज भने खोसिने भएको छ । उनी भन्छन्, ‘अपार्टमेन्ट आधुनिक डिजाइनमा निर्माण गरिनेछ भने होटेलमा हेरिटेज र आधुनिक डिजाइनको फ्युजन हुनेछ ।’ नेपालमा आएका हाई प्रोफाइल विदेशी पाहुनाको रोजाइमा पर्दै आइरहेको समिट होटेल सन् १९७८ मा डच समूहले सञ्चालनमा ल्याएका हुन् । यो होटेल सन् २०१२ मा नेपाली व्यवसायीहरूको स्वामित्वमा आइपुगेको हो ।

१८ रोपनी क्षेत्रफलमा फैलिएको होटेलको पछाडि खाली जग्गा रहेको छ । प्रिमियम लोकेसनमा भएको समिटलाई ०७१ चैतमा पत्रकार सम्मेलन गरी दुई वर्षभित्र ६० देखि ८० कोठाहरू थपेर स्तरोन्नति गर्ने सञ्चालकहरूले घोषणा गरेका थिए । समिटलाई विश्वस्तरको बुटिक होटेलमा रूपान्तरण गर्न करिब डेढ अर्ब रुपैयाँ लगानी गर्ने योजना थियो । तर, सञ्चालकहरूको बुटिक होटेल बनाउने योजनामा विनाशकारी भूकम्प र कोभिड महामारीले ब्रेक लगाइदिएको छ । 

अहिले सिंगापुरको कम्पनीले होटेल र अपार्टमेन्ट भवनको आर्किटेक डिजाइनको काम अन्तिम चरणमा पुर्‍याइसकेको श्रेष्ठले जानकारी गराए । ‘हामीले बनाउन लागेको सर्भिस र रेसिडेन्सियल अपार्टमेन्ट अहिलेसम्मकै लक्जरियस हुनेछ,’ श्रेष्ठको भनाइ छ, ‘होटेलमा पनि अन्तर्राष्ट्रिय चेनलाई व्यवस्थापनको जिम्मेवारी सुम्पिएर खर्चालु पर्यटक भित्र्याउने लक्ष्य छ ।’ डिजाइन फाइनल नभइसकेका कारण लक्जरी अपार्टमेन्टको लगानीको विषयमा अहिले यकिन भन्न नसकिने उनले बताए । 

अपार्टमेन्ट सहरको एलिट वर्गलाई बिक्री गरिने श्रेष्ठले सुनाए । सर्भिस अपार्टमेन्ट लामो समय बस्ने खर्चालु पाहुनाहरू (पर्यटक)लाई लक्षित गरेर सञ्चालन गर्न लागिएको हो । उनका अनुसार अझै अपार्टमेन्ट कतिमा बिक्री गर्ने भनेर मूल्य तय भइसकेको छैन । ‘अहिले डिजाइनको काम भइरहेको छ, सम्पूर्ण डिजाइनको काम सकेर लगानी यकिन भइसकेपछि बल्ल मूल्य तय हुनेछ,’ उनले भने, ‘सर्भिस अपार्टमेन्टको भाडा पनि पछि तोक्नेछौँ ।’

यस्तो हुनेछ समिट होटेल
नयाँ भवनसहित बन्ने समिट होटेलमा १ सय १० कोठाहरू हुनेछन् । विदेशी बहुराष्ट्रिय चेन ब्रान्डलाई होटेल व्यवस्थापनको जिम्मेवारी सुम्पिने तयारी छ । ‘अहिले हामीले इन्टरनेसनल चेनहरूसँग कुराकानी गरिरहेका छौँ, अझै फाइनल भइसकेको छैन,’ सञ्चालक रविभक्त श्रेष्ठले भने, ‘हामी होटेल व्यवस्थापनमा चर्चित ब्रान्ड भित्र्याउने  तयारीमा छौँ ।’

चौधरी ग्रुप र एनई ग्रुपको लगानी रहेको झम्सिखेलको होटेल भारतीय बहुराष्ट्रिय होटेल कम्पनी ताज ग्रुपको भिभान्ता ब्रान्डबाट सञ्चालनमा छ । चौधरी ग्रुपको एकल लगानी रहेको चीतवनको मेघौली सेराई रिसोर्ट ताज सफारीले व्यवस्थापन गरिरहेको छ । पछिल्लो समय नेपालमा सञ्चालनमा आएका होटेलको व्यवस्थापनमा विदेशी चर्चित ब्रान्ड भित्र्याउने क्रम बढ्दो छ ।

चौधरी ग्रुपसँग विश्वभरि लक्जरी होटेल सञ्चालन गरेको अनुभव छ । यो समूहले पहिल्यै अपार्टमेन्ट र हाउजिङमा पनि लगानी गरिसकेको छ । एनई समूहसँग पनि पाँचतारे सोल्टी, झम्सिखेलमा भिभान्तालगायत होटेल सञ्चालनको अनुभव छ । तीन व्यावसायिक घरानाले आ–आफ्नो अनुभवलाई समेटेर लक्जरी होटेलसहितको अपार्टमेन्ट निर्माण गर्न लागेका हुन् । 

यही समूहले कान्तिपथमा पाँचतारे अर्बन हाइराइज बुटिक होटेल र विशंखुनारायणमा इको रिसोर्ट सञ्चालन गर्ने घोषणा गरेको थियो । समिटसहित तीनवटा होटेलमा करिब ६ अर्ब लगानी हुने अनुमान थियो । सिजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले केही समयअघि कान्तिपथको जग्गामा भव्य सपिङ मलसहितको पाँचतारे होटेल सञ्चालन गर्न लागेको सुनाएका थिए । तर, पछिल्लो समय कान्तिपथमा होटेलभन्दा पनि लक्जरी सर्भिस तथा रेसिडेन्सियल अपार्टमेन्ट निर्माणको गृहकार्यमा जुटिरहेका छन् ।

ad
ad