मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७७ मङ्सिर २३ मंगलबार १९:५३:००
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

आठ वर्षमा सञ्चालनमा आयो जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन, पर्यटनमन्त्री भन्छन– अब धावनमार्ग पनि विस्तार हुन्छ

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ मङ्सिर २३ मंगलबार १९:५३:००

जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन सञ्चालनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मंगलबार एक कार्यक्रमबीच भवनको उद्घाटन गरेका हुन् । करिब ४२ करोडको लागतमा भवन निर्माण गरिएको हो । 

उद्घाटन कार्यक्रममा जनता समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतो, प्रतिनिधिसभा सदस्य जुलीकुमारी महतोलगायतको पनि उपस्थिति थियो । १५ असोज २०६९ मै भवन निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र निर्माण कम्पनी पप्पु एन्ड एनके  कन्स्ट्रक्सनबीच सम्झौता भएको थियो । १८ करोडमा टर्मिनलको फिनिसिङबाहेकका काम गर्ने गरी ठेक्का लिए पनि निर्माण कम्पनीले सम्झौताअनुसार तोकिएको समयमा काम गर्न सकेन । 

प्राविधिक समस्या, रकम अभावलगायतका कारण देखाउँदै टर्मिनल भवन निर्माण पटक–पटक लम्बिँदै आएको थियो । जनकपुर विमानस्थलका प्रमुख किरण गौतमले भने,‘ स्टिलबाटै निर्माण गर्नुपर्ने भएकाले नेपालकै लागि नयाँ प्राविधि थियो, यहाँका प्राविधिकहरूलाई त्यसबारेमा जानकारी थिएन, नयाँ प्राविधिक भएकाले बुझ्नै केही समय गयो । पछि भवनको नक्सा पनि केही परिर्वतन गरियो यस्ता कारणहरूले पनि भवन निर्माणमा ढिलाइ भयो ।’  

नयाँ टर्मिनल भवन सञ्चालनमा आएसँगै यात्रुहरूले भोग्दै आएको समस्या समाधान हुने उनले बताए । नयाँ टर्मिनल भवनमा पाँच सयसम्म यात्रु बस्न सक्ने व्यवस्था रहेको उनले बताए । आधुनिक टर्मिनल भवनमा एक सय ५० मोटरसाइकल, ८० वटा कार तथा जिप पार्क गर्न सक्ने क्षमताको पार्किङस्थल बनाइएको छ । टर्मिनल भवनमा स्तनपान कक्ष र धूम्रपान कक्षसमेत बनाइएको छ । 

जनकपुर विमानस्थलबाट अहिले दैनिक तीनवटा निजी विमान कम्पनीले सेवा दिँदै आएका छन् । बुद्ध एयरले दैनिक तीन, यती एयरले दैनिक दुई र श्री एयरलाइन्सले दैनिक एकपटक जनकपुरधाम–काठमाडौं उडान भर्दै आएको उनले बताए । 

विमानस्थलको धावनमार्ग विस्तार हुन्छ–मन्त्री भट्टराई 

टर्मिल भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री योगेश भट्टराईले १३ सय मिटर धावनमार्ग रहेको जनकपुर विमानस्थललाई १५ सय मिटरसम्म पुर्याउने बताए । जनकपुरमा हवाईयात्रुको संख्या बढ्दै गएको तथा जनकपुर विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्न धावनमार्ग विस्तार गर्ने योजना रहेको भट्टराईले बताए । 

धावनमार्ग विस्तार गर्ने योजनामा केन्द्र, प्रदेश र स्थानीय तीनै तहले काम गर्ने उनको भनाइ छ । ‘जनकपुर विमानस्थल संघीयताको सेतु हो’ भट्टराईले भने, ‘स्थानीय सरकार (जनकपुरधाम उपमहनगरपालिका)ले जग्गा र प्रदेश सरकारले केही लगानी गरेको खण्डमा संघीय सरकारले आफ्नोतर्फबाट आवश्यक रकम खर्च गरेर विमानस्थल विस्तारको काम निकटभविष्यमै सुरु हुन्छ ।’
जनकपुरधाम उपमहनगरपालिका मेयर लालकिशोर साहले जनकपुर विमानस्थलको नाम परिवर्तन गरी जनकपुरधाम विमानस्थल राख्नुपर्ने प्रस्ताव गरेकोमा मन्त्री भट्टराईले भने,‘ तपाईंहरू मन्त्रालयमा लिखित प्रस्ताव पठाउनुस्, नाम परिवर्तन गर्न सकिन्छ ।’

कार्यक्रममा प्रदेश २ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश राय यादवले लामो समयदेखि नेपाल–भारत सीमा बन्द रहेकाले पर्यटकको संख्यामा व्यापक कमी आएको बताए । मन्त्री यादवले बन्द रहेको सीमानाका खुलाउन मन्त्री भट्टराईसँग आग्रह गरेका थिए ।