१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
भारतको पलियाबाट फर्केर धनगढी बसपार्कमा अलपत्र नेपाली
तेजराज भट्ट काठमाडौं
Invalid date format o२:२१:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

रोजगारीका लागि भारत हिँडेका १३० जना ट्राभल एजेन्सीको ठगीले बाटोमै अलपत्र

Read Time : > 1 मिनेट
तेजराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o२:२१:oo

रोजगारीका लागि भारत हिँडेका एक सय ३० नेपाली ट्राभल एजेन्सीको ठगीका कारण बीचबाटोमै अलपत्र परेका छन् । उनीहरूले सोमबार धनगढी बसपार्कस्थित बर्दादेवी टुर एन्ड ट्राभल्स प्रालिबाट भारतीय बसको टिकट काटेका थिए । तर, यो ट्राभल्सले आफ्नो एक करोड ठगी गरेको भन्दै बसले लैजान नमानेपछि उनीहरू धनगढीबाट करिब ४५ किलोमिटर टाढा रहेको भारतको पलियाबाट मध्यराति फर्किन बाध्य भए ।

मुम्बई, बेंग्लोर, रत्नागिरीलगायतका विभिन्न ठाउँका लागि धनगढीमै टिकट काटेका नेपाली सोमबार बेलुका त्रिनगर नाकाबाट भारततर्फ लागेका थिए । ट्राभल एजेन्सीका एजेन्टले पलियाबाट गन्तव्यमा जाने अर्को बस चढाउने भन्दै उनीहरूलाई गौरीफन्टाबाट दुईवटा गाडीमा चढाएर पलिया पु¥याएको थियो । तर, भारतीय बस व्यवसायीले बर्दादेवीले टिकटको एक करोड खाइदिएको भन्दै त्यहाँबाट टिकट काटेका यात्रुलाई नलैजाने बतायो । निकै हारगुहार गर्दा पनि लैजान मानेन । बरु, मध्यरातमा बसले गौरीफन्टा नाका ल्याएर छाडिदियो ।

मुम्बई जान टिकट काटेका कैलालीको घोडाघोडी नगरपालिका– ६ का मोहनसिंह खड्काले गौरीफन्टाबाट हिँड्दै राति एक बजे धनगढी आइपुगेको बताए । ‘बेलुकी सात बजे पलिया पुगेका थियौँ, केहीबेरमा बस आउँछ भनेर १०–११ बजेसम्म कुराइयो,’ उनले भने, ‘बस त आयो तर बर्दादेवी ट्राभल्सले टिकट काटेको करोड रुपैयाँ दिएको छैन, त्यहाँबाट टिकट काटेकालाई लग्दैनौँ भन्दै बसवालाले राति नै गौरीफन्टा नाकामा ल्याएर छाडिदियो । त्यहाँबाट हिँड्दै धनगढी आइपुग्यौँ ।’ बर्दादेवीबाटै टिकट काटेका केही नेपाली अझै पलियामा रहेको उनले बताए । 

गौरीफन्टा पुगेका नेपालीले भारतीय सुरक्षाकर्मीलाई आग्रह गरेर राति नाका खुलाएका थिए । उनीहरू हिँड्दै धनगढी बसपार्क पुगे, त्यहाँ पनि रातभर अलपत्र परे । श्रीमान् र चार वर्षीय छोरासँगै भारतको बेंग्लोर जान हिँडेकी कञ्चनपुर झलारीकी आना भाटले बसपार्कमा रातभर भुइँमै सुतेको बताइन् । ‘सानो बच्चा छ, ओढ्ने–ओछ्याउने केही थिएन, चिसोमा भुइँमै रात बितायौँ,’ मंगलबार साँझ बसपार्कमै भेटिएकी उनले भनिन् । ट्राभल एजेन्सीले आफूहरूलाई ठगेको उनले बताइन ।

ट्राभल एजेन्सीले पीडितहरूलाई मंगलबार बेलुकासम्म न टिकट काटेको रकम फिर्ता दिएको छ, न जाने व्यवस्था नै मिलाइदिएको छ । पीडितहरूले जिल्ला प्रहरी कार्यालयमा ट्राभल एजेन्सीविरुद्ध ठाडो उजुरी दिएका छन् । ‘अहिलेसम्म न टिकटको पैसा फिर्ता पाएका छौँ, न टिकट काट्नेले जाने व्यवस्था नै गरिदिएको छ,’ भाटले भनिन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रतीक विष्टले पीडितको ठाडो निवेदनका आधारमा बर्दादेवी टुर एन्ड ट्राभल्स प्रालिका सञ्चालक र एजेन्टसहित चारजनालाई नियन्त्रणमा लिइएको बताए । ‘हामी ठगियौँ, टिकटको पैसा फिर्ता पाउनुप¥यो भनेर बिहान ३०–३५ जनाले ठाडो निवेदन दिएर जानुभएको थियो,’ उनले भने, ‘पीडितबाट जाहेरी भने आएको छैन, चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ ।’ पीडितले भने प्रहरीले घटनालाई गम्भीरतापूर्वक नलिएको गुनासो गरेका छन् ।

बर्दादेवी ट्राभल्सले यसअघि पनि भारतको मुम्बई, बेंग्लोरलगायत सहरका लागि टिकट काटेर पठाएका नेपाली भारतका विभिन्न सहरमा अलपत्र परेका थिए । केही साताअघि मात्रै यहाँबाट टिकट काटेका ३३ जना गन्तव्यमा नपुग्दै भारतको विभिन्न सहरमा अलपत्र परेका थिए । टिकटको पैसा लिएर बीचबाटोमै अलपत्र पारेको भन्दै पीडितका आफन्तले प्रहरीमा गुनासो गरेका थिए । त्यतिवेला पनि सञ्चालकलाई पैसा फिर्ता गर्न भनिएको डिएसपी विष्टले बताए । 

स्वदेशमा रोजगारी नपाएर महामारीकै बीच भारत जान बाध्य विपन्न नेपालीबाट कोरोनाको कारण देखाएर ट्राभल एजेन्सीहरूले दोब्बर भाडा असुल्ने गरेका छन् । भारतीय बसको टिकट काट्न विभिन्न ट्राभल एजेन्सीका एजेन्टहरू बसपार्कदेखि नाकासम्मै खटिएका हुन्छन् । वारि टिकट नकाटे नाका पार गर्न गाह्रो हुने र पारि बस नपाइने त्रास देखाएर उनीहरूले वारि नै टिकट काट्न बाध्य पार्ने गर्छन् ।