१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १८:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

३३/११ केभीको लाँकुरी सबस्टेसन चार्ज, मन्त्री पुन भन्छन्– उज्यालो समृद्धिको प्रतीक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १८:२o:oo

रोल्पाको लाँकुरीमा नेपाल विद्युत् प्राधिकरणको ३३/११ केभी सबस्टेसन चार्ज भएको छ । ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले प्राधिकरणको पूर्ण स्वामित्वमा रोल्पा नगरपालिका– ३ लाँकुरीमा नवनिर्मित सबस्टेसनको सोमबार उद्घाटन गरेसँगै त्यसबाट विद्युत् वितरण सुरु भएको छ । योसँगै रोल्पाका अधिकांश क्षेत्रका ग्राहकले भरपर्दो विद्युत् सेवा पाउने भएका छन् । 

सबस्टेसन अभावमा यसअघि जिल्लामा पटकपटक विद्युत् सेवा अवरुद्ध हुने गरेको थियो । यसअघि रोल्पामा रहेको ३३ केभीको वितरण प्रणाली नयाँ बसस्टेसन सञ्चालनमा आएसँगै विस्थापित भएको छ । सबस्टेसनको सञ्चालनपछि एक स्थानमा समस्या हुँदा सबैतिर अँध्यारो हुने, प्राविधिक चुहावट कम हुने तथा उद्योग सञ्चालनका लागि विद्युत सेवा नियमित उपलब्ध हुने भएको छ । 

भारतको एटु–जेड इन्फ्रा इन्जिनियरिङ र नेपालको त्रिपुरेश्वर–जयदुर्गे जेभीले निर्माण गरेको उक्त सबस्टेसन एसियाली विकास बैंकको १० करोड रुपैयाँको सहयोगमा निर्माण सम्पन्न भएको हो । सबस्टेसनबाट रोल्पाका सुनील स्मृति गाउँपालिका, लुङ्ग्र गाउँपालिका, सुनछहरी गाउँपालिका, रुन्टिगढी गाउँपालिका र रोल्पा नगरपालिकाका ग्राहकले विद्युत् सेवा पाउनेछन् । यसअघि रोल्पामा  प्युठानको झिम्रुक सबस्टेसनबाट विद्युत् वितरण हुँदै आएको थियो । 

उज्यालो समृद्धिको प्रतीक : मन्त्री 
सबस्टेसन उद्घाटन कार्यक्रममा मन्त्री पुनले आगामी दुई वर्षभित्र देशका अधिकांश भूभागमा विद्युतीकरण गरिसक्ने बताए । उज्यालो समृद्धि र विकासको प्रतीक भएकाले सरकारले उज्यालोलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो । ‘उज्यालो समृद्धिको प्रतीक हो, समृद्धिको ढोका हो,’ मन्त्री पुनले भने, ‘सरकारले दुई वर्षभित्र हरेक नेपालीको घरमा विद्युत् पुऱ्याउने गरी काम गरिरहेको छ ।’ 

मन्त्री पुनले रोल्पामा बन्न लागेको एक सय ५६ मेगावाटको माडी जलाशययुक्त आयोजनाको विस्तृत आयोजना अध्ययन करिब सकिएकाले छिट्टै निर्माणको प्रक्रिया अघि बढ्ने जानकारी दिए । 
 

ad
ad