मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ माघ ९ शुक्रबार
  • Friday, 22 January, 2021
ad
२०७७ मङ्सिर १६ मंगलबार ०२:४७:००
फ्रन्ट पेज प्रिन्ट संस्करण

बिरामी छन् सरकारी अस्पताल 

२०७७ मङ्सिर १६ मंगलबार ०२:४७:००

उदाहरण

जिल्ला : आठ डाक्टरको दरबन्दी भएको हुम्ला अस्पताल एकजना करारका डाक्टर र प्रशिक्षार्थीका भरमा सञ्चालित  

प्रदेश : प्रादेशिक अस्पताल जनकपुरमा ११ जना विशेषज्ञ डाक्टरको दरबन्दी छ, तर एउटा पनि पदपूर्ति छैन

केन्द्र : वीर र शिक्षण अस्पतालमा नै चिकित्सकको अभाव, ४० घन्टा ड्युटी तोकिएका डाक्टर ९६ घन्टासम्म सेवामा

महामारीमा : गत चैतमा वीर अस्पतालको अक्सिजन प्लान्ट बिग्रिएको थियो । ३५ लाखमा बन्ने प्लान्ट ९ महिनासम्म बन्न सकेन

सरकारले अस्पताल नभएका सबै स्थानीय तहमा पाँचदेखि १५ शय्यासम्मका आधारभूत अस्पताल निर्माण गर्ने महत्वाकांक्षी योजना सुरु गरेको छ । तर, जिल्लादेखि केन्द्रसम्म भएका अस्पतालमा जनशक्ति पु¥याउने तथा भौतिक संरचना बनाउनेतर्फ भने ध्यान दिएको छैन ।

भैरहवास्थित भीम अस्पताल र जाजरकोट अस्पतालमा सरकारी दरबन्दीका एकजना डाक्टर पनि छैनन् । जब कि भीममा ११ जना र जाजरकोटमा ६ जना विशेषज्ञ डाक्टरको दरबन्दी छ । त्यस्तै, आठ डाक्टरको दरबन्दी भएको जुम्ला अस्पताल एकजना करारका डाक्टर र प्रशिक्षार्थीका भरमा चलिरहेको छ । प्रदेशस्तरका अस्पतालमा ११ जना विशेषज्ञ डाक्टरको दरबन्दी भए पनि एउटा पनि पदपूर्ति छैन ।

भैरहवास्थित भीम अस्पताल करारमा नियुक्त डाक्टरको भरमा चलिरहेको छ । विद्यार्थीलाई करारमा भर्ना गरेर विशेषज्ञ डाक्टरको आवश्यकता पूरा गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा. शकुन्तला गुप्ताले बताइन् । 

पछिल्लो समय लुम्बिनी प्रदेश सरकारले भीम अस्पताललाई कोभिड अस्पताल बनाएको थियो । त्यससँगै करारमा डाक्टर भर्ना गरेर अस्पताललाई व्यवस्थित गराउन थालिएको मेडिकल सुपरिटेन्डेन्ड डा. गुप्ताको बताइन् । अस्पतालमा उपलब्ध उपकरणअनुसार सबै परीक्षण हुने गरेको सूचना अधिकारी डा. नारायण पोख्रेलले बताए । ‘ल्याबमा स्थायी कर्मचारी नै छन्, अस्पतालमा परीक्षण गराउन आउने बिरामीहरूको सुरुको सबै परीक्षण गर्न सकिन्छ,’ उनले भने । त्यस्तै, सरकारले उपलब्ध गराएका ७३ वटै निःशुल्क औषधि अस्पतालले उपलब्ध गराएको सूचना अधिकारी पोख्रेलले बताए । 

जाजरकोट अस्पतालमा ६ जना विशेषज्ञ डाक्टरसहित ६३ स्वास्थ्यकर्मीको दरबन्दी छ । तर, एकजना डाक्टरको पनि पदपूर्ति गरिएको छैन । अस्पतालले एकजना एमडी डाक्टर नियुक्त गरेको छ । छात्रवृत्ति कोटामा पढेका तीन मेडिकल अधिकृत पनि कार्यरत छन् । 

सरकारी दरबन्दीमा १७ स्वास्थ्यकर्मी मात्र कार्यरत छन् । ५० शय्याको अस्पतालको भवन बनिरहेको छ । जनशक्तिको अभावमा एम्बुलेन्स सेवा, एक्स–रे सेवा बन्द छ । 

सात वर्षदेखि निमित्तको भरमा दोलखा जिल्ला अस्पताल

प्रमुख नहुँदा जिल्ला अस्पताल दोलखा सात वर्षदेखि निमित्तकै भरमा सञ्चालन भइरहेको छ । दशौँ तहको मेडिकल सुपरिटेन्डेन्टको दरबन्दी रहेको जिल्ला अस्पताल जिरी नेतृत्वविहीन छ । प्रमुख नभएपछि अस्पतालबाट प्रवाह हुने विशेषज्ञ सेवा लामो समयदेखि प्रभावित छन् । ०७० मा नियमित सरुवा भएर गएका तत्कालीन मेडिकल सुपरिटेन्डेन्टपछि हालसम्म जिल्ला अस्पतालमा आठौँ तहका मेडिकल अधिकृतले निमित्तको रूपमा काम गर्दै आएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । अस्पतालका निमित्त प्रमुख डा. राकेश श्रेष्ठले अस्पतालमा २७ जना कर्मचारीको दरबन्दी भए पनि ११ जना मात्रै छन् ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका जिरी नगरपालिकाका मेयर टंक जिरेलले पटक–पटक मन्त्रालय र मातहतका कार्यालयलाई जनशक्ति पठाउन अनुरोध गरे पनि त्यसको सुनुवाइ नभएको बताए । प्राविधिक उपकरणहरू सञ्चालन गर्ने जनशक्तिसमेत अभाव छ । अस्पतालमा ल्याब टेक्नेसियन, रेडियोग्राफर, ल्याब असिस्टेन्टजस्ता जनशक्ति वर्षौँदेखि नहुँदा पनि मन्त्रालयले अहिलेसम्म पठाएको छैन । प्राविधिक जनशक्ति अभाव हुँदा भएका उपकरणहरूसमेत सञ्चालनमा नआएपछि सामान्य परीक्षण गर्नसमेत बिरामीहरूले मोटो रकम खर्चेर निजी अस्पताल जानुपर्ने बाध्यता छ । 

मापदण्डअनुसार प्रायः सबै उपकरण भए पनि जनशक्ति अभावकै कारण प्रयोगमा आउन सकेका छैनन् । ६ वटा वार्ड रहेको १५ शय्याको जिरी अस्पतालमा कर्मचारी अभावकै कारण तोकिएका सेवाहरू प्रवाह गर्न कठिनाइ भएको निमित्त प्रमुख डा. श्रेष्ठले जनाएका छन् । उनले सयौँपटक कर्मचारी पठाउन अनुरोध गरे पनि मन्त्रालयले कर्मचारी नपठाएको बताए । बिरामीलाई बेहोस गराउने एनेस्थेसिया असिस्टेन्टको दरबन्दी वर्षौँदेखि रिक्त छ । सरकारले ७० प्रकारका औषधि निःशुल्क वितरण गर्न भने पनि बिरामीहरूलाई सबै प्रकारका औषधि वितरण गर्न नसकेको अस्पताल स्रोतले जनाएको छ । 

दमौली अस्पतालमा जीवनजल अभाव, बिरामी मिनिरल वाटर किनेर शौचालय जानुपर्ने बाध्यता 

जिल्लाकै ठूलो दमौली अस्पतालमा जीवनजलको समेत अभाव छ । अस्पतालमा जीवनजल र सामान्य औषधिसमेत नहुँदा बिरामी मर्कामा परेका छन् । एक महिना अगाडिदेखि जीवनजलको अभाव भएको अस्पतालका प्रशासन अधिकृत गुरुदत्त घिमिरेले बताए । ‘पछिल्लो समय अस्पतालमा जीवनजल लिन आउने बिरामीको संख्यामा वृद्धि भएको छ । तर, अस्पतालमा एक पोका पनि जीवनजल छैन । गण्डकी प्रदेशको आपूर्ति कार्यालयले निःशुल्क पाउने औषधि उपलब्ध नगराउँदा जीवनजल अभाव भएको हो,’ उनले भने । राज्यले ७२ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने भए तापनि अस्पतालमा अहिले पन्ध्र प्रकारका मात्रै औषधि उपलब्ध छन् । अस्पतालमा जीवनजल, सुगर, प्रेसर तथा मानसिक औषधिको अभाव भएको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुनील पौडेलले बताए । ‘अहिले अस्पतालमा औषधिको अभाव छ, तर हामीले औषधि मगाएका छौँ । अब एक हप्ताभित्र औषधि आउनेछ,’ उनले भने । 

अस्पतालमा पर्याप्त पानी नहुँदा समस्या भएको छ । उपचारका लागि आएका बिरामीले पिउने पानीसमेत पाएका छैनन् । बिरामी मिनिरल वाटर किनेर शौचालय जानुपर्ने बाध्यता छ । दैनिक ३० हजार लिटर पानी आवश्यक पर्ने भए पनि मुस्किलले पन्ध्र हजार लिटर मात्रै आपूर्ति हुने गरेको प्रशासन अधिकृत घिमिरेले बताए । १५ शय्याको दमौली अस्पतालमा ४२ वटा बेड सञ्चालनमा ल्याइएको छ । अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टसहित दुईजना मेडिकल अधिकृत रहेको प्रशासन अधिकृत घिमिरेले बताए । उनका अनुसार ल्याबको राम्रो व्यवस्था छ । पाँचजना प्राविधिक आवश्यक भए पनि दरबन्दी दुईवटा मात्रै छ । त्यसमा पनि एउटा प्राविधिक काजमा छन् । 

करार चिकित्सकले घानेको जिल्ला अस्पताल हुम्ला 

जिल्ला अस्पताल करार चिकित्सककै भरमा सञ्चालनमा छ । आठजना दरबन्दी रहेकोमा जिल्ला अस्पतालमा एकजना करार चिकित्सक र पाँचजना छात्रवृत्तिका चिकित्सक छन् । दुईजनाको पद रिक्त रहेको स्वास्थ्य सेवा कार्यालय हुम्लाका कार्यालय प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए । तीनजना स्टाफ नर्स पनि करारका छन् । एकजना गाउँपालिकाबाट करारमा स्टाफ नर्स खटाइएको छ । हालसम्म जिल्ला अस्पताल हुम्लामा एकजना पनि स्थायी चिकित्सक पुगेका छैनन् । स्थायी चिकित्सक एकजना पनि नखटाउँदा करार र छात्रवृत्तिका चिकित्सकले धान्दै आएका छन् । जिल्ला अस्पताल हुम्लामा थाइराइड, टिबी, स्टेडी, एक्स–रे ब्लड समूह छुट्याउने उपकरण राखिएका छन् । तर, स्थायी दरबन्दी नहुँदा पाँचजना करारकै कर्मचारीले चलाएका छन् । 

प्रादेशिक अस्पतालमै सुविधाको अभाव 

प्रादेशिक अस्पताल जनकपुरमा पनि दरबन्दीअनुसार कर्मचारी र उपकरणको अभाव छ । ११औँ तहका १० जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेकोमा अहिले एकजना पनि छैनन् । नवौँ–१०औँ तहका २५ जनाको दरबन्दी रहे पनि १७ जना, ११ जना मेडिकल अधिकृतमा ११ जना नै छन् । कोभिड कालमा नर्स भने दरबन्दीअनुसार छन् । २५ स्टाफ नर्सको दरबन्दी कोभिड कालमा पूरा भएको छ । अस्पताल विकास समितिमा सञ्चालन गरिएको सवा सय बेडका लागि एक सय ६२ जनाको दरबन्दी तोकिएको छ । तर, सरकारबाट एक सय ४० जना कर्मचारीको दरबन्दी तोकिएको छ । सरकारी दरबन्दीअनुसार सबै कर्मचारी अस्पतालमा कहिल्यै नआएको अस्पताल प्रमुख डा. नागेन्द्र यादवले बताए । 

तीन बिघा दुई कट्ठा क्षेत्रफल रहेको उक्त अस्पतालमा भौतिक पूर्वाधारको अभाव छ । अहिले अस्पतालले ओपिडी, फिजियोथेरापी, इमर्जेन्सी, इन्डोर, प्रसूति, सर्जिकल, कोरोना, मेडिसिन आइसियू, एक्स–रे, ल्याब, नर्सिङ कलेज, परिवार नियोजन सेवा, पोषण पुनस्र्थापना गृह, एनआइसियूलगायत सञ्चालन गर्दै आएको छ । प्रादेशिक अस्पताल जनकपुर पाँच सय शय्याको प्रस्ताव गरिए पनि अहिले एक सय बेडअनुसारको मात्रै दरबन्दी छ । विगतको भन्दा अस्पतालको सरसफाइमा सुधार देखिए पनि शवगृहको अवस्था बेहाल छ । शवगृहमा डिपफ्रिजलगायतका उपकरण नहुँदा शव गनाएर असर पर्ने गरेको छ । प्रहरीले कुनै स्थानबाट बेवारिसे शव ल्याउँदा शवगृहमा त्यत्तिकै राख्ने गरिन्छ । प्रदेश २ को मुख्य अस्पताल रहे पनि प्रादेशिक अस्पताल जनकपुरमा अहिलेसम्म भिआइपी कक्ष छैन । प्रदेश सरकार गठन भएको झन्डै तीन वर्ष हुन लाग्दा पनि प्रदेश सरकारको कुनै मन्त्री सेवा लिन प्रादेशिक अस्पताल जनकपुरमा आएका छैनन् । प्रदेश सरकारमातहत आएपछि अस्पतालको स्तरोन्नतिका लागि प्रदेश सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्ने प्रक्रिया सुरु गरेको छ । अस्पताललाई अब मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गरिने सामाजिक विकासमन्त्री नवलकिशोर साहले बताए । प्रतिष्ठान भएपछि अस्पताल सवा दुई सयबाट पाँच सय शय्याको हुने अस्पताल प्रमुख डा. यादवले बताए ।

भेरी अस्पतालमा दरबन्दी छ, चिकित्सक छैनन्, उपकरण पनि अभाव 

नेपालगन्जस्थित भेरी अस्पतालमा दरबन्दी भए पनि चिकित्सक छैनन् । साबिक मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रको रेफरल अस्पतालको रूपमा रहेको भेरी अस्पतालमा दरबन्दीअनुसार २२ जना चिकित्सक पूर्ति नहुँदा सरकारको नीतिअनुसारको स्वास्थ्य सेवा दिन नसकेको अस्पताल विकास समितिका अध्यक्ष प्रमोदकुमार धितालले बताए । उनले स्थायीतर्फ १८ र करारतर्फ १७ चिकित्सकको दरबन्दी रिक्त रहेको बताए । उनले डर्मा विभागतर्फ ११औँ तहका एक तथा नवौँ र दसौँ तहका दुईजना चिकित्सकको दरबन्दी भए पनि अहिलेसम्म चिकित्सक नआएको बताए । त्यसैगरी, अटोरिन विभागतर्फ ११औँ तहका एक तथा नवौँ र दसौँ तहका दुईजना दरबन्दी भए पनि चिकित्सक नभएको स्पष्ट पारे । जनरल डेन्टिस्टतर्फ नवौँ र दसौँ तहका एक चिकित्कको दरबन्दी भए पनि उक्त पद पनि खाली छ । डेन्टिस्टतर्फ आठौँ तहको एउटा कोटामा दुईजना कार्यरत रहेको अध्यक्ष धितालको भनाइ छ । 

प्याथोलोजी विभागतर्फ पनि दरबन्दीअनुसारका विशेषज्ञ प्राविधिक नभएको अस्पतालले जनाएको छ । प्याथालोजिस्टतर्फ नवौँ र दसौँ तहका दुईजना प्राविधिकको दरबन्दी भए पनि उक्त पद पनि खाली रहेको छ । अध्यक्ष धितालले एनेस्थेसियातर्फ नवौँ र दसौँ तहमा पनि दुईजनाको दरबन्दी भए पनि एकजना मात्र कार्यरत रहेको बताए । अस्पतालमा नवौँ र दसौँ तहका मेडिकल ल्याब टेक्निसियनको दरबन्दी पनि खाली छ । 

भेरी अस्पतालमा करारका चिकित्सकको दरबन्दी पनि खाली छ । ११औँ तहमा एकजना जनरल हेल्थ सहायकको दरबन्दी भए पनि पद खाली छ । आठौँ तहमा आठजना जनरल हेल्थ सहायकको दरबन्दी भए नौजना कार्यरत रहेको अध्यक्ष धितालले बताए । उनले अप्सगाइनेतर्फ ११औँ तहका एकजना चिकित्सकको दरबन्दी भए पनि उक्त पद खाली रहेको बताए । त्यसैगरी, नवौँ र दसौँ तहमा दुई सिटमा एकजना मात्र कार्यरत छन् । पिडिया र रेडियोलोजिस्टतर्फ एक–एकजनाको दरबन्दी भए पनि अहिलेसम्म दुवै पद रिक्त रहेको उनले बताए । पिडियातर्फ नवौँ र दसौँ तहमा आठजनाको दरबन्दी रहे पनि हाल एकजना मात्र कार्यरत छन् । 

अध्यक्ष धितालका अनुसार, मेडिसिन विभागतर्फ ११औँ तहका दुईजनाको दरबन्दी भए पनि हाल उक्त पनि रिक्त रहेको छ । नवौँ र दसौँ तहका आठ पदमध्ये सात पद रिक्त रहेको छ । सर्जरीतर्फ ११औँ तहको दुई दरबन्दी पनि खाली छ । भने, नवौँ र दसौँ तहको आठमध्ये दुई पदमा मात्र कर्मचारी कार्यरत छन् । ‘करार सेवातर्फ ११ औँ तहको आठवटा दरबन्दी पूरै रिक्त छ । नवौँ र दसौँ तहको २२ पदमध्ये चार पद मात्र पूर्ति भएको देखिन्छ । आठौँ तहमा १३ वटा दरबन्दी भए पनि नौजना मात्र कार्यरत छन्’ अध्यक्ष धितालले भने ।

संघीय सरकारको मातहतमा रहेको भेरी अस्पतालमा उपकरण अभाव छ । मिर्गाैलाको डायलाइसिस गर्न आठवटा मेसिन भए पनि चारवटा जडान छ । तीमध्ये एउटा प्रयोगविहीन अवस्थामा छ । दुईवटा जडान हुन बाँकी छ भने दुईवटा बिग्रिएर थन्किएको अवस्थामा छ । एउटा मेसिन आपत्कालीन अवस्थाका लागि राखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए । 

त्यसैगरी, बिरामीको चापअनुसार भिडियो एक्स–रे मेसिन र दक्ष जनशक्ति नहुँदा बिरामीले पालो कुर्नुपर्ने बाध्यता छ । एक दिनमा २० जनाको मात्र भिडियो एक्स–रे हुने गरेको छ । डायलाइसिस मेसिन नहुँदा हप्तामा मिर्गाैलाका २० जना बिरामीको मात्र डायलाइसिस हुने गरेको छ । झन्डै ४० बिरामी डायलाइसिसको पालो कुरेर बसेका छन् । 

भेरी अस्पतालमा एमआरआई सुविधा छैन भने सिटिस्क्यान पनि नाम मात्रको छ । एमआरआई मेसिन नहुँदा बिरामीहरू निजी अस्पताल र क्लिनिकमा जान बाध्य छन् । कमसल खालको सिटिस्क्यान मेसिन भएकाले टाउकोको सिटिस्क्यान मात्र हुने गरेको अस्पताल विकास समितिका अध्यक्ष धितालले बताए । 

भेरी अस्पतालको जनरल, सर्जरीलगायत वार्ड ९० वर्ष पुरानो भवनमा छ । वातानूकुलित नयाँ भवन निर्माण पूरा भएपछि पुरानो भवनमा रहेका वार्डलाई स्थानान्तरण गरी पुरानो भवनलाई भत्काएर नयाँ बनाउने योजना भएको मेडिकल सुपरिटेन्डेन्ट डा. थापाले बताए । एक सय ५० शड्ढयाको अस्पतालको जनरल, सर्जरी, ज्येष्ठ नागरिकलगायत वार्डलाई खुम्च्याएर १९ वार्डमा सीमित गरिँदै छ । फार्मेसीमा निःशुल्क वितरण गरिने औषधि रहेको भेरी अस्पताल फार्मेसीका प्रमुख पदमराज अर्यालले बताए । 

मेची प्रादेशिक अस्पतालमा जनशक्ति नहुँदा दुई भेन्टिलेटर थन्किए

झापाको भद्रपुरमा मेची प्रादेशिक अस्पताल र दमकमा जिल्ला अस्पताल छ । दुवै अस्पतालमा दरबन्दीअनुसार नियुक्ति छैन । बरु करारमा डाक्टर राखेर अस्पतालले सेवा दिइरहेका छन् । मेची अस्पताल ५० बेडको हो, २२ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ । तर, १४ जना मात्र कार्यरत छन् । ६ जना विशेषज्ञ चिकित्सक करारमा राखेर एक सय ३५ शय्याबाट बिरामीलाई सेवा दिइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पीताम्बर ठाकुरले बताए । 

‘दरबन्दीअनुसार चिकित्सक नहुँदा बिरामीको चाप थेग्नै मुस्किल हुने गरेको छ,’ डा. ठाकुरले भने, ‘यो अस्पताल डाक्टरहरूको रोजाइको अस्पताल परेन । त्यसकारण दरबन्दी हुँदाहुँदै पनि डाक्टरहरू आएका छैनन् ।’ सरकारी स्वीकृतिभन्दा करिब दुई गुणा बढी बेड सुविधा दिँदा झनै समस्या भएको उनले बताए । ‘सरकारले ५० बेडको जनशक्ति दिएको छ । तर, हामीले एक सय ३५ बेडको सेवा दिएका छौँ । यसका कारण पनि समस्या भएको छ । त्यहीमाथि दरबन्दीअनुसारका चिकित्सक छैनन्,’ डा. ठाकुरले भने, ‘अहिले त कोभिडलाई भनेर ५० बेड पनि थपिएको छ ।’ 

जनशक्तिको कमी हुँदा अस्पतालमा रहेको दुईवटा भेन्टिलेटर पनि चलाउन नसकिएको डा. ठाकुरले बताए । ‘साधारण अवस्थामा हामीसँग तीनवटा भेन्टिलेटर छन् । जसमध्ये दुईवटा कोभिड बेडमा लगिएको छ,’ उनले भने, ‘जनशक्ति नहुँदा दुईवटा भेन्टिलेटर चलाउन सकिएको छैन ।’

त्यस्तै, दमक अस्पताल १५ शय्याको हो । यहाँ पनि दरबन्दीअनुसारको जनशक्ति छैन । तीनजना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. खड्ग सुब्बा मात्रै कार्यरत छन् । पाँचजना चिकित्सक करारमा राखेर काम गरिरहनुपरेको उनले बताए । ‘करारमा राखेर भए पनि १५ बेडको अस्पतालबाट ३५ शय्याका सुविधा उपलब्ध गराइरहेका छौँ,’ डा. सुब्बाले भने, ‘तर, भवन सानो छ । अस्पतालछेउकै एउटा घर भाडामा लिएर काम गरिरहेका छौँ । एउटा भवन निर्माणको प्रक्रियामा छ । त्यसपछि अलिक सहज हुन्छ कि !’

प्रादेशिक अस्पतालमा सेवा सुध्रिँदै, तर दरबन्दी अझै अभाव

प्रदेश सरकारमातहत आएपछि सेवामा निकै सुधार भए पनि सेती प्रादेशिक अस्पतालमा विशेष चिकित्सकको अभाव भने कायमै छ । प्रदेशको एक मात्र ‘रेफरल’ अस्पतालका रूपमा रहेको सेतीमा मुटु रोग, मानसिक रोग र स्नायु रोग विशेषज्ञको दरबन्दी वर्षौँदेखि रिक्त छ । 

मानसिक रोग विशेषज्ञको दरबन्दी करिब चार वर्षदेखि रिक्त छ भने मुटु रोग र स्नायु रोग विशेषज्ञ स्थापनाकालदेखि नै रिक्त रहेको अस्पताल प्रशासनले जनाएको छ । सिटिस्क्यान नहुँदा बिरामीले समस्या भोग्नुपरेको छ । अस्पतालमा पाँच शड्ढयाको आइसियू र १० शड्ढयामा भेन्टिलेटरको सुविधा छ ।

सरकारबाट स्वीकृत ५० शड्ढया र अस्पताल विकास समितिका तर्फबाट ७५ गरी एक सय २५ शड्ढयाको अनुमति भए पनि हाल दुई सय ४४ शड्ढयाको सेवा अस्पतालले दिइरहेको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । सेवाग्राहीको चाप बढ्दै गए पनि वर्षौँ पुरानो दरबन्दी नगरिने मात्रै होइन, भएको दरबन्दीसमेत पूर्ति गरिएको छैन । 

अस्पताल विकास समितिबाट चिकित्सकीय जनशक्ति थप गरेर अस्पतालले सेवा दिइएको अध्यक्ष दुर्गाप्रसाद जोशीले बताए । रिक्त विशेषज्ञ समितिका तर्फबाट पूर्तिका लागि प्रक्रिया अगाडि बढेकोसमेत उनले बताए । 

तत्कालका लागि अत्यावश्यक ठानिएको सिटिस्क्यान मेसिन खरिदका लागि सम्झौता भइसकेको र पाँच महिनाभित्र त्यसको आपूर्ति हुने सूचना अधिकारी श्रेष्ठले बताए । प्रदेशका अन्य अस्पतालको तुलनामा सेवा सुविधा भएकाले सेती ‘रेफरल’ अस्पतालको रूपमा रहेको छ । दैनिक पाँच सयभन्दा बढी सेवाग्राहीले अस्पतालबाट सेवा लिने गरेका छन् ।

१५ दरबन्दीमा दुई चिकित्सक, जीवनजल पनि छैन अस्पतालमा 

सिराहा सदरमुकाममा रहेको ५० शय्याको जिल्ला अस्पतालमा जनशक्ति, उपकरण र औषधिको समेत अभाव छ । कतिसम्म भने १५ जनाको दरबन्दी रहे पनि दुईजना चिकित्सक मात्रै कार्यरत छन् । जिल्ला अस्पतालमा जीवनजल पाउन पनि मुस्किल हुन्छ । 

अहिले दशौँ तहका वरिष्ठ सर्जन डा. नागेन्द्र यादव निमित्त प्रमुख र मेडिकल अधिकृत सरविन्द मण्डल कार्यरत छन् । एघारौँ तहका मेडिकल सुपरिटेन्डेन्ट, पेडियाट्रिसियन, गाइनो, अर्थो सर्जन, साइक्याट्रिक, ऐनेस्थेसियोलोजिस्ट र रेडियोलोजिस्टको एक–एकजना र मेडिकल अधिकृत चारजनाको दरबन्दी छ । 

त्यस्तै, फिजियोथेरापिस्ट, ल्याब टेक्नोलोजिस्ट, नर्सिङ अधिकृत, नायव सुब्बा, लेखापाल, हेल्थ असिस्टेन्ट, फार्मेसी निरीक्षक, रेडियोग्राफर निरीक्षक, खरिदार र डार्करुम सहायकमा एक–एक तथा सिनियर अहेब तीन र स्टाफ नर्स पाँचजनाको दरबन्दी खाली छ । केही दरबन्दीमा अस्पताल विकास समिति र करारमा स्वास्थ्यकर्मी कार्यरत रहेको निमित्त मेसु यादवले बताए ।

जिल्ला अस्पताल भन पनि निःशुल्क वितरण गर्नुपर्ने औषधिसमेत छैन । निःशुल्क वितरण गर्नुपर्ने ७० मध्ये ३० प्रकारका औषधि मात्रै उपलब्ध छ । सालबुटामोल, एसिलक, जीवनजल, सेपट्राइजनजस्ता औषधिको समेत अभाव रहेको अस्पतालले जनाएको छ । 

यो अस्पतालमा खानेपानीको समेत अभाव छ । मेसिन बिग्रिएका कारण पानीको अभाव भएको अस्पतालले जनाएको छ । बिरामी र कुरुवालाई समेत पानी खान समस्या हुने गरेको छ । अहिले अस्पतालमा पिसिआर मेसिन जडान गरिँदै छ । त्यस्तै, आइसियू र भेन्टिलेटरको काम पनि भइरहेको छ । उपकरण जडान गर्न लागेको भए पनि जनशक्ति नभएको निमित्त मेसु यादवले बताए । यस्तै, ल्याबको हालत पनि राम्रो छैन । ल्याबका दुईवटा कल्चर मेसिन बिग्रिएका छन् । मर्मत–सम्भार नहुँदा जाँचका लागि बाहिर पठाउनु परिरहेको ल्याब टेक्निसियन शैलेन्द्र यादवले बताए । 

सामुदायिक अस्पतालमा छैनन् दरबन्दीअनुसार डाक्टर

पूर्वी नवलपरासीको मध्यबिन्दु जिल्ला अस्पतालमा दरबन्दीअनुसार कर्मचारी छैनन् । दुईजना मेडिकल अधिकृतसहित ३१ जनाको दरबन्दी भए पनि अहिले ६ जना मात्रै कार्यरत छन् । १५ शय्याको यो सामुदायिक अस्पताल हो । निमित्त मेकिडल सुपरिटेन्डेन्ट डा. सुनिलराज गौतमका अनुसार सरकारी दरबन्दीबाट एक मेडिकल अधिकृत, दुई स्टाफ नर्स तथा एचए, ल्याब टेक्नेसियन र मेडिकल रेकर्डर एक–एकजना मात्र कार्यरत छन् । अपुग भएका कर्मचारी निजी स्रोतबाट राखेर सेवा दिइएको उनले बताए । यसैबीच, पूर्वी नवलपरासीका गैँडाकोट र देवचुली नगरपालिका तथा बौदीकाली गाउँपालिकामा १५–१५ शय्याका अस्पताल शिलान्यास गरिएका छन् । 

बर्दियामा दरबन्दी छ, विशेषज्ञ डाक्टर छैनन् 

बर्दिया अस्पतालमा १० विशेषज्ञ डाक्टर, एक डेन्टल सर्जन र चार मेडिकल अफिसरसहित ५९ स्वास्थ्यकर्मीको दरबन्दी छ । तर, दुई मेडिकल अफिसर, एक डेन्टल सर्जन र एक फिजिसियनसहित ३२ जना मात्र कार्यरत छन् । 

गुलरिया नगरपालिकाको सहयोगमा एकजना सर्जन र निक साइमन इन्स्टिच्युटबाट एकजना विशेषज्ञ डाक्टरले अस्पतालमा करारमा सेवा दिइरहेका छन् । त्यस्तै, दुई मेडिकल अफिसर करारमा कार्यरत छन् । नेपाल सरकारको छात्रवृत्ति कोटामा तीनजना चिकित्सक पनि कार्यरत रहेको अस्पतालले जनायो । ‘विशेषज्ञ नहुँदा तोकिएजस्तो सेवा दिन सकिरहेका छैनौँ,’ अस्पतालका मेडिकल सुपरिडेन्टेन्ड डा. सुभाष पाण्डेले भने । अस्पतालमा मेडिकल ल्याब टेक्नोलोजिस्ट नहुँदा थाइराइड, कल्चरलगायतका टेस्ट हुन सकेका छैनन् । 

अस्पतालमा उपकरण भए पनि दरबन्दीअनुसारका विशेषज्ञ डाक्टर र प्राविधिक नहुँदा पर्याप्त प्रयोग हुन सकेका छैनन् । एनेस्थेसिया डाक्टर नहुँदा अस्पतालमा रहेको एनेस्थेसिया मेसिनको प्रयोग पूर्ण रूपमा हुन सकेको छैन । एनेस्थेसिया डाक्टर नहुँदा ठूला शल्यक्रिया हुन सकेका छैनन् । एनेस्थेसिया अस्टिेन्टको भरमा अहिले सामान्य शल्यक्रिया मात्र हुने गरेको मेडिकल सुपरिडेन्टेन्ड पाण्डेले बताए । 

त्यस्तै, रेडियोलोजिस्ट नभएका कारण जिल्ला अस्पतालमा भएको अल्ट्रासाउन्ड मेसिनको प्रभावकारी प्रयोग हुन सकेको छैन । गर्भवती महिलाको जाँचलगायतका सामान्य जाँचका लागि एमडिजिपी डाक्टरहरूले अल्ट्रासाउन्ड सेवा सञ्चालन गरे पनि अन्य सेवाका लागि नेपालगन्ज नै धाउनुपर्ने बाध्यता रहेको छ । अर्कोतर्फ, अस्पतालमा डिजिटल एक्स–रे मेसिन भए पनि रेडियोग्राफर नहुँदा सेवाग्राहीले सेवा पाउन सकेका छैनन् ।

त्यस्तै, अस्पतालमा ११ जना कार्यालय सहयोगीको दरबन्दी भए पनि एकजना मात्र स्थायी छन् । व्यवस्थापक बसन्त खनालका अनुसार अहिले २५ जना कार्यालय सहयोगी करारमा राखिएका छन् । ५० शड्ढयाको भए पनि बर्दिया अस्पतालमा भवनको अभाव छ । ०२८ सालमा बनेको पुरानो असुरक्षित भवनमा ओपिडी र इमरजेन्सी सेवा सञ्चालित छ । ०६६ सालमा बनेको नयाँ भवनमा इन्डोर, शल्यक्रियालगायतका सेवा सञ्चालनमा ल्याइएको छ । उपकरण राख्ने स्थानको समेत अभाव रहेको अस्पतालले जनाएको छ । २५ शड्ढयाको अस्पतालका लागि बनाइएको भौतिक संरचनामा ५० शड्ढया सञ्चालन गर्नुपर्दा समस्या भएको मेडिकल सुपरिडेन्टेन्ट सुभाष पाण्डेले बताए । डाक्टर र स्वास्थ्यकर्मीका लागि क्वाटर नहुँदा एकै क्वाटरमा दुई÷तीनजनासम्म कोचिएर बस्नुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । 

रंगेली अस्पतालको शय्या बढाएर प्रदेशमातहत ल्याइँदै

रंगेलीस्थित पुरानो जिल्ला अस्पताल अहिले स्थानीय तहमार्फत सञ्चालन भइरहेको छ । १५ शय्याको अस्पताललाई प्रदेश सरकारमातहत ल्याउन ५० शय्याको बनाउन धमाधम स्तरोन्नति भइरहेको छ । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. लोहेन्द्र पाण्डेका अनुसार रंगेली अस्पतालमा दैनिक एक सय ५० जना बिरामी उपचारका लागि आउने गरेका छन् । हाल अस्पतालमा एकजना विशेषज्ञ चिकित्सक, चार मेडिकल अफिसरसहित २५ स्वास्थ्यकर्मी कार्यरत रहेको उनले बताए । रंगेली नगरपालिकाले अहिले अस्पतालमा ३५ बेड सञ्चालन गरेर सेवा दिइरहेको छ ।