Skip This
महामारीको मारमा मिडिया
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर १४ आइतबार
  • Tuesday, 08 October, 2024
श्रवण उप्रेती काठमाडाैं
२o७७ मङ्सिर १४ आइतबार १o:२४:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

महामारीको मारमा मिडिया

Read Time : > 5 मिनेट
श्रवण उप्रेती, काठमाडाैं
नयाँ पत्रिका
२o७७ मङ्सिर १४ आइतबार १o:२४:oo

डिजिटल प्लेटफर्ममा लगानी बढाएका मिडिया सबल देखिएका छन्

तीव्र गति र स्तरमा विस्तारित कोभिड–१९ महाव्याधिको महासंकटले सबैजसो क्षेत्रलाई धेरथोर चपेटामा पारेको छ । यसमा पनि आमसञ्चार क्षेत्र सबैभन्दा कडा मार परेको क्षेत्रमध्ये एक हो । एकातर्फ, भाइरस नियन्त्रणका लागि अपनाइएका लकडाउन तथा भौतिक दूरीले समाचार संकलन, प्रशोधन तथा प्रकाशन/प्रसारणको क्षमतालाई सीमित बनाइरह्यो । अर्कातर्फ, पाठकलाई सुसूचित गर्ने र सरकारलगायत शक्तिको जवाफदेहिता माग गर्ने दायित्व अझ बढी मुखर भएर आइपर्‍यो । यद्यपि, कठिन अवस्थामा पनि सञ्चारमाध्यमले निकै प्रभावकारी भूमिका खेले । जारी संकटका बीच अधिकांश विकासोन्मुख देशमा भ्रष्टाचारमा वृद्धि भएको अनुसन्धानले देखाएका छन् । विपत्मा द्रुत विधि अपनाउने बहानामा भ्रष्टाचार एवं अनियमितता सजिलो बनेको छिपेको कुरा होइन । यस अवस्थाले पनि पत्रकारिता तथा मिडियाको आवश्यकता बोध गरायो ।

संकटको यो अवधिमा पारदर्शी प्रणालीको बलियो जग नबसिसकेको विकासोन्मुख मुलुकमा जिम्मेवार निकायमा बसेका मानिसले नाजायज लाभ उठाउने घटना बढेका छन् । नेपालजस्ता कमजोर स्वास्थ्य प्रणाली भएका मुलुकमा अपारदर्शी आपूर्ति शृंखलाको अर्थ गुणस्तरहीन मास्क, स्यानिटाइजर एवं अन्य स्वास्थ्य सामग्रीको बाढी नै हो । महाव्याधिका यी नौ महिनामा क्वारेन्टाइन, स्वास्थ्य सामग्री (पिपिई, टेस्टिङ किटलगायतमा) एवं उपकरणहरूको खरिदमा निकै ठूलो धनराशि खर्च भएको छ । महामारीले मिडियामाथि पारेको भार तथा मिडियाकर्मीको कटौती हुँदा यी विषयका खोजमा कमजोरी देखिए । यसै पनि कोभिड–१९ महाव्याधिका बीच सरकारले पत्रकारहरूलाई एकदमै कम सूचना मात्रै दिइरहेका छन् । सामान्य अवस्थामा विरोध एवं जनप्रदर्शन हुने विषयमा लकडाउन तथा संक्रमण जोखिमका कारण निर्बाध गतिविधि हुन पाएका छन् । जिम्मेवार अधिकारीहरूलाई गैरजिम्मेवार हुने अवसर मिल्यो । जसबाट नदेखिने वा नबुझिने गरी अनियमितता हुन पाएका छन् । अपारदर्शिता र जवाफदेहीविहीनताको चाङले पुरिएर यस्ता कैयौँ अनियमितता अब कहिल्यै उत्खनन हुन नसक्ने भएका छन् । शताब्दीमा एकपटक आउने खालको भनिएको अहिलेको महाव्याधिले समाजलाई आधारभूत रूपले बदल्दिएको छ । मिडिया पनि यसबाट अछुतो रहने कुरा भएन ।

आमसञ्चार क्षेत्र यसै पनि अनलाइन एवं सामाजिक सञ्जालहरूका कारण दबाब र कठोर प्रतिस्पर्धामा थिए । कोरोना भाइरसको विश्वव्यापी संकटले त मिडिया क्षेत्रको ल्यान्डस्केप नै परिवर्तन गरिदिएको छ । दैनिक अखबारहरू दुब्लाएका छन् । तर डिजिटल माध्यममा अभूतपूर्व वृद्धि देखिएको छ ।

मिडियाको क्षेत्रमा महामारीको पहिलो धक्का यस क्षेत्रको मूल आयस्रोत विज्ञापनमाथि पर्‍यो । मार्च महिनामा विश्व स्वास्थ्य संगठनले कोभिड–१९ लाई प्यान्डेमिक घोषणा गरेपछि अधिकांश देश सतर्क भए । संक्रमण देखिनासाथ लकडाउन लगाउने क्रम बढ्न थाल्यो । बिस्तारै विश्वको ठूलो भूभाग विभिन्न स्तरका लकडाउनमा गए । महिनौँ विश्व अर्थतन्त्र ठप्पजस्तो देखियो । मिडिया र मिडियाकर्मी केही अत्यावश्यक क्षेत्रमध्ये एक थियो, जो संयम अपनाएर सञ्चालन भइरहेका थिए । तर, विज्ञापनप्रदायक व्यवसाय ठप्प हुँदा तिनबाट आउने विज्ञापनमा भारी कटौती भयो । प्रेस ग्याजेटको प्रक्षेपणअनुसार सन् २०१९ मा ४९.२४ अर्ब डलर रहेको विश्वभरको मिडिया विज्ञापन आय घटेर यो वर्ष ४१.२४ अर्ब डलर पुग्नेवाला छ । लकडाउन बिस्तारै खुल्दै गएपछि अर्थतन्त्र सुचारु हुन थाले पनि अहिले पनि पर्यटन, फिल्म व्यवसायजस्ता कैयौँ क्षेत्र पूर्णतः ठप्पप्रायः छन् । विज्ञापन बजारको आत्मविश्वास फर्किएको अवस्था छैन । 

प्रमुख आयस्रोतमा आएको भारी गिरावटलाई थेग्न मिडियाहरूले यसबीच पत्रकार तथा कर्मचारी कटौतीको मार्ग अवलम्बन गरे, जुन अमानवीय भएको भनेर आलोचना पनि भयो । आर्थिक रूपमा कमजोर कैयौँ साना तथा मझौला आकारका सञ्चारगृह सधैँका लागि बन्द भए । न्युयोर्क टाइम्सका अनुसार कोभिडका कारण अमेरिकामा मात्रै कम्तीमा ३३ हजार पत्रकार तथा मिडिया क्षेत्रमा संलग्न जनशक्ति बेरोजगार हुन पुग्यो । यद्यपि, पछिल्लो समय त्यसमा सुधार भएको छ । 

भारतको कुरा गर्दा द टाइम्स ग्रुप, द इन्डियन एक्सप्रेस ग्रुप, हिन्दुस्तान टाइम्स, द क्विन्टजस्ता ठूला मिडिया हाउस पत्रकार एवं पारिश्रमिक कटौतीमा पुगे । द टाइम्स ग्रुपले आफूले प्रकाशन गर्दै आएका टाइम्स अफ इन्डिया, द इकोनोमिक टाइम्स र नवभारत टाइम्सका कर्मचारी एवं पत्रकारको पारिश्रमिक ५ देखि १० प्रतिशतले घटायो । द क्विन्ट र ब्लुमबर्ग क्विन्टले आफ्नो टिभी विभाग बन्द गरे । लोकप्रिय भारतीय म्यागजिन आउटलुकले लकडाउनभर प्रकाशन बन्द गर्‍यो । महाव्याधिपछि प्रिन्ट मिडिया दबाबमा पर्ने बुझेर इन्डियन न्युजपेपर सोसाइटी (आइएनएस)ले भारतको आइएन्डबी मन्त्रालयलाई न्युजप्रिन्टमा लाग्दै आएको ५ प्रतिशत भन्सार शुल्क हटाउन अपिल गर्‍यो । लकडाउनपछि १० प्रतिशत रहेको न्युजप्रिन्टको भन्सार ५ मा झारिएको छ । अमेरिका र भारतको जस्तै अवस्था नेपाल र अन्य धेरै देशमा रहेको छ । नेपालको कुरा गर्दा नेपाल पत्रकार महासंघका अनुसार नेपालमा अहिलेसम्म चार सयभन्दा बढी पत्रकार संक्रमित भएका छन् । चारजना पत्रकारको कोभिडकै कारण मृत्यु भएको छ । केही ठूला सञ्चारमाध्यमबाट रोजगारी गुमाउनेबाहेकका बेरोजगार बनेका पत्रकारको तथ्यांक हामीसँग छैन । 

आमसञ्चार क्षेत्र यसै पनि अनलाइन एवं सामाजिक सञ्जालहरूका कारण दबाब र कठोर प्रतिस्पर्धामा थिए । कोरोना भाइरसको विश्वव्यापी संकटले त मिडिया क्षेत्रको ल्यान्डस्केप नै परिवर्तन गरिदिएको छ । दैनिक अखबारहरू दुब्लाएका छन् । थुप्रै साप्ताहिक एवं स्थानीय छापा सधैँका लागि बन्द भए, तर डिजिटल माध्यममा अभूतपूर्व वृद्धि देखिएको छ । 

महामारीको अन्त्य हुँदासम्म मिडिया क्षेत्रमा भने केही दीर्घकालीन परिवर्तन हुने निश्चित देखिएको छ । त्यसको छनक अहिले नै देखिँदै छ– छापा मिडियाका अधिकांश काम घरबाटै हुन थालेका छन् । रिपोर्टिङका शैली र प्राथमिकताका विषय बदलिएका छन् । 

कोरोना भाइरसले महामारीको रूप लिएपछिको अर्को असर मिडियाको डिजिटलाइजेसनमा देखिन्छ । छापामाध्यममा पत्रिका तथा म्यागजिनको भौतिक एकाइ घर–घर पुर्‍याउनुपर्ने रीतलाई महामारीले केही असर गर्‍यो । अझ पत्रपत्रिकाबाट कोरोना भाइरस सर्ने अफवाहले पाठक र पत्रिकाको दूरी थप बढाउने काम गर्‍यो । यो र यस्तै अफवाह पनि कोरोनाकालको अर्को चरित्र बन्यो । यसलाई वृद्धि गर्ने काम सोसल मिडियाले गरे । सामाजिक सञ्जालमा जनस्वास्थ्य विषयमा गलत अफवाह फैलिँदा गम्भीर असर पर्ने विश्व स्वास्थ्य संगठनलगायत अन्य संस्थाले चेतावनी दिनुपर्‍यो । जवाफमा फेसबुक तथा ट्विटरले झुटो हल्ला फैलिनबाट रोक्न विभिन्न उपाय पनि अवलम्बन गरेका छन् । 

उता, घरभित्र धेरै लामो समय थुनिएको अवस्थामा मानिसले समय बिताउनका लागि इन्टरनेट तथा टिभीको उपभोग बढाए । यी माध्यममा आउने समाचारको उपभोगमा पनि उल्लेख्य वृद्धि भयो । ई–पोर्टल तथा टिभी कार्यक्रमका पाठक तथा दर्शकको संख्या निकै बढेको छ । महामारीअघिको समयमा पनि बिगत केही वर्षदेखि नै इन्टरनेट तथा युट्युबको उपभोगको दर त निरन्तर उकालो लागिरहेको थियो । तर, नयाँ डिजिटल मिडियाको आगमनसँगै बिस्तारै चार्म गुमाउँदै गएको परम्परागत प्रसारण माध्यम टेलिभिजनप्रति समेत आमदर्शकको अभिरुचि पुनः वृद्धि भएको देखियो । कोभिड–१९ अघि हप्तामा औसत ८ खर्ब ८७ अर्ब मिनेट टिभी हेरिन्थ्यो । कोभिडपछि साप्ताहिक दर्शक मिनेट बढेर १२ खर्ब २३ अर्ब पुग्यो । भारतीय अनुसन्धान संस्था ब्रोडकास्ट अडियन्स रिसर्च काउन्सिलका अनुसार लकडाउनपछि सबैभन्दा बढी दर्शक न्युजमा २ सय १९ प्रतिशत, मुभीमा ७३ र इन्फोटेन्मेन्टमा ५० प्रतिशत वृद्धि भएको थियो । तर, यो वृद्धि कतिको दिगो हुने हो, त्यो निश्चित छैन । 

यसबीच, टिभीका दर्शक मात्रै बढेनन्, बन्दाबन्दी तथा भौतिक दूरीजस्ता मापदण्डका कारण टेलिभिजनमा नयाँ फम्र्याटहरूको उदय हुन थाल्यो । भौतिक दूरीमा अपनाइएको कडाइले प्रत्यक्ष प्रसारणमा नाटकीय कमी आयो । स्वाभाविक रूपमा जुम, फेस–टाइम जस्ता उपभोक्ता प्रविधिको प्रयोगमार्फत टिभी अन्तर्वार्ता हुन थाले । प्रविधिगत पूर्वाधार, ब्यान्डविथ अपडेट एवं स्टोरेज क्षमतामा वृद्धि गर्नुपर्ने अवस्था सिर्जना भयो । तर, उपभोग बढे पनि टिभीको आयमा वृद्धि भएन । लकडाउनको समयमा सञ्चार क्षेत्रको आम्दानी औसतमा ७० प्रतिशतभन्दा धेरैले खस्किएको सन्दर्भमा टिभीहरू पनि खर्च कटौतीमा लागे । यसबीच, बेलायती प्रसारण संस्था आइटिभीले कार्यक्रमको वार्षिक बजेटमा १० करोड पाउन्डले कटौती गरेको छ । च्यानल फोरले १० प्रतिशत कर्मचारी र सोहीबराबर कार्यक्रममा कटौती गरेर २४ करोड ५० लाख पाउन्ड बचाउने योजना अघि सा¥यो । फ्रान्सेली टिभी एम–६ ले १० करोड युरो बचाउने योजना ल्यायो । यो प्रवृत्ति विश्वव्यापी देखिएको छ । 

केही प्रतिष्ठित मिडियाले भने विज्ञापनको आयमाथिको निर्भरता कम गर्नका लागि अनलाइन सप्क्रिप्सनमा जोड दिए । विश्वसनीयता बढी भएका मिडियाहरूले यसमा सफलता पनि हासिल गरेको देखिन्छ । जस्तो न्युयोर्क टाइम्मले कोरोना संकट गहिरिएको तीन महिनामा ६ लाख ६९ हजार नयाँ डिजिटल सब्स्क्राइबर थप्न सफल भएको थियो । यही बढेको सब्स्क्राइबको बलमा उसको छापाबाट हुने आयलाई डिजिटल सब्स्क्राइबबाट हुने आयले जितेको थियो । अगस्ट ५ मा मार्क ट्रेसीले पत्रिकाका लागि लेखेको समाचारमा भनिएको थियो, ‘सन् २०२० को दोस्रो त्रैमासिकमा न्युयोर्क टाइम्सले डिजिटल सब्स्क्राइब र त्यसमा रहेको विज्ञापनमार्फत १८ करोड ५५ लाख डलर आय गर्‍यो, जब कि यही अवधिमा छापाबाट १७ करोड ५४ लाख डलर मात्रै कमाइ भयो ।’ अन्य प्रतिष्ठित मिडियाहरूले पनि सब्स्क्राइबर बढाएर केही आय बढाएका छन् । बेल्जियमको अखबार ली सोयर (फ्रेन्च भाषाको बेल्जियन दैनिक)को सब्सक्रिप्सन लकडाउनको पहिलो महिनामै १० गुणा बढेको रोसेल ग्रुपको तथ्यांकले देखाएको थियो ।

कोरोना महामारीले संकटको समयमा पत्रकारिता पेसा खाना, पानी, सरसफाइ, औषधोपचारजस्तै अत्यावश्यक सेवा रहेको धेरैमा महसुस गरायो । तर, सँगसँगै अहिलेको संकटमा मिडिया जगत्को कमजोरी पनि उजागर भएको छ । जुन मिडियाले डिजिटल प्लेटफर्ममा लगानी बढाएका छन्, ती सबल देखिएका छन् । तर, परम्परागत छापामाध्यम भने यसबीच नराम्ररी धर्मराएको छ । अबको युगमा प्रतिस्पर्धी तथा प्रभावकारी मिडियामा दरिन डिजिटल प्लेटफर्ममा सबल बन्नुपर्ने आवश्यकता सञ्चारमाध्यमहरूले राम्रैसँग गरेका छन् । 

अब बिस्तारै खोपको सफल परीक्षणका खबरमाझ समाजमा सकारात्मक उत्साह सञ्चार हुन लागेको छ । कोरोनाविरुद्धको संघर्षमा मानव जगत् अबको एक–डेढ वर्षभित्र निकै अगाडि पुगिसक्ने जनस्वास्थ्यविज्ञ बताउन थालेका छन् । यो संकटबाट ढिलो–चाँडो पार हुने आस त पलाएको छ, तर महामारीको अन्त्य हुँदासम्म मिडिया क्षेत्रमा भने केही दीर्घकालीन परिवर्तन हुने निश्चित देखिएको छ । त्यसको छनक अहिले नै देखिँदै छ– छापा मिडियाका अधिकांश काम घरबाटै हुन थालेका छन् । रिपोर्टिङका शैली र प्राथमिकताका विषय बदलिएका छन् ।