मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ मङ्सिर १० बुधबार १८:००:००
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एउटै परीक्षा बोर्डमातहत दुई नियन्त्रण कार्यालय, दुई नियन्त्रक : एकै प्रकृतिका काममा फरक सुविधा

Read Time : > 3 मिनेट
२०७७ मङ्सिर १० बुधबार १८:००:००

माध्यमिक तहसम्मको परीक्षा सञ्चालनका लागि गठन भएको राष्ट्रिय परीक्षा बोर्डमा दुई परीक्षा नियन्त्रण कार्यालय सञ्चालनमा छन् । एकै प्रकृतिका काम गर्ने दुवै कार्यालयमा कर्मचारीको सुविधा भने फरक छ ।

०७३ मा शिक्षा ऐन, २०२८ आठौँ संशोधनमार्फत कक्षा–९ देखि १२ लाई ‘माध्यमिक तह’ परिभाषित गरिएको छ । र, ‘माध्यमिक शिक्षा परीक्षा’ (एसइई) र ‘माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा’ (एसएलसिई) सञ्चालनका लागि राष्ट्रिय परीक्षा बोर्ड स्थापना गरिएको छ । एसइई कक्षा–१० को अन्तिम परीक्षा हो, जुन बोर्डले नै प्रदेशस्तरमा सञ्चालन गर्ने व्यवस्था छ । एसएलसिई (कक्षा–१२) विद्यालय तहकै अन्तिम परीक्षा हो, जुन बोर्डले राष्ट्रियस्तरमा सञ्चालन गर्छ ।

आएन एकीकृत निर्देशिका
ती दुवै परीक्षा सञ्चालनका लागि शिक्षा मन्त्रालयले निर्देशिका जारी गर्नुपर्ने ऐनमा व्यवस्था छ । तर, हालसम्म निर्देशिका नआउँदा खारेज भएका साविकका एसएलसी र उच्च माध्यमिक शिक्षा परिषद्कै व्यवस्थाअनुसार परीक्षा सञ्चालन भइरहेका छन् । कोभिड–१९ संकटबीच कक्षा १०, ११ र १२ का परीक्षा सञ्चालनमा छुट्टै कार्यविधि कार्यान्वयनमा छन् ।

बोर्डमातहत एसइई, कक्षा ११ र १२ का परीक्षा सञ्चालन गर्न फरक–फरक निर्देशिका ल्याइएको छ । र, बोर्ड गठन भएको वर्षौँसम्म पनि एसइई र कक्षा ११, १२ को परीक्षा छुट्टाछुट्टै नियन्त्रण कार्यालयबाट सञ्चालन भइरहेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डको भवनस्थित कक्षा–१२ को परीक्षा नियन्त्रण कार्यालय । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

एसइई सञ्चालन गर्ने पनिकाले अर्थ मन्त्रालयको मापदण्डअनुसार परीक्षाका काम गर्छ । तर, कक्षा ११ र १२ का परीक्षाका लागि बोर्डले अलग्गै मापदण्ड बनाएको छ । यस वर्षदेखि कक्षा ११ को परीक्षा विद्यालय तहबाटै सञ्चालन हुने भएको छ ।

भक्तपुर सानोठिमीस्थित कक्षा–१० को परीक्षा नियन्त्रण कार्यालय ।

विद्यार्थीबाट उठाउने परीक्षा शुल्कसमेत फरक–फरक निकायमा जम्मा हुन्छन् । कक्षा–११ को रजिस्ट्रेसनदेखि परीक्षा शुल्कसम्म बोर्डकै खातामा जम्मा हुन्छ । तर, एसइईको परीक्षा शुल्क सरकारको राजस्वमा दाखिला हुन्छ ।

सबै परीक्षाका लागि एउटै व्यवस्था गर्न सरकारले नदिएको गुनासो बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलको छ । ‘एसइईका विद्यार्थीको पैसा हामीसँग आउँदैन, सरकारले हामीलाई दिएको छैन,’ उनी भन्छन्, ‘एसइईको शुल्क पनि बोर्डले उठाउन खोजेको थियो, सरकारले पत्र पठाएरै नउठाउन भन्यो ।’ दुई छुट्टाछुट्टै व्यवस्थाअनुसार सञ्चालन भएका कार्यालयमा परीक्षाका काममा खर्च हुने रकमसमेत फरक रहेको अधिकारीहरू बताउँछन् । एकीकृत निर्देशिका नआउँदा समस्या बेहोर्नुपरेको उनीहरूको भनाइ छ ।

दुई कार्यालयबाट उत्तर पुस्तिका परीक्षण सुविधासमेत फरक छ । कक्षा–११, १२ मा उत्तरपुस्तिका परीक्षण गर्ने शिक्षकको पारिश्रमिक धेरै छ । तर, एसइईको पनिकामा उत्तरपुस्तिका परीक्षण गर्ने शिक्षकको भन्दा टेबुलेसन, रुजु, इन्ट्रीलगायत काममा कर्मचारीलाई बढी सुविधा छ ।

बोर्डका लागि आवश्यक निर्देशिका जारी हुने प्रक्रियामा रहेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा बताउँछन् । कोभिड संकटका कारण कक्षा–१०, ११ र १२ का परीक्षा फरक–फरक कार्यविधिबाट सञ्चालन गर्नुपरेको उनको भनाइ छ । तथापि, एकीकृत निर्देशिका नआउँदा प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन र नतिजा प्रकाशनसम्मको काम पुरानै शैलीमा भइरहेको छ ।

एसइईको काम ०६८ मा बनेको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन निर्देशिकाअनुसार भइरहेको छ ।

कक्षा–११ को परीक्षा शुल्क फिर्ता, एसइईको भने राजस्व खातामा
यस वर्ष कक्षा–११ को परीक्षा बोर्डले सञ्चालन गरेन । बोर्डले प्रश्नपत्र छाप्यो, तर उपत्यकाबाहिरका जिल्लामा पठाएन । कक्षा–११ का परीक्षार्थीबाट बोर्डले शुल्क पनि उठायो । तर, आफूले परीक्षा सञ्चालन नगरेपछि उक्त शुल्क फिर्ता गर्ने निर्णय बोर्डले गरेको छ ।

बोर्डले उठाएको ६ सयमध्ये दुई सय रुपैयाँ खर्च भएको बताउँदै बाँकी चार सय फिर्ता गर्ने निर्णय गरेको छ । उक्त रकम कक्षा १२ को फारम भर्दा मिलाइने भएको छ । अब कक्षा–१२ मा विद्यार्थीले फारम भर्दा चार सयमा दुई सय रुपैयाँ मात्र बुझाए पुग्ने भएको छ ।

दुवै परीक्षाका लागि खर्च मापदण्ड पनि फरक छ । एसइईको काम अर्थ मन्त्रालयको मापदण्डअनुसार हुन्छ । कुन शीर्षकमा कति खर्च गर्ने भन्ने अर्थ मन्त्रालयले तोकेको मापदण्डका आधारमा तय हुन्छ ।

कोभिड संकटका कारण ०७६ को एसइई परीक्षा सञ्चालन भएन, विद्यालयले आन्तरिक मूल्यांकन गरी नतिजा सार्वजनिक गरियो । परीक्षा शुल्क बुझाएका विद्यार्थीले उक्त रकम भने फिर्ता नपाउने भएका छन् ।

उक्त शुल्क सरकारको राजस्व खातामा गइसकेकाले फिर्ता गर्न नसकिएको बोर्डका अधिकारीको भनाइ छ । एसइई परीक्षा, व्यवस्थापन, उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणको रकम मात्र बाँकी रहेको एसइईका परीक्षा नियन्त्रक रामराज खकुरेल बताउँछन् । प्रश्नपत्र निर्माण, छपाइ र ढुवानीमा रकम खर्च भइसकेको उनको भनाइ छ ।

एसइईका लागि अर्थ मन्त्रालयले रकम दिने गरेको छ । केन्द्र र प्रदेशलाई छुट्टाछुट्टै रकम पठाउने गरेको छ । खकुरेलका अनुसार केन्द्रमा पठाएको २३ करोड ५६ लाखमध्ये करिब ११ करोड खर्च भएको थियो । अर्थ मन्त्रालयले उत्तरपुस्तिका छपाइदेखि परीक्षा व्यवस्थापनका लागि प्रदेशलाई छुट्टै रकम पठाउँछ ।

नतिजा आइसकेको एसइईदेखि कक्षा–१२ सम्मका प्रश्नपत्र सुरक्षा घेरामा
कोभिड संकटका कारण गत चैतमा एसइई परीक्षा सञ्चालन हुन सकेन । तर, विद्यालयको आन्तरिक मूल्यांकनलाई आधार बनाएर १ भदौमा नतिजा सार्वजनिक गरियो ।

कक्षा–११ को परीक्षा पनि विद्यालय आफैँले लिने गरी कार्यविधि बनेको छ । कतिपय विद्यालयले कक्षा–११ को परीक्षा लिइसकेका छन् भने कतिपय लिने तयारीमा छन् । कक्षा–१२ को परीक्षा मंगलबारदेखि सुरु भएको छ । तर, बोर्डले छपाइ गरेका प्रश्नपत्र प्रयोग भएका छैनन् ।

कोरोना भाइरसको जोखिमका कारण बोर्डले कक्षा–१२ मा ४० प्रतिशत मात्र परीक्षा लिँदै छ । तर, एसइईदेखि कक्षा–१२ सम्मका प्रश्नपत्र सुरक्षा घेरामै छन् । एसइईको नतिजा आइसके पनि प्रश्नपत्र के गर्ने भन्ने निर्णय नभएको परीक्षा नियन्त्रक खकुरेल बताउँछन् । एसइईका प्रश्नपत्र प्रहरी कार्यालयमा सुरक्षित छन् ।

कक्षा–११ र १२ का प्रश्नपत्र बोर्डको कार्यालयमा सेनाको सुरक्षा घेरामा छन् । कक्षा–१२ को परीक्षा सकिएपछि प्रक्रिया पु¥याएर प्रश्नपत्र व्यवस्थापन गरिने बोर्ड अध्यक्ष पौडेल बताउँछन् ।