मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २९ शनिबार ०८:३३:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सन्दीप तेस्रोपटक आइपिएलमा सहभागी हुँदै फर्किए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २९ शनिबार ०८:३३:००

१३औँ इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्स पहिलोपटक फाइनलमा पुग्यो । फाइनलमा दिल्ली मुम्बई इन्डियन्ससँग पराजित हुँदै उपविजेता बन्यो । दिल्लीको यसपटक आइपिएलमा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन भएको मानिएको छ । दिल्लीले लगातार १३औँ आइपिएलमा १७ खेल खेल्दा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एक खेलमा पनि सहभागिता जनाउन पाएनन् । उनी पूरै सिजन बेन्चमै बस्न बाध्य भए । दिल्ली र सन्दीपबीचको सम्झौता यसै सिजनसम्म मात्र थियो । 

यसबीच दिल्लीले सन्दीपलाई मिड ट्रान्सफर विन्डोमा राखेको थियो । तेस्रोपटकको आइपिएल सहभागितामा एक खेल पनि नखेली सन्दीप नेपाल फर्किएका छन् । सन्दीप तीन महिनापछि नेपाल फर्किएका हुन् । आइपिएलमा सहभागिता जनाउनुअघि उनले जमैकामा भएको क्यारेबियन प्रिमियर लिग खेलेका थिए । टी–२० फ्रेन्चाइज क्रिकेटमा ग्लोबल स्टार छवि बनाएका सन्दीपले क्यारेबियन लिगमा उत्कृष्ट प्रदर्शन गरी १२ विकेट लिएका थिए । स्वदेश फर्किएका सन्दीपको लक्ष्य अस्ट्रेलियामा हुने बिग वास हो । 

गृहनगर चिनवनमा तीन साताको बसाइपछि उनी बिग वास खेल्न अस्ट्रेलिया जानेछन् । यद्यपि सन्दीपको बिग वास खेल्ने टुंगो भइसकेको छैन । पछिल्लो समय सन्दीप बिग वासमा मेलबर्न स्टार्सबाट खेलेका थिए । यसपटक स्टार्स र सन्दीपबीच सम्झौता नवीकरण भएको छैन । यसकारण पनि उनी यसपटक बिग वासमा नयाँ टोलीबाट खेल्ने सम्भावना धेरै छ । बिग वास १० डिसेम्बरदेखि ६ फेब्रुअरीसम्म चल्नेछ । 

टी–२० फ्रेन्चाइज लिगमा सन्दीप पहिलोपटक पूरै सिजन एक खेल नखेली नै बेन्च बसेको यो नै पहिलोपटक हो । उनी अस्ट्रेलियाको बिग वास, बंगलादेश, पाकिस्तान, अफगानिस्तान प्रिमियर लिग र टी–२० ग्लोबल क्यानडा नियमित खेलाडी बनिसकेका छन् । सन् २०१८ मा दिल्लीले सन्दीपलाई अक्सनमा न्यूनतम २० लाख भारुमा भित्र्याएको थियो । नेपाली खेलाडीबाट कुनै पनि अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइजमा आबद्ध भएका खेलाडी सन्दीप नै पहिलो हुन् ।

सन्दीपले पहिलो सिजनमा रोयल्स च्यालेन्जर्स बेंग्लोरविरुद्ध डेब्यु गरेका थिए । त्यसवेला प्ले अफ दौडबाट बाहिरिएपछि दिल्लीले सन्दीपलाई मौका दिइएको थियो । सन्दीपले आप्mनो आइपिएलको डेब्यु खेलमै विकेट लिन सफल भए । 

उनले बेंग्लोरका पार्थिव पटेललाई आउट गर्दै डेब्यु खेलमा विकेट हात पारे । त्यसपछि उनले लगातार दुई खेलमा मौका पाए । समग्रमा सन्दीपले पहिलो सिजनमा पाँच विकेट पाए । गत वर्षको संस्करणमा सुरुमै स्थान बनाएका सन्दीपले ६ खेलमा सात विकेट लिए ।