Skip This
जैविक संक्रमण र क्वारेन्टाइन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक २८ शुक्रबार
  • Friday, 19 July, 2024
डा. डि.बी. कट्टेल
२o७७ कार्तिक २८ शुक्रबार o६:o८:oo
Read Time : > 4 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

जैविक संक्रमण र क्वारेन्टाइन

Read Time : > 4 मिनेट
डा. डि.बी. कट्टेल
नयाँ पत्रिका
२o७७ कार्तिक २८ शुक्रबार o६:o८:oo

पृथ्वीको वायुमण्डलभन्दा बाहिर जीवनको खोज आधुनिक विज्ञानको एउटा विधाकै रूपमा स्थापित छ । ब्रह्माण्डका असंख्य पिण्डमध्ये यस पृथ्वी नामक पिण्डमा हजारौँ वर्ष पहिलेदेखि मानव अस्तित्व कायम छ । मानव समुदायले हामीभन्दा बुद्धिमान् जीवनको अस्तित्व ब्रह्माण्डको कुनै कुनामा छ भनेर परिकल्पना गर्नु अनौठो होइन ।

खगोलप्रति मानवको रुचि विज्ञानका अन्य विधाभन्दा निकै पुरानो मानिन्छ । यसैले खगोलीय पिण्डमा जीवनको खोज र अन्तरिक्ष विचरणको मानव उत्सुकता मजबुत बनेको हुनुपर्छ । यही कारण हुनुपर्छ, खगोल जीवविज्ञान विधाको जन्म हुनुमा पनि । अन्तरिक्ष अभियान सुरु भएदेखि नै अलौकिक जीवनको परिकल्पना वैज्ञानिक खोजको एउटा हिस्सा बनेको छ । 

पहिलो चरणमा वैज्ञानिकको ध्यान मंगल ग्रहतर्फ सोझियो, कतै यो ग्रहमा हामीभन्दा बुद्धिमान् जीवको अस्तित्व त छैन भन्ने प्रश्नका साथ । यो सिलसिला अन्तरिक्ष युग सुरु हुनुभन्दा अघिकै हो । बुद्धिमान् जीवको अस्तित्व मंगलमा छ भन्ने ठोस प्रमाण नभए पनि मानव जातिको मंगल अभियान अझै रोकिएको छैन । यो ग्रह जीवन अध्ययनका लागि रहस्यमय भएकाले पनि यसतर्फको अभियान नरोकिएको हो । 

पृथ्वीमा बढ्दो वातावरणीय विनाशको जटिलता थपिँदै छ । अन्तरिक्ष अभियानसँगसँगै वैज्ञानिकहरूमा थपिएको अर्काे चिन्ता हो, ग्रहहरूको संरक्षण । हाम्रा कारण ती ग्रह प्रदूषित नबनून्, सगँसँगै हामीले हाम्रो ब्रह्माण्डमा विद्यमान पिण्डहरूको अज्ञात मौलिक सभ्यताको सुरक्षा वा बाह्य जीवनका विविध स्वरूपसँग सामना गर्न सक्छौँ वा सक्दैनौँ भन्ने प्रश्नको उत्तर खोज्नु पनि खगोल जीव विज्ञानको एउटा चुनौती हो ।

तत्कालीन सोभियत संघले सन् १९५७ को अक्टोबरमा ‘स्पुतनिक–१’ नामक यान पृथ्वीको कक्षबाहिर प्रक्षेपण गरेर अन्तरिक्ष युगको सुरुवात ग¥यो । यो नै विश्वमा पृथ्वीको परिक्रमा गर्ने पहिलो कृत्रिम उपग्रह थियो । स्पुतनिक–१ प्रक्षेपणको नौ महिना नबित्दै सन् १९५८ मा जोसुआ लेडरबर्ग र डिन काउलीले ‘साइन्स’ जर्नलमा मुनडस्ट नामक लेख प्रकाशित गरे । उनीहरूले लेखमा भनेका छन्– यो सफल अभियान अन्तरिक्ष युगको उदय मात्र होइन, जीवन विज्ञानलाई बुझ्ने अवसर र नयाँ क्षेत्रको सानदार प्रदर्शन पनि हो । 

निःसन्देह स्पुतनिक–१ को सफलताले वैज्ञानिक र प्राविधिक क्षेत्रमा तीव्र उत्साह मात्र जगाएन, सैन्य–राजनीतिक प्रभावका विषयमा पनि विश्वमै तरंग ल्यायो । जीवनको उत्पत्ति अनुसन्धान गर्ने विद्वान्हरू चाहे ती जीवनको सुरुवात हुनुअघिको प्रिबायोटिक संश्लेषणको अध्ययनमा संलग्न वा सन् १९०३ का नोबेल पुरस्कार विजेता अरहेनियसको पानस्पेरमिया सिद्धान्तको परीक्षणमा लागिपरेका नै किन नहुन्, चन्द्र अभियानको योजना बुन्न थालियो । चन्द्रमाको धुलो अमूल्य रहस्यको साँचो हुन सक्छ भन्ने ठानियो । 

साइन्समा प्रकाशित त्यस लेखमै लेडरबर्ग र काउलीले चन्द्रमामा सम्भावित प्रदूषण वा संक्रमणको खतराबारे चेतावनी पनि दिए । रकफेलर विश्वविद्यालयका तत्कालीन अध्यक्ष एवं मंगल ग्रहमा भाइकिङ लेन्डर एक्स्पेरिमेन्टल समूहका सदस्य जोसुआ लेडरबर्ग ग्रहहरूको क्वारेन्टाइन हुनुपर्छ भन्ने अभियन्ता पनि हुन् । वैज्ञानिकहरूले अन्य ग्रहमा जीवाणु एवं विषाणुहरूको अस्तित्वको सम्भावना छ भन्दै आएका छन् ।

यदि ती जीवाणु वा विषाणु पृथ्वीमा आइपुगे भने हुन सक्छ मानव मात्र नभएर समग्र जीवन अस्तित्वका लागि खतरा बन्न सक्छ । स्पुतनिक–१ को सफल प्रक्षेपणपछि एउटा विषयको बहस छेडियो, त्यो थियो पृथ्वी वा अभियानको योजनामा परेका अन्य ग्रहहरूको ‘क्वारेन्टाइन’ । चन्द्रमामा अवतरण गरेको एपोलो अभियानका चालक दलका सदस्य पृथ्वीमा फर्किएपछि २१ दिनसम्म उनीहरूलाई ‘क्वारेन्टाइन’मा राखिएको थियो ।

ब्रह्माण्डका अन्य कुनै पिण्डमा मानवले आफ्नो पाइला टेकेर पृथ्वीमा फर्कंदा अलौकिक विषाणुको संक्रमण वा प्रदूषणको खतराको आशंका पैदा भइरहने हुन्छ

कारण थियो, उनीहरू स्वयं र ल्याइएका नमुनाहरूले पृथ्वीको वातावरण वा जीवन अस्तित्वलाई खतरामा नपारोस् । चन्द्र धरातलबाट ल्याइएका नमुना परीक्षणका क्रममा हानीकारक देखिएनन् । यसबाट पृथ्वीमा सम्भावित विषाणुको संक्रमण वा प्रदूषणको खतराको आशंका हटेर गयो । तर, ब्रह्माण्डका अन्य कुनै पिण्डमा मानवले आफ्नो पाइला टेकेर पृथ्वीमा फर्कंदा अलौकिक विषाणुको संक्रमण वा प्रदूषणको खतराको आशंका पैदा भइरहने हुन्छ ।

सन् १९८७ मा ‘द साइन्टिस्ट’ पत्रिकामा प्रकाशित लेखमा लेडरबर्ग भन्छन्– स्पुतनिक–१ को अभियानपछि विश्वकै राजनीतिक दृष्टिकोणमा तीव्र बदलाव आयो, साथसाथै एउटा आशंका पनि जन्मियो कि यो भव्य वैज्ञानिक अवसर र अन्तरिक्षमा मानवीय अन्वेषणको सुरुआत कतै भौगोलिक एवं राजनीतिक प्रतिस्पर्धाले सिद्धिने त होइन, वैज्ञानिक अनुसन्धानको सट्टा प्रचार प्रयोजनका लागि मात्र प्रयोग हुने त होइन ।

सन् १९६१ को १२ अप्रिलमा सोभियत संघले फेरि अर्काे इतिहास रच्यो, अन्तरिक्षमा मानव पठाएर । युरी गगरिनले भोस्तोक–१ नामक यानबाट पृथ्वीको परिक्रमा गरे । अमेरिकालाई अर्काे दबाब प¥यो । अब जसरी भए पनि चन्द्रयात्रा सफल पार्ने र नयाँ विश्व इतिहास रच्ने उसको महत्वाकांक्षी योजना थियो । सन् १९६९ को जुलाई १० मा एपोलो यानबाट चन्द्रमामा मानव पाइला पुगेपछि अन्तरिक्ष अभियानले नयाँ मोड लियो ।

वैज्ञानिक क्षेत्रमा अन्तरिक्ष अभियान ठूलो सफलता हो । तर, सगँसँगै उठेको अर्काे विषय हो, सुरक्षा । किनकि, मानवयुक्त यात्रामा जोखिम त छ नै, हाम्रा ग्रहहरूमा हुन सक्ने सम्भावित संक्रमण र प्रदूषणको खतरा पनि उत्तिकै छ । वैज्ञानिकहरू हामीबाट चन्द्रमा र अन्य ग्रहहरूलाई अन्जानमा रेडियोधर्मी वा जैविक संक्रमणको खतराबाट जोगाउन सुरक्षाका उपायहरू अवलम्बन गर्न जरुरी रहेको ठान्छन् ।

मंगल अभियानको आवश्यकतालाई औँल्याउँदै सन् १९६५ मा इसी लेविन्थल र जे. लेडरबर्गद्वारा संयुक्त रूपमा प्रकाशित अर्काे एउटा लेखले हामीले भविष्यमा मंगल ग्रहलाई बसोवासयोग्य बनाउन त्यस ग्रहको वातावरण संशोधन गर्ने प्रयास गर्नुपर्ने वकालत गर्छ । वैज्ञानिकहरूको यो योजनाअन्तर्गत त्यहाँ लगिने वनस्पतिले दुर्घटनावश मंगलको स्थलीय वातावरणलाई प्रदूषित गराउन सक्छन् ।

मंगल ग्रहमा लगिने वनस्पति वा बीजाणुहरू त्यहाँको वातावरणका लागि हानिकारक हुन सक्छन् । एकथरी वैज्ञानिक अन्तरिक्ष अभियानहरू मानवविहीन हुनुपर्छ भन्ने मान्यता राख्छन् । अन्वेषण योजनामा नमुना संकलन गरेर पृथ्वीमा फर्काउने योजना पनि समावेश हुन्छ । त्यसैले यी अभियानमा पृथ्वीमा हुन सक्ने संक्रमण र प्रदूषणको सम्भावनाका प्रश्न हुने नै भए । 

यदि कुनै अन्तरिक्षयात्री लामो उडानबाट बचेर आउँछ भने सम्भावित संक्रमणको क्षति न्यूनीकरण गर्न सजिलो हुन्छ भन्ने वैज्ञानिक मान्यता छ । किनकि, फर्कने अन्तरिक्षयात्रीको अस्तित्वले उनीहरू अलौकिक जीवको संक्रमणबाट तुरुन्त मर्नेछैनन् भन्ने प्रमाणित गर्छ । धेरै विषाणुलाई आफ्नो अस्तित्वका लागि जीवित माध्यम चाहिन्छ ।

यदि उनीहरूमा संक्रमित ती विषाणु घातक भए पृथ्वीको जीवनसमेत खतरामा पर्न सक्छ । मूल कुरा पृथ्वीलगायतका ग्रहहरूको संरक्षण नै हो । एकातर्फ हाम्रो धर्तीमा असंख्य जीवाणु र विषाणुहरूको अस्तित्व छ, तिनीहरू अन्य ग्रह प्रदूषण गराउने कारण बन्न सक्छन् । अर्कातर्फ, खगोलीय पिण्डमा जीवाणु÷विषाणुको अस्तित्व भेटियो भने त्यो पृथ्वीका लागि घातक हुन पनि सक्छ । यही करण नै हो अन्तरिक्ष अभियानका सन्दर्भमा ग्रहहरूको क्वारेन्टाइन हुनुपर्छ भन्ने मान्यता अगाडि आएको ।

वैज्ञानिकहरू अन्तरिक्ष अन्वेषणका क्रममा सम्भावित जोखिमका बारेमा सधैँ सचेत छन् । ज्याक्स अर्नाेल्डका अनुसार सही तरिकाबाट सम्भावित खतरालाई बुझ्ने प्रयत्न गरेनौँ भने त्यसले जीवनको आन्तरिक र बाह्य सीमाहरूलाई निश्चय नै धमिल्याउनेछ । किनकि, जैविक वा मानवीय अखण्डतालाई बचाउन हाम्रो बुझाइ अझै अपर्याप्त छ । अहिले एउटा सूक्ष्म विषाणु मानव सभ्यताकै लागि चुनौतीको रूपमा जो देखिएको छ । यसबाट आजको आधुनिक युगमा पनि हामीले पृथ्वीमै विद्यमान संक्रामक विषाणुहरूको चरित्र र त्यसका संवाहकलाई अझै राम्रोसँग बुझ्न नसकेको प्रस्टिन्छ । यस्तोमा, कुनै खगोलीय पिण्डबाट विषाणुको संक्रमण भयो भने के होला ? 

(कट्टेल बेइजिङस्थित चाइनिज एकेडेमी अफ साइन्सेसमा सह–प्राध्यापक छन्) 

ad
ad
ad
ad