Skip This
पर्यटक लोभ्याउँदै झण्डीडाँडा [फोटोफिचर]
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ कार्तिक २७ बिहीबार
  • Monday, 10 August, 2026
२o७७ कार्तिक २७ बिहीबार १६:२५:oo
Read Time : > 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

पर्यटक लोभ्याउँदै झण्डीडाँडा [फोटोफिचर]

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ कार्तिक २७ बिहीबार १६:२५:oo

सूर्याेदय र सूर्यास्तका दृश्यलाई नजिकबाट नियाल्न सकिने इलामको दक्षिणपूर्व रोङ गाउँपालिका– ६ स्थित झण्डीडाँडा आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्य बनेको छ । 

इलामकै सूर्योदय नगरपालिकाको श्रीअन्तुजस्तै नजिकबाट सूर्योदयको दृश्य नियाल्न सकिने भएपछि गाउँपालिका यो ठाउँलाई पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्ने तयारीमा छ । 

समुद्री सतहदेखि करिब १२ सय मिटरको उचाइमा रहेको यो ठाउँ झापाबाट पाँच किलोमिटरको दूरीमा छ । यो ठाउँबाट सूर्योदय, कञ्चनजंघा हिमालसँगै झापाका विभिन्न क्षेत्र, इलामको श्रीअन्तु, कन्याम, छिन्तापु, सन्दकपुरजस्ता पर्यटकीय स्थलको अवलोकनसमेत गर्न सकिन्छ । 

भौतिक पूर्वाधारको अवस्था कमजोर भए पनि आन्तरिक पर्यटक झण्डीडाँडाबाट देखिने मनमोहक दृश्य हेर्न पुग्ने गर्छन् ।  

मौसम खुला हुँदा डाँडाबाट भारतको मिरिक, सौरेनी, घुमपहाड, खर्साङ, बाघडोग्रा, सिलिगुढी, नक्सालबारीलगायतका क्षेत्रको अवलोकन गर्न सकिने रोङ गाउँपालिका अध्यक्ष शमशेर राईले जानकारी दिए । 

‘श्रीअन्तुजस्तै यहाँबाट सूर्योदय र सूर्यास्तको दृश्य हेर्न सकिन्छ । झापाबाट श्रीअन्तुभन्दा आधा कम दूरीमा यो ठाउँ छ,’ उनले भने, ‘यो ठाउँले पर्यटकीय गन्तव्यको सम्भावना बोकेको छ ।’ 

असोज र कात्तिक महिनामा यहाँबाट सूर्याेदय र सूर्यास्तको गजब दृश्य देखिने राईले बताए । 

रोङ– ६ का वडाध्यक्ष मणिकुमार स्याङ्बोले सुन्दर दृश्य देखिने यो डाँडाको विकास हुन नसकेको बताए । गाउँपालिकाले यो ठाउँलाई थप आकर्षक बनाउन झण्डीडाँडामा १५ हजार लालीगुराँसका बिरुवा रोपको छ । ‘लालीगुराँस राष्ट्रिय फूल हो । हामीले गुराँस हुर्काउँदा राष्ट्रिय फूलको पनि संरक्षण हुन्छ,’ वडाध्यक्ष स्याङ्बोले भने, ‘बिर्तामोडबाट नजिकै रहेको यो स्थानमा गुराँस भयो भने पर्यटकलाई थप  आकर्षण गर्न सकिन्छ ।’ 

झापाको मेचीनगर हुँदै पुगिने यो ठाउँमा पूर्वाधारको  अभाव छ । कच्ची सडकमा यात्रुले हैरानी व्यहोर्नुपर्छ । शौचालय, खानेपानी र पर्यटक बस्नका लागि होमस्टे तथा होटेलहरूको पनि अभाव छ । गाउँपालिका अध्यक्ष राईले सडक, खानेपानी र शौचालय छिटै बन्ने बताए ।

उनले गाउँमा तालिम दिएर होमस्टे सञ्चालनका लागि पनि वातावरण निर्माण गर्ने तयारी भइरहेको जानकारी गराए ।